प्रवास

जहाँ महान दिमागहरु भेट्छन् – ‘होटल क्याफे रोयल’

योहो संवाददाता

भीम राई

अक्सफोर्ड – भूमिगत रेल अड्डा मार्लिबोर्नदेखि पिकाडेलि सरकससम्म पुग्न लगभग बाइस मिनेट जति समय लाग्छ । हामी यतिबेला लन्डनको भूमिगत रेलतिर बरालिरहेका छौं र म सँगसँगै बरालिने जोडि मेरी श्रीमती पनि हुन् । हुनत हामी एक रथको दुई पाङ्ग्रा भएर सँगसँगै गुडेका सैतिस वशन्त पार गरेर अठ्तिसमा लागिसकेका छन् । तर अहिलेसम्म पटक्कै थाकेका छैनौं र अझै पहिलेभन्दा झन धेरै जोसिला भएर आएका छौं ।

पिकाडेली सरकस रेल अड्डादेखि बाहिर जमिनमा निस्कँदै गर्दा अचानक ताराले, ( “खै, खै १ एउटा सानो भिडियो क्लिप बनाइ दिनुहोस् त रु” स्टेसनको सिँढीतिर हेरेर मलाई मधुरो स्वरमा त्यति अनुरोध गर्छिन् ।

हातमा रेलको फर्कने टिकट लिएर सुइँसुइँ एकोहोरिएर हिँडिरहेको थिएँ । तर उनको कुरो सुन्ने बितिक्कै पहिले एकचोटी झसङ्गै झस्किन्छु । त्यसपछि सामाजिक संजालको जमाना छ । टिकटकमा आफू लन्डनमा पुगेको छु है भनेर विश्वभरि छरिएर रहेका नेपाली मान्छेहरुलाई देखाउने रहर गरिन होली भनेर मनमनै सोच्छु र प्रतिउत्तरमा, “हुन्छ, हुन्छ,” भनिहाल्छु ।

त्यति भनिसकेपछि रेलको टिकटलाई थपक्कै पतलुङ्को गोजिमा राख्छु । अनि सिमन्टीदेखि बनेको सिँढीको दुई(चार खुड्किलाहरु गन्दै गन्दै माथि तिर चढ्न थाल्छु । सिँढीको सबैभन्दा माथिलो तलामा पुगेर मुनितिर उनलाई हेर्छु । त्यतिबेला उनी एकजना अबोध बालिका झै उभिँएर मलाई क्वारक्वार्ति हेरिरहेकी हुन्छिन् । त्यसपछि पहिले दाहिने हात मास्तिर आकाश तिर उठाउँछु अनि, “लु १ अव आउँ,” भनेर उनको आशाको प्रतिक्षालाई भङ्ग गर्दै इसारा गर्छु ।

मेरा निर्मल निश्चल शब्दहरु हावामा बिलिन हुन पाउँदा नपाउँदै उनी चर्चित अश्वेत मोडल नावमी क्याम्वलको अभिनयमा रेल अड्डाका सिँढीहरु उक्लन थाल्छिन् । यसरि सिँढीहरु चढ्ने क्रममा उनका कम्मर मर्किन खोज्छन् । सोही समयमा म उनको भिडियो लिन्छु र एक्कैचोटी ‘पास’ भन्छु ।

लगभग तीस सेकेन्ड जतिको भिडियो क्लिप बनाउँछु । त्यसपछि मोबाइललाई गोजीमा थन्क्याउँछु । सोही गोजिदेखि लन्डनको मानचित्र निकाल्छु । अनि मानचित्र हेर्दै हेर्दै, “मलाई पछ्याउनु है,” भन्छु र सरासर अगाडि बढ्न थाल्छु ।

२५ अप्रिल २०२६ को दिन, बिहानीपखको मौसम अति नै लोभलाग्दो छ । त्यति लोभलाग्दो मौसममा ठीक ११ बजे हामी लन्डनको चर्चित स्थल पिकाडेली सरकस पुगेका हुन्छौं । तिनै पिकाडेली सरकसको काखैमा होटल क्याफे रोयल रहेको छ । र, हामीले तिनै होटलमा अति नै स्वादिलो दिउँसोको खाना खाने योजना बुनेका थियौं, त्यसैले त्यतातिर लम्किदै छौं । तर विश्वको अति चर्चित होटल क्याफे रोयल कस्तो होला रु पिकाडेली सरकसको कहाँनेर होला रु अनि त्यहाँ काम गर्ने मनिसहरु के कस्ता होलान् भनेर मनभित्र हल्का हलचल उत्पन्न भइरहेका नै थिए ।

