काठमाडौं, कात्तिक १८ ।
जय नेपाल पार्टीले संवैधानिक राजसंस्था र सनातन हिन्दु अधिराज्य पुनःस्थापनासहित आठबुँदे संकल्प सार्वजनिक गरेको छ। पार्टीले आफ्ना माग समयमै सम्बोधन नभए चरणबद्ध शान्तिपूर्ण सडक आन्दोलन गर्ने चेतावनी दिएको छ।
पार्टी सभापति धवलशमशेर राणाले मंगलबार प्रेस विज्ञप्ति जारी गर्दै संविधान संशोधनमार्फत संवैधानिक राजसंस्था, सनातन हिन्दु अधिराज्य र प्रदेश संरचनाको भविष्यबारे जनमत संग्रह गर्नुपर्ने माग अघि सारेका हुन्।
पार्टीले सार्वजनिक गरेका आठबुँदे संकल्पमा निम्न विषय समेटिएका छन् :
- सुदृढ राष्ट्रियता र सार्थक प्रजातन्त्रका लागि संविधान संशोधन।
- बढ्दो महँगी तथा बजार मूल्य नियन्त्रण।
- संवैधानिक राजसंस्थासहित सनातन हिन्दु अधिराज्यको पुनःस्थापना।
- धर्मान्तरण, गौहत्या र गाईको मासु बिक्रीमा प्रतिबन्ध।
- युवा तथा महिलामैत्री आर्थिक विकास र प्रविधिमा आधारित समुन्नत नेपाल।
- सहकारी तथा लघुवित्तपीडितलाई न्याय।
- अधिकारसम्पन्न स्थानीय निकाय तथा प्रदेश संरचनाबारे जनमत संग्रह।
- विदेशमा रहेका नेपालीको मताधिकार सुनिश्चितता।
पार्टीले बालेन्द्र शाह नेतृत्वको सरकारले सुशासन, समृद्धि र भ्रष्टाचार नियन्त्रणका लागि विश्वसनीय आधार तयार गर्न नसकेको आरोपसमेत लगाएको छ।
त्यस्तै, भोटेकोसी–त्रिशूली बाढीपीडितका नाममा प्राप्त राहत सामग्री तथा आर्थिक सहयोगको विवरण सार्वजनिक गर्न र प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा संकलित रकमको खर्च विवरण पारदर्शी बनाउन सरकारसँग माग गरेको छ।
पार्टीले आफ्ना माग सम्बोधन नभए चरणबद्ध रूपमा शान्तिपूर्ण आन्दोलनका कार्यक्रम अघि बढाउने जनाएको छ।


प्रतिक्रिया