Uncategorized

मन्त्री तेजुलाल : लथालिङ्ग खेलकुद, खेलाडीको भविष्यमाथि नै राजनीति


वि.सं.२०३८ सालदेखि शुरु भएको राष्ट्रिय खेलकुद प्रतियोगिताको आयोजना राजनीति द्वन्द्व, देशको व्यवस्था परिवर्तनका साथै केही व्यक्तिको स्वार्थका कारण सधैँ प्रभावित बन्दै आएको छ । राजनीतिमा खेल र खेलुकदमा राजनीति हुँदा खेलकुद क्षेत्र ध्वस्त त बनेको छ नै खेलाडीहरूको भविष्य पनि अन्धकार बनेको छ ।

गत वर्षको मंसिरमै कर्णाली प्रदेशमा भइसक्नु पर्ने १०औं राष्ट्रिय खेलकुद प्रतियोगिता अझै अनिश्चित बन्दा नेपाली खेलकुद क्षेत्रमा नैराश्य छाएको छ । खेलकुद विकासको मेरुदण्ड रहेको राष्ट्रिय खेलकुद गर्न सिङ्गो राज्य नै लाग्नु पर्ने भए पनि नेपालमा भने ठिक विपरीत हुँदा यो प्रतियोगिता अन्योलको भूमरीमा रुमल्लिएको छ । खेलकुद मन्त्रालय र मन्त्रालय मतहतको राष्ट्रिय खेलकुद परिषद्मा बसेका व्यक्तिको स्वार्थका कारण राष्ट्रको गौरव राष्ट्रिय खेलकुद प्रतियोगिता बारम्बार सर्दै आइरहेको छ । केही समय अगाडि नेकपा एमालेबाट राखेपका उपाध्यक्ष पदमा नियुक्त भएका ध्रुव आचार्यको राजनीतिक स्वार्थसँगै प्रतियोगिता अनिश्चित बनेको छ ।

खेलकुदको कार्यकारी भूमिकामा रहेको राखेपको सदस्यसचिवमा नेकपा (माओवादी केन्द्र) निकट टङ्कलाल घिसिङ छन् । आचार्य एमाले र खेलकुद मन्त्रालय सम्हालिरहेका मन्त्री तेजुलाल चौधरी नेपाली कांग्रेसका हुन् । घिसिङलाई हटाएर मात्र १०औँ राष्ट्रिय खेलकुद प्रतियोगिता गराउने योजना बुनिरहेका मन्त्री चौधरी र आचार्यले राजनीतिक पूर्वाग्रह राखेर राष्ट्रिय खेलकुदलाई भद्रगोल बनाइरहेका छन् । अझ देशका कार्यकारी पदमा बसेर समयमा नै प्रतियोगिता गराउन दबाव दिनु पर्ने प्रधानमन्त्री नै लाजै नमानी पानीको अभावका कारण प्रतियोगिता सरेको भन्दै बेतुकको तर्क दिन पछि पर्दैनन् ।

तीन पटकसम्म मन्त्री चौधरीले मिति सारे पनि आगामी जेठ ३ देखि १० गतेसम्म दशौं राष्ट्रिय खेलकुद आयोजना हुने झिनो आशा थियो । तर खेलकुदमन्त्री चौधरीले नै चैत २८ मा बसेको राखेपको बोर्ड बैठकमा आधारहीन कारण देखाउँदै प्रतियोगिता नगर्ने निर्णय गरे । बोर्डका बहुमत सदस्यले असहमति जनाएका थिए । मन्त्रीको निर्णयविरुद्ध ६ जना सदस्यले नोट अफ डिसेन्ट पत्र लेखे पनि मन्त्री चौधरी पेलेरै अघि बढे ।

मन्त्री चौधरीले उपाध्यक्ष आचार्यको अनुगमनको आधारमा प्रतियोगिता नगर्ने निर्णय गरेका थिए । उपाध्यक्ष स्वयम् सहभागी भएको १२१ औं बोर्ड बैठकले जेठ ३ देखि १० गतेसम्म दशौं राष्ट्रिय खेलकुद आयोजना गर्ने निर्णय गरे पनि पछि आचार्य स्वयम्ले आधारहीन तथ्य देखाएर हचुवाको भरमा प्रतियोगिता रोक्न राय दिएका थिए । अनुगमन गरेको वा नगरेको यकिन नै नभई प्रतिवेदन बुझाएका आचार्यले प्रतियोगिता गर्न नसकिने दाबी गरेका थिए । १० औं राष्ट्रिय खेलकुद समयमै गर्न सङ्घीय संसदको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिले पटक पटक निर्देशन दिएको छ । तर पनि प्रतियोगिता गर्न नचाहेका मन्त्री चौधरी आफँैसँग आयोजना स्थगन गर्नुको उचित कारण छैन ।