बेकरलु लाइनको भूमिगत रेलयात्रा सकेर बाहिर जमिनमा निस्कँदा पिकाडेली सरकसको वाताबरण बिलकुल फरक फरक देखिन्छ । तर बाहिर निस्केपछि सबैभन्दा पहिले रेजेन्ट स्ट्रिटको किनारमा पुगेर एकछिन उभिन्छौं । त्यसपछि मानिसहरुको हुलमुलमा गएर मिसिन्छौं । हुनत यहाँ र यतिबेला मानिसहरुको भिँडभाँडको मात्र कुरा होइन । सडकमा देखिने लोभलाग्दा दुईतले बसहरु, महङ्गा महङ्गा मरसिडिज बेन्ज, आउडी, पोर्च, फरारे, जागुयर, रेन्ज रोभर र बिएमडब्लु कारहरु र सहरका प्रख्यात काला ट्याक्सिहरुको रमणिय दृश्य मेरा आँखाभरि नाँची रहन्छ । तैपनि यसरि सडकमा दगुरिरहेका कारहरु बुगाटी भेयरन, बेन्टली, अस्टोन मार्टिन र रोल्स रोयसहरु देख्दा भने आज मैले साइतमा नै घर छाडेको रहेछु भन्ने बोध गर्छु ।

बिहानीपखको पारिलो घामले लन्डन सहरलाई ओथारामा बसेको कुखुराको पोथीले अन्डालाई कोरले झै मज्जाले कोरली रहेको भान हुन्छ । उसै त भेरी फोकल चश्मा लगाउने मान्छे, म । बिहानीपखको तिरिरी घाम, मान्छेहरुको भिँडभाँड र गाडीहरुको चहलपहलले मेरा दृश्यलाई थोरै गड्बडि गरिदिन्छ । त्यसैले जिवित पिकाडेली चोकको हुलमुलदेखि भागेर थोरै कुनातिर जान्छु र एकछिन उभिन्छु ।

तर त्यतिबेला मेरो सिधै अगाडि ठूल्ठूला अक्षरद्वारा बनेको “होटल क्याफे रोयल” भनेको साइन देखेपछि एकछिन दङ्ग पर्दै हेर्न थाल्छु ।
वास्तवमा, होटलको सुरुवात कथा पनि अचम्मैको छ ।
कुरो १८६३ को हो । पेरिसमा वाइन ब्यापार गर्दै गर्दा चौपट्टै घाटा लागेर आफ्नो कम्पनी टाट पल्टेपछि एकजना मानिस आफ्नी श्रीमती च्यापेर उज्वल भविश्यको खोजि गर्दै गर्दै लन्डन आउँछन । उनका नाम ड्यानियल निकोलस थेभेनन र श्रीमती नाम चाहिँ सेलेस्टिन हुन् । उनीहरु लन्डनमा आइसकेपछि अव के गर्ने होला भनेर केहि दिन अलमलमा पर्छन् । तैपनि अन्य ठाउँ कतै चिनेजानेको हुँदैन । त्यसैले सोहोमा बस्न थाल्छन् । किनभने सोहोको एकातिर फ्रान्सेली र अर्कोतिर जर्मन समुदाय झुरुप्पै मिलेर बस्ने गरेका उनीहरुले आफ्नै आँखाले देखे । त्यसपछि उनीहरुले त्यहाँ फ्रान्सेली साथीहरु बनाए र तिनीहरु सँगसँगै च्यापिएर बस्न थाले ।

तर सबैभन्दा दुःख लाग्दो कुरो त के थियो भने उनीहरुका साथमा पैसाको नाममा जम्मा पाँच पाउन्ड मात्र थियो । त्यसैले बाँच्नको लागि उनीहरुले फ्रान्सेली मान्छेहरुको साथ रोज्नु परेको थियो ।

