काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) काे तेस्रो संस्करणका लागि पाकिस्तान टी-२० आईका कप्तान साहबजादा फर्हान नेपाल आइपुगेका छन् । कर्णाली याक्समा अनुबन्ध भएका ब्याटर फर्हान शनिबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका हुन् ।
कर्णाली याक्समा अनुबन्ध हुने दोस्रो पाकिस्तानी बनेका फर्हानलाई क्लबले शुक्रबार अनुबन्ध गरेको घोषणा गरेको थियो । ३० वर्षीय शीर्ष क्रमका दायाँ हाते ब्याटर फर्हानले दुई शतक र १३ अर्धशतकसहित पाकिस्तानबाट टी–२० मा ५१ खेल खेल्दा एक हजार पाँच सय ५४ रन बनाएका छन् । जसमा रावलपिण्डीमा पछिल्लो पटक खेलेका तीन टी–२० आईमा बनेकाे अर्धशतक समेत सामेल छन् । फर्हानले पाकिस्तानका लागि सन् २०१८ मा अस्ट्रेलियासँग खेल्दै टी–२० आईमा डेब्यु गरेका थिए । उनीअघि कर्णालीले बिहीबार पाकिस्तानका चर्चित अलराउन्डर हुसैन तलातलाई अनुबन्ध गरेको थियो । तलात पनि नेपाल आइसकेका छन् ।
यसअघि नै कर्णाली याक्सले ६ विदेशी खेलाडी अनुबन्ध गरिसकेको छ । कर्णालीले पाकिस्तानकै अलराउन्डर हुसैन तलातसँगै बङ्गलादेशका युवा ब्याटर अरिफुल इस्लाम र अकबर अलीलाई भित्राइसकेको छ । शुक्रबार मात्रै टिमले दक्षिण अफ्रिकाका चर्चित क्रिकेटर डेविड मिलरलाई अनुबन्ध गरेको थियो । त्यस्तै, दोस्रो सिजनमा सानदार प्रदर्शन गरेको स्कटल्यान्डका अलराउन्डर मार्क वाट पनि टिममा अनुबन्ध भइसकेका छन् । वाटबाहेक मिलर, फर्हान, तलात, अरिफुल र अकबर चारै जना पहिलो पटक एनपीएल खेल्दैछन् ।


प्रतिक्रिया