काठमाडौं– मलेसिया जाने नेपाली श्रमिकहरूबाट अर्बौँ रुपैयाँ ठगी गरी मन्त्रीस्तरीय निर्णय गरेरै अपचलन गरेको आरोपमा पूर्वमन्त्रीहरूदेखि उच्च तहका कर्मचारीहरू धमाधम पक्राउ परिरहेका छन् । मलेसिया जाने ७ लाख ३३ हजार नेपाली कामदारबाट २ अर्ब ३१ करोड ६२ लाख ८० हजार रुपैयाँ ठगी गरेर १ अर्ब ६९ करोड रुपैयाँभन्दा बढी रकम अपचलन गरेको आरोपमा अहिलेसम्म ११ जना पक्राउ परिसकेका छन् भने यो संख्या अझै बढ्ने देखिन्छ । थप २४ देखि २५ जना प्रहरीको निगरानीमा रहेको बुझिन्छ । नेपाल सरकार र मलेसियाबीच भएको श्रम सम्झौताविपरीत अतिरिक्त स्वास्थ्य परीक्षणको नाममा यो ठगी गरिएको खुलेको छ । यस प्रकरणमा बुधबार नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले पूर्वश्रममन्त्रीद्वय शेरबहादुर कुँवर र रामेश्वर राय यादवसहित तत्कालीन श्रमसचिव विनोद केसी, रोजगार व्यवस्थापन महाशाखाका तत्कालीन प्रमुख एवं सहसचिवद्वय उमेश ढुङ्गाना र राजीव पोखरेल तथा तत्कालीन कानुन अधिकृत एवं उपसचिव निर्मला गुरुङलाई पक्राउ गरेको थियो । काठमाडौँ जिल्ला अदालतले उनीहरूलाई ४ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ । यस्तै, बिहीबार पक्राउ पुर्जी जारी भएका पूर्वमुख्यसचिव एकनारायण अर्याल पनि शुक्रबार पक्राउ परेका छन् । फरार रहेका उनी भारतबाट पक्राउ परेको स्रोतको भनाइ छ ।
Breaking


प्रतिक्रिया