Breaking

बालेनलाई पहिलो गाँसमा नै ढुंगा, फोहोर व्यवस्थापनमा राज्यलाई पनि चुनौती


काठमाडौँ — फोहोर व्यवस्थापन गर्न नसक्दा काठमाडौँ महानगर फेरि पनि दुर्गन्धित बन्दै गएको छ । सिस्डोलबासीको माग सम्बोधन गर्न ढिलाई भएपछि काठमाडौँको चोकचोकमा फोहोरको थुप्रो देखिन सुरु भएको छ । जथाभावी फोहोर नफालौं सभ्य नागरिकको परिचय दिऔं यो नारा नजिकै देखिएको दृश्य हो यो । काठमाडौँ महानगरपालिकाको सडकमा थुप्रिएको फोहोर उठ्न नसकेको पाँच दिन भइसक्यो । जसको परिणाम दृश्यमा देखिएको हो ।

महानगरले फोहोर व्यवस्थापन गर्न नसक्दा सिंगै शहर दुर्गन्धित बनेको छ । एकातिर वर्षायाममा फैलिएको फोहोरको दुर्गन्धले रोग फैलने डर बढेको छ भने अर्कातिर हिडडुल गर्नमा समेत सास्ती खेप्न परिरहेको छ । महानगरमा फोहोर उठ्न नसकेको यो नै पहिलो पटक भने होइन । यस्तो समस्या वर्षैपिच्छे आउने गर्छ । गत फागुनदेखि हालसम्म मात्र झण्डै ५५ दिन जति फोहोर उठ्न सकेको छैन । जेष्ठ १४ गतेदेखि त झन् फोहोर उठाउने कार्य ठप्प नै भयो ।

आखिर किन वर्षैपिच्छे महानगरमा यस्ता खाले समस्या देखा पर्छन् त ? महानगरपालिकामा भर्खरै निर्वाचित भएर नयाँ मेयर पनि आइसकेका छन् । काठमाडौँलाई स्वच्छ, हराभरा, व्यवस्थित शहर बनाउँछु भनेका मेयर बालेन्द्र शाहले यसलाई चुनौतीको रुपमा लिएका पनि छन् । जुन महानगरको फोहोर व्यवस्थापनको समस्या समाधान नभएसम्म अबीर, माला नलगाउने अभिव्यक्तिबाटै थाहा हुन्छ । त्यस्तै, निर्वाचित जनप्रतिनिधिहरुले पनि बैठक भत्ता नलिने, केबलकार जडान गरि फोहोर व्यवस्थापन गर्ने जस्ता वडाध्यक्षको सुझावले पनि यसलाई प्राथमिकतामा राखेको छ ।

तर, महानगरको फोहोर विसर्जन गर्ने ठाउँ सिस्डोल बासीले आफ्ना माग पुरा नभएसम्म फोहर फाल्न नदिने अडान राखेपछि पहिलो गाँसमा नै ढुंगा लागेको छ । फोहोर व्यवस्थापन नहुँदा काठमाडौँ शहर कुरुप त देखिएको छ नै साथै, यसले महानगरवासीलाई पनि कम पिरोलेको छैन । घर नजिँकै फोहोर थुपारिदा स्वास्थमा नै नराम्रो असर पुगेको उनीहरुको गुनासो छ ।

फोहोर व्यवस्थापनका लागि सिस्डोलबासीको माग पुरा गर्नु अनिवार्य नै छ । तर, यो माग पुरा गर्न महानगर एक्लैको पहलले मात्र पनि सम्भव छैन । यसका लागि विभिन्न मन्त्रालयको समन्वयकारी भूमिका रहेको देखिन्छ । तत्कालिन समस्या समाधान गर्न शहरी विकास मन्त्रीको अध्यक्षतमा उच्चस्तरिय समन्वय समिति गठन गरिएको छ । समितिले तत्काल काम थालेर काठमाडौंको फोहोर व्यवस्थापन गर्न आवश्यक देखिन्छ ।