मनोरञ्जन

६ दशक जिन्दगी


काठ्माडौं- (नोकरी काल), भीम राई- भर्खर अठार वर्ष लागेको थिएँ । तर मलाई तुलानात्मक रुपमा एकदम जवान भइसकेको आभाष भइरहेको थियो । जिन्दगीमा एकचोटि पैसा कमाउन सहर त गएँ । तर रित्तै हात घर फर्केर आएको थिएँ । अब के गर्ने ? कसो गर्ने ? अनायसै जीवनमा अलमल परिरहेको थिएँ । अब जीवनभर दुःख नै पाएर मरिने हो कि के हो भनेर हिनताबोध भइरहेको थियो । तर एउटा उपाय फुर्यो । बरु बेलायती सेनामा भर्ती हुन प्रयत्न गर्छु । यदि भर्ती हुन सके भने त गरि खाइहाल्छु नि भनेर अठोट लिएँ ।।

त्यति सोचिसकेपछि हरेक दिनको बिहान बेलुकी भर्ती हुनको लागि अभ्यास गर्न खेतमा, बारीमा र बन जङ्गलमा उफ्रिपाफ्री गर्न थालें ।

हाम्रो गाउँको सिधै पारीपट्टि नुनथला भन्ने एउटा गाउँ छ । हाम्रो र त्यो गाउँको बिँचमा सिमाना भनेको केवल डल्ले खोला मात्र हो । खोलापारीको त्यस गाउँमा एक जना पूर्व गोर्खा सैनिक सार्जन्ट गुरुजीले रेक्रुटहरु भर्ती गर्नको लागि गल्ला लिएर आएका छन् भन्ने हल्ला चैते खडेरिको समयमा जङ्गलमा लागेको डढेलो झै फैलिएर आयो । अव के खोज्छस कानो, आँखो भनेझै म पनि भर्ती जानको लागि अभ्यास सुरु गरेको मान्छे, नाम लेखाउन लागि बुरुक बुरुक हुन थालिहालें ।

नभन्दै अर्को हप्ता नुनथला पुगें र गल्लामा आफ्नो नाम लेखाएर घर फर्के । त्यसको लगभग तीन महिनापछि धरानदेखि भर्ती हुने उमेदवारहरु छान्नको लागि पूर्व गोर्खा सेनाका एउटा समुह नुनथलामा आए । उक्त्त समुहको कमान्डर चाहिँ एरिया रेक्रुटिङ अफिसर (एआरओ) कप्तान भक्त्त बहादुर लिम्बू पूर्व दश गोर्खा राइफल्स थिए । नुनथला गल्लामा भर्ती हुन आएका सयकडौ युवाहरुको जिउँडाल उनै एआरओले शिरदेखि पाउँसम्म मज्जाले हेरे । अझै उनले हामीलाई पालैपालो आँखा झिम्क्याउँन लगाए । छाती र उँचाई नापे । तौल जोखे । र, अन्तिममा सयकडौ लहलह उमेर भएकाहरु मध्ये बीस जना युबाहरुलाई छनोट गरे ।

त्यसपछि, “अब ! धरानको घोपा क्याम्पमा भेटौंला है,” भनेर हामीलाई घोपा क्याम्पभित्र पस्ने गेटपास दिएँ ।

नुनथला गल्लामा छानिएको साढे दुई महिनापछि म तीन दिन हिँडेर फत्तेपुर झरिपुगेका थिएँ । त्यहाँदेखि एउटा बस चढें अनि धरान पुगें । रिक्रुटिङ डेपो धरान क्याम्पमा छिरेपछि लगभग दुई हप्ताजति बिभिन्न खालको शारिरिक व्यायम र दिमागका परिक्षाहरु भएको थियो । मैले सबै परिक्षाहरु सहज ढङ्गले उतिर्ण गरें ।

७ फेब्रुवरी १९८४ को दिन थियो । म जस्तै भर्ती भएका युवाहरु त्यहाँ कति जना थिए भनेर मलाई पटक्कै हेक्का भएन । तर तिनै युवाहरुसँगसँगै बेलायती हजुर महारानीको सेवाको लागि आवश्यक परे जमिनमा, पानीमा र आकासमा लड्नको लागि तयार छु भनेर कसम खाएको क्षणलाई अहिले पनि स्मरण गर्छु ।

बेलायती गोर्खा सेनामा भर्ती भएपछि हामी तीन दिन जति घोपा क्याम्पमा बसेका थियौं । त्यसपछि घोपा क्याम्पले भाडामा लिएको एउटा कोचदेखि त्यस जमानाका चल्तिको नेपाली सिनेमाका गीतहरु बाहेक, “झमझम परेली आँखैमा गाजलु, सम्झन्छु देहरादुन,” भन्ने गीत गाउँदै गाउँदै बिराटनगर विमानस्थलतर्फ लागेका थियौं ।

जिन्दगीमा पहिलोचोटी देश छाडेर परदेश लागिरहेको थिएँ । त्यसैले मनभित्र केही हर्ष र केही बिस्मत त छँदै थियो । झन कोचमा फरक भूगोल, भाषा, धर्म र संस्कृतीमा रमेका ताप्लेजुङका लिम्बूहरुदेखि ओखलढुङ्गाको सुनुवारहरुसँगसँगै यात्रा गरिरहेका थियौं । हुनत हामी एक आपसमा अपरिचित थियौं । तैपनि यात्रा मनोरन्जनात्मक नै रहेको थियो ।

किनभने हामी सबैले मिलेर कोचभित्र, “सिलगुडीदेखि रेलगाडी आयो, घुम्तिमा भेट भयो । कहाँको तिमी कहाँको हामी मौकाले भेट भयो,” भन्दै समयको कुरा गरिरहेका थियौं । तर ठीक त्यतिबेलाको समय भने दिउँसोको बार्ह बजेको थियो र हामी बिराटनगर विमानस्थलमा पुगिसकेका हुन्छौं । विमानस्थलमा पुगेपछि कोचमा सबैभन्दा अगाडि बसेका गुरुजीले हातको इसाराबाट, “अब गित बन्द,” भन्नुहुन्छ । त्यसपछि गीत बन्द हुनु र कोचदेखि झर्न लगभग सँगसँगै हुन्छ ।

फरवरीको महिना मौसम अति नै राम्रो छ । मैले सोचेकोभन्दा बिराटनगर विमानस्थल कोलाहलमय छ । यो जिन्दगीमा कहिले नपुगेको वा नदेखेको स्थान हो । नयाँ स्थानमा हामीलाई तालिम गराउने गुरुजीहरु हाम्रो हेरचाहको लागि अगाडि पछाडि खटिरहनु भएका छन् । उनीहरुले यता यता, उता उता र एक लाइनमा उभिँरहि भनेका शब्दहरुमात्र हामी घरिघरि सुन्न सक्छौं ।

अझै जीवनमा पहिलोचोटी विमानदेखि यात्रा गर्दै थिएँ । त्यसैले मनभित्र हल्का त्राश उत्पन्न भइरहेको थियो । तर पंक्त्तिबध्द भएर मेरो ठीक पछाडि ठिङ्गै उभिरहेको एकजना अपरिचित रिक्रुट साथीलाई उसको हातमा कोट्याएर यसो एकवचन सोधिहेर्छु ।

“मित्र ! मलाई त हल्का डर लागिरहेको छ । तपाइँलाई चाहिँ के कस्तो छ ?”

उनको उँचाइ लगभग म जत्तिक्कै थियो । तर उनले अचम्म तरिकाले भैँसीखुट्टे टोपी पहिरण गरिरहेका थिए । खाट्टि कुरा गर्ने हो भने त्यतिबेला उनको टोपी उनको टाउकोभन्दा अझै सेक अग्लो अग्लो जस्तो देखिन्थ्यो । हुनत हामी सबैले त्यतिबेला सरकारी बर्दीमा खागीको कमिज, पतलुङ, ह्याबिवुल स्वेटर, टोपी र खुट्टामा बेलायती पिटी जुत्ता पहिरण गरिरहेका थियौं ।

तर मेरो कुरो सुनेर ऊँ पहिले एकचोटी फ्यास्सै मुस्कुराउँछ । अनि सुस्तरि मेरो कान नजिक आएर बोल्छ, – “छया ! केही हुँदैन के । म त पहिले नै हावाजहाज चढिँसकेको मान्छे हुँ । चिल जस्तै माथि माथि आकाशमा उड्छ । मज्जा आउँछ, लुङ्गा ।”

उनले मलाई रमाईलो शैलिमा मात्र होइन तर संक्षिप्तमा जबाफ फर्काइ दियो । उनको कुरा सुनेपछि म एकछिन त्यतिक्कै यताउता टोलाइ रहन्छु । बिराटनगर विमानस्थलमा मेरो एकघन्टा जति समय यसै यसै बितेर जान्छ । एकछिनपछि प्रहरीहरु द्वारा हाम्रो सुरक्षा जाँच हुन्छ । त्यसपछि हातले विमानतिर जानु भनेर प्रहरीहरुले संकेत गरेपछि शाही नेपाल वायु सेवा निगमको एउटा थोत्रो विमानभित्र पस्नका लागि मेरो पाइतालाहरु अगाडि बढ्न थाल्छन् ।

