Breaking

बालेनका आइजीपी मनोजको परीक्षा, प्रहरीमा व्यापक हेरफेर, अनलाइन ठगीमा छुट्टै सेल, अरु के–के ? (भिडियोसहित)

योहो संवाददाता

काठमाडौं– प्रधानमन्त्री बालेन शाहको चाहनाबमोजिम नेपाल प्रहरी नेतृत्वमा पुगेका डा. मनोज केसीले पदभार सम्हालेको एक साता नबित्दै आफ्नो सक्रियता देखाउन थालेका छन् । आईजीपीको पदभार ग्रहण गरेको चार दिनकै अवधिमा उनले केही महत्वपूर्ण निर्णय गरेका छन् भने मुलुकको शान्ति सुरक्षा र समसामयिक सुरक्षा चुनौतीबारे सरोकारवाला निकायसँग निरन्तर छलफल गरिरहेका छन् । चुनातीका चाङबीच प्रहरी संगठनको नेतृत्व सम्हालेका केसीले चालेका कदमप्रति आमचासो पनि बढेको छ । प्रहरी संगठनको नेतृत्व सम्हाल्दै गर्दा उनले एकैपटक अनेकौँ जटिल परिस्थिति र दबाबको सामना गर्नुपर्ने देखिन्छ । विशेषगरी, प्रहरी संगठनभित्रको आन्तरिक विवाद, राजनीतिक हस्तक्षेप र नेतृत्वलाई लिएर उत्पन्न असन्तुष्टिलाई चिर्दै संगठनको मनोबल उकास्नु उनका लागि कम चुनौतीपूर्ण छैन । बिचौलिया इनम प्रकरणको अनुसन्धान जरैसम्म पुर्याउनु, सरकारविरुद्ध छठपछि हुने आन्दोलनलाई थप उग्र र हिंसात्मक बन्न नदिनु तथा प्रहरी संगठनभित्र चुलिँदै गएको शक्ति संघर्षलाई व्यवस्थापन गर्नु उनका प्रमुख चुनौती हुन् । चुनौतीका बाबजुत आईजीपीको फुली लगाएसँगै केसीले के—कस्ता काम गरे त ।