सोहो, लन्डनमा बसेको केही दिनपछि सेलेस्टिनले सिलाइ बुनाइका काम सुरु गर्न थालिन । त्यस कामले अलिकति पैसाको जोहो गरिन । तर उनकी श्रीमानले खानको लागि हो भने अरुकोमा काम तर पैसा कमाउने हो भने ब्यापार गर्नु पर्छ भन्ने मजाले बुझेका हुनाले ब्यापार गर्न चाहन्थे । तर फ्रान्सको वाइन ब्यापारले बदनाम कमाएको हुनाले उनले आफ्नो नाम थेभेननलाई हटाई दिए र डेनियल निकोलस मात्र राखे । त्यसपछि सन् १८६५ मा उनी बेलायती नागरिक बनेपछि रेजेन्ट स्ट्रिटको छातीमा एउटा फ्रेन्च रेस्टुँरा खोलिहाले र त्यस रेष्टुँराको नाम “क्याफे रोयल” राखे ।
तिनताका लन्डनमा फ्रेन्च रेष्टुँराहरु पटक्कै छँदै थिएनन् । लन्डनमा पहिलो पटक खोलिएको फ्रेन्च रेष्टुँरा मानिसहरुले निक्कै धेरै चासोले हेर्न थाले । अहिले जस्तो सामाजिक सन्जाल त थिएन । तैपनि डेनियलले लन्डनमा फ्रेन्च रेष्टुँरा खोलेको एक कान दुई कान मैदान भयो । र, पछि गएर रेष्टुँरा होटलमा परिणत भयो ।

तर सबैभन्दा राम्रो पक्ष चाहिँ के भयो भने स्थानिय कुलिनबर्गका मानिसहरुलाई यो होटलले अति नै धेरै प्रभाव र आकर्षण गर्न थाल्यो । सबैभन्दा बढि प्रभावित हुनेहरुमा पहिले पहिले साहित्यकारहरु ओस्कर वाइल्ड, भर्जिनिय वुल्फ, डेभिड लरेन्स, जर्ज बनार्ड श, रड्यार्ड किप्लिङ र ज्याकव एपस्टाइनहरु परे । त्यसपछि हलिवुड नायिका एलिजावेथ टेलर गायक मिक जागर बक्सिङ खेलाडि मोहमद अली राजनीतिज्ञ विन्स्टन चर्चिल र राजकुमारी डायना आकर्षणको केन्द्रबिन्दुमा रहिरहे ।

रेजेन्ट स्ट्रिटको मूख्य चोकमा म नानाथरिको कुराहरु मनमा खेलाएर त्यसरि एकोहोरिएर घोत्लिरहँदा ताराले अचानक, ( “होइन १ बुढो मान्छेको दिमाग सिमाग खुस्क्यो कि के हो रु केही बोल्नु हुन्न त रु अब कता जानु पर्ने हो रु” एकापट्टिको काँधमा लुइ भेटनको हाते झोला बोकेर रुखो स्वरमा दाहिने हात हल्लाउँदै त्यति बक्छिन् ।
“ल १ देखेनौ । सिधै अगाडिको होटल । हेर त, कस्तो अचम्म हो कुन्नि रु हामी त ठेक्कै होटलको अगाडि नै आइपुगेका रहेछौ,” थोरै उत्सुक्ताका साथ उनलाई जबाफ फर्काउँछु ।

“आम्मै १ हो त रहेछ,” मेरो कुरा सुनेर त्यतिबेला उनी झसङ्गै हुन्छिन् । हुनत उनकी पनि आँखा अलिक कमजोरी कमजोरी नै छ । तर नेत्र विशेषज्ञले जारी गरि दिएको चश्मा आलमारीमा नै राखि छाड्छिन् । हिँडडुल गर्दा अफ्ठ्यारो हुन्छ भनेर लगाउन पटक्कै मान्दिनन् । बरु थोत्रा लुगाफाटा सिलाइबुनाइ गर्दा भान्सा कोठाको पल्लो कुनामा बसेर चश्मा लाउँछिन र लुगा सिउँछिन् । अरुबेला चाहिँ मरिगए लगाउन मान्दिनन् । तर त्यसबेला चाहिँ दाहिने आँखामाथि उनकी हात राख्छिन् र घामको प्रकाशलाई छलेर यसो एक झलक होटलतिर हेर्छिन अनि त्यति भन्छिन् ।

“मैया १ होटल त राम्रै देखिएको छ नि । कि के हो रु” निक्कैबेरसम्म आरेमेरे भएर उभिँरहेकी देखेर म उनकी ध्यान खिच्न त्यसो भन्छु ।

“दुई तीन बर्ष अगाडिदेखि तपाइँले पालेर राख्नु भएको रहर बल्ल पुरा हुने हो । कि होइन र रु अनि बुढेसकाल लागिसक्यो रहर कहिले मर्ने होइन । बरु झनझन दिनैपिछे थपिदै गइरहेका छन् । तर भरै कति बिल आउने हो कुन्नि रु बिल हेरेर हृदयघात होला र होस गर्नोस् । मानिसहरु बिना पैसा टिकी ट्याँसट्याँस भन्छन् । खुव ठूलो मान्छे भै टोपलेर झूटो हर्कत गर्न सिपालु हुनुहुन्छ । तपाइँको बानि नि,” निक्कै लामो समयसम्म एकोहोरो गनगन गर्छिन् ।