हल्का त्रशित मुद्रामा विमानभित्र पसेर एकछिन बसेको मात्र के थिएँ । अचानक हातका औलाहरुदेखि चिटचिट पसिना छुट्न थालिहाल्छ । लाग्छ, म निश्चय नै भित्रभित्रदेखि डराईरहेको थिएँ । तैपनि निर्धक्क भएर सिटमा आरामदायी साथ बस्न खोजें । पहिले कम्वरमा सिटको पेटी बाँधें । एकछिन लामोलामो सास लिएँ । अनि मन भुलाउनको लागि विमानदेखि बाहिरको दृश्य हेर्न थालें ।

एकछिनपछि विमानले बिराटनगरको धावनमार्ग छाड्छ र काठमान्डौँतर्फ बेग मार्न सुरु गर्छ ।

यदि तपाइँले राजधानीको मानचित्रमा मानभवन, पाटन खोज्नु भयो भने त्यो सहजै देख्न सक्नु हुनेछ । काठमान्डौं विमानस्थलमा विमान ओर्लेपछि हामी अर्को एउटा बसमा चढेर बेलायती सैनिक टुकटी बस्ने एउटा सानो क्याम्प तिनै मानभवनमा पुग्छौं । हो, हामी तिनै स्थानमा चार दिन जति समय व्यतित गरेर हङकङको लागि रमाना हुन्छौं ।

शानेवानिको बोइङ ७०७ विमानले काइटक अन्तराष्ट्रिय विमानस्थलमा अवतरण गर्दै गर्दा मलाई विमान समुन्द्र माथि नै अवतरण गरेको जस्तै आभाष भइरहेको थियो । मैले जिन्दगीमा पहिलोचोटी समुन्द्रलाई त्यति नजिकदेखि देखें र हर्षले गदगद भएँ ।

“महिला तथा सज्जनवृन्द ! स्थानिय समय बिहानको ठीक सात बजेको छ । विमान पूर्णतय नरोकिन्जेलसम्म कृपया सिटको पेटी बाँधिरहनु होला – धन्यवाद ।”

ध्वनि प्रशारक यन्त्रदेखि विमान परिचारिकाको अति नै आकर्षक स्वर प्रस्फुरण हुन्छ । तर त्यसरि सूचना प्रदान गर्ने परिचारिकाकी थर राईनी हुन् भन्ने कुरो केहीबेर अगाडि नै उनको बायाँ छातीमा टालिएको नेमट्याक हेरेर मैले चाल पाएको थिएँ ।

हुनत म पनि राई त राई नै हो, जातले । तर के गर्ने र ? आफू भने पहाडमा हुर्केको एकजना डुकुलन्ठ्याउँ राई परियो । अनि उनी सहरमा हुर्केकी होली ? त्यसैले मभन्दा बिल्कुल फरक थिइँ । किन मलाई त्यस्तो लागेको थियो भने पटक पटक उनले मानिसहरुसँग अंग्रेजी भाषा मिसाएर बोलिरहेकी थिइन । उनको बोलि सुन्दा म चाहिँ अति नै दंग परिरहेको थिएँ । यस्तो लाग्थ्यो, सायद उनी सभ्रान्त परिवारमा जन्मेकी होली ? राम्रो बिधालयमा अध्ययन गरेकी होली ? त्यसैले शानेवानिको जागिरे भएकी होली भनेर मनमनै शंका गरिरहेको थिएँ ।

तर उनलाई देख्दा ‘गरिब परिवारमा जन्मनु पनि आधा जीवन मर्नु जतिकै हो,’ जस्तै आभास भइरहेको थियो ।

काइटक विमानस्थलमा जब विमान पूर्णतय रोकिन्छ । म झ्यालदेखि हङकङ हारबरतिर नियाल्न थाल्छु । मेरो आँखामा गगनचुम्वि महलहरुका रमाईला दृश्य रुमलिन थाल्छ । पहिले धरहराको मुनिबाट माथि टुप्पा हेर्दा टोपी खसाएको मान्छे हुँ । यहाँ त हरेक घरहरु धरहराभन्दा अग्ला रहेछन् भनेर मनमनै भन्छु ।

सोही समयमा पूर्व दिशादेखि उँदाउदै गरेको सुर्यको किरणले हङकङ सहरलाई चुम्दै गर्दा मेरो मन भरङ्गै भएर कताकता उडिरहन्छ । जाबो कस्तो अनकन्टर गाउँमा जन्मेको थिएँ तर अहिले यस्तो बिकसित ठाउँमा आइपुग्दा यसलाई भाग्य नै सम्झनु पर्छ होला भन्छु ।

तर त्यतिले मात्र मेरो मन शान्ति हुँन मान्दै मान्दैन । त्यसैले आफैले आफैलाई पुनः प्रश्न गर्न थाल्छु । साच्चै ! भाग्य भन्ने चिज हुन्छ कि हुँदैन होला ? एकछिन दोधारमा पर्छु । समयमा नै ह्याबिङ र सेटअपको राम्रो अभ्यास नगरेको भए के भाग्य हुन्थ्यो होला र ? त्यसैले भाग्य हुँदैन होला । बरु मानिसले आफूले गर्ने मेहनत र परिश्रमलाई विश्वास गर्नु पर्छ होला । त्यसैलाई कर्म भन्न सकिन्छ । तैपनि कर्मको कुरा छाडेर दुर्गम गाउँमा जन्मेको एकजना फुच्चे मान्छेले एक्कैचोटी बिकसित सहरमा पुग्दा कति असहज हुने रहेछ भन्ने कुरो राम्ररि नै अनुभूती गरिरहेको हुन्छु ।

विमानदेखि बाहिर निस्केपछि गुरुजीको पछिपछि हिँड्छु र हङकङ अध्यागमनलाई स्वाट्टै पार गर्छु । बाहिर कोचपार्कमा निस्कँदा सेतासेता सैनिक कोचहरु लहरै पार्क गरेर राखेका देखिन्छन् । हामीलाई प्रतिक्षा गरेर बसिरहेका तिनै कोचहरुमा चढेर विमानस्थल नजिकै रहेको सैनिक क्याम्प (ब्लाकडाउन ब्यारेक्स) मा पुग्छौं ।

त्यहाँ पुगेर कोचदेखि बाहिर निस्केपछि गुरुजीको आदेश बमोजिम हामी सबैजना रेक्रुटहरु पंक्त्तिबध्द भएर उभिन्छौं । त्यसपछि क्याम्पभित्र काम गर्ने चिनिया कर्मचारीहरुले हामीलाई एक-एकवटा सुटकेस र किटब्यागहरु हाम्रा अगाडि थपक थपक राखि दिन्छन् । त्यसपछि हाम्रो अगाडि भएका थरिथरिका युनिफर्महरु गुरुजीले भने बमोजिम हातले उँचालेर पहिले माथि देखाउँदै त्यसपछि आ-आफ्नो सुटकेसभित्र राख्छौं ।

हामीलाई त्यति धेरै युनिफर्महरु गनेर लिनको लागि निक्कै धेरै समय लाग्छ । तर मलाई केही समय अगाडिदेखि नै शौचालय जान मन लागिरहेको थियो । त्यसैले एकछिनपछि एकजना गुरुजीको अगाडि पुग्छु र दुवै खुट्टा एकठाउँ जोडेर, – “गुरुजी ! शौचालय कता पर्छ होला हजुर ?” डराउँदै डराउँदै मसिनो स्वरमा सोध्छु ।

उनले, “रेक्रुट ! ऊँ त्यहाँ जा,” हाम्रो नजिक्कै तर थोरै दाहिने कुनामा रहेको शौचालयको साइन हातको इसाराले देखाइ दिनुहुन्छ ।

म निक्कै सार्हो परिरहेको थिएँ । त्यसैले खुरुरु दगुर्दै शौचालयभित्र पस्छु । तर भित्र पस्ने बितिक्कै छक्क पर्छु । किनभने त्यहाँ घोपा क्याम्पमा भएको जस्तो भुइँमा टुकुक्क बसेर प्रयोग गर्न मिल्ने शौचालय छँदै थिएन । जिन्दगीमा त्यस्तो शौचालय पहिले कहिलै देखेको थिइनँ । त्यसैले हतार हतार बाहिर निस्किहाल्छु । अनि एकचोटी साइन हेरेर निश्चित गर्छु । त्यसपछि फेरि भित्र पसेर बल्ल शौचालयको प्रयोग गर्छु ।

जीवनमा पहिलो पटक आधुनिक शौचालय प्रयोग गरेको थिएँ । तर बाहिर निस्कँदा जाबो शौचालयसम्म चिन्न नसक्ने म आफूलाई मान्छे हुँ भनेर पनि के गर्व गर्न सक्छु र ? भन्ने बोध गरें ।

बिहानको समय त्यस्तै ११ बजेको हुनुपर्छ । हामी पुनः कोचमा चढ्छौं । त्यसपछि मलाया लाइन्स, सेकङ तर्फ आफ्नो बाटो तताइ हाल्छौं । भर्ती भएपछि हरेक बेलुका घोपा क्याम्पमा लेक्चर हुन्थ्यो । लेक्चरमा मलाया लाइन्सको बिषयमा दर्दनाक कथाहरु गुरुजीहरुले धेरैचोटी सुनाउनु भएको थियो । यात्राको क्रममा म तिनै कथाहरु सम्झदै बिर्सदै गर्दा मनभित्र हल्का त्राश उत्पन्न भइरहेको थियो ।

