विश्वका दुई सबैभन्दा शक्तिशाली व्यक्तित्व अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र अर्बपति एलन मस्कबीचको घनिष्ठ सम्बन्ध शत्रुतामा बदलिएको छ । कुनै समय एकअर्काका पूरक मानिने यी दुईबीचको सम्बन्धमा यति ठूलो दरार आएको छ कि ट्रम्पले मस्कका कम्पनीहरूलाई सरकारी परियोजनाबाट हटाउने चेतावनी दिएका छन् भने मस्कले ट्रम्पविरुद्ध महाभियोगको मागसमेत गरेका छन् ।
सन् २०२४ को राष्ट्रपतीय चुनावमा डोनाल्ड ट्रम्पलाई दोस्रोपटक ह्वाइट हाउस पुरÞ्याउन यदि कसैको सबैभन्दा ठूलो भूमिका थियो भने, ती निःसन्देह एलन मस्क नै थिए । अमेरिकी सञ्चारमाध्यमहरूका अनुसार, मस्कले ट्रम्पको चुनावी अभियानमा २५० मिलियन डलरभन्दा बढी खर्च गरेका थिए । चुनावमा सहज जित हासिल गरेपछि ट्रम्पले आफ्नो प्रशासनमा मस्कलाई महत्त्वपूर्ण स्थान दिए । उनले कार्यभार सम्हाल्नुअघि नै ‘सरकारी खर्च कटौती विभाग’ नामक एक शक्तिशाली निकायको घोषणा गरे र त्यसको नेतृत्व मस्कलाई सुम्पिए ।
यो मित्रता सत्ता साझेदारीमा परिणत भएसँगै ट्रम्प र मस्कले विश्वलाई चकित पार्ने निर्णयहरू लिन थाले । उनीहरूले अमेरिकी विदेश नीतिको अभिन्न अंग रहँदै आएको वैदेशिक सहायता बन्द गरे र अमेरिकी कर्मचारीतन्त्रमा ठूलो संख्यामा कटौती गरे । मस्क खर्च कटौतीका लागि धमाधम सिफारिस गर्थे, र ट्रम्प आँखा चिम्लेर ती निर्णयहरू लागू गर्थे । अमेरिकी प्रशासनमा मस्कको प्रभाव यति बढ्यो कि उनलाई ‘छायाँ राष्ट्रपति’ को उपमासमेत दिइयो । उनीहरूको घनिष्ठता व्यक्तिगत स्तरमा पनि उत्तिकै प्रगाढ थियो । मस्क प्रायः ट्रम्पको निजी विमानमा यात्रा गर्थे, उनकै घरमा बस्थे र उनका बच्चाहरूसँग खेल्थे । मस्कले ट्रम्पलाई उपहारस्वरूप एउटा रातो टेस्ला गाडी दिएका थिए, जुन अहिले पनि राष्ट्रपति निवासको प्रांगणमा देख्न सकिन्छ । गत शुक्रबार पनि मस्क आफ्नो जिम्मेवारीबाट बिदा हुँदा ट्रम्पले उनको प्रशंसामा भव्य सम्बोधन गरेका थिए र ह्वाइट हाउसको ढोका सधैँ खुला रहने सन्देश दिन एउटा ठूलो सांकेतिक साँचो उपहार दिएका थिए ।
तर, यो सम्बन्ध एक वर्षभन्दा बढी टिक्न सकेन । जुन महिनाको पहिलो सातादेखि नै उनीहरूको सम्बन्धमा चिसोपना आयो र यो सामाजिक सञ्जालमा आरोप–प्रत्यारोपको फोहोरी खेलमा परिणत भयो । एकअर्काको प्रशंसा गरेर नथाक्ने यी दुई व्यक्तिबीचको तनावको मुख्य कारण ट्रम्प प्रशासनले ल्याएको ‘वान बिग ब्युटिफुल बिल’ नामक एक कानुन हो । यो विशाल अमेरिकी विधेयक, जसमा कर कटौती, रक्षा खर्चमा वृद्धि, र कठोर आप्रवासन नीतिहरू समावेश छन्, ट्रम्पको दोस्रो कार्यकालको यो मुख्य एजेन्डा हो । तर, यसले मस्कको व्यावसायिक लक्ष्यमा सीधा र नकारात्मक असर पार्छ । यही कानुनको विरोधमा मस्कले यसलाई ‘घृणित कानुन’ भन्दै “किल द बिल“ (विधेयक खारेज गर) अभियान नै चलाए ।
त्यसपछि उनीहरूबीचको वाकयुद्धले सीमा नाघ्यो । मस्कले सामाजिक सञ्जाल ‘एक्स’मा ‘अब साँच्चै ठूलो बम पड्काउने समय आएको छ, शुभ दिन डोनाल्ड ट्रम्प!’ भन्दै आक्रमणको शृंखला सुरु गरे । उनले बिनाप्रमाण ट्रम्पलाई जेफ्री एप्स्टीनको गोप्य फाइलमा देखिएको गम्भीर आरोपसमेत लगाए । यसको जवाफमा ट्रम्पले आफ्नो सामाजिक सञ्जाल ‘ट्रुथ सोसल’मा मस्कले ‘पागलपन’ देखाएको आरोप लगाउँदै उनको कम्पनी ‘स्पेसएक्स’ र ‘टेस्ला’ सँगका सबै सरकारी ठेक्का तोड्ने धम्की दिए । प्रतिउत्तरमा मस्कले पनि अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेसनमा यात्री र आपूर्ति पुरÞ्याउने ‘ड्रागन स्पेस क्याप्सुल’ को सेवा बन्द गर्ने चेतावनी दिएका छन् । यो घटनाक्रमले अमेरिकी राजनीति र प्रविधि क्षेत्रमा तरंग पैदा गरेको छ ।
आफ्नो सरकारलाई नै हतियार बनाएर बदला लिने स्वभावका ट्रम्पले अब कस्तो कदम चाल्लान् ? के अब टेस्ला र स्पेसएक्सले पाउँदै आएको सरकारी सहायताको अन्त्य हुनेछ ? कुनै समय सरकारी खर्च कटौती गरेर चर्चा कमाएका मस्क आफैँ कटौतीको निशानामा पर्लान् ? संसारले यी दुई पूर्वमित्रहरूको झगडालाई आश्चर्य र रोमाञ्चकताका साथ हेरिरहेको छ । यो घटना केवल दुई शक्तिशाली व्यक्तिको व्यक्तिगत झगडा मात्र होइन, यो सत्ता र स्वार्थको गठजोड कति क्षणभंगुर हुन्छ भन्ने ज्वलन्त उदाहरण हो । जब व्यक्तिगत महत्वाकांक्षा र व्यावसायिक स्वार्थले राष्ट्रिय नीतिलाई बन्धक बनाउँछ, तब यस्ता टकराव अवश्यम्भावी हुन्छन् । ट्रम्प–मस्क सम्बन्धको यो नाटकीय पतनले विश्वलाई एउटा गम्भीर सन्देश दिएको छ— शक्ति र पैसाको अपवित्र गठबन्धन मित्रताको होइन, अवसरवादको जगमा अडिएको हुन्छ, जुन स्वार्थको सानो धक्काले पनि सजिलै भत्किन सक्छ ।
यो प्रकरणले प्रजातन्त्रमा अनियन्त्रित पुँजी र शक्तिको फ्युजन कति खतरनाक हुन सक्छ भन्ने कुरालाई पनि उजागर गरेको छ ।
प्रतिक्रिया