Breaking

फ्रान्सभन्दा चर्को जर्मनीको आन्दोलन, लुटपाटकै उत्पात, डेन्जर निस्किए जेन–जी, सरकार हायलकायल (भिडियोसहित)

योहो संवाददाता

काठमाडौं– बढ्दो महँगी, सार्वजनिक सेवामा भएको बजेट कटौती र अनिश्चित भविष्यलाई लिएर फ्रान्सबाट सुरु भएको आन्दोलनको ज्वाला युरोपका अन्य मुलुकहरूमा पनि तीव्र गतिमा फैलिन थालेको छ । फ्रान्सपछि अहिले जर्मनीमा पनि युवाहरूको नेतृत्वमा शनिबार ‘ह्यालोविन’को अवसर पारेर हजारौँ मानिसहरू सडकमा उत्रिएका छन् । सुरुवाती रूपमा शान्तिपूर्ण देखिएको प्रदर्शन साँझ ढल्किँदै गर्दा हिंसात्मक झडप, तोडफोड र लुटपाटमा परिणत भएको छ । जर्मनीमा युवा पुस्ताको अगुवाइमा सुरु भएको यो आन्दोलनलाई ‘जेन–जी रेगेल्ट’ (अर्थात् ‘अब जेन–जीले सम्हाल्छ’) नारा दिइएको छ । युवाहरूले चर्को महँगी, विद्यालय र विश्वविद्यालयहरूमा बजेट अभाव, वातावरणीय संकट र पुनः अनिवार्य गर्न खोजिएको सैन्य सेवाको कडा विरोध गरेका छन् । आन्दोलनको नेतृत्व गरिरहेकी प्रवक्ता लिना फ्रिडरिखले आफ्नो माग प्रस्ट पार्दै भनिन्, “हामी युद्ध र बाध्यताका लागि होइन, शान्ति र स्वतन्त्रताका लागि लडिरहेका छौँ । हामीलाई शिक्षा र स्वास्थ्य प्रणालीमा सुधार चाहिएको छ ।” आयोजकहरूले देशभर १ लाख २० हजारभन्दा बढी प्रदर्शनकारी सडकमा उत्रिएको दाबी गरे पनि सुरक्षा निकायहरूले बर्लिन, म्युनिख र फ्रयाङ्कफर्ट जस्ता ठूला सहरहरूमा गरी करिब १८ हजारदेखि केही दस हजार मानिस सहभागी भएको जनाएका छन् । प्रदर्शनकारीहरूले अनुहार नछोपी शान्तिपूर्ण प्रदर्शन गर्ने आह्वान गरे पनि साँझ परेपछि परिस्थिति नियन्त्रण बाहिर गएको थियो ।