देश

बिहेमा नबोलाउँदा बुहारीले गरिन् धारिलो हतियार प्रहार गरी देवर र ससुराको हत्या

योहो संवाददाता

काठमाडौँ — सिरहामा बुहारीले देवर र ससुराको हत्या गरेको घटना सार्वजनिक भएको छ । अर्नमा गाउँपालिका १ महनौरका ससुरा चन्देश्वर पाल र देबर सन्तकुमार पालको हत्या गरेको आरोपमा बुहारी शान्तिदेवी पालसहित तीन जनालाई प्रहरीले आज सार्वजनिक गरेको छ । जेठ ७ गते राति सुतेको अवस्थामा धारिलो हतियार प्रहार गरी बाबुछोराको हत्या भएको थियो ।

घटना भएको १० दिनपछि प्रहरीले आज हत्यामा संलग्न रहेको आरोपमा गोलबजार नगरपालिका ४ का बेचु पाल, मृतक चन्द्रेश्वर पालको साईली बुहारी शान्तिदेवी पाल र जनिफ मियाँलाई सार्वजनिक गरेको हो । मृतक सन्तकुमारको विवाह मोरङमा जेठ ११ गते हुने तय भएको थियो । सोही विवाहमा भाउजू शान्तिलाई फोनमार्फत नआउन र छोराछोरीमात्रै पठाउन भनेको रिसमा हत्या भएको देखिएको प्रहरीको दाबी छ ।

शान्तिको श्रीमान विदेशमा छन् । उनले आफ्नो श्रीमानको साथी जेनिफ मियाँ र बेचु पाललाई हत्या गर्ने सुपारी दिएको पाइएको प्रहरीले जनाएको छ । उनले जेनिफ र बेचुलाई ५० हजार दिने प्रलोभन दिएको बताइएको छ ।