काठमाडौँ — अमेरिकाको मेरिल्यान्ड राज्यको ‘जनरल एसेम्बली’ मा दोस्रो पटक विजय हासिल गरेका नेपाली मूलका पहिलो अमेरिकी विधायक डा. ह्यारी भण्डारीले शपथ ग्रहण गरेका छन् । नेपाली मूलबाट अमेरिकाको राज्य संसदमा प्रतिनिधित्व गर्नेमा भण्डारी पहिलो भएका छन् । मेरिल्यान्ड राज्यको राजधानी एनापोलिसमा आयोजित शपथ ग्रहण कार्यक्रममा भण्डारीले भागवत गीता छोएर शपथ लिएको हो ।
शपथ ग्रहणपछि भण्डारीले अमेरिकी प्रजातन्त्रको सुन्दर पक्ष र समावेशीताको कारण एक आप्रवासीको रूपमा मतदाताले मत दिएर विजयी भएको महत्त्वपूर्ण उपलव्धि भएको टिप्पणी गरे । भण्डारीले अगाडि थपे , म मेरो जिम्मेवारी वहन गर्दै गर्दा अमेरिकामा रहनुभएका नेपाली भाषी, यही भूमिमा जन्मिएका नेपाली अमेरिकनको सपनालाई समेत केन्द्रमा राखेर काम गर्नेछु ।’ भण्डारीले आफ्नो कार्यालय रहेको स्थानमा नेपालको झन्डा र सगरमाथाको फोटोसमेत राखेका छन् ।
यस अगाडि आयोजित एक बधाई कार्यक्रममा डा. भण्डारीले गीताको सारजस्तै कर्म गर्न आफू लागिरहने बताएका थिए । सार्वजनिक सेवामा काम गर्न मलाई गीताको सारले सदैव प्रेरित गर्ने बताए । नेपाली समुदायका अगुवाहरूले उनको सफल कार्यकालको शुभकामना व्यक्त गरेका थिए । भण्डारी मेरिल्यान्ड राज्यको तल्लो सदन जनरल एसेम्बलीमा डिस्ट्रिक ८ बाट १९ हजार सात सय दुई मत ल्याएर गएको नोभेम्बर महिनाको ८ तारिखमा भएको चुनावमा विजयी भएको हो ।
त्यस क्षेत्रबाट सबैभन्दा बढी मत ल्याएर विजयी भएको हो । भण्डारीले अघिल्लो कार्यकालमा दर्जन विधेयक संसदबाट पारित गराउन सफल भएका थिए । स्वास्थ्य तथा सरकार सञ्चालन समितिमा बसेर काम गरेको भण्डारीले महामारीको बेलामा कसरी जुँध्ने र नागरिकको जीवन रक्षार्थ कस्तो रणनीति अङ्गीकार गर्ने भन्ने अत्यन्तै संवेदनशील विषयमा अनुभव लिन पाएको बताए ।
अमेरिकामा एक आप्रवासीको रूपमा नेपालबाट सन् २००५ मा अमेरिका प्रस्थान गरेका भण्डारीले डेढ दशकभन्दा बढी मेरिल्यान्डको विद्यालयमा अध्यापन गरेको अनुभव छ भने मेरिल्यान्डमा रहेको युनिभर्सिटी अफ मेरिल्यान्डबाट विद्यावारिधिसमेत गरेका छन्। नेपालको पर्वतको थापाथानामा बुबा अम्मरबहादुर भण्डारी र आमा कान्तिकुमारीको कोखबाट जन्मेका भण्डारी आफ्नी पत्नी सङ्गीता भण्डारीसहित सपरिवार अमेरिकामा बस्दै आएका छन् । व्यावसायिक, राजनीतिक र अध्ययनमा भण्डारीको सफलता आप्रवासी नेपाली अमेरिकनका लागि मात्र नभइ एसियाली अमेरिकनका लागि पनि रोचक रहेको छ ।


प्रतिक्रिया