काठमाडौं– चाडपर्वका बेला बजारमा कृत्रिम अभाव हुन नदिन सरकारले बजार अनुगमनलाई तिब्र पारेको छ । कृत्रिम अभाव हुन नदिइ उपभोक्तालाई सहज रूपमा उपभोग्य वस्तु उपलब्ध गराउन र आपूर्ति व्यवस्थापन प्रभावकारी बनाउन वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले बजार अनुगमन तिब्र बनाएको हो । विभागले मन्त्रालय र मातहतका निकायबाट थप कर्मचारी परिचालन गरी बजारको अवस्था, वस्तुको गुणस्तर, मूल्य र मौज्दातको नियमित अनुगमन गरिरहेको छ ।
वाणिज्य विभागका महानिर्देशक रितेशकुमार शाक्यले दशैँ, तिहार र छठ पर्वलाई लक्षित गरी उपभोग्य वस्तुको सहज आपूर्ति तथा व्यवस्थापनमा विशेष ध्यान दिइएको बताए । उनकाअनुसार काठमाडौं उपत्यकामा नियमित अनुगमन टोलीबाहेक मन्त्रालय र मातहतका निकायबाट ५० जना थप कर्मचारी परिचालन गरिएको छ ।
हालैको विपद्का कारण मुख्य राजमार्ग तथा उत्तरी नाकामा अवरोध हुँदा आपूर्ति श्रृंखलामा असर परेको विभागले जानकारी दिएको छ । त्यसको प्रभाव सुरुमा ग्यासलगायत केही उपभोग्य वस्तुको आपूर्तिमा देखिएको छ । पछिल्लो समयमा ग्यासको आपूर्ति केही सहज भएपनि उपभोक्ताले आफूले प्रयोग गर्दै आएको ब्राण्डकै ग्यास पाउन कठिनाइ भएको गुनासो गरेका छन् ।
शाक्यकाअनुसार एउटै कम्पनीको ग्यास खोज्ने उपभोक्तालाई सहज बनाउन ग्यासको ब्राण्ड परिवर्तन गर्न मिल्ने व्यवस्था गरिएको छ । यसका लागि सुरुमा छ स्थानबाट र त्यसपछि ११ स्थानबाट यस्तो व्यवस्था मिलाइएको छ ।
ग्यास आपूर्तिको दीर्घकालीन व्यवस्थापनका लागि औद्योगिक र व्यक्तिगत प्रयोजनमा प्रयोग हुने ग्यासको छुट्टाछुट्टै व्यवस्था, सिलिण्डरको आकार तथा ब्राण्ड व्यवस्थापनलगायत विषयमा मन्त्रालयमा नीतिगत छलफल भइरहेको पनि उनले जानकारी दिए ।


प्रतिक्रिया