Breaking

चिनी मिल सञ्चालन भए घर सरकारको नाममा पास गरिदिने सांसदको घोषणा, लिङदेन भन्छन यो बजेट ललिपप हो


काठमाडौँ — संघीय संसदमा आगामी आर्थिक वर्षकोे बजेटमाथि आज पनि सैद्धान्तिक छलफल भएको छ । सधै झै आजको छलफलमा पनि सत्ता पक्षका सांसदले बजेटको बचाउ गरेका छन भने प्रतिपक्षी दलका सांसदले चर्को विरोध गरेका छन् । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनले पनि बजेट जनता लोभ्याउने ‘ललिपप’ मात्रै भएको बताएका छन् ।

बुधबारको प्रतिनिधि सभा बैठकमा बोल्दै सांसद लिङ्देनले बजेटले मुलुकलाई कुनै अग्रगतिमा नलैजान भन्दै सत्तारुढ दलहरुले चुनावी खर्च जुटाउने कार्यक्रम बजेटमा राखेको आरोप लगाए । हदबन्दीभन्दा बढी जग्गा भएका उद्योगले ऋण लिन पाउने र टाट पल्टने अवस्थामा बिक्री वितरण गर्न पाउने व्यवस्थाले अनियमिततालाई प्रश्रय दिएको उनको भनाई छ ।

यता लोकतान्त्रिक समाजवादी पार्टी, नेपालका सांसद बिमल प्रसाद श्रीवास्तवले त आगामी आर्थिक वर्ष भित्र वीरगञ्जमा चिनी मिल सञ्चालन भएमा आफ्नो नामको एउटा घर सरकारको नाममा पास गरिदिने घोषणा नै गरेका छन । बजेटमा कृषि औजार कारखाना र चिनी मिल सञ्चालन गर्ने उद्घोष हुनु स्वागतयोग्य भएको बताएका उनले बजेटमा बजेट झारा टार्ने किसिमले मात्रै ल्याइएको बताए ।

नेकपा (माओवादी केन्द्र) का सांसद शक्तिबहादुर बस्नेतले भने बजेटको प्रतिरक्षा गरेका छन । बजेटलाई श्रेयको दौड नबनाउन प्रतिपक्षसँग आग्रह गरेका उनले अर्थमन्त्रीद्वारा प्रस्तुत बजेटका हरेक बुँदाको नियत के हो भनेर सोध्ने छलफलले कतै नपुगिने बताए । उत्पादन वृद्धि, रोजगार अभिवृद्धिसहित आत्मनिर्भर अर्थतन्त्रलाई प्राथमिकताको केन्द्रमा राखेर बजेट प्रस्तुत गरिएको बस्नेतको भनाई छ ।

अर्थमन्त्री जनार्दन शर्माले संघीय संसदमा गत आइतबार बजेट प्रस्तुत गर्नुभएको थियो । मंगलबारबाट बजेटमाथि सैद्धान्तिक छलफल सुरु भएको हो । सांसदले उठाएका प्रश्नको जवाफ सम्बन्धित मन्त्रीले दिएपछि बजेट निर्णयार्थ प्रस्तुत गरिने छ ।