कोचले यात्रा आरम्भ गर्यो । केहीबेरपछि शिँहको टाउकोको आकृति भएको विशाल पहाडलाई भित्रभित्रै खनेर बनाइएको सुरुङमार्ग (लाइनरक टनल) भित्र छिर्यो । केही समय अगाडिसम्म सेतासेता तर अग्लाअग्ला घरहरुको थाकिन्जेल रमिता हेरेको मान्छे थिएँ । त्यसपछि अहिले त्यति लामो सुरुङमार्गलाई देख्दा मानिसको दिमागलाई मान्न पर्छ । किनभने आफूले कल्पना गरेको कुरो जम्मै बनाउन सकिने रहेछ भनेर मेरो मन भुरुङ्गै हुँदै चङ्गा झै माथिमाथि आकाशमा उडिरहेको थियो ।

निक्कै समय लगाएर कोचले सुरुङमार्गलाई छिचोल्छ । काउलुन सहरलाई सधैको लागि बिदाई गरेपछि क्रमशः सातिनको अनकन्टर घुम्तिहरु पार गर्छ । तर टाइपोको मिहिन सडकहरुमा गुड्दै गर्दा मलाई हल्का पिर पर्न थाल्छ । हङकङमा जिन्दगीको पहिलो कोच यात्रा थियो । त्यसैले त्यस यात्राको भरपुर मनोरन्जन लिन खोजेको थिएँ । तर बेलायती गोर्खा सेनाको रेक्रुट तालिम संभवत संसारको सबैभन्दा कठिन तालिम हो है भन्ने कुरो मनमा खेलिरहँदा अति नै त्रशित मुद्रामा थिएँ ।

न्यु टेरिटोरिजमा अवस्थित टाईपो सहरलाई बिदा गरेर कोच आफ्नै गतिमा फ्यानलिङ बजार तर्फ अगाडि बढ्दै जान्छ । मलाई त्यतिबेला एकहप्ता अगाडि घोपा क्याम्पमा कसम खाने कवाज (परेड) खेल्दा पाएको सजायको झल्यास्स यादगर हुन्छ । हामीले अभ्यास गर्ने कवाजको समय हरेक पैतालिस मिनेटको हुन्थ्यो । त्यसपछि दश मिनेट आराम गर्न छुट्टी पाइन्थ्यो ।

म आराम गर्ने समय पाउने बितिक्कै एउटा आँपको रुखको फेदमा पुगेको थिएँ । जिन्दगीमा कहिलै जुत्ता र मोजा लगाएको अनुभव थिएन । जुत्ता लगाएर मध्यान्हको समयमा कवाज खेल्दा मेरो खुट्टा सुनकोशीको गड्तिरमा घामले तातेको बालुवामा टेकेको बेला जस्तै दुखिरहेको थियो । भनौ – तातोले पोलेर हुरुक्क भएको थिएँ र सास जान मात्रै बाँकी थियो ।

आँपको छहारीमा पुग्ने बितिक्कै म थ्याच्चै भुइँमा बस्छु र पहिले जुत्ता अनि मोजा खोल्छु । र, आनन्दको अनुभूती गरिरहेको हुन्छु । तर मेरै सामु ठिङ्गै उभिरहेको गुरुजीको नजर म माथि पर्ने रहेछ । मैले जुत्ता खोलेको देख्ने बितिक्कै उनी शिँहझै झम्टेर म नजिक आउँछ र भानुचोकसम्म सुन्ने गरि आवाज निकालेर, –

“साला ! रेक्रुट उम्रदै तीन पात हुन्छस् । अहिले नै जुत्ता खोल्छस् ? तलाइँ लाज लाग्दैन ?” बेस्मारि कराइ हाल्छन् ।

उनको आवज सुनेर म थरङ्गै हुन्छु । डरले मेरो अनुहार रातो र पिरो हुन्छ । त्यसपछि अरुले आराम गरिरहेको हुन्छ । तर दश मिनेट समयसम्म म उहाँले भने बमोजिम मैला पानी बग्ने नाला वारी हात र पारी खुट्टा राखेर सानो हावडाको साँघु बन्ने सजाय पाउँछु ।

कोच यात्रामा आफूले पाएको तिनै सजाय स्मरण गर्छु र पागल झैं एकचोटि फिस्सै हास्छु ।

दिउँसोको ठीक साढे बार्ह बजे हामी सैनिक तालिम स्थल मालाया लाइन्समा पुग्छौं । सैनिक तालिमको क्रममा पहिले अरुको कथा सुनेर बेस्मारि हाँसेको थिएँ । तर त्यसबेला तिनै कथा आफ्नो जीवनमा एकपटक दोहरिन लागिरहेको सम्झिरहन्छु ।

हामी मलाया लाइन्समा पुगेको दुई हप्तासम्म रेक्रुटहरु नेपालदेखि आउने क्रम जारि रह्यो । पहिले धरानमा भर्ती भएका पूर्वको र पछि पश्चिम पोखरामा भर्ती भएकाहरु आएका थिए । सबै रेक्रुटहरु तालिम केन्द्रमा जम्मा भइसकेपछि बेजोडी नम्वर पाएका रेक्रुटहरु नम्वर एक रेक्रुट कम्पनी र जोडी नम्वर पाएकाहरु नम्वर दुई कम्पनीमा बसेका थियौं । त्यसपछि १९८४ इन्टेकको रेक्रुट तालिम सुरु भएको थियो । तालिम सकिन पुरै एक वर्ष जति समय लाग्यो । तिनै समयमा भोगेका बियोगान्त कथाहरुको साथमा आ-आफ्नो पल्टन जाने समय पनि भयो ।


सैनिक तालिमको समयमा मेरो सेक्सन कमान्डर दश गोर्खा राईफल्सको गुरुजी हुनुहुन्थ्यो । तालिमको अन्त्यतिर दशौं गोर्खा इन्फेन्ट्री बट्टालियन जानु पर्छ है भनेर मलाई उहाँले धरकपट गर्नु भएको थियो । तर तालिम सकिने बेलामा मैले उहाँको भनाइलाई सहर्ष स्वीकार गर्न सकिनँ । किनभने धेरै अगाडिदेखि म एकजना कुशल बस चालक बन्छु । र, सैनिकदेखि निवृत भएपछि नेपालमा बस चालक गर्छु भन्ने सोचिरहेको थिएँ ।

‍गोर्खा इन्फेन्ट्री बट्टालियन जाने रहर नगरेपछि गुरुजीले मलाई होम गार्ड भन्न थाल्नु भएको थियो । होम गार्ड भनेको के होला भनेर मलाई केही अत्तोपत्तो थिएन । तर जान्ने असाध्य खुलदुलि भइरहेको थियो । पछि बुझ्दै जाँदा यातायात रेजिमेन्टमा गएर गाडी चालक बनेपछि हङकङदेखि बाहिर कतै जाने अवसर नपाइने रहेछ । आफ्नो नोकरी अवधिभरि हङकङमा नै बसिरहनु पर्ने भएकोले होमगार्ड भनिने रहेछ भन्ने चाल पाएँ । त्यसको सट्टामा इन्फेन्ट्रि बट्टालियनहरुचाहिँ संसारका बिभिन्न मुलुकहरुमा सैनिक अभ्यासका लागि जाने रहेछन् । त्यसबेला नयाँ देश पनि हेर्ने र पैसा पनि धेरै कमाउने अवसर मिल्ने रहेछ ।

निक्कै मुस्किलले दुई नम्वर रेक्रुट कम्पनी मलाया लाइन्समा एक वर्ष समय बितेर जान्छ । मानव जीवनले भोग्ने तिनै कठोर सैनिक तालिम सकेपछि गुरुजीकै भाषामा म मेरो होम गार्ड पल्टन बोर्नियो लाइन्समा सरेको थिएँ । दुरिको हिसाबमा ती दुई सैनिक अखडाहरू त्यति टाढा त थिएनन् । तर तिनीहरुको बिँचमा केवल सेकङ सैनिक विमानस्थलको एकल धावनमार्ग मात्र पर्दथ्यो ।

सन् १८१५ मा अंग्रेज नेपाल युध्दमा खडा गरिएको सिरमुर राइफल्स ब्रिगेड अफ गोर्खाजको सबैभन्दा पुरानो गोर्खा पल्टन थियो । तर १ जुलाइ १९५८ मा गोर्खा आर्मी सर्भिस कोर खडा गरिएको र त्यसको बिकसित रुप गोर्खा ट्रान्सपोर्ट रेजिमेन्ट (जिटिआर) सन् १९६५ मा सिङ्गापुरमा स्थापना भएको थियो । तर सन् १९८५ मा मेरो पल्टन जिटिआर जाँदा हाम्रो रेजिमेन्ट सिङ्गापुरदेखि पहिले नै हङकङमा सरिसकेको थियो ।

तैपनि ब्रिगेड अफ गोर्खाजको इतिहासमा सबैभन्दा कान्छो पल्टन जिटिआर नै रहेछ । अनि यसका दुई वटा स्क्वाड्रनहरु मध्ये एउटा २८ स्क्वाड्रन गन क्लव हिल ब्यारेक्स, काउलुनमा रेजिमेन्टको मूख्यलयसँगसँगै बसेको थियो भने ३१ स्क्वाड्रन चाहिँ सेकङ, न्यु टेरिटोरिजमा गोर्खा मेकानिकल ट्रान्स्पोर्ट स्कूल (जिएमटिएस) सँग अड्डा जमाएर बसेका थिए । साधरणतय जिएमटिएस भन्नाले ब्रिगेड अफ गोर्खाजको सिपाहीहरुलाई बिभिन्न प्रकारको गाडीहरु चलाउन सिकाउने स्थान हो है भनेर बुझिन्थ्यो ।

