काठमाडौं। डडेल्धुराको परशुराम नगरपालिका– १० का राजेश जोशी । जसले कठोर संघर्षपछि गोल्ड मेडालिष्ट पाउने रेसमा आफूलाई उभ्याउन सफल भएका छन् । त्रिभुवन विश्वविद्यालय कीर्तिपुरबाट चार वटै सेमेस्टरमा ४ जिपिए ल्याउँदै ’फ्याकल्टी अफ साइन्स’ अन्तर्गत गणित विषयबाट ‘एमएस्सी’ उतीर्ण मात्र गरेका छैनन् । गोल्ड मेडलिस्टको दाबेदार समेत बनेका छन् । तर, यो सफलता पछाडीको संघर्ष उत्तिकै कठोर छ ।
टिकेश्वरी जोशी, राजेशकी आमा हुन् । चार सन्तान सानै थिए, श्रीमान बिते। बुबा नारायणदत्तलाई भारतमा लुटेराहरुले मारिदिए । साथ दिने हात छुट्यो। आमाको जिम्मेवारी त थिदै थियो, अतिरिक्त थपियो पारिवारिक जिम्मेवारी ।
दुःख र पीडाका अनेकन घुम्तीहरू एक्लै हिड्नु थियो। सन्तान पढाउन, हुर्काउन, र उनीहरूलाई आफ्नो खुट्टामा उभ्याउन किसानी जिन्दगी सुरू भयो।
दिनरात सन्तानका खातिर उनले ती सबै दुःख गरिन्, जुन दुःख एउटी आमाले गर्छिन्। यही दुःखको प्रतिफल राजेश र उनको परिवारले पाएको हो ।
राजेश यो सफलतालाई निरन्तरको मिहिनेत र आफूमाथिको आत्मविश्वासले पाएको सफलता आमालाई समर्पित गर्न चाहन्छन्।
उनी भन्छन्, ‘आमाको सपना, परिवारको साथ र आफूमाथिको विश्वासले पाएको सफलता हो की?’
२ दिन अघिमात्रै नतिजा सार्वजनिक भएको थियो। ‘रिजल्ट देख्दा सबैभन्दा पहिले आमाले गरेको आमालाई सम्झिएँ’, भावुक मुद्रामा उनले सुनाए।
वि.२०५७ सालमा जन्मिएका राजेश बाल्यकालबाटै पढ्नमा सौखिन थिए। बाल्यकालमा परशुराम नगरपालिकाको सिताराम माध्यमिक विधालयमा पढेका उनले त्यहीँ कक्षा १० सम्म अध्ययन गरे। उत्कृष्ट नतिजा ल्याएपछि कक्षा ११, १२(प्लस टु साइन्स) लिएर सिद्धानाथ माविमा पढे। हुन त उनी १२ कक्षाको परीक्षा दिएर रोजगारीका लागि भारत जान चाहन्थे । तर, बुवा भारतमै अस्ताएको सम्झिएका भाई सुशीलले दाइलाई विदेश जानु हुँदैन भन्दै सम्झाए। रोके ।
त्यसपछि उनले शिक्षण पेशा रोजे। नजिकै परशुराम नगरपालिका–५ परिगाउँमा रहेको एक विद्यालयमा पढाए। कक्षा १२ काे नतिजा आएपछि एक वर्ष धनगढीमा शिक्षण गरे। होम ट्युसन पढाउँदै महेन्द्रनगर कन्चनपुरको सिद्धानाथ साइन्स क्लयाम्पसबाट आफूले पनि बीएस्सी पूरा गरे । त्यसपछिको साढे एक वर्ष हुम्लामा पुनः पढाए । पढ्ने हुटहुटी बाँकी थियो। अनि स्नातकोत्तर अध्ययनका लागि काठमाडौं आएका हुन् । ८० सालको एक साँझ उच्च शिक्षा पढ्न काठमाडौंको बस चढे। किर्तिपुरमा बसेर अध्ययन गरे र २६ वर्षको उमेरमै स्नातकोत्तर पूरा गरे।
आज उनले पाएको सफलताले उनको चर्चा सर्वत्र रहेको छ। बधाइको ओइरो लागेको छ। आफन्तदेखि सामाजिक सञ्जालसम्म बधाइ पाइरहेका छन्। सम्भवतः अब उनी नै गोल्डमेडालिष्टको रूपमा सम्मानित हुने छन्।
‘रिजल्ट चाही चार वटै सेमेष्टरमा चार जिपिए ल्याएको हुँ,’उनी भन्छन्,‘अब गोल्डमेडालिष्ट पाउनेमा चाहिँ अहिलेसम्म प्रोसेसमै होला।’ उनी जस्तै अध्ययन गरि उत्कृष्ट नतिजा ल्याउन सोच बोकेका विद्यार्थीहरूका लागि सुझावसमेत दिन्छन्।
कसरी अध्ययन गरेर ४ जिपिए ल्याउन सकिने रहेछ नी भन्ने प्रश्नमा उनी भन्छन्,‘पहिला त पढ्नेमा रहर हुनुपर्छ,हामीले पढ्ने कोर्ष डिटेल्ली बुझेर पढ्नुपर्छ,नबुझेका कुरा टिचरलाई सोधिहाल्नुपर्छ,लाइब्रेरीमा गइ अध्ययन गर्नुपर्छ,आर्टिकल पढ्नुपर्छ,परीक्षाको बेला कन्टेन्टमा फोकस गर्नुपर्छ, म १२ बजेसम्म पढ्ने गर्छु।’
कतिपय विद्यार्थीहरू उच्च शिक्षाका लागि विदेश नै रोज्ने गर्छन्। अहिले पनि दैनिक कैयौ विद्यार्थीहरू विदेशिरहेका छन्। तर,उनी अब नेपालमै बसेर गणित विषयमै पिएचडी गर्ने उनको योजना छ।
‘यो विषयमै यही वातावरण भए पिएचडी गर्ने योजना छ,’उनले भने। अहिले जुनसुकै तहमा गणित विषयमा बढी विद्यार्थीहरू फेल हुने गरेका छन्। उसो त यी समस्या हटाउनेगरि कोर्षको अध्ययन गर्ने,कोर्ष मेटिरियल बनाउने लगायत कार्य गर्ने पनि उनको योजना छ।


प्रतिक्रिया