काठमाडौँ — बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७९र०८० को नीति तथा कार्यक्रम प्रदेशसभामा पेश गरेको छ । प्रदेश प्रमुख यादवचन्द्र शर्माले प्रदेशसभा बैठकमा पेश गरेको नीति तथा कार्यक्रमले शिक्षा र स्वास्थ्यलाई प्राथमिकता दिएको छ । प्रदेशलाई शिक्षाको हबको रुपमा विकास गर्दै लैजाने नीति तथा कार्यक्रममा उल्लेख छ ।
प्रदेश प्रमुख शर्माले प्रदेशभित्रका बाल विकास केन्द्रलाई स्थानीय तह र संघीय सरकारको सहकार्यमा नमूना केन्द्रको रुपमा स्तरोन्नति गर्ने, दलित, अपांग, सीमान्तकृत एवं विपन्न विद्यार्थीलाई विद्यालय शिक्षामा पहुँच वृद्धि गरिने बताए । ‘कोही पनि बालबालिका शिक्षाको पहुँचबाट वञ्चित हुन नपारोस्’ भन्ने योजना अघि सारिएको उनले बताए ।
विद्यालयको भौतिक सुधार गरी आधुनिक पाठ्य सामग्री तयार पारी प्रत्येक जिल्लाको कम्तीमा एक विद्यालयमा नमूना बाल विकास केन्द्र सञ्चालन गरिने उनले बताए । गुरुयोजना स्वीकृत भएका आवासीय विद्यालयहरुको भौतिक विकास गर्नुको साथै नमूना विद्यालयमा विकास गुरुयोजना कार्यान्वयन गरिने नीति तथा कार्यक्रममा उल्लेख छ । सामुदायिक विद्यालयको गुणस्तर अभिवृद्धिका लागि सूचना प्रविधि प्रयोगशाला, विज्ञान तथा विषयगत प्रयोगशालाहरु स्थापना गरिने प्रदेश प्रमुख शर्माले बताए ।


प्रतिक्रिया