त्यसबेला नया ठाउँ, नया परिवेश र नयाँ सिपाही हुँदै म आफ्नो सुन्दर भविष्यको कल्पना गर्दै गर्दै बोर्नियो लाइन्स, सेकङमा पुगेको थिएँ । तर मलाई त्यसबेला सबैभन्दा खुसि त के लागेको थियो भने मलाया लाइन्स छाड्ने बितिक्कै जिन्दगीको सबैभन्दा घृणित शब्दहरु जस्तैः- रेक्रट, रिकुटे वा थङरुट त्यतै छाडेर गएको थिएँ । र, नयाँ पल्टनमा पुगेर प्राईभेट पद धारण गरेको थिएँ ।

बोर्नियो लाइन्स, सेकङमा सिपाहीहरु बस्ने आठ वटा बिल्डिङहरु थिए । अधिकतम बिल्डिङहरुमा गोर्खालीहरु जस्तैः- गोर्खा इन्जिनियर, गोर्खा सिग्नल र गोर्खा ट्रान्सपोर्टका सदश्यहरु र बाँकी अन्य बिल्डिङहरुमा चाईनिज वा अंग्रेज सिपाहीहरु बस्ने रहेछन् । तिनै ट्रान्सपोर्ट वा यातायात रेजिमेन्टमा जोडिएका काने सदश्यहरु जम्मा सैतालिस जना थियौं र बस्नको लागि दुई नम्वर बिल्डिङमा स्थान पाएका थियौं ।

त्यस बिल्डिङमा सरेको अर्को हप्तादेखि हाम्रो गाडी चलाउने तालिम (भेहिकल ड्राइभिङ ट्रेनिङ) सुरु भएको थियो । हामीले ड्राइभिङ सिक्ने हरेक गाडीमा दुईजना बिधार्थीहरु र एकजना प्रशिक्षक हुनुहुन्थ्यो ।

मलाई अहिलेसम्म सम्झना ताजै छ । मेरो गुरुजीको नाम लान्स कर्पोरल कर्ण क्षेत्री थापा (१५ वाला) हुनुहुन्थ्यो । उहाँको हुलियाको कुरा गर्ने हो भने एकदम लामो लामो जुङ्गा पाल्नु भएको थियो र जुङ्गा हेर्दै डरमर्दो देखिनु हुन्थ्यो ।

ट्रेनिङ डेपोट ब्रिगेड अफ गोर्खाज, मलाया लाइन्समा पो लामो लामो जुङ्गा पालेका गुरुजीहरु भेटिन्छन् र उनीहरु थोमस हब्सका राक्षसभन्दा डरलाग्दा देखिन्छन् भन्ने कथा सुनेको थिएँ । तर त्यो कुरा वास्तविक्त्तामा परिवर्तन हुन सकेको थिएन । बरु आफ्नो पल्टनमा पुगेपछि पो जुङ्गे गरुजीसँग मज्जाले भेटघाट भयो ।

यातायात स्कूलमा मेरो गाडी सिक्ने जोडी भने प्राईभेट आङबाबु शेर्पा (६५०८) थिए । पल्टने भाषामा सँगसँगै भर्ती भएका सिपाहीहरुलाई ‘नम्वरी’ भन्ने चलन रहिआएको छ । सायद आजभोली भनिन्छ वा भनिदैन मलाई थाहा छैन् । ती नम्वरीको घर पनि उतै मेरो घरसँगसँगै खोटाङ जिल्लामा नै पर्दथ्यो (लगभग ६-७ वर्ष मात्र नोकरी गरेर सैनिक पेशा सधैका लागि छाडेका शेर्पा नम्वरी पहिले जापान जानु भएको थियो । त्यसपछि अमेरिका हुँदै क्यानडातिर भासिनु भएको छ भन्ने सुनेको थिएँ । तर बिगत ३४-३५ वर्षदेखि यता उनीसँग मेरो सम्पर्ग हुन सकिरहेको छैन् )

हामीले सबैभन्दा पहिले गाडी कुदाउनको लागि सैनिक विमानस्थल, सेकङ प्रयोग गरेका थियौं । तर त्यतिका ठूलो विमानस्थलमा गाडी कुदाउने अवसर पाएपनि ड्राइभिङ सिटमा पसेपछि विमानस्थल कति सानो हो सानो जस्तो लाग्दथ्यो । म अब विमानस्थल त त्यति सानो लागेपछि बाटोमा कसरि गाडी कुदाउने होला भनेर खुब चिन्तामा परिरहेको थिएँ । तर एकहप्ता जति कुदाउने अभ्यास गरेपछि मेरो ड्राइभिङ क्रमिक रुपमा सुधार हुँदै गएको थियो ।

नभन्दै क्याम्पभित्र निक्कै प्रगति भएपछि अर्को हप्तादेखि गाडी चलाउने अभ्यासको लागि हामीलाई क्याम्पदेखि बाहिर जाने अनुमति मिल्यो । धेरै जसो गाडी सिकारूहरुलाई पहिलोचोटी बाटोमा निस्कनको लागि प्लोभरकोभ क्षेत्रमा लाने स्कूलको चलन रहेछ । त्यसैले हामी पनि त्यतै जाँदै थियौं । तर हामी जाने बाटो अलिक सानो थियो । त्यसैले त्यहाँ पुगिन्जेलसम्म गुरुजीले नै गाडी चलाउनु हुने भयो । अनि हामी दुईजनालाई राम्ररि बाटो हेर्नु है भन्ने हुकुम बक्स भयो ।

बोर्नियो लाइन्सदेखि बाहिर निस्कन र भित्र पस्नको लागि त्यो सैनिक क्याम्पमा एउटा ठूलो मूलद्वार रहेको थियो । तिनै मूलद्वारमा चिनिया मूलका सिपाहीहरुले चौविसै घण्टा पहरेदार दिने काम गर्दथे ।

त्यसदिन हामी गुरुजीसँग क्याम्पदेखि बाहिर तिनै मूलद्वार भएर निस्कँदा सबैभन्दा पहिले कामटिन रोडमा पुगेर ठोकिन्छौं । त्यस रोडमा पुगेर दाहिनेतिर मोडिएपछि केहिबेरमा फान काम रोड र लाम काम रोडको संयोगमा रहेको पातहाङ प्रहरी चौकीमा पुग्छौं । फान काम रोडलाई बिदाइ गर्दै बायाँ छाडेपछि लाम काम रोड पछ्याउँदै पछ्याउँदै हामी सेकङ भिलेजतिर हुइकिन्छौं ।

सामुन्द्रिक सतहदेखि लगभग ३१ सय ४० फिट वा हङकङको सबैभन्दा अग्लो टाइ मो सान पर्वतको पुछारमा अवस्थित तिनै रमणिय भिलेजमा अंग्रेज सिपाहीहरु उनीहरुको परिवारहरसँग स्वर्गिय आनन्द सहित बस्ने गरेका थिए ।

हामी टाइ मो सान पर्वतलाई जोड्ने बाङ्गोटिङ्गो बाटो (रुट ट्विस्क) लाई दाहिनेतिर छाडिराख्छौं । र, क्रमशः टिङ कोक रोड भएर अगाडि बढ्दै जाँन्छौं । पन्ध्र मिनेट जतिपछि टाईपो सहरमा पुगेर ठोकिन्छौं । त्यहाँदेखि अझै अगाडि बढेपछि हाम्रो दृष्टिमा दाहिनेतिर एउटा भिमकाया जलाशय देखापर्छ । उक्त्त जलाशयलाई मानिसहरुले प्लोभर कोभ जलाशय भनेर चिन्ने गरेका छन् ।

सप्ताहन्तको समयमा जलाशयको किनारमा अत्याधिक मानिसहरु भेला भएर दिनभरि मासु पोलेर खाने चलन भएकोले न्यु टेरिटोरिजको उक्त स्थान ज्यादै प्रख्यात रहेको छ । हो, हामी तिनै जलाशयलाई दाहिने पारेर ब्राइड पुल रोडमा जाँदै गर्दा गाडीहरु अलिक थोरै भेटिन्छन् । तर आम्मामा साईकलहरु कति धेरै देखा पर्छन्, पर्छन्, हेरेर साध्य नै हुँदैनन् ।

त्यतिका धेरै साइकल चालकहरु देखेपछि, – “बाफरे बाफ ! यतिका धेरै साइकलहरुसँग कसरि जोगिएर गाडी हाक्नु होला ?” अचानक मेरो मुखदेखि उक्त्त शब्द फुत्किहाल्छ ।

अलिक अगाडि बढेर प्लोभर कोभ जलाशयको मुखैमा पुगेपछि एउटा रमाइलो कारपार्क देख्न सकिन्छ । तिनै कारपार्कमा पुगेपछि बायाँ सिग्नल दिएर गुरुजीले थपक्कै गाडीलाई रोक्नु हुन्छ । त्यसपछि, –

“लु ! अब तँ गाडी चला,” भन्दै मलाई ल्यान्ड रोभर चलाउन आदेश दिनु हुन्छ ।

म त्यतिबेलासम्म आरामले गाडीको बायाँ सिटमा बसिरहेको हुन्छु । गुरुजीको मुखदेखि हुकुम बर्षने बितिक्कै आगोले पोलेझै जमिनमा झर्छु । तर मनमनै यतिका धेरै साईकलहरु छन् । अब कसरि पो बरु गाडी चलाउने हो भनेर हल्का त्रशित हुन्छु । तैपनि यसो दायाँबायाँ हेर्छु । साइकल चालकहरु बाहेक बाटो एकदम शून्य देखिन्छ । गाडीहरु पटक्कै देखिदै देखिदैनन् । आ….ठीक्कै हुन्छ होला भनेर गिरिसकेको आफ्नो मनोबललाई बिस्तारै बढाउँदै लान्छु ।

