काठमाडौं– पोर्चुगलका स्टार फुटबलर क्रिस्टियानो रोनाल्डो र उनकी प्रेमिका जर्जिना रोड्रिगेजले विवाह गरेका छन् । दुवैले अगस्ट ११ मा पोर्चुगलको कास्काइसमा विवाह गरेको पुष्टि गरेका हुन् । विवाहमा उनका पाँचै सन्तान उपस्थित रहेको स्पेनी खेलकुद अखबार मार्काले जनाएको छ ।
विवाहमा रोनाल्डो र जर्जिनाका अत्यन्त नजिकका आफन्तहरू मात्रै सहभागी भएको बताइएको छ । विवाह रोनाल्डोको आफ्नै निवासमा भएको बताइएको छ । विवाह समारोहलाई पूर्ण रूपमा निजी राख्ने चाहनाका कारण निवासबाटै भएको हुन सक्ने बताइएको छ । रोनाल्डो र जर्जिनाको विवाह उनीहरूले इन्गेजमेन्ट गरेको ठीक एक वर्षपछि भएको हो ।
रोनाल्डो र जर्जिना पछिल्लो एक दशकदेखि सम्बन्धमा छन् । उनीहरूको भेट म्याड्रिडमा भएको थियो । जर्जिनाले गत वर्ष अगस्ट ११ मा रोनाल्डोसँग इन्गेजमेन्ट भएको सार्वजनिक गरेकी थिइन् । त्यसयता उनीहरूका समर्थकले विवाहको मिति र स्थानबारे चासो राख्दै आएका थिए । रोनाल्डोले विश्वकपपछि विवाह गर्ने इच्छा रहेको बताएका थिए ।
४१ वर्षीय रोनाल्डो पाँच पटक विश्वको उत्कृष्ट फुटबलर घोषित भइसकेका छन् । उनले हालै पोर्चुगलका लागि कीर्तिमानी छैटौँ विश्वकप खेलेका थिए । साउदी क्लब अल नासरबाट व्यावसायिक फुटबल खेलिरहेका रोनाल्डोको टोलीले शनिबार घरेलु सिजन सुरु गर्दैछ ।


प्रतिक्रिया