Breaking

मध्यावधिको संघारमा ट्रम्प, जिते फेरि इरान हान्ने, मध्यपूर्वमा त्रास, दोहा वार्ताले देला निकास ? (भिडियोसहित)

योहो संवाददाता

काठमाडौं– अमेरिका र इरानबीच विगत आठ महिनादेखि जारी तनावपूर्ण युद्ध अन्त्य गर्न कतारको मध्यस्थतामा वार्ता जारी रहँदा मध्यपूर्व पुनः एकपटक शान्ति र थप भयानक सैन्य मुठभेडको गम्भीर दोसाँधमा उभिएको छ । आफ्ना सर्तहरू पूरा भए रणनीतिक महत्वको ‘होर्मुज जलडमरूमध्य’ दुई दिनभित्रै पुनः खुला गर्न र वार्ता प्रक्रिया अघि बढाउन सकिने इरानले प्रस्ताव गरेको छ । उता, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भने कि त सम्झौता हुने नभए इरानमाथि कडा सैन्य प्रहार हुने चेतावनी दिएका छन् । कतारको मध्यस्थतामा दोहामा तीन दिनसम्म चलेको सघन कूटनीतिक वार्तापछि इरानी वार्ताकारहरू स्वदेश फर्किएका छन् । इरानी उपविदेशमन्त्री काजेम घरिबाबादीले कतारी मध्यस्थहरूमार्फत अमेरिकासँग सन्देश आदानप्रदान गरेका थिए । हाल वार्ताको एक मस्यौदा प्रस्ताव दुवै पक्षबीच छलफलमा रहेको बताइएको छ ।