“अरुले के के भन्छन् अरुको विचारको कुरो भयो । म मेरो दिमागले जे सोच्छु, सोहि गर्छु । अरुको विचार सुनेर उनीहरुले भनेको मान्यो भने अरुको जिन्दगी जिइन्छ । म स्वतन्त्र रुपले मेरो जिन्दगी जिउँन चाहन्छु,” भन्छु ।
तैपनि उनको भनाइहरु सबै सत्य हुन् । तर पूर्ण सत्य भने हुँदै होइन । तैपनि गलत स्थानमा आयो । सहि ठाउँमा आएन है, भनेर मनमनै भन्छु ।

बुढाबुढीको झगडा परालको आगो जस्तै हो भनेर एकछिनपछि हामी दुईजना मिल्छौ । बल्ल बल्ल क्याफे रोयलको अगाडि आइपुगेका छौं । त्यसैले परिदृश्यमा होटललाई राखेर दुईचार पटक मोबाइलदेखि तस्विर लिन्छौं । तस्विर लिइसकेपछि म सडक किनारमा उभिएर दायाँबायाँ रमिता हेर्न छाड्छु । बरु मेरा कदमहरुलाई क्रमशः होटलतिर अगाडि बढाउन थाल्छु ।
तर यसरि हिँड्दै गर्दा ( मनमनै विचार्छु । वास्तवमा, यो लन्डन कति ठूलो छ, हँ रु जता हेर्यो उतै घरै घर, सडकै सडक । कति बिशाल सहर छ हो, भन्छु ।

आजभन्दा लगभग ३६ बर्ष अगाडिको कुरो हो । मैले जिन्दगीमा पहिलोचोटी लन्डन टेकेको थिए । त्यतिखेर ( झ्वास्स सम्झन्छु । नभन्दै त्यसदिन म बिबिसी नेपाली सेवाको कार्यलयको भ्रमण गर्न स्ट्रान्डा पुगेका थिएँ । विश्वको सबैभन्दा चर्चित स्थान पार्लियमेन्ट भवन पहिले घुमें । अनि थेम्स नदीको किनारै किनार हिँड्दै हिँड्दै स्ट्रान्डाभित्र छिरेको मात्र के थिएँ । कता हराए हराए, केही अत्तोपत्तो नै भएन । मलाई बिबिसी कार्यलय खोज्न सार्है धौ धौ परेको थियो । म त्यतिबेला न अहिले जस्तो अंग्रेजी नै बुझ्थें । न मलाई नक्सा हेर्न वा पढ्न नै पारा आउँथ्यो ।

बेलायती गोर्खा सेनामा भर्ती भएपछि हङकङदेखि पहिलो छुट्टिमा नेपाल जाँदा एउटा तीन बेन्डको सानो जापानिज रेडियो लगेको थिएँ । तिनै रेडियोमा हरेक बेलुकीपख बिबिसी नेपाली सेवा सुन्ने गर्थे । उक्त नेपाली भाषाको कार्यक्रममा खगेन्द्र नेपाली र मणी राणाको जादुमय स्वर मलाई असाध्यै मन पर्थ्यो ।

त्यसपछि मरितरि बेलायत आइपुगेको बेला एकदिन बिबिसी रेडियो स्टेसन जान्छु र उहाँहरुलाई प्रत्यक्ष भेट्छु भन्ने ठूलो रहर पालेको थिएँ । तिनै सपना साकार पार्न म त्यसदिन पहिलोचोटी लन्डनको स्ट्रान्डा पुगेको थिएँ । तर त्यहाँ जाँदा मानिसले आफ्नो जीवनमा जस्तो सोच्यो त्यो पुग्न निक्कै कठिन हुने रहेछ भन्ने कुरो मैले त्यहिँबेला चाल पाएको हुँ । किनभने त्यसदिन लन्डनमा हराएर हराएर मेरो जात्रा भएको थियो । यधपि ढिलै भएपनि उहाँहरुसँग भेट भयो र खुसि नै भए ।

