काठमाडौँ— आकाशमै ककपिटमा चालक दलका सदस्यभन्दा बाहेकका व्यक्तिलाई प्रवेशको अनुमति दिँदै भिडियो अन्तर्वार्ता दिएपछि नेपाल एयरलाइन्सका वरिष्ठ पाइलट विजय लामा छानविनमा तानिएका छन् ।
छानविन प्रतिवेदन नआएसम्म उनको नाम उडानको रोष्टरबाट समेत हटाइएको छ । हालै एभिएसन भ्लगर साम चुईले दुबई काठमाडौं रुटको एक भ्लगमा ककपिटबाटै पाइलट विजय लामासँग अन्तर्वार्ता लिएको सार्वजनिक भएको छ । कारण स्पष्ट पारी नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशकको अनुमतिमा मात्र पाइलटले फोटोग्राफी वा भिडियोग्राफी गर्न सक्छन् । उनले यो नियम तोडेसँगै नियामक निकायको छानविनमा तानिएका हुन् ।
यसबारे नेपाल वायुसेवा निगम मातहतको सुरक्षा विभागले प्राधिकरणलाई जानकारी गराएको थियो । सो सम्बन्धमा प्राधिकरणले छानविन सुरु गरेको प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलले जानकारी दिए । छानविन जारी रहँदा निगमले उडानको रोष्टरबाट उनको नाम हटाएको छ ।


प्रतिक्रिया