काठमाडौँ — चलचित्र ‘कबड्डी–४ द फाइनल म्याच’की अभिनेत्री मिरुना मगरलाई दुर्व्यवहार गरेको आरोपमा प्रहरी हिरासतमा रहेका फुर्वा तामाङ रिहा भएका छन् । जिल्ला प्रशासन कार्यालय काठमाडौंले उनलाई ३ हजार रुपैयाँ धरौटीमा रिहा गरेको हो । सोमबार सिभिल मलस्थित हलमा चलिचित्र हेर्न गएका फूर्वाले आफूलाई नियतवश छोएको भन्दै अभिनेत्री मगरले उनलाई थप्पड हानेकी थिइन्। त्यसपछि उनले प्रहरी बोलाएर फूर्वालाई प्रहरीको जिम्मा लगाएकी थिइन् ।
तर, घटनासँग सम्बन्धित भिडियोहरु सामाजिक सञ्जालमा सार्वजनिक भएपछि फुर्वाको नभइ मिरुनाकै गल्ती भएको भन्दै विरोध सुरु भएको थियो। मिरुनाले निर्दोष फुर्वालाई गलत आरोप लगाएको भन्दै खास गरेर बुद्धिस्ट संघ–संस्थाहरुले विरोध जनाएका थिए ।
फुर्वालाई तत्काल रिहा गर्नुपर्ने भन्दै केही व्यक्तिहरुले फिल्म हलमै गएर विरोध प्रदर्शन गरेका थिए। फुर्वा पक्राउको विरोधमा काठमाडौंको चाबहिलस्थित केएल टावरको एफक्यूव सिनेमामा प्रदर्शन भएको थियो। विरोध प्रदर्शन चर्किएपछि एफक्युव सिनेमाले मंगलबारका लागि कबड्डी ४ को प्रदर्शन नै रोकेको थियो ।


प्रतिक्रिया