त्यस क्षणलाई अहिले सम्झेर ल्याउँदा मेरा अनुहार राता र पिरा हुन्छन् । तर खैर केही छैन् । आखिर त्यो दिन, त्यो दिन नै हो भन्छु । जे भयो त्यसलाई पश्चाताप गर्दिन । सकरात्मक दिमाग बनाउँछु र मनलाई शान्त्वना दिन खोज्छु ।

फेरि सम्झन्छु – हुनत तिनताका म अलिक कलिलो र आलाकाँचा नै थिएँ । त्यसैले मेरो दुई कौडीको बुध्दि थिएन । तर त्यहाँदेखि आजको दिनसम्म लन्डन कतिचोटी आइयो होला भनेर एकछिन स्मरण गर्ने कोशिस गर्छु । थोरै असजिलो लाग्छ । तर सबै कुरो दिमागमा थाकै थाक भएर के बस्थ्यो होला र रु भन्छु ।

तैपनि लन्डनका केही होटलहरुको अविष्मरणिय याद चाहिँ अहिलेसम्म ताजै छन् । संसारको अति नै प्रतिष्ठित उक्त्त होटलहरु जस्तैः( डोरचेस्टर, रिट्ज, सेभोइ ग्रिल लान्सबोरोका खानाहरु मेरा जिब्रो हुँदै पेटभित्र पुगेका क्षणहरु पुनः स्मरण गर्छु । अब त ती सम्झनाहरु पनि गाउँमा सानो छँदा बुढीबज्यू ९माछाक्मा० को कथामा जस्तै उहिले नै हो है भनेर थाल्ने बेला भइसकेका छन् ।
त्यति सोच्दै सोच्दै हिँड्दा हामी ड्याम्मै होटलको ढोका अगाडि पुगेर ठोकिन्छौं । तर “६८ ( रेजेन्ट स्ट्रिट” लन्डनमा रहेको अतुलनिय विलासी होटल क्याफे रोयलको ढोका अगाडि पुग्दा एकजना अश्वेत मूलका ढोकेसँग हाम्रो भेटघाट हुन्छ । मेरो सामुन्ने खडा भएर उँभिरहेका ढोकेलाई देख्ने साथ, “मलाई माफ गर्नु होस् “ओस्कर वाइल्ड ग्रिल कता पर्छ ?” मसिनो स्वरमा सोध्छु ।
“यी यतै बाट सिधै अगाडि जानुहोस्,” भनेर उनले हामीलाई ढोका खोलिदिन्छन् ।उनले ढोका खोलि दिएपछि हामी सरासर हिँडेर भित्र पुग्छौ । भित्र पस्ने बितिक्कै ताराको मुखदेखि “वाह,” भन्ने आवाज आउँछ ।

आफ्नै बुढि हो भन्छु । र, म उनको आवाजलाई सुने पनि नसुने झै गर्छु । मानौ तिरस्कार गर्छु । बरु उल्टै म आफू ठूलो मान्छे पल्टिन्छु । तर होटलको अर्को ढोकाभित्र बत्तिको प्रकाशले झिलिमिली चम्किरहेको रष्टुँरेन्ट हाम्रो सामु देखा पर्छ । होटलको ढोका अगाडि भेटेको ढोके झै रेष्टुँरेन्टको ठीक अगाडि पनि एकजना महिला कर्मचारी उभिएर हामीलाई क्वारक्वार्ति हेरिरहेकी हुन्छिन् ।

उनलाई देखेपछि म कछुवा गतिमा हिँड्दै उनको नजिक पुग्छु र मेरो आँखा उनको आँखामा लगेर एक पटक ठोकाइ हाल्छु । तर ठीक त्यहिँबेला, “मलाई माफ गर्नोस् १ तपाइँको नाम के होला रु” मधुर मुस्कान सहित उनले मेरो नाम सोधि हाल्छिन् ।
उनकी मुस्कान देखेर गर्विलो मुद्रामा छाँती फुलाउँछ र प्रतिउत्तरमा, “भीम राई,” संक्षिप्तमा जबाफ फर्काउँछु ।

मेरो नाम सुनेपछि उनले कम्प्युटरको स्क्रिनमा हेर्न थाल्छिन् । रेष्टुँरेन्टमा खाना खानको लागि अग्रिम आरक्षण गरेको मेरो नाम पत्ता लाएपछि भित्तामा रहेको घडि तिर एक नजर मार्छिन् । उमेरले साठी कटाएर केस सेताम्मे फुलाएको भएपनि मान्छे म अलिक नक्कले नै छु । किनभने उनी सँगसँगै म पनि घडितिर हेरि हाल्छु । घडिले दिउँसोको समय बार्ह बज्न दश मिनेट बाँकी छ है भनेर देखाएको हुन्छ ।