कर्णाली, सुदूरपश्चिम, गण्डकीले अधिकांश खेलका लागि खेलाडीहरूको छनोट गरिसकेका छन् । वागमती र अन्य प्रदेशले छनोटका लागि सूचना प्रकाशन गरी तयारी सुरु गरेको अवस्था छ । यता विभागीय टिमले छनोट गरी नियमित प्रशिक्षण गराइरहेको अवस्था छ । राष्ट्रिय खेलकुदको इतिहासमा पहिलोपल्ट ६० करोडको बजेट विनियोजन र पूर्वाधार तयार हुँदा पनि समयमा प्रतियोगिता हुन सकेको छैन । त्यसैले मन्त्री चौधरीले राजीनामा दिनुपर्ने पूर्वखेलाडी तथा प्रशिक्षकसमेत रहेका राखेपका बोर्ड सदस्य अञ्जन धमला बताउँछन् । नोट अफ डिसेन्ट लेख्ने धमलाले राजनीतिक पूर्वाग्रह राखेर राष्ट्रिय खेलकुदलाई अन्योलमा पार्न नहुने भन्दै खेलाडीलाई निराश बनाउने काम मन्त्रीले नै गरेको आरोप लगाएका छन् ।

केही सीमित व्यक्तिको स्वार्थका कारण प्रतियोगिता अन्योलमा पर्दा नेतृत्व नै संरक्षणमा लाग्नु असक्षमता र अकर्मण्यताको पराकाष्ठा हो । खेलाडीहरूले साढे दुई वर्षदेखि तयारी गरिरहेको अवस्थामा यो आयोजना नगर्नुले खेलाडी पलायनको अवस्थालाई थप प्रोत्साहन गर्नु हो । बजेट सुनिश्चित भइसकेको अवस्थामा अनेक बाहना बनाएर राष्ट्रिय खेलकुद नगर्नु दुर्भाग्य भएको राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघका अध्यक्ष दीपक श्रेष्ठको भनाइ छ । यसको जिम्मेवारी देशको नेतृत्व गरिरहेका व्यक्तिले लिनुपर्ने उनको तर्क छ ।

खेलाडीको भविष्यमाथि नै खेलबाड गरिरहेका राखेपका बोर्ड अध्यक्षसमेत रहेका मन्त्री चौधरीले यसअघि पनि थुप्रै विवादित कामहरू गरेका छन् । खेलकुदमा भाइरसकै रूपमा सावित भइरहेका मन्त्री चौधरीले बोर्डका केही सदस्यलाई हटाउँदा अदालतले अवैधानिक भन्दै उनीहरूलाई पुनस्र्थापना गरेको थियो । आफ्नै लगानीमा रहेको विद्यालयकी प्रिन्सिपल रञ्जना प्रधानलाई राखेपको बोर्डमा नियुक्ति दिँदा नातावादलाई प्रोत्साहन गरेका थिए । स्थानीय तहदेखि नै खेलाडीको तालिम र छनोट हुँदै ओलम्पिक जस्तै संरचनामा हुने यस बृहत् प्रतियोगितामा एकैपल्ट धेरै खेलका खेलाडी र प्रशिक्षकहरूको सहभागिता रहने हुँदा राष्ट्रिय खेलकुदको महत्व विशेष छ । कुनै पनि ओलम्पिक, एसियाली खेलकुद र दक्षिण एसियाली खेलकुदका साथै अन्तर्राष्ट्रिय प्रतियोगिता अगाडि खेलाडीले राष्ट्रिय खेलकुदमार्पmत नैै आफूलाई तयार गर्दछन् । तर, खेलमा खेलकुदका गतिविधि भन्दा राजनीतिक खिचातानी हाबी हुँदा खेलाडीहरूले आफ्नो मेहनत देखाउने अवसर गुमाइरहेका छन् भने देशको खेल क्षेत्र लथालिङ्ग अवस्थामा पुगिरहेको छ ।।