खेलकुद

नेपालको ऐतिहासिक प्रतिस्पर्धा, विश्वकप विजेता वेस्ट इन्डिजसंग टी–२० शृङ्खलामा भिड्दै


काठमाडौं— आईसीसी विश्वकप छनोटको अन्तिम तयारीस्वरुप नेपालले आज वेस्ट इन्डिजसँग टी–२० आई शृंखला खेल्दै छ । खेल नेपाली समय अनुसार बेलुका ८ बजेर १५ मीनेटमा शारजाह क्रिकेट रंगशालामा सुरु हुने छ । नेपालका लागि यो तयारी शृंखला मात्र नभएर ऐतिहासिक शृंखला नै हुनेछ ।

नेपालले आईसीसीको पुर्ण सदस्य राष्ट्रसँग द्विपक्षीय शृंखला खेल्न लागेको यो पहिलोपटक हो । यसका अलावा नेपाललाई यस शृंखलामा अर्को इतिहास बनाउने अवसर पनि छ । नेपालले हालसम्म आईसीसीको पूर्ण सदस्यलाई टी–२०आईमा हराउन सकेको छैन ।

दुईपटकको विश्वविजेता वेस्ट इन्डिज पछिल्लो समय खराब लयबाट गुज्रिरहेकाले नेपाललाई यस इतिहास बनाउने सुनौलो अवसर हुनेछ । खेलसँगै शृंखला पनि जित्ने दाउमा नेपाल हुनेछ । पावर हिटिङले परिचित वेस्ट इन्डिजको टोली पछिल्लो समय खराब लयमा छ ।

सन् २०२५ मा १२ वटा टी–२०आई खेलेको वेस्ट इन्डिजले २ वटा मात्र जितेको छ । पछिल्ला ८ खेलमा एउटा मात्र जितेको छ ।