Breaking

विश्वको नक्सा फेर्न बसेका ट्रम्प, सी र पुटिन, रहस्यमय वार्ता, विश्वका युद्ध रोकिन्छन् कि चर्किन्छन् ? (भिडियोसहित)

योहो संवाददाता

काठमाडौं– विश्वका तीन प्रमुख महाशक्ति राष्ट्रहरू संयुक्त राज्य अमेरिका, चीन र रुसका शीर्ष नेताहरूबीच पहिलो पटक ऐतिहासिक त्रिपक्षीय वार्ता भएको छ । एसिया–प्रशान्त आर्थिक सहयोग (एपेक) शिखर सम्मेलनको अवसर पारेर चीनको प्रविधि सहर सेन्जेनस्थित ‘काइलिन भिल्ला’मा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प, चिनियाँ राष्ट्रपति सी चिनफिङ र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनबीच करिब ९० मिनेट लामो गहन छलफल भएको हो । उक्त वार्तापछि तीनै राष्ट्रले एक संयुक्त ‘शान्ति घोषणापत्र’ जारी गर्दै ‘आणविक युद्ध कहिल्यै जित्न सकिँदैन र यो कहिल्यै लडिनु हुँदैन’ भन्ने ऐतिहासिक संकल्प दोहो¥याएका छन् । घोषणापत्रमा विश्वव्यापी रणनीतिक स्थिरता, ऊर्जा सुरक्षा, आणविक अप्रसार र परिष्कृत पेट्रोलियम पदार्थको उत्पादन तथा आपूर्ति सन्तुलन कायम राख्ने विषय समेटिएका छन् । साथै, नेताहरूले अन्तर्राष्ट्रिय फौजदारी अदालत (आईसीसी) जस्ता निकायहरूले राज्यका पदाधिकारीहरूको उन्मुक्तिलाई बेवास्ता गर्दै क्षेत्राधिकारको दुरुपयोग गर्न नहुने कुरामा समेत सहमति जनाएका छन्, जसलाई पुटिनविरुद्ध जारी पक्राउ पुर्जीसँग जोडेर हेरिएको छ । बैठकलाई सम्बोधन गर्दै चिनियाँ राष्ट्रपति सी चिनफिङले यो संवाद इतिहासमै पहिलो र अभूतपूर्व महत्त्व (ग्राउन्डब्रेकिङ) को भएको बताए ।