Breaking

होटलमा प्लास्टिकका सामग्री प्रयोग नगर्ने घोषणा


काठमाडौँ — होटलहरुले संघ नेपालले २०२४ सम्म होटलका कोठाबाट प्लास्टिकका सामग्री प्रयोग नगर्ने घोषणा गरेका छन्। होटल संघ नेपालले बढ्दो जलवायु परिवर्तन रोक्न पानीका बोटललगायतका सामग्री प्रयोग नगर्ने अभियान सुरु गरेको हो। संघले होटलका कोठामा कमभन्दा कम प्लास्टिकजन्य सामानको प्रयोग होस् र क्रमशः घटाउँदै लैजाने अभियान ‘एलिमिनेट सिंगल युज प्लास्टिक फ्रम होटल रुम’ सुरु गरेको छ।

होटल संघ नेपालका अध्यक्ष सृजना राणाले पानीका बोटलदेखि सेम्पुका बोटल होटलमा धेरै प्रयोग हुने गरेको बताइन्। एकपटक प्रयोग हुने वा डिस्पोजेबल प्लास्टिकका झोला, स्ट्र, कफी स्टिरर, सोडा र पानीका बोटलसँगै प्याकेजिङजस्ता वस्तुहरु हटाउने अभियान रहेको बताइन्। राणाले प्लास्टिक चलाउन सजिलो रहेकोले त्यो फाल्दा घाटा रहेको पनि बताइन्। उनले ३०० मिलियन टन प्लास्टिक उत्पादन हुने र त्यसको आधामात्रै डिस्पोजेबल नष्ट गर्न मिल्ने हुने बताइन्। विभिन्न रिसर्चका अनुसार ६८ प्रतिशत पाहुनाहरु पर्यावरणमैत्री होटलहरु रुचाउने गरेको देखिन्छ।

होटल संघले २ वर्षभित्र रेष्टुराँबाट प्लास्टिकको प्रयोग हटाउने हानका प्रथम उपाध्यक्ष विनायक शाहले जलवायु परिवर्तनलाई रोक्न प्रयास गरेको बताए। अबको २ वर्षभित्रै होटलबाट एक पटक प्रयोग भएर पुनः प्रयोग नहुने प्लास्टिक हटाउने प्रतिबद्धता रहेको शाहले बताए। उनले केही ठूला होलटले प्लास्टिकका बोटल प्रयोग गर्न छाडिसकेकाले कार्यान्वयन गर्न सकिने बताए।

अहिलेको समय पर्यापर्यटन भएकाले अहिलेको क्याम्पेनले सहयोग पुग्ने होटल व्यवसायीहरुको भनाइ छ। नेपालमा पर्यटन बढाउन अहिलेको क्याम्पेनले फाइदा गर्ने बताए। काठमाडौं महानगरकी उपमेयर सुनिता डंगोलले काठमाडौं महानगरमा उत्पादन हुने वस्तुमध्ये १५ प्रतिशत प्लास्टिकजन्य उत्पादन हुने बताइन्। उनले होटलबाट सुरु भएको प्लास्टिकमुक्त अभियान हरेकको घरमा पुग्न आवश्यक रहेको बताइन्। उनले सन् २०१५ देखि नेपालमा प्लास्टिकमुक्त बनाउने घोषणाले ठूला डिपार्टमेन्टल स्टोरमा प्लास्टिक प्रयोग घट्दै गएको बताइन्।