Uncategorized

विराटनगर बटालियनको टाइटल स्पोन्सर आदियोगी ट्राभल्स

योहो संवाददाता

काठमाण्डौ – इन्डोर सुपर लिग (आईएसएल)को टोली विराटनगर बटालियन र आदियोगी एक्सप्रेस ट्राभल्स सर्भिसेसबीच टाइटल स्पोन्सरका लागि सम्झौता भएको छ । आज काठमाण्डौमा विराटनगर र आदियोगीबीच भएको टाइटल सम्झौता अनुसार आईएसएलका खेलमा टोलीको जर्सीको प्रमुख स्थानमा आदियोगीको लोगो हुनेछ ।
विराटनगर बटालियनका निर्देशक सुदीप मानन्धरले आदियोगीको सहयोगले टोलीलाई आत्मविश्वास थपेको बताए ।
आदियोगीका सञ्चालक चिरञ्जिवी खनालले आफू सानैदेखि खेलकुद मन पराउने व्यक्ति भएकाले टोलीसँग आफ्नो व्यवसायलाई जोड्न पाउँदा खुशी लागेको बताए ।
विराटनगरका मार्की खेलाडी रुपेश सिंहले खेलकुदमा निजी लगानी र खेलाडीका लागि भएको यो सम्झौताले उत्साह मिलेको बताए ।
दोस्रो संस्करणका लागि खेलाडी अक्सन भइसकेको छ । काठमाण्डौ स्पोर्टस इभेन्टस् प्रा.लि.को आयोजनामा हुने लिगमा १० टोली सहभागि हुँदैछन् । पहिलो संस्करणमा ८ फ्रेन्चाइज टोली सहभागी भएकोमा यस वर्ष दुई नयाँ टोली थपिएको हो ।
यस संस्करणमा टोलीहरूको नाम पनि शहर तथा प्रदेशको पहिचान झल्किने गरी परिवर्तन गरिएको छ ।


दोस्रो संस्करणमा काठमाण्डौ कैलाश किंग्स, सुदूरपश्चिम टाइगर्स, द लुम्बिनी योर्कर्स, मिक्समाण्डु, ललितपुर अलस्टार्ज, विराटनगर ब्याटालियन, जनकपुर किंग्स, बुटवल एम्पायर, पोखरा वारियर्स र रअ हेटौंडा रोयल्स रहेका छन् । प्रतियोगिता आउँदो सेप्टेम्बर २ अर्थात् भदौ १७ गतेदेखि सञ्चालन हुनेछ । आईएसएलको पहिलो संस्करणको उपाधि अनमोल पायोनियर्सले जितेको थियो ।