देश

हेलिकप्टरमा दुई जना पाइलट राख्न सम्भव हुँदैन: वायु सेवा संचालक संघ


काठमाडौँ — नेपाल वायु सेवा संचालक संघले हेलिकप्टरमा दुईजना पाइलट राख्नुपर्ने निर्णय सम्भव नहुने बताएको छ । संघका प्रवक्ता योग राज कँडेलले एक इन्जिन भएका हरेक व्यवसायिक उडानमा दुईजना पाइलट राख्ने निर्णय जायज नभएको बताएका हुन्। भिआइपी र परिस्थिती अनुसारका कतिपय उडानमा दुई जना पाइलट राख्न सकिएपनि व्यवसायिक उडानमा यो नियम अनिवार्य गर्न नहुने उनले बताए ।

‘एक इन्जिन भएका हेलिकप्टरमा दुई जना पाइलट राखिदियो भने यात्रु बोक्ने कतारु यात्रु छिर्ने कतारु’ प्रवक्ता कँडेलले सेतोपाटीसँग भने, ‘त्यति मात्र होइन, कम्पनीको आम्दानी कम हुन्छ । पाइलटको तलबमा ठुलो रकम खर्च गर्नुपर्ने हुन्छ ।’

उनकाअनुसार ठूला ९ सिटभन्दा माथिका हेलिकप्टर मल्टि इन्जिन भएकाको हकमा दुई जना पाइलट राख्न सकिन्छ । यस्ता हेलिकप्टरले अहिले पनि कतिपय उडानमा दुई जना पाइलट हुने गरेको छ ।

हाल नेपालमा एक इन्जिन हेलिकप्टर चालक १० जना विदेशी र २६ जना नेपाली गरी जम्मा ३७ जना छन्। त्यस्तै एक इन्जिन भएका २८ वटा हेलिकप्टरले व्यवसायिक उडान गरिरहेका छन् ।

उनकाअनुसार प्रत्येक हेलिकप्टरमा दुई जना पाइलट राख्नुपरेमा पाइलटको संख्या पुग्दैन। ‘पाइलट आजको भोलि उत्पादन हुने पनि होइन । पाइलट बनेर कमान्ड गर्नका लागि कम्तीमा पाँचदेखि सात वर्ष लाग्छ । पाइलटको संख्या पनि अपुग छ’ उनले भने ।

मंगलबार नागरिक उड्डयन प्राधिकरणले हेलिकप्टरमा दुई जना पाइलट राख्नुपर्ने प्रस्ताव राखेको थियो । यसका लागि प्राधिकरणले पाँच जनाको एक सदस्यीय टोली गठन गरिसकेको छ । तर यो निर्णयप्रति आपत्ति जनाउँदै संघले बुधबार नै यो विषयमा छलफल गर्दैछ ।