घडिदेखि नजर घुमाएर मलाई हेर्दै, ( “ठीक बार्ह बजे रेष्टुँरेन्ट खुला हुन्छ । दश मिनेट जति समय तपाइँहरु यतै कतै होटलको लबिमा बस्दै गर्नु होला है,” भनेर उनले रेष्टुँरेन्टको बायाँतर्फ रहेका आरामदायी सोफाहरु देखाइ दिन्छिन् । उनको कुरा सुनेपछि, “भै हाल्छ,” भन्छु र तारासँग अलिकति बायाँतिर हिँडेर अगाडि बढ्छौं । होटलको तिनै प्रतिक्षालय कोठामा रहेको आरामदायी सोफामा पुगेर थपक्कै बस्छौं ।

सोफामा बसिसकेपछि भित्तामा सजिएका रङ्गिचङ्गि तस्विरहरु हेर्न थाल्छु । तर अचानक तारालाई मसिनो स्वरमा, ( “अनि यो रेस्टुरेन्टको नाम के हो रु के तिमीलाई थाहा छ, प्यारी रु” भनेर एक वचन सोध्छु ।
“मलाई के थाहा छ र रु तपाइँलाई थाहा छ नि । हुने नहुने सबै कुरो । तपाइँ भइन्जेल मैले के नै पो जान्नु परेको छ र रु म त थपक्कै घरमा बसेर रमाउने मान्छे हुँ । तपाइँको रहरले यी कता कता लानु हुन्छ । अनि कहाँ कहाँ पुगेर नानाभाँती सोध्नु हुन्छ,” नियास्रो मान्दै बरबराउँछिन् ।
हुनत हो । उनको त्यस्तो भनाई सुनेर म पटक्क अचम्म मान्दै मान्दिन । किनभने मेरा कैयन अधुरा सपनाहरु अझै बाँकी नै छन् । मान्छे म पनि अचम्मको मात्र होइन, एकलकाँटे प्राणी पनि रहेछु । ताराले भने झै कतिपय मानिसहरु आफ्नो घरदेखि बाहिर कतै नगए पनि कति शान्तिको साथ जिबिको पार्जन गरिरहेका छन् ।

त्यतिबेला म बेस्सरि सम्झिन्छु ।
लौ ! अरुको त कुरै छाड्दिउँ । अनि हजारले त के मान्थ्यो होला र रु अहिले सायद लाखौ बेलायती पूर्व गोर्खा सैनिकहरु बेलायतमा टडकभडकका साथ बसोबास गरिरहेका छन् । कति जनाले सुदुर पूर्वदेखि आएको विमान हिथ्रोमा अवतरण हुँदै गर्दा आकाशबाट देखेका बाहेक आफ्नो जीवनकालमा लन्डन कहिलै देखेका छैनन् । मरितरि कोही कोही साउथहलसम्म त पुग्छन् तर दरभङ्गा पुगेको जस्तो मानेर फर्कि हाल्छन् । तर कैयन मानिसहरुको लागि भने दुर्भाग्य नै मान्नु पर्छ । पछि टावर ब्रिज जाउँला र हेरौला भन्दाभन्दै नहेरि नै यस धर्तीदेखि बिलय भइसकेका छन् ।

साच्चै ! मलाई चाहिँ यो के भएको होला भनेर म आफ्नै दिमागलाई एकछिन भुट्न थाल्छु । हङकङदेखि पानामा सिटी, सियामरिपदेखि भ्यानकुभर, शँघाईदेखि लस भेगाज, बैकंकदेखि रोम, इस्तानबुलदेखि कायरो र हेलसिन्किदेखि सियोलसम्म पुगेका दिनहरुलाई बेसरी मनन गर्छु ।

एकबारको जुनि बिताउँने क्रममा तारासँग कति देशहरु र तिनीहरुका सहरहरु पुगियो होला भनेर पटक्कै सम्झना छैन् । छ त केवल यस धर्तीको माया । र, हृदयमा लागेको तिनै मायाको अमेट छाप । तैपनि सबै पार्थिक शरिर रहिन्जेल हो । त्यसपछि केही छैन् । फासफुस । न सम्झना, न शरिर । होटलको लबिमा टुक्रुक्क बसेर तिनै बितेका दिनहरु सम्झदा नुन खाएर मर्न लागेको कुखुरा झै झोक्राउँछु ।

