देश

बालेनका मन्त्री हैरान, कोर टिमको दादागिरी, सचिवले समेत गन्न छाडे, सस्मित र सुनिलमात्र प्यारा (भिडियोसहित)

योहो संवाददाता

काठमाडौं— अहिले देशमा प्रधानमन्त्री बालेन्द्र शाहको एकछत्र शासन चलिरहेको छ । ऐतिहासिक जनमतका कारण शक्तिशाली पदमा पुगेका शाह कोर टिममा सीमित हुँदा आफ्नै पार्टीका सांसद र नेताहरूले उनलाई भेट्न पाउनु नै सौभाग्य जस्तो बनेको छ । उनले अहिले आफ्नो कोर टिमबाटै देशको शासन सत्ता सम्हालिरहेका छन्, जहाँ उनले संसद् र संसदीय समितिहरूको औपचारिकता पूरा गर्न समेत जरुरत ठानेका छैनन् । शाहले सिंगो मन्त्रिपरिषद्लाई आफ्नै कब्जामा लिएका छन् । बाहिर बालेनको शक्तिशाली मन्त्रिपरिषद् भन्दै चर्चा गरिए पनि यथार्थमा मन्त्रीहरूको सम्पूर्ण शक्ति बालेन्द्र शाह र उनको कोर टिममा निहित छ । यसले प्रभावशाली र विज्ञ भनिएका मन्त्रीहरूलाई नै उकुसमुकुसमा पारेको छ । विगतमा ओली शासनको विरोध गरेर मन्त्री बनेकाहरू अहिले बालेन शासनका अगाडि निरिह बनेका छन् । बालेन्द्र शाहकै कारण रास्वपाले दुईतिहाइ नजिकको बहुमत पाएको दाबी गर्दै उनको कोर टिमले मन्त्रीहरूलाई नै इसारामा नचाइरहेको छ । मन्त्रीले कुनै पनि निर्णय गर्नुअघि प्रधानमन्त्रीको कोर टिमसँग सल्लाह गर्नुपर्ने वा उनीहरूकै योजनामा काम गर्नुपर्ने बाध्यता छ ।