Breaking

रवि–बालेन सम्बन्धमा ६ महिनामै किन प्रश्न ? सरकारकै रवैयाले पुराना सलबलाए, नेता पक्रेको खोइ ? (भिडियोसहित)

योहो संवाददाता

काठमाडौं– झन्डै दुई तिहाइको जनमतसहित राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले विगत ६ महिनादेखि सत्ता सञ्चालन गरिरहेको छ । पार्टी स्थापनाको छोटो समयमै विशाल बहुमत प्राप्त गर्न सफल रास्वपाले एकल सरकारमार्फत देशको बागडोर सम्हालिरहँदा नागरिकले ठूलो अपेक्षा राखेका छन् । अझ जेनजी आन्दोलनपछिको विशेष परिस्थितिबाट रास्वपाले पाएको जनमतका कारण पनि पार्टीप्रति नागरिकको भरोसा निकै उच्च छ । त्यही जनअपेक्षालाई सम्बोधन गर्न प्रधानमन्त्री वालेन्द्र शाह ‘बालेन’ नेतृत्वको सरकारले पहिलो मन्त्रिपरिषद् बैठकमै शासकीय सुधारका लागि एक सय बुँदे कार्यसूचीको प्रतिबद्धता स्वीकृत गरेको थियो । यद्यपि, सो प्रतिबद्धताको कार्यसम्पादन यो ६ महिनासम्म आइपुग्दा अपवादबाहेक सुस्त र स्थिर नै देखिएको छ । सार्वजनिक प्रशासन र प्राज्ञिक क्षेत्रलाई गैरराजनीतिक बनाउने क्रममा ट्रेड युनियन र दल निकट विद्यार्थी सङ्गठन खारेज गरेर सरकारले प्रतिबद्धता भने पूरा गरेको छ । साथै, प्रतिबद्धताअनुसार नै सहकारीका साना बचतकर्ताको रकम फिर्ता गर्न पनि सुरु गरिएको छ । यो ६ महिनाको अवधिमा ठूलो विपत्तिको सङ्कट सामना गर्नुपरे पनि सरकारले चालेका कदमहरू सन्तोषजनक नै रहेको सत्तापक्षको दाबी छ ।