“संसारको परिक्रमा गर्नु पनि एक प्रकारको रोग नै हो र यसको उपचार नघुम्नु भन्ने नै रहेछ,” भन्ने निष्कर्ष निकाल्छु र अन्ततः कुरोको बिट मार्दै तारालाई, ( “यस रेष्टुँरेन्टको नाम ओस्कर वाइल्ड ग्रिल हो है,” भन्छु ।
“अनि ऊँ चाहिँ को थियो र रु” बुढिमान्छेलाई इतिहास जान्ने जिज्ञासा लाग्छ ।
अव प्रश्न आएपछि, म कुरो यसरि सुरु गर्छु ।

ओस्कर वाइल्ड बेलायती साहित्यकारहरुको शिर्ष स्थानमा रहेका साहित्यकार हुन् । उनका जन्म १६ अक्टोबर १८५४ मा डब्लिन, आयरल्यान्डमा र मृत्यु ३० नोभेम्वर १९०० मा पेरिस, फ्रान्समा भएका थिए । उनले एउटै मात्र तर अत्याधिक ख्यातिप्राप्त उपन्यास “द पिक्चर अफ डोरियन ग्रे” लेखेका छन् । तिनै उपन्यासको आधारमा अंग्रेजी श्यामश्वेतदेखि कैयन रङ्गिन चलचित्रहरुसम्म छायाङ्कन भएका छन् । पहिले ट्रिनिटी कलेज, डब्लिन र पछि अक्सफोर्ड युनिभर्सिटीमा अध्ययन गरेका वाइल्डले उपन्यास बाहेक नौ वटा नाटकहरु र कैयन कविताहरु लेखेका छन् ।

तर तिनै साहित्यकार वाइल्डको जिन्दगी भने पटक्कै सजिलो तरिकाले बितेका थिएन । घृणित अश्लीलतको दोषी ठहरिएपछि उनलाई रेडिङ जेल पठाइएको थियो । जहाँ उनले दुई वर्ष कष्टकर जीवन बिताएका थिएँ । जेलमा छँदा उनले लेखेका कविता रेडिङ जेलका गाथाहरु “द बलाड अफ रेडिङ गाओल” ले मलाई मात्र होइन हरेक मानव जीवनको हृदयलाई क्षत विक्षत बनाउँन सक्त्तछन् ।

सन् १८९७ मा रेडिङ कारागारदेखि छुटिएपछि उनी आफ्नी श्रीमती कन्स्टेन्स लोयड ९वाइल्ड० र छोराहरुसँग कतै मिलन हुन्छ कि भनेर फ्रान्स पुगेका थिए । तर उनले, “जवसम्म म बाँच्छु, तबसम्म तिमी मेरो प्रेमी हुन्छौ,” भन्ने कन्स्टेन्सलाई भेट्न सक्दै सकेनन् । अझै उनकी श्रीमतीले त छोराहरु सरल र भिव्यानको वाइल्ड जात नै परिवर्तन गरेर हलेन्ड लेख्न सुरु गरेकी थिइन ।

वाइल्ड कारागारमा हुँदा कठोर जीवन व्यतित गर्नु परेको थियो । जसले गर्दा उनको स्वस्थमा गम्भिर क्षति पुगेको थियो । त्यसैको कारणले तीन वर्षपछि सन् १९०० मा पेरिसमा उनको मृत्यु भयो ।

“अनि रेष्टुँराको नाम चाहिँ किन उनको नाममा राख्नु पर्यो नि रु” लामो कहानि सुनेपछि फेरि ताराले मुख खोल्छिन् ।

“यसको जबाफ ज्यादै सरल छ । किनभने उनी यहाँ खाना खानको लागि सधै आइरहन्थे । त्यसैले रेष्टुँराको नाम उनको नामदेखि राखिएको हो ।”

त्यसपछि समय दिउँसको ठीक बार्ह बज्छ । हामी रेष्टुँराभित्र जानको लागि तयार हुन्छौं । तर सोहि समयमा हस्याङ फस्याङ गर्दै छोराले उपस्थिति जनाउँछ ।

छोरा वाइल्डले जेल जीवन बिताएको स्थान रेडिङ टाउनमा काम गर्छन् । तैपनि रातभरि काम गरेपछि दुई तीन घन्टा आराम गरेर त्यहाँ आइपुगेका हुन् । तर छोरी भने केप टाउन, साउथ अफ्रिकामा छुट्टी मनाइरहेकी छिन् । आज बिहान मात्र इन्स्टा ग्राममा ‘टेबल माउन्टेन’ फनफनि घुमेको तस्विरहरु मैले देखेको थिएँ ।

