Breaking

बालेनको दिल्ली फेहरिस्त, २५ घण्टाको टाइमलाइन, मोदीसँग १ घण्टा, ५ निर्णायक भेट, विस्तृतमा हेरौँ (भिडियोसहित)

योहो संवाददाता

काठमाडौं– भारतको दुईदिने राजकीय भ्रमण पूरा गरी प्रधानमन्त्री बालेन्द्र शाह सोमबार स्वदेश फर्किएका छन् । भ्रमणका क्रममा जारी संयुक्त वक्तव्यअनुसार लामो समयदेखि प्रतिक्षित काठमाडौं–भैरहवा–लखनउ हवाई रुटलाई दुईतर्फी सञ्चालन गर्ने सहमति जुटेको छ । दुवै देशका सरकार प्रमुखहरूले नागरिक उड्डयन क्षेत्रमा भइरहेका प्रगतिप्रति सन्तुष्टि जनाउँदै क्षेत्रीय हवाई सम्पर्क विस्तार र द्विपक्षीय आर्थिक गतिविधिलाई तीव्रता दिने विषयमा साझा प्रतिबद्धता व्यक्त गरेका छन् । भ्रमणकै अवसरमा भारत सरकारले नेपालको पूर्वाधार विकास तथा भोटेकोशी बाढीपछिको पुनर्निर्माणलाई लक्षित गरी दुई खर्ब ४० अर्ब नेपाली रुपैयाँ बराबरको आर्थिक सहयोग घोषणा गरेको छ । यस सहयोग प्याकेजमा ५६ अर्ब नेपाली रुपैयाँ अनुदान सहायता रहनेछ । उक्त अनुदान नेपालमा विपद् पश्चातको पुनर्निर्माण र नयाँ पूर्वाधार परियोजनाहरु निर्माणका लागि उपलब्ध गराइने जनाइएको छ । यस्तै १ खर्ब ८४ अर्ब रुपैयाँ भने सहुलितपूर्ण ऋणका रुपमा रहनेछ । यो ऋण सहायता नेपालको ऊर्जा क्षेत्रका परियोजनाहरुमा लगानी गरिने जनाइएको छ । यसका साथै तेस्रो मुलुकसँगको आयात–निर्यातलाई थप सहज र लागतप्रभावी बनाउन नेपाललाई भारतको ओडिशास्थित पारादीप र गुजरातको कान्डला बन्दरगाह प्रयोग गर्न दिने ऐतिहासिक सहमति पनि भएको छ ।