काठमडौँ — कपिलवस्तुमा पुनः हैजाविरुद्धको खोप अभियान सञ्चालन हुने भएको छ। जिल्लाका थप ५ पालिका कपिलवस्तु, बाणगंगा, बुद्धभूमि नगरपालिका र मायादेवी शुद्धोदन गाउँपालिकामा हैजाविरुद्धको खोप अभियान सञ्चालन हुने भएको हो ।
यसअघि कपिलवस्तुको कृष्णनगर, शिवराज महाराजगंज नगरपालिका र विजयनगर र यशोधरा गाउँपालिकामा अभियान सम्पन्न भइ सकेको छ। पहिलो अभियानमा ९० प्रतिशत बढीले हैजाविरुद्ध ओरल कलेरा भ्याक्सिनको सेवन गरेको जिल्ला स्वास्थ्य कार्यालय प्रमुख हेमराज पाण्डेयले जानकारी दिए ।
खोप एक वर्ष भन्दा माथिका सम्पूर्ण गर्भवती, सुत्केरी लगायत सबैले खान मिल्ने उनले बताए । अभियानमा साढे ३ लाखलाई खोप खुवाउने लक्ष्य छ। जेठ १६ गते देखि पहिलो चरणको खोप अभियान सुरु गरिने पाण्डेयले बताए। खोप लिएको १४ दिनपछि दोश्रो डोजको खोप खुवाइने छ । पहिलो र दोस्रो चरणको खोप सेवन गरे पछि पाँच वर्षसम्म हैजा तथा झाडापखला लाग्नबाट बच्न सकिने उनले बताए। पहिलो र दोस्रो चरणको खोप अभियान असारको ७ गतेसम्म सम्पन्न गर्ने लक्ष्य छ । अभियानमा साढे ३ सय स्वास्थ्यकर्मी, ६ सय महिला स्वयसेविका र प्रत्येक विद्यालयका एक शिक्षक स्वमसेवककारुपमा खेटिनेछन् ।
खोपको सूरुवात विद्यालयका विद्यार्थीबाट सुरु गरिने छ । यस्तै गाउँ टोलमा चोक चोकमा स्वास्थ्यकर्मी पुग्नेछ त्यहीबाट हैजाको खोप खुवाउने कार्यक्रम छ । सोनाफी हेल्थ केयर प्रालि भारतबाट उत्पादीत सो खोप प्रति व्यक्ति ढेड एमएलका दरले खुवाइने छ। एक वर्षमुनी सिकिस्त बिरामी, र हैजा लागेका व्यक्तिलाई भने खोप खुवाउन हुँदैन । यो खोपलाई विश्व स्वास्थ्य संगठनले पूर्णतया सुरक्षित भनेका छन् ।
जिल्ला खुला दिशामुक्त भइसके पनि अझै पनि धेरै मान्छेहरुले खुला ठाउँमा शौच गर्ने गरेको स्वास्थ्य कार्यालयका प्रमुख पाण्डेयले बताए । एक वर्ष पलिहे कृष्णगनरको बहादुरगंजमा हैजा फैलिएर ४ जनाको मृत्यु समेत भएको थियो। त्यसको केही महिना पछि कपिलवस्तुको ५ पालिकामा अभियान सञ्चालन गरिएको थियो। अहिले बाँकी रहेका ५ पालिकामा अभियान सञ्चालन गरिदैछ ।


प्रतिक्रिया