देश

प्रधानमन्त्रीलाई सदनमा ल्याउन नसके आफूलाई निष्कासन गर्न माग गर्दै हर्कले बहिष्कार गरे बैठक

योहो संवाददाता

काठमाडौं– श्रम संस्कृति पार्टीको संसदीय दलका नेता हर्क साम्पाङले प्रधामनमन्त्रीलाई सदनमा ल्याउन नसके आफूलाई निष्कासन गर्न सभामुखलाई सुझाएका छन् । बुधबारको प्रतिनिधिसभाको बैठकमा साम्पाङले प्रधान्मन्त्रीलाई ल्याउने वा आफूलाई सदनबाट निकाल्ने विकल्पमा जान भनेका हुन् ।

संसदमा निरन्तर माग हुँदा पनि सभामुखले प्रधानमन्त्रीलाई रुलिङ गरेर ल्याउन नसकेको उनको भनाई छ । नियम १५ को २ को अनुसार सदनमा जवाफदेही बनाएर ल्याउन सक्नु हुन्न भने नियमावलीको ३१ को १ लागू गरेर मलाई निष्कासन गरेर सदनको गरिमा बढाइदिनुहुन अनुरोध गर्छ, दुईमध्ये एक लागू गरिदिनुस् । प्रधानमन्त्री ल्याउने वा मलाई निकाल्दिने गर्नुस् । नत्र संसदको गरिमा कायम हुँदैन’ उनले भने ।

विपक्षीले निरन्तर माग गरेपछि मंगलबार रास्वपाले प्रधानमन्त्रीलाई संसदमा उपस्थित गराउने आश्वासन दिएको थियो । रास्वपाको तर्फबाट मुख्य सचेतक कवीन्द्र बुर्लाकोटीले यही हप्ताभित्र प्रधानमन्त्री संसदमा आएर बोल्ने बताएका थिए । तर, दिन तोकेका थिएनन् ।

यसैबिच साम्पाङले संसद् बैठक बहिष्कार गरेका छन् ।आफूहरूले निरन्तर प्रधानमन्त्रीको जवाफ खोजिरहेको भन्दै उनले सभामुख डोल प्रसाद अर्यालको ध्यानाकर्षण गरेर बैठक बहिष्कार गरेका हुन् ।