बिजनेस

पूर्व अर्थमन्त्रीको सुझाव : मौद्रिक नीति बैंक मोटाउने र देश गरिब हुने गरी नआओस् (भिडियोसहित)


काठमाडौँ – मौद्रिक नीति जारी गर्ने तयारीमा जुटेकोे राष्ट्र बैंकलाई पूर्व अर्थमन्त्रीहरुले उत्पादनमूलक क्षेत्रमा लगानी केन्द्रित हुने गरी ल्याउन सुझाव दिएका छन् । बैंकहरु मोटाउने तथा जनता र देश गरिव हुने खालको बिडम्बना पूर्ण अवस्थाको अन्त्य हुने गरी नीतिगत र संरचनागत व्यवस्था गर्नु पर्नेमा उनीहरुको जोड रहेको छ ।

कोरोनाले यतिवेला नेपालको अर्थतन्त्र थलिएको छ । यस्तो वेला वित्तीय क्षेत्रलाई चलायमान बनाउन मौद्रिक नीतिले विशेष भुमिका खेल्ने अपेक्षा गरिएको छ । तर नयाँ सरकार बनेपछि तयारी अवस्थामा रहेको मौद्रिक नीति राष्ट्र बैंकले सार्वजनिक गरेको छैन ।

सरकार परिर्वतनले नयाँ कार्यक्रम समेट्नु पर्ने वाध्यता केन्द्रीय बैंकलाई छ । यस्तो अवस्थामा पूर्व अर्थमन्त्रीहरुले पनि निर्यातमूलक उत्पादनशील क्षेत्रमा लगानी केन्द्रित हुने गरी मौद्रिक नीति ल्याउनु पर्नेमा जोड दिएका छन् । उनीहरुले कर्जाको अभावमा अघि बढन नसकेका ग्रामीण क्षेत्रमा लगानीको वातावरण हुने गरी लगानी केन्द्रित नहुँदा बैंक मोटाउने तथा देश र जनता गरिव हुँदै जाने अवस्था आएको उल्लेख गर्दै त्यसको अन्त्य हुने गरी मौद्रिक नीति ल्याउनुपर्ने सुझाव दिएका हुन् ।

त्यसोत राष्ट्र बैंकले अर्थ मन्त्रालयको ग्रिन सिग्नलपछि नयाँ बजेट नकुरी साउन तेस्रो साता नै मौद्रिक नीति ल्याउने तयारी गरेको थियो । तर, सरकारले यसै साता साझा न्यूनतम कार्यक्रम ल्याउने र श्वेतपत्र पनि सार्वजनिक गर्ने तयारी गरेपछि मौद्रिक नीति पुनः पछि धकेलिएको हो । यता विज्ञहरुले भने निर्यातमूलक र उत्पादनमूलक क्षेत्रमा लगानी गरी रोजगारी सृजना हुने क्षेत्रमा लगानी केन्द्रित हुने गरी मौद्रिक नीति ल्याउनुपर्ने स्पष्ट पार्दै आएका छन् । उनीहरुले अनुचित खर्च खटौति गर्न, घर र सवारीमा गरिएको कर्जा प्रवाह कम गर्दै लैजाने गरी मौद्रिक नीति ल्याउन पनि नेपाल राष्ट्र बैंकको गम्भिर ध्यानाकर्षण गराएका छन् ।

वर्तमान अवस्थामा कोरोनाले थलिएको अर्थतन्त्रलाई व्यवस्थापन गर्दै आर्थिक वृद्धि तथा रोजगारी सृजना गर्न केन्द्रीय बैंकलाई भने यतीबेला चुनौती छ । यो अवस्थामा उद्यमशीलताको क्षेत्रमा लगानी केन्द्रित हुने गरी मौदिक नीति ल्याउनुपर्ने आवश्यकतामा विज्ञले जोड दिएका छन् । त्यस्तै शैक्षिक प्रमाणपत्रको आधारमा कर्जा प्रवाह गर्ने व्यवस्थालाई सहजीकरण गरेर मुलुकलाई आर्थिक रुपले सवल बनाउने गरी अघि बढन नेपाल राष्ट्र बैैंकलाई विज्ञले आग्रह गरेका छन् ।

अर्थ समितिमा भएको छलफलमा अन्य सदस्यहरुले बैंकहरु मोटाउने तथा जनता र देश गरिव हुने खालको बिडम्बनापूर्ण अवस्थाको अन्त्य हुने गरी नीतिगत र संरचनागत व्यवस्था गर्न सरकारको ध्यानाकर्षण गराएका छन । उनीहरुले ग्रामिण क्षेत्रमा लगानीको वातावरण बनाउने गरी मौद्रिक नीति ल्याउनुपर्ने पनि जोड दिएका छन ।