काठमाडौं– विदेश जाने लाखौँ श्रमिकहरूबाट कानुनविपरीत अर्बौँ रुपैयाँ ठगिएको एउटा यस्तो आपराधिक सिन्डिकेटको उजागर भएको छ, जहाँ पूर्वमन्त्रीहरूदेखि उच्च तहका कर्मचारीहरूसम्म प्रहरी हिरासतमा पुगेका छन् । बेरोजगारी, गरिबी र अभावमा रन्थनिएर विदेशिनुपर्ने बाध्यतामा पुगेका श्रमिकहरूबाट अर्बौँ रुपैयाँ ठगेको आरोपमा प्रहरीले धमाधम पक्राउ गरिरहेको छ । बुधबार मात्रै नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले मलेसिया जाने श्रमिकलाई संगठित रूपमा ठगी गरी १ अर्ब ६९ करोड रुपैयाँभन्दा बढी रकम अपचलन गरेको आरोपमा दुई जना पूर्वमन्त्रीसहित ६ जनालाई पक्राउ गरेको थियो । जसमा तत्कालीन श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शेरबहादुर कुँवर र रामेश्वर राय यादव, सोही मन्त्रालयका तत्कालीन सचिव विनोद केसी, सहसचिव उमेश ढुङ्गाना र राजीव पोखरेल तथा तत्कालीन कानुन अधिकृत निर्मला गुरुङ रहेका छन् । रोजगारीमा मलेसिया जाने नेपाली श्रमिकलाई स्वास्थ्य परीक्षणका नाममा अतिरिक्त शुल्क तिर्न बाध्य पारेर सङ्कलन गरिएको अर्बौँ रुपैयाँ विदेश पठाइएको आरोप छ । उनीहरुविरुद्ध गठी तथा संगठित अपराध निवारण ऐन, २०७० अन्तर्गत अनुसन्धान अघि बढाइएको छ । यस्तै, यही प्रकरणमा बिहीबार पूर्वमुख्यसचिव एकनारायण अर्यालविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । उनी फरार रहेको प्रहरीले जनाएको छ । यो प्रकरणमा अनुसन्धान अघि बढाएपछि उनी सम्पर्कविहीन भएको स्रोतको भनाइ छ ।
Breaking


प्रतिक्रिया