काठमाडौं— आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि प्रत्यक्षभन्दा समानुपातिक कोटाबाट सांसद बन्न महिलाहरू बढी आकांक्षी देखिएका छन् । नेकपा एमाले बाहेकका दलहरूले समानुपातिकतर्फका उम्मेदवारहरू सिफारिस गर्दा महिलाको सङ्ख्या निकै धेरै देखिएको हो । प्रत्यक्षतर्फबाट अधिकांश पुरुषहरू सिफारिस हुँदा समानुपातिकतर्फ भने पार्टीका केन्द्रीय सदस्यदेखि चर्चित अनुहारहरूसम्म पुरुषभन्दा महिला बढी सिफारिस भइरहेका छन् । यसले महिला नेतृत्व जनताको प्रत्यक्ष मतबाट भन्दा पार्टी नेतृत्वको रोजाइबाट संसद् प्रवेश गर्न खोजेको देखिन्छ । यस प्रवृत्तिले जनताका माझ महिला नेतृत्वको प्रत्यक्ष उपस्थिति न्यून हुँदै गएको संकेत पनि गर्दछ । खासगरी दलित, आदिवासी, जनजाति, खस आर्य, मधेसी, थारू र मुस्लिमसहितको समावेशिताका आधारमा समानुपातिक उम्मेदवार सिफारिस गर्नुपर्ने संवैधानिक प्रावधान छ । यसअघिसम्म ३३ प्रतिशत महिला सहभागिता अनिवार्य हुनुपर्ने व्यवस्था थियो । तर, ‘प्रतिनिधिसभा सदस्य समानुपातिक निर्वाचन निर्देशिका, २०८२’ ले गरेको नयाँ व्यवस्थाबमोजिम राजनीतिक दलले उम्मेदवारको बन्दसूची पेस गर्दा प्रत्येक समावेशी समूहबाट कम्तीमा ५० प्रतिशत महिलाको नाम समावेश गर्नुपर्नेछ । यो कानुनी प्रावधानका कारण पनि समानुपातिकमा महिला सहभागिता स्वतः बढी देखिएको हो ।
देश


प्रतिक्रिया