Breaking

१९ विधामा उत्कृष्ट करदाता सम्मानित, सूर्य नेपालदेखि नबिल बैंकसम्म पुरस्कृत

योहो संवाददाता

सरकारले राष्ट्रिय कर दिवसको अवसरमा विभिन्न १९ विधामा सबैभन्दा बढी कर दाखिला गर्ने कम्पनी, संस्था तथा व्यक्तिलाई सम्मान गरेको छ । 

सरकारले मूल्य अभिवृद्धि कर ऐन, २०५२ लागू भएको दिन २०५४ मंसिर १ गतेको सम्झनामा २०६९ सालदेखि राष्ट्रिय कर दिवस मनाउँदै आएको छ । आन्तरीक राजस्व विभागले कर दिवसको अवसरमा एक विशेष कार्यक्रम आयोजना गर्दै आर्थिक वर्ष २०८१/८२ मा उत्कृष्ट करदाता रहेका करदातालाई सम्मान गरेको हो । यसअघि १६ विधामा उत्कृष्ट करदातालाई सम्मान गरिँदै आएकोमा यस वर्ष विधाको संख्या बढाएर १९ पु¥याइएको छ । सरकारले विभिन्न क्षेत्र तथा व्यवसायमा सबैभन्दा बढी आयकर दाखिला गर्ने करदातालाई सम्मान गरेको छ । सम्मानित हुनेमा ठूला व्यावसायिक घराना, बैंक तथा वित्तीय संस्था, बीमा कम्पनी, उद्योग, पर्यटन व्यवसायी र व्यक्तिगत करदाता रहेका छन् । निकायमध्ये सबैभन्दा बढी आयकर दाखिला गर्ने करदाताका रूपमा सूर्य नेपाल प्रा.लि. सम्मानित भएको छ । त्यस्तै, एकलौटी फर्मतर्फ थर्ड आई इन्टरनेसनलले सम्मान प्राप्त गरेको छ । वस्तु निर्याततर्फ डाबर नेपाल प्रालि र सूचना प्रविधिसम्बन्धी सेवा निर्याततर्फ इन्फाइनाइट सफ्टवेयर सर्भिसेस् नेपाल उत्कृष्ट करदाताका रूपमा सम्मानित भएका छन् । कृषि तथा पशुपंक्षीजन्य उद्योगतर्फ ओसिबी फुड्स एण्ड फिड्स प्रालिले सम्मान पाएको छ । 

बैंकिङ क्षेत्रतर्फ नबिल बैंक उत्कृष्ट करदाता बनेको छ भने स्वास्थ्य तथा शैक्षिक संस्थातर्फ नोबेल मेडिकल कलेज टिचिङ हस्पिटल सम्मानित भएको छ । पर्यटन व्यवसाय गर्नेहरूमध्ये सोल्टी होटल लिमिटेडले सम्मान प्राप्त गरेको छ । 
वस्तु व्यापारतर्फ सीजी इम्पेक्स प्रालि उत्कृष्ट करदाताका रूपमा सम्मानित भएको छ । त्यस्तै, वार्षिक ५० करोडदेखि १०० करोड रुपैयाँसम्म कारोबार गर्ने करदातामध्ये फुड एण्ड बेभरेज टेक्नोलोजी रिसर्च सेन्टर प्रालिले सम्मान पाएको छ ।
ऊर्जामूलक उद्योगतर्फ भोटेकोशी पावर कम्पनी प्रालि र रेमिटेन्स तथा मनी ट्रान्सफर व्यवसायतर्फ आईएमई लिमिटेड सम्मानित भएका छन् । व्यक्तिगत आयतर्फ सबैभन्दा बढी आयकर दाखिला गर्ने राजबहादुर शाह पनि सम्मानित भएका छन् । 
मूल्य अभिवृद्धि कर विवरण तथा सोबमोजिमको कर समयमै दाखिला गरी नियमित कर सहभागिता जनाउने करदातामध्ये हिमालयन डिस्टिलरी लिमिटेडले सम्मान प्राप्त गरेको छ । त्यस्तै, वार्षिक ५० करोड रुपैयाँसम्म कारोबार गर्ने करदातामध्ये इम्पेरियल सेक्युरिटिज कम्पनी लिमिटेड सम्मानित भएको छ ।

विशेष उद्योगतर्फ वरुण बेभरेज नेपाल प्रालि उत्कृष्ट करदाता बनेको छ । जीवन बीमा क्षेत्रतर्फ लाइफ इन्स्योरेन्स कर्पोरेसन नेपाल र निर्जीवन बीमा क्षेत्रतर्फ सिद्धार्थ प्रिमियर इन्स्योरेन्स लिमिटेड सम्मानित भएका छन् । लघुवित्त क्षेत्रतर्फ छिमेक लघुवित्त वित्तीय संस्था लिमिटेडले सम्मान प्राप्त गरेको छ । उत्कृष्ट करदातालाई अर्थमन्त्री डा.स्वर्णिम वाग्ले, गभर्नर डा.विश्वनाथ पौडेललगायतको उपस्थितिमा सम्मान गरियो ।