हामी त्यहाँ देखि हिँड्दै हिँड्दै रेष्टुँराको ढोका नजिक जान्छौं । त्यहाँ पुगेपछि स्वागतिकाले हामीलाई भित्र जान भन्छिन् र केही पर रहेको दुई नम्वर टेबल हातले देखाइ दिन्छिन । तर टेबल छेउँमा अर्की एकजना बेयरा उभिरहेकी देखिन्छिन् । उनको नजिक पुगेपछि यहाँ बस्नुहोस् है भन्छिन् ।

रेष्टुँरामा हामीभन्दा अगाडि एकजना एसियन मूलकी युवती आएकी रहेछिन् । उनी हातमा मोबाइल खेलाउँदै खेलाउँदै पर कुनामा बसिरहेकी देखिन्थिन् । नत्रभने सुमधुर सङ्गितको साथमा कोठा प्रायः मृत अवस्थामा छ । तर हल्का बत्तिको प्रकाशले कोठालाई थोरै उज्यालो दिइरहेको देखिन्छ ।

यसरि रेष्टुँराभित्र पसेपछि देखिएको दृश्य म यहाँ शब्दमा के बर्णन गर्न सक्थे र रु लगभग ५६ जनाले सँगसँगै बसेर खान मिल्ने रेष्टुँराको चारैतिर भित्तामा ऐनाहरु अनि ऐनाको छेउछेउमा सुनौला रङ्गका धातुबाट बनेका फूलका पातहरु अनि चमकदार तर सुनौला दिपमाला र फानुसहरु देखेर नेपाली मन भरङ्गै हुन्छ ।

रेष्टुँरामा पस्ने बितिक्कै, “होइन १ यो मान्छेको जातलाई मान्नै पर्छ । जस्तो कल्पना गर्यो, त्यस्तै बनाउन सक्ने । अव यस्तोमा बसेर के खाने होला र रु कोठाको चमकधमक हेरेर नै भोक तिर्खा मेटिने रहेछ,” ताराले मेरो कान नजिक आएर फुसफुसाउँछिन् ।

हातमा मेनु बोकेर हाम्रो नजिकै उँभिरहेकी बेयराले कुर्सि देखाएपछि हामी तिनै कुर्सीमा थपक्कै बस्छौं । तर कुर्सीमा बस्दै गर्दा, ( “ड्याडि १ अबदेखि उसो हरेक महिनाको एकचोटि लन्डनको यस्तो भव्य रेष्टुँरामा सिट आरक्षण गर्नु होला है रु” छोराले साङ्केतिक भाषामा अनुरोध गर्छन् ।

दश नङ्रा खियाएर, तीन पटक युध्दमा भाग लिएर र दुई पटक निवृत भएर मरितरि हुर्काएको छोराले व्यक्त गरेको छड्के भनाइले मलाई खासै असर त गर्दैन । बरु सुकुमार छोराको उमेर झन्डै झन्डै दुई कोरी ठोक्नै लाग्यो भनेर हल्का पिरमा छु । कमजोरि मोरो, यसो ठिङ्ग्रिङ्गै दुई खुट्टा भाकी एउटी आइमाई झुल्काउन नसक्ने निम्छुरोले बाबुलाई गिज्याउँने मनमनै भन्छु । तर त्यति नै बेला बेयराले, (

“तपाइँहरु कुन पानी पिउनु हुन्छ, स्टिल कि स्पार्कलिङ रु” छोटकारीमा सोधि हाल्छिन् ।

हतारहतार जबाफमा, “स्पार्किलिङ,” भन्छु । किनभने मान्छे म अलिक शंकालु पनि छु । हुनत यतिको प्रतिष्ठित होटलमा अवश्य जालझेल त मरिगए गर्दै गर्दैन होला रु तर कुनै कुनै दोकानेहरु महाको हुन्छन् । स्टिल भनेपछि धाराको पानी भरेर बोतलमा राखेको हुन्छ कि भनेर मलाई शंका लागिहाल्छ ।

मैले त्यति भनि सकेपछि बेयरा पानी लिनको लागि हामीदेखि बिलय हुन्छिन् । तर उनी गएपछि मलाई त्यतिबेला ढुक्कले यस्तो भन्न मन लाग्छ, “यो धर्तीको यो नै स्थान हो जहाँ महान दिमागहरु भेट्छन् – होटल क्याफे रोयल ।”