काठमाडौं– इजरायलका राष्ट्रपति आइज्याक हर्जोगले विपक्षी दलका नेता तथा पूर्व सैन्य प्रमुख गादी आइजेनकोटलाई नयाँ गठबन्धन सरकार गठनको जिम्मेवारी दिएका छन् । गत हप्ता सम्पन्न निर्वाचनमा वर्तमान प्रधानमन्त्री बेन्जामिन नेतन्याहु र विपक्षी नेता आइजेनकोट कसैको पनि गठबन्धनले १२० सदस्यीय इजरायली संसद (नेसेट) मा स्पष्ट बहुमत ल्याउन नसकेपछि राष्ट्रपतिले दलहरूसँगको निरन्तर छलफलपछि यो निर्णय लिएका हुन् । निर्वाचनमा नेतन्याहुको दक्षिणपन्थी ‘लिकुड’ पार्टी र उसका सहयोगी दलले ५३ सिट जितेका छन् भने आइजेनकोटको मध्यमार्गी ‘यासर’ पार्टी र अन्य तीन यहुदी विपक्षी दलको गठबन्धनले ४८ सिट जितेको छ । इजरायलको इतिहासमा हालसम्म कुनै पनि पार्टीले एकल बहुमत ल्याउन सकेको छैन, जसका कारण त्यहाँ सधैं गठबन्धन सरकार बन्ने गरेको छ । नयाँ सरकार गठनका लागि आइजेनकोटले २८ दिनको समय पाएका छन् । यदि उक्त समयमा पनि सरकार गठन हुन नसकेमा उनलाई थप १४ दिनको समय दिइन सक्ने अन्तराष्ट्रिय सञ्चार माध्यमले उल्लेख गरेका छन् । ६६ वर्षीय आइसेनकोट पूर्वसैनिक प्रमुख हुन् । उनले नेतन्याहूलाई प्रधानमन्त्रीबाट हटाउने उद्देश्यसहित निर्वाचनमा प्रतिस्पर्धा गरेका थिए । राष्ट्रपतिको निर्णयसँगै नेतन्याहूको लामो राजनीतिक वर्चस्व अन्त्य गर्ने प्रयासमा आइसेनकोटले पहिलो अवसर पाका हुन् । तर, उनीसामु सरकार गठन गर्न आवश्यक बहुमत जुटाउनुपर्ने चुनौती भने कायमै छ ।
Breaking


प्रतिक्रिया