देश

ब्ल्याक होल सम्मेलनमा सहभागी हुन खगोल वैज्ञानिक डा.गोपाल भट्ट नेपाल आउँदै

योहो संवाददाता

ब्ल्याक होलको उत्पत्ति, विकास, विलय, स्पिन तथा विकिरणसम्बन्धी पछिल्लो वैज्ञानिक अनुसन्धानमा केन्द्रित ८औँ ब्ल्याक होल नेपाल बैठक ‘Many Faces of Stellar-Mass Black Holes’ काठमाडौंमा आयोजना हुने भएको छ।

सम्मेलनमा सहभागी हुन नेपाली मूलका अन्तर्राष्ट्रिय खगोल वैज्ञानिक डा. गोपाल भट्ट अक्टोबर १२ मा काठमाडौं आउँदै हुनुहुन्छ। पोल्याण्डमा कार्यरत डा. भट्ट उच्च–ऊर्जा खगोलभौतिकी, एक्टिभ ग्यालेक्टिक न्युक्लिआई (AGN), रिलेटिभिस्टिक जेट तथा गामा–रे बर्स्टलगायतका क्षेत्रमा अनुसन्धान गर्दै आउनुभएको छ। उहाँका १५० भन्दा बढी वैज्ञानिक प्रकाशन रहेको जनाइएको छ।

डा. भट्टले सम्मेलनमा वैज्ञानिक प्रस्तुति दिनुका साथै स्थानीय आयोजक समितिका सदस्यका रूपमा पनि भूमिका निर्वाह गर्नुहुनेछ। सन् २००२ देखि आयोजना हुँदै आएको ब्ल्याक होल नेपाल बैठक यसअघि २००२, २००६, २००८, २०१०, २०१३, २०१६ र २०२२ मा काठमाडौंमा आयोजना भइसकेको छ।

आगामी १२ देखि १६ अक्टोबर २०२६ सम्म ठमेलस्थित अलोफ्ट काठमाडौं थमेलमा हुने सम्मेलनमा विश्वका विभिन्न देशका खगोल वैज्ञानिक, एस्ट्रोफिजिक्सका प्राध्यापक, अनुसन्धानकर्ता तथा पीएचडी शोधकर्ताहरू सहभागी हुनेछन्। सम्मेलनमा स्टेलर–मास ब्ल्याक होलको निर्माण तथा विकास, ब्ल्याक होलको विलय, स्पिन, एक्स–रे तथा गामा–रे विकिरण, जेट, एक्स–रे पोलराइजेसन तथा ब्ल्याक होल बाइनरीलगायतका विषयमा नवीनतम अनुसन्धान प्रस्तुत तथा छलफल हुनेछ।

विश्वस्तरीय वैज्ञानिकहरूको सहभागिताले नेपाली विद्यार्थी तथा अनुसन्धानकर्तालाई अन्तर्राष्ट्रिय वैज्ञानिक समुदायसँग प्रत्यक्ष संवाद र सहकार्यको अवसर दिने अपेक्षा गरिएको छ। साथै, नेपालमा खगोल तथा अन्तरिक्ष विज्ञानको अनुसन्धान, वैज्ञानिक पूर्वाधार र अन्तर्राष्ट्रिय सहकार्य विस्तारका लागि सम्मेलन महत्वपूर्ण अवसर बन्न सक्नेछ।