गाडी चलाउने सिटमा बसेर पेटी बाँधेपछि दायाँबायाँ हेर्छु । क्लच बेस्सरी दबाएर पहिलो गियर हाल्ने प्रयत्न गर्छु । तर एक नम्वर गिएर पस्न नमानेर रिभर्स गियरतिर जान खोज्छ । त्यस्तो मेरो हर्कतले बेस्सरि गियर कराएको आवाज आउँछ । आवाज आउने बितिक्कै मेरो अनुहार रातो र पिरो हुन्छ । त्राशको भुमरीभित्र रुमलिँदै मेरा नयनहरु गुरुजीको अनुहारमा लगेर ठोकाइ हाल्छु ।

“ए, रेक्रुट ! हेन्ड ब्रेक खोल । के यता हेर्छस् । अहिले देखाइ दिन्छु र पो ?” गुरुजीले सानो खाले गाली गर्नु हुन्छ । तर आफ्नो पल्टनमा आएर बिर्सिन आँटिसकेको रेक्रुट शब्दलाई पुनः सम्झाइ दिनुहुन्छ । उक्त्त शब्द गुरुजीले सम्झाइ दिएपछि मेरो एकछिन होस हराइ हाल्छ । तर बिस्तारै अगाडि बढ्दै जाँदा एकदम सिधा बाटो आउँछ । त्यो बाटोमा पुगेपछि अलिक होसमा आउँछु र हल्का सजिलो महसुस गर्दै गाडी हाक्न थाल्छु ।

यदि त्यो ब्राईड पुल सडकलाई नछाडि क्रमशः अगाडि बढ्नु हुन्छ भने तपाइँ हङकङ र चीनको सिमाना सातु कोक क्षेत्रमा पुग्न सक्नु हुन्छ । त्यो ठाउँ त्यति टाढा छँदै छैन् । त्यहाँदेखि त्यस्तै दश मिनेट जति मात्र समय लाग्छ । तर यहाँहरुलाई एउटा कुरा के स्मरण गराउँन चाहन्छु भने ती सिमाना पारी चीनमा साम्यवादी सरकार र वारी हङकङमा बेलायती प्रजातान्त्रिक सरकार रहेका थिए ।

तर हामी त्यति टाढा सिमानासम्म जादैनौं । सोही बाटोमा थोरै अगाडि बढ्छौं र लुक कोङ सडकको डबलीसम्म पुग्छौं । अँ….. त्यहाँदेखि बायाँतिर जाँदा चिनिया गाउँ पुग्न सकिन्छ । त्यहाँ मानिसहरु मात्र हिँडन मिल्ने एउटा सानो गोरेटो बाटो भेटिन्छ । तिनै गोरेटो बाटोलाई नछाडि जङ्गलतिर जाँदा रेक्रुट तालिमको समयमा इन्फेन्ट्रि सैनिक अभ्यास गर्ने डाँडामा पुग्न सकिन्छ । हो, तिनै डाँडा र पाखाहरुमा कुकुरदाहिनेसँग लुकामारी खेल्दै खेल्दै हामीले गत वर्ष हाम्रो तालिमको एकहप्ते अन्तिम सैनिक अभ्यास “तेश्रो कदम” गरेका थियौं ।

जङ्गलतिर कतै नपसि तिनै डबलीमा एकछिन उभिएर हेर्ने हो भने अलिक कुनामा एउटा बिबी स्टोर्स भन्ने दोकान अहिलेसम्म पनि देख्न सकिन्छ । त्यो दोकानमा बिभिन्न प्रकारको चिनिया खानेकुरादेखि पेय पदार्थसम्म किन्न पाइन्छ । गाडी चलाउने अभ्यास गर्दा हामी पटक पटक त्यहाँ पुग्दै फर्कदै गरिरहेका थियौं ।

तर त्यस दिनको मध्यान्हको घाम ढल्केर जाँदा सोक्रोटिसले प्लेटोको दाजू ग्लाकोनलाई गुफामा कैदीहरुले हेरिरहेको छायाँ सुनाए जस्तै जब जमिनमा हाम्रो छायाँ बाङ्गोटिङ्गो पर्छ । त्यतिबेला गुरुजीले, – “ल ! अब यहाँ गाडि रोक । अनि तँहरु एकछिन आराम गर,” भन्नुहुन्छ ।

गुरुजीको आदेश बमोजिम म थपक्कै कार पार्कमा गाडि रोक्छु । तर पल्टनघरमा ‘तँहरु’ भन्ने शब्द भेटिकनमा रहेको माइकलएन्जेलोले बनाएको मुर्ती पियटा झैं सार्है कलात्मक तरिकाले बनाइएको छ भनेर सोच्न थाल्छु । किनभने नेपाली व्याकरणमा ‘तँ’ भनेको एक वचनमा हेपिएको मानिसलाई प्रयोग हुने शब्द हो । र, ‘तिमीहरु’ भन्यो भने बहु वचन हुन आउँछ । तर तिमी भन्नाले माया गर्दा प्रयोग गर्ने शब्द पनि भएकोले यदि तपाइँलाई माया गरिहाल्न पटक्कै मनले मान्दैन तर दुईजनाभन्दा बढि समुहमा छन् भने ‘तिमीहरु’ को सट्टामा ‘तँहरु’ भन्ने प्रचलन रहिआएको छ ।

हुनत नागरिक समाजदेखि सैनिक घरसम्म नियम र कानून भन्ने कुरा यस्तै प्रबृतिका हुन्छन् । यस मानेमा सबैभन्दा बेखुसि मानिस कार्ल मार्क्स हुन् । धर्म र कानूनको नाममा मानिसहरुलाई हेप्ने बिषयमा उनले बडे बडेमाका कुराहरु गरेका छन् । नत्रभने मानव जीवनको इतिहासमा अहिलेसम्म ‘जस्को लाठी, उसको भैंसी’ भन्दै उसैले नियमहरु बनाइ हाल्छन् ।

उदाहरणको लागि तपाइँ सुगौली सन्धिको कुरा गर्नोस् वा पहिलो र दोश्रो विश्वयुध्दको सन्धिको कुरा गर्नोस् । बिजेताले नै लेखि दिने गर्छ । जस्तैः- जापानले दोश्रो विश्व युध्दमा पराजय भोगेपछि त्यहाँ नयाँ संविधान आयो । तर अमेरिकनहरुले जस्तो चाह्यो, त्यस्तै आयो । त्यसैले अधिकांश मानिसहरु त्यसलाई ‘डगलस म्याकार्थर संविधान’ भनेर चिन्ने गरेका छन् । तैपनि उनीहरुले अहिलेसम्म जबरजस्ति स्वीकार गरिरहेका छन् ।

जापानिज संविधानको कुरा खयर जे सुकै होस् । हामीलाई गुरुजीले एकछिन आराम गर्न दिनु हुन्छ । त्यसपछि गुरुजी दोकानमा गएर चिनिया दोकानेसँग टेलिफोन माग्नु हुन्छ र आफ्नो प्यारी श्रीमतीलाई उहाँको घर सेकङ क्याम्पमा फोन गर्न थाल्नु हुन्छ ।

दिउँसोको समयमा अत्याधिक गर्मी हुन्छ । त्यसैले हामी दुईजना नम्वरीहरु चाहिँ तिनै दोकानदेखि एक-एकवटा क्रिमसोडा किनेर ल्याउँछौं । अनि सुस्तरि हिँड्दै हिँड्दै समुन्द्र किनारतिर जान्छौं । समुन्द्र किनारमा ठूल्ठूला ढुङ्गाहरु देखिन्छन् । हामी त्यहाँ पुगेर एउटा ढुङ्गामाथि थपक्कै बस्छौं तर गुरुजीको हप्काइदेखि एक अर्काको मनस्तिथी स्थिरमा नभएको हुनाले हामी एकअर्कामा केहि बोल्दै बोल्दैनौं ।

दुई घुटका जति क्रिम सोडा पिएपछि म सातु कोक सिमाना पारी तिर हेर्न थाल्छु । जहाँदेखि मूख्यभूमी चीनको दृश्य मज्जाले अवलोकन गर्न मिल्छ । तर त्यतिबेला मलाई त्यो दृश्यले स्वर्गिय आनन्द भने पटक्कै प्रदान गरिरहेको थिएन । किनभने मूख्यभूमी चीनमा कम्युनिष्ट शासन व्यवस्था थियो । र, तिनै कम्युनिष्ट शासन व्यवस्थादेखि भागेर हरेक रात सयकडौको संख्यामा चिनियाहरु हङकङ आउन खोज्ने गर्दथे ।

तालिम केन्द्रमा छँदा प्लाटुन कमान्डर साहेवले, “केटा ह, सिमानामा ड्युटि गर्दा चिनिया अवैधानिक आप्रवासि (इलिगल इमिग्रेन्टस) समात्न पर्छ,” भनेर धेरै कथाहरु सुनाउनु भएको थियो ।

