Breaking

पछारियो एमाले, दम्भ देखाएपछि आफ्नै गढ भत्किए, बालेनका अघि तंग्रिएनन् स्थापित,नेता भन्छन्–मत यथावत्

योहो संवाददाता

काठमाडौँ— स्थानीय तह निर्वाचनमै पहिलो दल बन्ने दाबी गरेको नेकपा एमाले परिणामतः दोस्रो बन्ने पक्का भएको छ । तर एमाले नेताहरु आफ्नो परिणाम यथावत् रहेको रुपमा समीक्षा गरिरहेका छन् । सत्ताको आडमा जनतालाई आडम्बर देखाएपछि कसरी दण्ड पाइन्छ, नेकपा एमालेलाई हेरे हुन्छ । किनकि गत निर्वाचनमा २९४ स्थानीय तहलाई हातमा लिएको एमाले अहिले झण्डै एक सय स्थानीय पालिकाहरु गुमाउँदैछ । केन्द्रीय सत्ता हुँदै प्रदेश र अब स्थानीय तहमा समेत एमाले कमजोर बनेको छ । मुलतः अध्यक्ष केपी शर्मा ओलीको कार्यशैली र दम्भकै कारण आफ्ना गढहरु गुमाउनु परेपनि नेताहरु नेतृत्वलाई सच्याउन हच्किरहेका छन् ।

विगतमा काठमाडौं र पोखरा महानगर पनि एमालेकै हातमा थियो । अहिले महानगरबाट समेत हात धुनुपर्ने देखिएको छ । पोखरामा गठबन्धनको तर्फबाट एमालेबाटै विभाजित नेकपा एकीकृत समाजवादीका नेता धनराज आचार्य अहिले एमालेसँग प्रतिस्पर्धामा मात्रै छैनन्, जित नजिक पनि छन् । यता देशको केन्द्र भागमा रहेको काठमाडौं महानगरमा समेत एमालेले नेतृत्व गुमाउँदैछ । स्वतन्त्र बालेन शाहले एमालेको गढ भत्काइदिएपछि मेयरका उम्मेदवार केशव स्थापित झण्डै दोब्बर मतले पछि परेका छन् । यहाँ पनि नेताहरुले नेतृत्व पाउने आश मारिसकेका छन् ।

अब झण्डै ६० पालिकाको मत परिणाम आउन बाँकी रहेका बेला एमालेले १८८ पालिकामात्रै जितेको छ भने १८ पालिकामा अग्रता लिइरहेको छ । यसले अधिकतम्मा दुईसय हाराहारी स्थानीय तह एमालेको पोल्टामा पर्ने देखिन्छ । एमालेपछि परेको फाइदा सबैभन्दा बढी नेपाली काँग्रेसले लिएको छ । ३०७ स्थानीय तहमा निर्वाचित काँग्रेसले २० अग्रता लिइरहेको छ । यसर्थ पनि काँग्रेसले अझै १५÷सीट जित्ने निश्चित छ । विगतमा तेस्रोमा खुम्चिएको माओवादी अहिले पनि तेस्रो नै बन्दैछ । तर केही सिट थपेपछि माओवादी पनि नाफामै परेको विश्लेषण भइरहेका छन् । तर एमालेबाटै विभाजित नेकपा एकीकृत समाजवादी र एमाले स्वयंम् परिणामबाट पछि परेका छन् ।

यसलाई विभाजनको असरका रुपमा समेत विश्लेषण गरिएको छ । यद्यपी एमाले नेताहरु आफ्नो मत यथावत् रहेको रुपमा समीक्षा गरिरहेका छन् । भन्न त, निर्वाचनअघि एमाले अध्यक्ष ओलीले सबै स्थानीय तहमा गठबन्धनलाई कर्याककुरुक बनाएर पहिलो बन्ने दाबी गरिरहेका थिए । तर उनको भनाइ अनुसार मतदाताले मत दिएनन् ।झन पाँच दलीय गठबन्धन एकातिर उभिँदा अर्कातिर उभिएको एमालेलाई परिणाम निकाल्न निकै सकस प¥यो । यसको प्रभाव संसदीय निर्वाचनमा समेत पर्ने देखिएपछि एमालेका नेताहरु आगामी समीकरणका लागि गृहकार्यमा जुटेको चर्चासमेत चलिरहेको छ ।