Breaking

१८ वर्षीय विद्यार्थीले पहिले हजुरआमालाई गोली हाने, पछि विद्यालय पुगेर १९ बालबालिकाको ज्यान लिए

योहो संवाददाता

काठमाडौँ — अमेरिकामा गोलाबारी चल्नु खासै नौलो कुरा होइन । त्यहाँ यस्ता घटनाहरु महिना महिनामा घट्ने गर्दछन् । यस्ता आपराधिक घटनाहरु अमेरिकामा मात्रै किन यति धेरै घट्छन् त ? अधिकांश मानिसको सपनाको गन्तब्य अमेरिका जति प्रविधिमैत्री र सुविधा सम्पन्न छ त्यो भन्दा बढी अशान्त र असुरक्षित पनि । अमेरिकामा बेला बेलामा घट्ने विभिन्न घटनाले पनि अमेरिका असुरक्षित भएको पुष्टि गर्छ । अमेरिकामा शिक्षित व्यक्ति मात्रै होइन त्यतिकै रुपमा आपराधिक मानसिकताले जकडिएका मान्छेको पनि बसोबास रहेको छ ।

त्यसैको परिणाम स्वरुप त्यहाँ बेलाबेलामा कहालीलाग्दो अपराध हुने गर्छ । गत मंगलबार अमेरिकाको टेक्सस राज्यको एक प्राथमिक विद्यालयमा अन्धाधुन्ध गोली चल्नु त्यसको पछिल्लो एक उदाहरण हो । रोब एलिमेन्ट्री विद्यालयमा भएको घटनामा १९ बालबालिका सहित २१ जनाको ज्यान गयो । ज्यान गुमाउनेमा ७ देखि १० वर्षसम्मका बच्चाहरु पनि थिए । गोली चलाउने न कोही आतंकवादी थिए न कुनै सामूहिक संगठनको लिडर । उनी युवाल्डे हाईस्कूलका १८ वर्षीय विद्यार्थी साल्भादोर रामोस रहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएको छ ।

विद्यालयमा गोली चलाउनुअघि रामोसले हजुरआमालाई समेत गोली हानेको टेक्ससका गभर्नर ग्रेग एबोटले खुलाएका छन् । उक्त घटना भएको केही समयपछि अमेरिकी राष्ट्रपति जो बाइडेनले घटनाको भत्सर्ना गरे । यस्तो प्रकारका घटनाहरू अन्य देशको तुलनामा अमेरिकामा ज्यादा हुने गरेको भन्दै बाइडेनले यस्तो किसिमको हत्याविरुद्ध एक भएर लाग्नुपर्ने बताए । घटनाको निन्दा गर्दै अमेरिकामा ४ दिन राष्ट्रिय शोकको घोषणा पनि गरिएको छ । अमेरिकामा मास सुटिङलाई सामान्य रुपमा हेरिन्छ । अमेरिकी एक अनुसन्धान अनुसार यो वर्षको मे महिना सम्म मात्रै २१२ वटा यस्ता घटना घटिसकेका छन् । अमेरिकामा बारम्बार यस्तो घटना हुनुमा अमेरिकी ‘गन कल्चर’ रहेको देखिन्छ ।

अमेरिकाको ‘गन कल्चर’ अमेरिकी संविधान जत्तिकै पुरानो हो । सन् १७९१ मा अमेरिकी संविधानको दोस्रो संशोधनमा सबै नागरिकलाई बन्दुक राख्ने अधिकार दिइएको थियो । जहाँबाट अमेरिकामा ‘गन कल्चर’ सुरु भयो । अमेरिकी संविधानले देशको स्वतन्त्रता सुनिश्चित गर्न हतियार राख्न र बोक्न नागरिकको अधिकार हो भनी उल्लेख गरेको छ । तसर्थ, १८ वर्ष भन्दा माथिका प्रत्येक अमेरिकी नागरिकलाई संविधानले बन्दुक राख्न अनुमति दिएको छ । अमेरिकामा यस्तो घटना दोहोरिरहनुमा अमेरिकी संविधान पनि दोषी रहेको जानकारहरु बताउछन् ।

अमेरिकामा यो भन्दा पनि पहिले यस्तै खालको घटनाहरु पटक पटक घटेका छन् । सन् २०१२ मा पनि यही घटनासँग मिल्ने गरि गोलीबारी चलेको थियो । डिसेम्बर १४ मा न्यू–टाउनको स्यान्डी हुक इलिमेन्टरी हाई स्कूलमा २० वर्षीय पुरुषले गोली चलाउँदा २६ जनाको मृत्यु भएको थियो, जसमध्ये २० बालबालिका थिए । यो घटनालाई आजसम्म पनि अमेरिकी इतिहासमा सबैभन्दा घातक सामूहिक गोलीबारीको रुपमा हेर्ने गरिएको छ ।