हङकङमा गोर्खा सिपाहीहरु तैनाथ गर्नुको मूख्य करण पनि सिमानालाई स्थानिय प्रहरीहरुसँग मिलेर नियन्त्रण गर्नु थियो । अझै अवैधानिक आप्रवासी (आइआई) हरु हङकङ तिर आउन नसकस भनेर सिमानामा अग्ला अग्ला तारका जालीहरु राखेर सुसज्जित गरिएका थिए । हरेक जालीहरुलाई बिभिन्न भागमा बाडिएका थिए र नम्वर दिइएका थिएँ । आइआइले जाली चढ्दा कुन जाली चढेर हङकङतिर आउन प्रयत्न गर्दै छ भनेर कन्ट्रोल रुममा सिग्नल आउँथ्यो । सिग्नल आउने बितिक्कै हातमा डन्डा र उनीहरुलाई समातेर बाध्नको लागि प्लास्टिकको डोरी (हेन्डकफ्स) लिएर बोर्डर पट्रोलमा रहेका गोर्खा सिपाहीहरु दगुरेर जालीमा पुग्नु पर्थ्यो ।

त्यसरि उनीहरु आउँदै गरेको समयमा चाडो चाडो दगुरेर त्यहाँ पुग्न सकिएन भने हङकङमा छिरेपछि स्थानिय किसानहरुको माछा पोखरीमा पसेर लुकिहाल्थे । पानी वा हिलो भेटाउने बितिक्कै उनीहरुको शरिर मुनी र अनुहारमात्र बाहिर राखेर दिनभरि बसिरहन्थे । हिलेमाछा झै दलदल हिलोमा लुकिसकेपछि उनीहरुको खोजि गर्न एकदम चर्को हुन्थ्यो । रातपरेपछि त्यहाँदेखि निस्केर सेङ्गसुइ, फ्यानलिङ र योनलङ पुगिहाल्थे । धेरैजसो आइआइहरु सिमानाका माइ पो, लोक मा चाउ, मान काम तो, लो वु, क्रेस्ट हिल र तिनै सातुकोकदेखि छिर्ने गर्थे ।

हुनत म अलिक कलिलो नै थिएँ । मेरो दिमाग राम्ररी छिपिएको थिएन । त्यसैले मलाई त्यतिबेला खान लाउन नपाएर आफ्नो जीवनको उज्वल भविष्य खोज्दै भागेका चिनिया आइआइहरु समात्नुभन्दा पनि मानिसहरु किन कम्युनिष्ट शासनदेखि भाग्छन् होला ? भन्ने प्रश्नले पिरोलिरहेको थियो ।

उता नेपालमा कम्युनिस्ट शासन व्यवस्था ल्यायो भने मात्र देशको संवृध्दि हुन्छ भनेर मानिसहरुले भनेको आक्कल झुक्कल सुनेको थिएँ । तर यता त कम्युनिष्ट व्यवस्था छँदैछ । तैपनि मानिसहरु किन देश छाडेर भाग्दैछन् भन्ने सोचेर एकछिन द्विविधामा परिरहें । त्यसपछि एकछिन मार्क्स र एङ्गेल्सलाई सम्झें । अनि उनीहरुको पुस्तक “साम्यवादी घोषणापत्र” पढ्ने र पढाउने गाउँको तिनै मास्टरहरुलाई सम्झें । तर, – “आखिर मानिसहरु किन कम्युनिस्ट नभएको ठाउँमा ल्याउन खोज्छन् र भएको ठाउँदेखि भाग्न खोज्छन्,” एकदम गहिरिएर सोच्न थालें ।

क्रिम सोडा पिउँन भुलेर एकाध त्यसरी सोचिरहेको बेला, – “ऐ । जाने होइन, आइजा ?” केही परदेखि गुरुजीको मधुरो आवाज आउँछ । उनको आवाज हामी नजिक आइपुग्ने बितिक्कै धोती न टोपी हुँदै हामी दुईजना त्यता दगुरि हाल्छौं र गाडी नजिक पुग्छौं । गाडीमा पुगेर म थपक्कै पछाडि बस्नको लागि गाडीभित्र पस्छु र नम्वरी गाडी चलाउनको लागि अगाडि जान्छन् ।

जुन जुलाइ महिनाको समयमा हङकङमा असाध्यै धेरै गर्मी थियो । त्यहिँ माथि गाडी चलाउने सिटमा बसेपछि पसिनाले शरिरको कपडा लुथुक्रै भिज्ने गर्थ्यो । एकातिर गर्मी र अर्कोतिर गुरुजीको गालीले दिमाग घरिघरि सबै खाली हुन्थ्यो ।

“ए दुम्वा ! होसको दवाइ खान्छस् कि तेरो चामा थुङ्मा गरौ ?” भन्ने वाक्याशं सुन्दा दिमाग स्वस्थानमा एकछिन आउन खोजेपनि फेरि अचानक गुमराहमा पुग्थ्यो ।

पल्टन घरमा अत्याधिक प्रयोग हुने शब्द ‘दुम्वा’ पनि संभवतः न्युजिल्यान्डदेखि आयातित शब्द होला । हुनत दुम्वा न्युजिल्यान्डमा पाइने भेडालाई खस भाषामा लाहुरे साहित्यकारहरुले अनुवाद गरेका हुन सक्छन् । जे होस् भेडाको एक प्रजाति तर ठूलो भाडामा फुरफुर भुटेर त्यसको मासु खाँदा ज्यादै स्वादिलो हुने गर्छ । अझै गन क्लब हिल ब्यारेक्समा सेफहरुले पकाएको दुम्वाको मासु ब्रिगेड अफ गोर्खाजको सर्वश्रेष्ठ मिचिलिन स्टारको दुम्वा हो भनेर मान्नु पर्छ । जुन मासु हरेक गोर्खाली सिपाहीहरुले आफ्नो नोकरी कालमा एकपटक चाखेर अनुभव गरेका हुन्छन् ।

भनिन्छ – साधरणतय भेडाहरु एकोहोरो हुन्छन् । अनि बुध्दि तहस नहस भएर सकिएको गोर्खा सिपाही पनि त्यस्तै हुन्छ भनेर पल्टन घरमा पाइएको मानार्थ वा अलङ्कार, आभूषण हो, त्यो । त्यसैले गाडी सिक्ने समयको हरेक घन्टा घन्टामा गुरुजीको मुखदेखि उक्त्त शब्द हामीप्रति प्रस्फुटित भइरहन्थ्यो । तर उक्त अलङ्कारको प्रयोगले मात्र गुरुजीको इच्छा पुर्ती के हुन्थ्यो र ? भङ्गेरा ढल्ने प्रचण्ड गर्मीको समयमा राम्ररी गाडी चलाउन नसक्दा कानसिरी तनक्कै तानि दिनु हुन्थ्यो । तत्कालिन समयमा बहेको आँशु, पसिना र पिडा अहिलेपनि सपनीमा घरिघरि देख्छु र थरङ्गै हुँदै तर्सने गर्छु ।

तिनै गोर्खा मेकानिकल ट्रान्सपोर्ट स्कूल (जिएमटिएस) को अधिकतम समय दुःखदपूर्ण रह्यो । तैपनि धेरै मेहनत र परिश्रम गरिसकेपछि पहिले कार र पछि ट्रकको चालक अनुमतिपत्र (लाइसेन्स) र सैनिक गाडी चालक अनुमति पत्र (एफएमटी ६००) हात पर्यो । त्यो अनुमतिपत्रले हङकङमा मात्र नभएर बेलायतको महासडक (मोटर वे) हरुमा सम्म सैनिक ट्रक गुडाउन पाइने अधिकार पाइयो ।

चालक अनुमतिपत्र हातमा परेपछि स्कूललाई सधै सधैको लागि बिदा गर्छु र आ-आफ्नो दरबन्दी अनुसार काम गर्नको लागि नयाँ स्थानमा जान्छु । मेरो दरबन्दी चाहिँ “ब्राभो ट्रुप – ३१ स्क्वाड्रन” मा परेको थियो । र, मसँग अन्य चार जना नम्वरीहरु पनि सँगसँगै त्यहाँ जादै थियौं । नयाँ ठाउँमा पुगेर तीन महिना जति समय तालिम केन्द्रको लागि सैनिक ट्रक चलाउँछु र अन्य समयमा पालैपालो यातायात बिभागको नियन्त्रण कार्यलय (टिसिओ) न्यु टेरिटोरिजमा डिउँटी ड्राईभर गरेर नै बिताउँछु ।

पल्टन घरमा गाडी हाक्न बाहेक नाँच्न, गाउन र बजाउन वा केहि अन्य इलम गर्न सक्दै सकिनँ । त्यसैले नुन खाएर मर्न लागेको कुखुरा झै ‘न खेलमा न ड्रिलमा’ काम लाग्ने भएँ । कुनै पनि कुरामा माखा मार्न नसकेपछि नम्वरीहरु मध्ये सबैभन्दा लद्दुराम हुन पुग्छु ।

अझै त्यतिले मात्र पल्टन घर के मान्थ्यो र ? गुरुजीहरुले मलाई लाफसाफ भन्न थालेका थिए । क्यान्टोनिज भाषामा लाफसाफ भनेको केही काम नलाग्ने भएर मिल्काएको फोहोर वा मैला वस्तु हो । यहाँहरुलाई स्मरण रहोस् – हङकङदेखि क्यान्टोनसम्म क्यान्टोनिज भाषा तर क्यान्टोनभन्दा ऊँभो उँभो मूख्यभूमी चीनमा म्यान्डरिन भाषा बोल्ने गरिन्छ ।

लाफसाफ वा अरुभन्दा ज्यादै कमजोरी भएर चिनिएपछि एक दिन मेरो ट्रुप कमान्डर साहेवले मलाई उहाँको कार्यलयमा भेट्नको लागि बोलाउँनु भएको सूचना एक बेलुकिपख ट्रुपका लिटिल कर्पोरल गुरुजीले लेखेर छाड्नु भएको हुकुम किताबदेखि चाल पाउँछु । उक्त कुरो थाहा पाएपछि म मेरो युनिफर्म बि वान ड्रेसमा इस्तिरी लाउँछु । सैनिक बुट टिलिक्कै टल्काउँछु । ब्यारेट क्यापलाई टक्ट्याएर मात्र होइन, बुरुसले कोरेर सबै धुलोमैलो झार्छु ।

