काठमाडौँ — नेपाली फुटबलको सबैभन्दा ठूलो निकाय एन्फामा चुनावी माहोल छाएको छ । आसार ६ गते हुने निर्वाचनका लागि शुक्रबारबाट उम्मेदवारी दर्ता खुलेसँगै एन्फामा चुनावी सर्गर्मी तातेको हो । देशमा भर्खरै स्थानीय तहको निर्वाचन सकियो । त्यसको परिणाम आउने क्रममा नै छ । तर, नेपाली खेलकुदमा सबैभन्दा ठूलो संघ अखिल नेपाल फुटबल संघ एन्फामा भने बल्ल चुनावी माहोल तातिन थालेको छ ।
शुक्रबारबाट आसन्न निर्वाचनका लागि उम्मेदवारी दर्ता सुरु भएसँगै एन्फामा चुनावी माहोलको सरगर्मी छाएको हो । अघिल्लो चुनावमा एउटै प्यानलबाट होमिएका कर्माछिरिङ शेर्पा र पंकज नेम्बाङ यसपटकको निर्वाचनमा भने अध्यक्ष पदका लागि प्रतिष्पर्धीका रुपमा देखिने भएका छन् । केन्द्रीय चुनावका लागि अध्यक्ष पदमा पंकज नेम्बाङले उम्मेदवारीको घोषणा गरिसकेका छन् भने कर्माछिरिङ शेर्पाले आगामी सोमबार उम्मेदवारी दिने जानकारी गराएका छन् ।
नेम्बाङले उम्मेदवारीको घोषणा गर्दै वर्तमान एन्फा नेतृत्वले आर्थिक अनियमितता चरम अवस्थामा पुर्याएको र भ्रष्ट्राचारमा शुन्य सहनशीलता विपरित काम गरेको आरोप लगाए । त्यसैलाई चिर्न आफुले उम्मेदवारी दिएको उनको दावी छ । एन्फा कार्यसमिति सदस्य तथा पूर्व प्रवक्ता किरण राईले भने शेर्पाले उम्मेदवारी दिने संकेत गरेकोमा असन्तुष्टि जनाएका छन् । शेर्पाले क्रमिक रुपमा लगातार गल्ती गर्दै आइरहेको र अहिलेकै प्रशिक्षक र खेलाडी विवादपछि नैतिकताको आधारमा राजीनामा दिनुपर्ने अवस्थामा पुन पुरानै कामलाई निरन्तरता दिन उम्मेदवारीको संकेत गर्नु अनपेक्षित रहेको राइले बताए ।
यस्तै वरिष्ठ उपाध्यक्षमा नेम्बाङको प्यानलबाट वीरबहादुर खड्काले उम्मेदवारी दिएका छन् । नेम्बाङलाई सहयोग गर्न आफुले वरिष्ठ उपाध्यक्षमा उम्मेदवारी दिएको उनको भनाई छ । साथै उनले आफु खेलाडीको उम्मेदवार भएको पनि प्रष्ट्याए । खड्काले आफूलाई खेलाडीहरुले नै चुनावमा उठ्न प्रोत्साहन गरेको बताएका छन् । एन्फाको आगामी असार ६ गते हुने केन्द्रीय चुनावका लागि उम्मेदवारहरु प्यानल नै बनाएर अघि बड्ने योजनामा देखिएका छन् । नेम्बाङको पक्षमा किरण राई देखि शेर्पा निकट मानिने मनाङ मस्र्याङ्दका अध्यक्ष विजय घले र यसअघि तटस्थ देखिएका एन्फाको पूर्वाध्यक्ष नरेन्द्र श्रेष्ठ खुलेर प्रस्तुत भएको दृृश्य देखिन थालिसकेको छ ।
त्यस्तै उम्मेदवारी दर्ताका लागि आजदेखि ६ दिनको समय दिएको छ । यो अवधिमा दुबै पक्षको प्यानलसहिनको नाम आउने पक्का नै छ । यता शेर्पा चार वर्षअघि चेन्ज एन्फाको नारा लिएर निर्वाचनमा होमिएका थिए । सो निर्वाचनमा उनी अत्याधिक बहुमतका साथ एन्फा नेतृत्वमा आएका शेर्पाको कार्यकाल फुटबल विकासभन्दा पनि बढी विवादैविवादमा टुंगिने भएको छ ।


प्रतिक्रिया