Breaking

देउवा छाडेका ७ नेताको कन्तबिजोग, चतुर रामहरि जित्दै, सुनिल र डिनालाई गगन टिमकै धोका (भिडियोसहित)

योहो संवाददाता

काठमाडौं– नेपाली कांग्रेसको १५औं महाधिवेशनबाट गगनकुमार थापा सभापतिमा निर्वाचित भए । उनीसँगै अहिलेसम्म वरिष्ठ उपसभापति, उपसभापति र महामन्त्रीमा पनि विभिन्न व्यक्तिहरू निर्वाचित भइसकेका छन् भने अन्य पदाधिकारीदेखि केन्द्रीय सदस्यहरूको मतगणना जारी छ । विशेष महाधिवेशनबाट पार्टी दुई धारमा विभाजित भएको बेला १५औं महाधिवेशन आयोजना गरियो; जहाँ विशेष महाधिवेशन बहिष्कार गरेका देउवा पक्षका अधिकांश हेभीवेट नेताहरू १५औँ महाधिवेशनमा पनि सहभागी भएनन् । तर पनि विशेष महाधिवेशनमा सहभागी नभएका देउवा पक्षका अन्य केही नेता तथा कार्यकर्ता संस्थापनमा फर्किएर १५औं महाधिवेशनमा सहभागी भए । उनीहरू महाधिवेशनमा सहभागी मात्र नभएर केन्द्रीय कार्यसमितिका विभिन्न पदमा प्रतिस्पर्धासमेत गरे । तर विडम्बना, देउवाको साथ छाडेर गगनको बलमा पदाधिकारी बन्ने दाउ थापेका उनीहरू महाधिवेशनको निर्वाचनमै पराजित हुन पुगे । गगन थापाले ढाडस दिएर अन्तिम समयमा देउवा क्याम्पबाट छुट्टिएका उनीहरूलाई पार्टीकै प्रतिनिधिहरूले नपत्याउँदा अहिले ‘घर न घाट’को अवस्थामा पुगेका छन् । न उनीहरू गगन थापाको नेतृत्वमा कुनै जिम्मेवारीमा अटाउन सके, न त संस्थापनइतर पक्षमै रहन सके । जसले गर्दा उनीहरूको राजनीतिक भविष्यमै अन्योल सिर्जना भएको देखिन्छ । पदाधिकारीमै हार व्यहोरेका उनीहरू के अब गगन थापाकै निगाहमा कुनै पदमा मनोनीत भएर बस्छन् वा फेरि संस्थापनइतर पक्षमै फर्किन्छन् भन्ने प्रश्न पनि खडा भएको छ ।