भोलीपल्ट बिहानको समय ठीक १० बज्छ । ट्रुप कमान्डर साहेवलाई भेटनको लागि तयार हुन्छु र अफिसमा पुग्छु । तर सबैभन्दा पहिले कर्पोरल गुरुजीलाई आफ्नो उपस्थितिको जाहेरी दिन्छु ।

गुरुजीले, “एकछिन पख म हेर्छु,” भन्नु हुन्छ ।

गुरुजीले पहिले टकटकट गरेर साहेवको कोठाभित्र जानु हुन्छ । म बाहिर ठिङ्गै उँभिएर नानाभाँति सोच्न थाल्छु । साधरणतय स्क्वाड्रनको एउटा ट्रुपमा लगभग तीसदेखि चालिस जना सैनिक समुहको डफ्फा हुन्छ । अनि उक्त समुहको नेतृत्व प्रायजसो विश्वभरिको सैनिक चलन अनुसार एकजना सैनिक अधिकृतले गर्ने गर्छ । तर त्यसबेला हाम्रो ट्रुप कमान्डर साहेवको दर्जा वारेन्ट अफिसर मात्र थियो । तैपनि छोटो समयको लागि उहाँले हाम्रो ट्रुप कमान्डरको भूमिका निभाइरहनु भएको थियो ।

अँ…. जति सोचे पनि म उहाँको नाम चाहिँ अहिले मरिगए सम्झन सक्त्तै सक्तिनँ । किनभने यो लगभग चालिस बर्ष अगाडिको कुरो हो । यो हो कि वा त्यो हो, भनेर मेरो दिमागमा उथलपुथल भइरहन्छ । तर शारिरिक रुपमा उहाँ ठूलो दारको मानिस हुनुहुन्थ्यो । तर एउटा कुरामा चाहिँ म के निश्चित छु भने उहाँ पूर्वतिरको हुनुहुन्थ्यो र जातले लिम्बू हो ।

लिटिल कर्पोरल गुरुजी पहिले बाहिर निस्केपछि फेरि टकटक गरेर मेरो लागि ढोका खोलिदिनु हुन्छ । त्यसपछि म लिम्बू साहेवको कार्यलय भित्र पस्छु । त्यसपछि सुस्तरि ढोका बन्द गर्छु र दुवै खुट्टा जोडेर सुरिलो पोजिसनमा खडा हुन्छु ।

मेरो आँखामा तिरिर हेरेर, “ल हुन्छ, पहिले खुट्टा खोल, अनि सुन । तँ ! लगभग डेढ वर्ष समयको लागि गोर्खा मेकानिकल ट्रान्सपोर्ट स्कूल (जिएमटिएस) जादै छस् । त्यहाँ गएर दिनभरि गाडी धुने काम गर्नु पर्छ । हरेक बेलुकी गोरा साहेबको लुगा आइरन गर्नु पर्छ र बुट मल्नु पर्छ । अनि शनिबार र आइतवार सप्ताहन्तमा चाहिँ बाख्रा गोठाला गर्नु पर्छ,” त्यति भनि सकेर एकछिन रोकिनु हुन्छ ।

“मेरो कुरा बुझिस् कि बुझिनस् ? तेरो केही कुरा छ ?”

“सबै बुँझें । केही छैन् ! साहेव,”

“त्यसो हो भने यहाँदेखि भाग,”

पल्टन घरमा वारेन्ट अफिसर र त्यो भन्दा मुनीका दर्जा भएका महानुभावहरु कसैलाई सलाम ठोकिरहन पर्दैन थियो । त्यसकारण मैले उहाँलाई सलाम ठोकिनँ । तर आफूभन्दा ठूलो जति सबैलाई सलाम ठोक्ने हो भने त साच्चै दिनैभरि दाहिने हात टाउकोमा नै राखि रहनु पर्थ्यो होला भन्ने सोच्छु ।

साहेवले त्यस्तो हुकुम दिएपछि बाहिर निस्कन्छु र ढोकालाई बन्द गर्छु । वास्तवमा मलाई जिएमटिएस जाने भित्री इच्छा भने पटक्कै छँदै थिएन । ट्रुपमा नै बसेर काम गर्नु मन थियो । तैपनि पल्टन घरमा आफ्नो इच्छाले केही चिज नहुने । त्यसैले भित्री दिल रुँदै रुँदै भएपनि, – “हस ! साहेव,” भनेर ढोकादेखि बाहिर निस्केको थिएँ ।

सबैभन्दा अचम्म त के थियो भने सैनिकमा भर्ती भइसकेपछि ‘नो’ भन्न पाइदै पाइदैन है भनेर तालिमको क्रममा गुरुजीहरुले हामीलाई सयौं पटक भनेका शब्द हो, त्यो । अझै गुरुजीहरु त्यति भनेर मात्र हामीलाई के छाड्नु हुन्थ्यो र ?

केटा हो – पल्टन घर भनेको एउटा वेश्यालय घर जस्तै हो । किनभने बेश्यालयमा एकजना बेश्या आइमाईले जस्तो प्रकारको ग्राहक आउँछ, त्यस्तै सहनु पर्छ । अनि पल्टन घरमा पनि जस्तो हुकुम आउँछ, त्यस्तै मान्नु पर्छ । अनि हामीले सोही अनुसार कसम खाइसकेका हुन्छौं, भन्थें ।

भोलीपल्ट शनिबारको दिन थियो । बिहानको खाजा खान कुक हाउस तर्फ रमाना हुन्छु । अंग्रेजी भाषाको उक्त शव्द कुक हाउस भन्नाले साधरणतय खाना पकाउने र तिनै पकाएको स्थानमा खाने ठाउँ हो भनेर बुझिन्छ । तर अमेरिकन सिपाहीहरुले कुक हाउस भन्दैनन्, यसलाई फरक भन्छन् । तिनै कुक हाउस हाम्रो बिल्डिङदेखि लगभग सय पाईला जति पनि टाढा थिएन । त्यसैले हिँड्दै जादा एक्कै छिनमा पुग्छु र हतार हतार हातमा दुई पात पाउरोटी, एउटा उसिनेको कुखुराको अन्डा र एउटा बंगुरको भित्रासदेखि बनेको ससेज च्यापेर बाहिर निस्कन्छु । अनि दाहिनेतिर लागेर चार नम्वर बिल्डिङको अगाडिबाट हिँड्दै हिँड्दै बाख्राखोर तिर लाग्छु ।

हातमा बिहानीको खाजा बोकेर गोठालो गर्न हिँड्दै जाँदा मैले जिउँमा रातो भेस्टा, मुनि निलो जाङ्गे, उनीको सरकारी मोजा, किस्ति जस्तै एक जोर कालो पिटी जुत्ता र जङ्गलीह्याट पहिरन गरिरहेको थिएँ । अझै कतै बाख्राखोर भत्किहाल्छ कि भनेर मर्मत गर्नको लागि कम्वरमा नम्वर दुई खुकुरी (एक नम्वर खुकुरी चाहिँ कवाज खेल्दा लगाइने गरिन्छ) र हातमा आफूभन्दा अग्लो लाठी बोकेर गोर्खा मन्दिरको छेउ पुग्छु ।

गोर्खा मन्दिर ठेक्कै कहाँ पर्छ भने गोर्खा सिग्नलको सार्जन्ट मेस र गोर्खा सिग्नलको अफिसर्स मेसको झन्डै झन्डै बिँचमा तर अलिक थोरै दाहिनेतिर पर्थ्यो । एक दाना कुखुराको उसिनेको अन्डा भरै खान भनेर जाङ्गेको गोजिमा राखेको थिए र रोटीमा ससेज च्यापेर खाँदै खाँदै मन्दिरको नजिक पुगेको बेला मलाई देखेर, “बाख्रा गोठाला आयौ ?” पण्डित बाजेले देख्ने बितिक्कै सोधि हाल्छन् ।

उनको कुरो सुन्ने बितिक्कै, “बाजे ! नमस्ते छ । हजुर, हजुर । गोठाला आको । हुनत मेरो भाग्य नै यस्तो रहेछ । गाउँमा पनि बाख्रा गोठालो गरियो । यी पल्टनघरमा आईयो । झन धेरै बाख्रा गोठालो नै परियो,” सानो स्वरमा त्यति भन्छु ।

“नेपालमा भए बेरोजगार हुन्थ्यौं । तर यहाँ त महिनैपछि तलव आउँछ नि,” बाजेको मुखदेखि अमिलो उत्तर आउँछ ।

पण्डित बाजेले त्यति भन्नु भएपछि उहाँको शिरदेखि पाउँसम्म एकछिन हेरिरहन्छु । लाग्छ – अब यी पण्डित बाजेलाई बाँकी के नै पो भन्न सक्छु र ? देश र विदेश दुवै उहाँहरुले नै खानु भएको छ । जताततै उहाँहरुको नै राजकाज चल्छ । अझै उहाँहरु पल्टन घरमा पण्डित भएर आउने बितिक्कै अधिकृत स्तरको तलव र सुविधा मिल्छ ।

