खेलकुद

१०० रुपैयाँभन्दा बढीमा कर, सीमावर्ती जीवनमा असर

योहो संवाददाता

 कैलालीको गौरीफन्टा नाकामा हिजो–आज पहिले जस्तो चहलपहल छैन । बिहानदेखि साँझसम्म किनमेलका झोलाहरू बोकेर आउजाउ गर्नेहरु भीड घटेको छ । सीमा पारि भारततर्फको गौरीफन्टा बजार र नेपालतर्फको डोकेबजार दुवैतिर व्यापारको गति सुस्ताएको छ ।

सरकारले भारतबाट ल्याइने न्यूनतम १०० रुपैयाँ बराबरका सामानमा समेत भन्सार शुल्क अनिवार्य गरेपछि सीमावर्ती जनजीवनमा यसको प्रत्यक्ष असर देखिन थालेको स्थानीय व्यापारीहरु बताउँछन् ।

साना किनमेलका लागि पारि जाने बानी परेका नेपालीहरू अहिले घटेका छन्, जसका कारण सीमा क्षेत्रको आर्थिक गतिविधि सुस्त भएको छ ।

किनमेलको लय टुट्दा व्यापारमा असर

डोकेबजारमा खुद्रा पसल चलाउँदै आएका कञ्चनपुरको पुनर्वास नगरपालिका–११ का दलबहादुर विकका लागि यो परिवर्तन महसुस गर्ने विषय मात्र होइन, दैनिक आम्दानीसँग जोडिएको यथार्थ हो ।

सरकारको नयाँ प्रावधानपछि सीमा क्षेत्रमा आवागमन पातलो बन्दै गएको र डोकेबजार क्षेत्रमा सानोतिनो व्यापार गर्दै आएका आफूजस्ता व्यापारीको व्यापारमा पनि कमी आएको उनी बताउँछन् ।

‘मान्छेहरु समान्य नुन, तेल, सोडा, साबुन लिन मात्रै गौरीफन्टा जान्थे । स्थानीय मान्छेको चहलपहलले हाम्रो पनि सानोतिनो व्यापार हुन्थ्यो,’ विकले भने, ‘सरकारले १०० रुपैयाँको सामानमा पनि कर लाउने भनेपछि किनमेलका लागि पारी जानेहरु घटेका छन् । स्वाभाविक रुपमा यसले हाम्रो व्यापारमा पनि असर देखिएको छ ।’