Uncategorized

YCL मा प्रचण्ड–जनार्दन टकराव, ६ दिनपछि खुमलटारले लगायो टिका


नेकपा (माओवादी केन्द्र) को युवा संगठन योङ कम्युनिष्ट लिग (वाईसीएल) नेपालले अन्ततः नयाँ नेतृत्व पाएको छ । जेठ १८ गते सुरु भएको तेस्रो राष्ट्रिय सम्मेलन तीन दिनमा सक्ने लक्ष्य राखिए पनि नेतृत्वमा सर्वसम्मति जुटाउने प्रयासमा थप तीन दिन लागेपछि छैटौं दिनमा मात्रै संगठनले नयाँ नेतृत्व पाएको हो ।

विगतका दुई राष्ट्रिय सम्मेलनमा जस्तै यसपटक पनि वाईसीएलले ‘सर्वसम्मत’ नेतृत्व चयनको परम्परालाई निरन्तरता दिएको छ । तर, यो सर्वसम्मति पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ पक्षको प्रत्यक्ष हस्तक्षेप र गुटगत भागबण्डाको परिणाम हो । अध्यक्ष पदका लागि सुरुमा १३ जनाको दाबेदारी रहे पनि अन्त्यमा मुख्य चार जनाबीचको प्रतिस्पर्धामा प्रचण्ड समूहका पुष्प ओली अध्यक्षमा चुनिएका छन् । अध्यक्षका अन्य आकांक्षीहरू, जस्तै प्रचण्ड समूहकै केयरसिंह कुँवरलाई केन्द्रीय सदस्य र डम्बर पुलामी (कर्म) लाई उपाध्यक्षमा ‘व्यवस्थापन’ गरिएको छ । उता, पार्टी उपमहासचिव जनार्दन शर्मा समूहबाट अध्यक्षको दाबी गर्दै आएका नवराज ऐरले पनि उपाध्यक्ष पदमा चित्त बुझाएका छन् । अध्यक्षमा ओली र कुँवरको अडानका कारण सम्मेलन तीन दिन लम्बिएको थियो । अन्ततः पार्टी अध्यक्ष प्रचण्डले नै हस्तक्षेप गरी अध्यक्ष, उपाध्यक्ष र महासचिवको नाम टुङ्गो लगाएर सहमति गर्न निर्देशन दिएपछि मात्रै गतिरोध अन्त्य भएको थियो । नव–निर्वाचित अध्यक्ष ओलीले वाईसीएलले विगतको जस्तै सशक्त भूमिका खेल्ने प्रतिबद्धता जनाएका छन् ।

अध्यक्षजस्तै महासचिव पद पनि प्रचण्ड समूहले नै हात पारेको छ, जहाँ गणेश शाही ‘विद्रोही’ सर्वसम्मत महासचिव चुनिएका छन् । पछिल्लो समय माओवादीका हरेक जनसंगठनमा प्रचण्ड समूहसँग प्रतिस्पर्धा गर्दै आएको शर्मा समूह यसपटक पनि पराजित भएको छ । यसअघि प्रेस सेन्टरमा प्रचण्ड समूहको प्यानलै विजयी हुँदा विद्यार्थी संगठन अनेरास्ववियु (क्रान्तिकारी) मा भने प्रचण्ड समूहले नेतृत्वसहित केही पदाधिकारी हात पारेको थियो । अनेरास्ववियुमा भने प्रचण्ड गुटसँग लडेको शर्मा समूहले केही सफलता पाएको थियो । पार्टी हेडक्वार्टरबाटै ‘टीका लगाएर’ नेतृत्व चयन गर्ने अभ्यासले संगठनभित्रको आन्तरिक लोकतन्त्रलाई पूर्ण रुपमा निमोठ्दै लगेको छ । अबको नेतृत्वले केन्द्रीय राजनीतिमा बढी ध्यान दिनुभन्दा पनि देशमा विद्यमान बेरोजगारीको समस्यालाई समाधान गर्दै युवाको आवाजलाई सम्बोधन गर्नु पर्ने देखिन्छ ।

नेताहरूको व्यवस्थापनका लागि पदाधिकारी संख्या ३५ बाट बढाएर ४५ पु¥याइएको छ, जसमा वरिष्ठ उपाध्यक्ष र उपमहासचिव जस्ता नयाँ पदहरू सिर्जना गरिएका छन् । सम्मेलनमा १९०० प्रतिनिधिमध्ये १५६१ जनालाई मात्र परिचयपत्र बाँडिएको थियो, तर बन्दसत्र हलमा उपस्थिति संख्या अत्यन्तै न्यून देखिन्थ्यो । तीन दिनका लागि काठमाडौँ आएका प्रतिनिधिहरू सम्मेलन लम्बिएपछि दिक्क भएर फर्किएको अनुमान छ । कुनै बेला वाईसीएलको नाम सुन्नासाथ बिचौलिया र शोषकहरूको सातो जाने गर्दथ्यो, तर आज यो संगठन गुमनामजस्तै छ । प्रतिस्पर्धी युवा संगठनहरू युवा उद्यमशीलता र खेलकुदजस्ता कार्यक्रममार्फत युवामाझ लोकप्रिय भइरहँदा वाईसीएल भने आन्तरिक कलहमै अल्झिएको छ । पदाधिकारीको संख्या बढाएर नेता ‘व्यवस्थापन’ गर्नुले संगठन अब विचार र मुद्दामा होइन, पद र शक्तिको भागबण्डामा केन्द्रित भएको प्रस्ट हुन्छ । राष्ट्रिय सम्मेलनमा देखिएको निराशाजनक उपस्थिति युवा पंक्तिमा वाईसीएलप्रतिको विकर्षणको ऐना हो । नयाँ नेतृत्वले पुरानो विरासत फर्काउने खोक्रो नारा दिनुको सट्टा, पार्टीको ‘रबर स्ट्याम्प’ बन्नबाट आफूलाई कसरी जोगाउँछ भन्ने नै मुख्य चुनौती हो ।