काठमाडौँ — राष्ट्रिय सभाको बैठकमा आज पनि सरकारले ल्याएको आगामी आर्थिक वर्ष २०७९÷०८० को नीति तथा कार्यक्रममाथि छलफल भएको छ । शुक्रवारको बैठकमा आगामी आर्थिक वर्ष २०७९÷०८० को नीति तथा कार्यक्रममाथि छलफलमा बोल्दै संशोधन कर्ता डा. विमला राई पौड्यालले सैद्धान्तिक रुपमा नीति तथा कार्यक्रम धेरै लामो भएको बताउनु भयो । उहाँले नीति तथा कार्यक्रममा बाटो चौंडा बनाउनेदेखि लिएर एयरपोर्ट बनाउने जस्ता साना कुराहरु जोड्न आवश्यक नरहेको बताउनु भयो ।
उहाँले सरकारले ल्याउने नीति लामो हुँदै गएको सच्याउन आवश्यक रहेको बताउनु भयो । संशोधन कर्ता पौड्यालले सरकारले एकातिर दोहोरिने प्रवृतिका संघसंस्थाहरुलाई खर्च कटाउनको लागि भएपनि हटाइनेछ भन्ने र अर्कोतिर बुँदा १२३ को दोस्रो खण्डमा सार्वजनिक नीतिको समग्र विश्लेषणका लागि राष्ट्रिय योजना आयोगमा नीति प्रयोगशाला स्थापना गरिनेछ भन्ने कुरा गरेर नीति तथा कार्यक्रममा दोधारे चरित्र देखाएको आरोप लगाउनु भयो ।
उहाँले करिव ४ वर्षअघि नै नीति अनुसन्धान प्रतिष्ठान विकास समिति गठन आदेशबाट राष्ट्रिय नीति अनुसन्धान परिषद् गठन भएको र एक वर्षअघि नै प्रतिनिधि सभामा त्यो विधेयक पठाइसकेपछि पनि सरकारले अर्को प्रयोगशाला निर्माण गर्छु भन्नु लज्जाको कुरा भएको बताउनु भयो । उहाँले २०७५ सालमा नै नीति अनुसन्धान प्रतिष्ठान गठन भइसकेकोले त्यसलाई काट्ने गरेर योजना ल्याएको बताउनु भयो । संशोधन कर्ता पौड्यालले रासायनिक मललाई दिने सेवा सुविधा कटौती गरेर प्राङ्गरिक मललाई त्यो सेवा सुविधा दिनुपर्नै बताउनु भयो ।


प्रतिक्रिया