संसदीय व्यवस्थामा सत्ता र प्रतिपक्षीबीच सन्तुुलित आलोचना स्वभाविक हो । तर, तल्लो स्तरमै पुगेर अराजकता मच्चाउने र विपक्षीलाई दानवीकरण गर्ने राजनीतिक संस्कार नेपाली नागरिकले भोगेको धेरै भइसक्यो । त्यसमध्येका एक पात्र हुन्, पुुष्पकमल दाहाल ‘प्रचण्ड’ । जसका बहुरंगी अभिव्यक्ति र प्रवृत्तिको भूंग्रोमा नेपाली राजनीति करिब दुई दशकदेखि घुमिरहेको छ ।
छेपारोको बहुरंगी विशेषतासँग तुलनामा पर्ने राजनीतिक नेता हुन्, माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ । जनयुद्धको स्प्रीडलाई तिलाञ्जली दिएर खसीको टाउको देखाएर कुकुरको मासु बेच्ने खेलमा सक्रिय बन्दा उनकै कति सहकर्मीले साथ छोडिसकेका छन् । राष्ट्रिय राजनीतिमा बहुत अस्थीर पात्रको जामा पहिरिएका प्रचण्डले सत्ता वा प्रतिपक्षमा हुँदा यस्ता गतिविधि देखाइरहन्छन् । अहिले प्रतिपक्षमा पुगेपछि उनका अभिव्यक्तिले त्यही प्रवृत्तिलाई ताजा बनाइदिएको छ ।
प्रचण्डका बहुरुप देखिने केही क्रियाकलाप विस्तृतमै हेरौँ ।
१. ओलीसँग ‘लभ–हेट’
हुन त नेपाली कम्युुनिस्टहरुमा लभ एण्ड हेटको वृतान्त लामै छ । तर, प्रचण्ड यस्ता पात्र हुन्, जसले सत्तामा हुँदा गोबरलाई पनि पुष्टकारी र प्रतिपक्षमा हुँदा पुष्टकारीलाई पनि गोबर देख्ने गरेका छन् । अहिले फेरि प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान खारेज गर्न सक्ने अभिव्यक्ति दिइरहेका छन् ।
जबकि उनै ओलीको बुँइ चढेर सत्ता सयर गर्दा ओली बहुत संविधानबादी बनेका थिए । २०७९ पुसमा ओलीले संसद विघटनबारे आत्मालोचना गरेको भन्दै उनैसँग सरकार बनाए । पछि ओलीले संसदमै संसद विघटनलाई शाही कदम भनेपछि फेरि प्रचण्ड कांग्रेसतिरै गए । कांग्रेससँग पनि खटपट भएपछि ओलीतिरै फर्किए । त्यसबेलासम्म ओलीले संविधानको रक्षा नै गरेका थिए । तर, अहिले प्रतिपक्षमा पुगेपछि प्रचण्डले फेरि ओलीलाई संविधान विरोधी देख्न थालेका छन् ।
२. संसदबाटै असन्तुलित प्रहार
प्रचण्डले सत्ता बाहिर पुगेको झोकमा संसदमा सरकारमाथि आगो ओकलेका थिए । तर, उनका अधिकांश अभिव्यक्ति तथ्यसंगत थिएनन् । भलै प्रधानमन्त्रीकै तथ्यांकसमेत गलत थिए । तर, प्रधानमन्त्रीलाई नै तस्करको ट्याग लगाउने, अध्यादेश ल्याएकोदेखि सामाजिक सञ्जाल विधेयकमार्फत निरंकुशता लाद्न खोजेकोसम्मका आरोप लगाए । तर, विगतमा प्रचण्डले पनि यी गतिविधि गरेरै आएका हुन् । अध्यादेश प्रचण्डले पनि ल्याएकै थिए । टिकटक बन्द पनि प्रचण्डकै सरकारले गरेको हो । जबकि प्रचण्डले नगरेको नभई गरेकै काम ओलीले दोहो¥याएका हुन् । हिजो गलत गर्नेले आज गलत गर्नेलाई गलत देखेको मात्रै हो ।
३. न्यायीक निरुपणमा रहेको मुद्दामा आफैँ न्यायाधीश
प्रचण्ड प्रधानमन्त्री भएकै समयमा रवि लामिछानेमाथि छानबिनका लागि संसदीय छानविन समिति बनेको हो । उनकै सरकारका बेला महान्यायाधिवक्ताको दुरुपयोग गरेर उनलाई क्लिन चिट दिइएको थियो । तर, अहिले अदालतमा विचाराधीन मुद्दामा प्रचण्डले संसदबाटै रवि निर्दोष भएको भन्दै आफैँ न्यायाधीश बनेर चोख्याउने काम गर्दैगर्दा सरकारले अदालतका न्यायाधीशको कठालो समातेको भनेर उल्टै टिप्पणी गरे ।
४. हिजो जे गलत, आज त्यही ठिक
कांग्रेससँग सहकार्य गर्दा प्रचण्डले सबैभन्दा बढी फेर्न चाहेका मन्त्रीको सूचीमा अर्थमन्त्री प्रकाशशरण महत थिए । उनलाई नै कांग्रेसले हटाउन नमान्दा सरकार ढलेको थियो । तर, उनकै कार्यकालमा भएका केही कामलाई प्रचण्डले आफ्नो सरकारले गरेको काम भन्दै छाती ठोक्ने काम गरे । लगत्तै प्रकाशशरणले प्रचण्डलाई पाठ पढाएका थिए ।
५. अब विकल्प माओवादी मात्र
सरकारमा छँदा एनसेलदेखि सुन प्रकरणको अनुसन्धान प्रभावित पार्ने र प्रतिवेदन लुकाउने काम गरेका प्रचण्ड अहिले प्रतिपक्षमा पुगेपछि हौसिएका छन् । ६४ मा जस्तै आफूलाई छुन पाए हुन्थ्यो भनेर जनताले चाहना राख्ने गरेको दाबी गरेका थिए । तर, ९ महिना सिद्धान्त बिर्सेर सत्तामा भुल्दा आफ्नै कार्यकर्ताको दुईपटक जुत्ता र थप्पड खाएको दृश्य उनले बिर्सिरहेका छन् । अहिले सीमित कार्यकर्ताको रेकीमा हिँडेका उनले त्यसलाई माओवादीप्रति जनताको आकर्षण भन्दै भ्रमको खेती गरिरहेका छन् ।
यसबाहेक ओलीको लहलहैमा सरकार जोगाउन प्रचण्डले नै उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी टुक्राएका थिए । त्यसबाट उपेन्द्रलाई नमेटिने चोट दिएका प्रचण्ड आज उनकै पक्षमा लागेर ओलीलाई काउन्टर दिइरहेका छन् । जसपा नेपाल सरकारमा नजाने ग्यारेन्टीसम्म गरेर ओलीविरुद्ध उपेन्द्र कार्ड खेल्न खोजिरहेका छन् । हिजो प्रचण्डले ओली र देउवालाई पालैपालो धोका दिएका हुन् । फेरि अहिले कहिले कांगेसलाई नै प्रधानमन्त्रीको अफर गर्ने त कहिले एमालेले सहयोग मागेको नाममा कांग्रेसलाई घुक्र्याउने गतिविधिमा सक्रिय छन् । जुन प्रचण्डका बहुरुपी प्रवृत्तिकै निरन्तरता हो ।
०
प्रतिक्रिया