Uncategorized

आयरल्याण्डमा अध्ययनरत विद्यार्थीद्वारा बाढीपीडितका लागि साढे ४ लाख सहयोग संकलन

योहो संवाददाता

काठमाडौं, नेपालमा हालै गएको बाढीपहिरो तथा प्राकृतिक विपत्तिबाट प्रभावित परिवारको राहतका लागि आयरल्याण्डमा अध्ययनरत नेपाली विद्यार्थीहरूले आर्थिक सहयोग जुटाएका छन्।

डब्लिनस्थित ‘टीचर्स क्लब’ (Teachers Club) मा गत सेप्टेम्बर १५ मा आयोजना गरिएको ‘संगीतबाट सहयोग’ कार्यक्रममार्फत संकलन भएको रु ४,२१,१११ रकम अर्थ मन्त्रालयमा बुझाइएको छ। आलोकनगर टोल सुधार समितिका अध्यक्षसहितको टोलीले उक्त रकम नेपाल सरकारसमक्ष हस्तान्तरण गरेको हो।

काठमाडौं आलोकनगर घर भई हाल आयरल्याण्डमा रहेका जोन पोख्रेलको मुख्य अग्रसरतामा सम्पन्न उक्त कार्यक्रम प्रवेश निःशुल्क राखिएको थियो। केवल मनोरञ्जनका लागि मात्र नभई मातृभूमिमा विपत्तिमा परेका दाजुभाइ तथा दिदीबहिनीहरूप्रति ऐक्यबद्धता जनाउँदै मानवीय सहयोग जुटाउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको आयोजकले जनाएका छन्।

विशेष गरी रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण ज्यान गुमाएकाहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनमा समवेदना र घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरिएको थियो।

कार्यक्रममा डब्लिनस्थित विभिन्न नेपाली संघ–संस्थाका प्रतिनिधि, कलाकार, संगीतकर्मी, समाजसेवी तथा सञ्चारकर्मीहरूको सहभागिता थियो। कार्यक्रमलाई सफल बनाउन योगदान पुर्‍याउने गंगाराम कँडेल, सन्तोष शर्मा र कार्यक्रम सञ्चालिका नीतिश्मा गौतमप्रति आयोजकले विशेष धन्यवाद व्यक्त गरेका छन्।