अझै पण्डित बाजे भएर यता आएपछि हामी सिपाहीहरु जस्तै युध्दमा कहिलै कतै जान पर्दैन । ज्यान जोखिममा कहिले हुँदै हुँदैन । श्रीमती र छोराछोरीलाई यसो एक रात छाडेर सैनिक अभ्यासको लागि जङ्गल तिर जान पर्दैन । मन्दिरमा आयो । चोखो नितो बस्यो । पुजा पाठ गर्यो । स्क्वाड्रन सार्जन्ट मेजरलाई झार काट्ने, फूल गोड्ने र मैला टिप्ने सिपाही (फटिक) मगायो । अनि मन परेको बेला बिहान बेलुकि मुख बाङ्गो बनाएर यसो शंख बजायो । श्री कृष्णजीकि – जै भन्यो र अधिकृत स्तरको तलव पड्कायो ।

ती बाजेको जिन्दगीलाई हेर्दा यस्तो लाग्छ – ब्रिगेड अफ गोर्खाजमा पण्डितको जस्तो अशल र कौशल जिन्दगी अरु कस्को होला र ? मलाई पनि सिपाही हुनुभन्दा त भित्रैदेखि पण्डित हुने रहर लागेर आउँछ । तर एकजना किराँतीको छोरो हुँ । “मुसाले चाहेर बिरालो हुन सकिन्न,” मनमनै भन्छु । त्यसपछि बाजेलाई, “एक पटक गए है बाजे,” भनेर अन्तिमचोटी नमस्ते गरेर बिदा माग्छु ।

बाजेले दाहिने हात उठाएर बिदाइ गर्नु हुन्छ । तर केही बोल्दै बोल्नु हुन्न । बणारसमा संस्कृत पढेको मान्छे वा कतै मनोविश्लेषक पनि हुन कि ? त्यसैले सायद मेरो मनभित्रको कुरा पनि चाल पाउँनु भयो होला कि, भन्छु । अनि लाठी टेकेर लुरुलुरु अगाडि बढ्छु । तर मिलिककै भरमा बाख्रा खोरमा पुगेर बाख्रा खोल्छु र हरियो घासे मैदानमा चराउन थाल्छु ।

ट्रुप कमान्डर साहेवले भने अनुसार मेरो जिन्दगी रुटिनमा चल्न थाल्छ । माथि उल्लेख गरे झैं सप्ताहन्तमा बाख्रा गोठाला गर्छु । र, अन्य समयमा शिरदेखि खुट्टासम्म ढाक्ने खाकीको डाङ्ग्री शरिरमा उन्छु र जिएमटिएसको अफिसमा पुग्छु । त्यहाँ पुगेर सार्जन्ट भरत राई (८००९) गुरुजीलाई “गुड मर्निङ ! गुरुजी” भन्छु ।

गुरुजीले जति सुने पनि नसुने ‍झै गर्नु हुन्छ । यसो हेर्नु हुन्छ तर कहिलै मर्निङ फर्काउनु हुँन्न । त्यो उहाँको बानी नै हो । तर म हरेक बिहान मर्निङ भन्न छाड्दिन थिएँ । किनभने त्यो मेरो कर्तव्य नै थियो ।

यदाकदा यस्तो लाग्थ्यो – सार्जन्ट गुरुजी सायद सहरतिर हुर्कनु भएको होला ? धरान, दार्जिलिङ वा यस्तै काठमान्डौ तिर । किनभने उहाँको अंग्रेजी भाषामा राम्रो दखल थियो र एकदम शिक्षित जस्तो देखिनु हुन्थ्यो । त्यति मात्र नभएर उहाँ असाध्यै मिलनसार पनि हुनुहुन्थ्यो । तर शारिरिक रुपमा हेर्दा होचो होचो कदको गुरुजीको आँखाहरु राता राता देखिन्थे । जसले गर्दा उहाँ कतै रिसाइ रहनु भएको पो छ कि भनेर नजिक जान मलाई असाध्यै डर लाग्थ्यो ।

हरेक बिहान अफिसमा पुगेपछि उहाँले भने बमोजिम मोटर साइकल, कार, ल्यान्डरोभर र ट्रकहरु म धुने काम गर्थे । उहाँले कुन कुन गाडीहरु सर्भिस गर्नको लागि केन्द्रिय सर्भिसिङ अड्डा (सेन्ट्रल सर्भिसिङ स्टेसन) लानु पर्छ र कुन कुन बिग्रेका गाडीहरु मर्मत गर्नको लागि वर्कसपमा लानु पर्छ भनेर कागजपत्र (आर्मी फर्म – एएफजि १०४५) चार प्रति बनाइ दिनु हुन्थ्यो र एक प्रति ऊहाँले राखेर तीन प्रति मलाई दिनुहुन्थ्यो ।

तिनै कागजपत्रहरु बोकेर हुरुरु दगुर्दै वर्कशप जान्थे । त्यसपछि गाडीहरु धुनको लागि बिजुलीको गतिमा फर्कि हाल्थें । तर फर्केर आउँदा मलाई काम गर्न सघाउने मेरो एकजना नम्वरी पनि थिए र उनी पनि म जस्तै फुच्चेको काम गर्न चार्ली ट्रुपदेखि जिएमटिएसमा जोडिन आएका थिए ।

पल्टन घरमा भेटघाट भएपछि मलाई मन पर्ने उनी मेरा एकजना अशल मित्र भएका हुन । सानै उमेरमा केस फुलाएर गजधक्क भएर बस्ने मेरो नम्वरीको नाम श्री नारायण घले (६४६२) हो । तर उनको घर नेपालको मध्य पश्चिम सुर्खेत तिर पर्थ्यो । ऊँ बेलायती सैनिक कप्तानको छोरो थिएँ । तैपनि ऊँ अति नम्र, भद्र, मिजासिलो, विनयशिल र मृदुभाषि पनि थिए ।

तर ६ वटा तार मिलेर बनेका एक बाजा गितार वादक एवम गुरुङको राजा मेरो नम्वरी घलेलाई खाना खान असाध्यै मन पराउने मान्छे हुन् है भन्दा खास्सै फरक पर्दैन थियो ।

त्यसो त म अनकन्टर गाउँघरदेखि भर्ती भएको मान्छे हुँ । त्यसैले अलिक गोबर गणेश नै थिएँ । तर ऊँ चाहिँ पल्टन घरमा हुर्केर भर्ती हुनको लागि मात्र नेपाल गएको मान्छे हुन सक्छ । सायद हङकङमा हुर्केको हुनाले उनी सबै कुरामा निपुण थिए । उनैले मलाई राउटेको कथा भन्थे । तिनीहरुले गुणा पक्रेको कहानि सुनाउथे । गाउँमा गितार बजाउँदै सोल्टिनीहरुसँग हिँडेका कहन्थे । मैले दिल खोलेर उनको कुरा सुन्थें । ऊँ झन चाडो चाडो बोल्थे ।

यस्तो लाग्थ्यो – ऊँ मेरो नम्वरी त हो । तर पनि मेरो गुरुजीभन्दा एकरति कमि छैन् । उनैले मलाई काठको फट्टा भुइँमा राखेर सानो साइकल (बिएमएक्स) उडाउनुदेखि मटर साइकल गुडाउनसम्म सिकाएका थिए । हामी चालकहरु बस्ने कोठा थुनेर त्यसभित्र अझै झिलिमिली बत्ति बालेर मैले जिन्दगीमा कहिले नदेखेको माइकल ज्याक्सनको डिस्कोदेखि क्याबरेट नाँचसम्म देखाइ दिन्थ्यो । वास्तवमा त्यतिबेला ऊँ नायक जस्तो थियो र म खलनाएक भएर उनको रमिता हेरिरहेको हुन्थें ।

तर खेदको कुरो चाहिँ के थियो भने हामी दुवै जना जिएमटिएसको खुँखार अर्डलीहरु थियौं । त्यसैले हरेक बेलुकीको भोजनपछि स्कूलमा काम गर्ने अधिकृत साहेवहरुको अर्डली गर्नु पर्थ्यो । मेरो अंशमा चाहिँ गोर्खा मेकानिकल ट्रान्सपोर्ट स्कूलको मूख्य प्रशिक्षक मेजर आर डि स्टोक्स परेको थियो । उनै गोरा साहेवको युनिफर्महरु म इस्तिरी लगाइ दिन्थें । बुटको नाक मुख टलक्कै टल्काएर आफ्नो अनुहार देखिनेगरि चम्काइ दिन्थे ।

कुनै दिन राम्रोसँग बुट टल्काउन सकिन भने, गोठालो गर्दा बाख्राले अरु कसैको फूलहरु खाइदियो भने, मर्निङ पिटीमा दगुर्न जाँदा पछाडि आए भने र रातको एघार बजे बिस्तारामा तन्केको छैन् भने त्यसको भोली बिहान एडमिन सार्जन्ट गुरुजीको कार्यलयमा शरिर तन्काउन पुग्नु पर्थ्यो । त्यहाँ पुग्ने बितिक्कै आँखा झिमकझिमिक गर्दै सार्जन्ट थमन गुरुङ (९९३४) ले सात्तो लिँदै यसो भन्थे ।

“सिपाही ! तँलाइ नोकरी गर्न मन छ कि छैन् ?” अनुहार तीन चाउँरी बनाएर खाला झै कराउँनु हुन्थ्यो ।

“छ, गुरुजी ! किन नहुनु नि हजुर,” निन्याउँरो अनुहार बनाउँदै म सानो स्वरमा जबाफ फर्काउँथें ।

“उसो भा किन पटक पटक गल्ति गर्छस् ? फेरिफेरि गल्ति गरिस् भने बिजिएसआइको धारा २७ उजागर गर्छु,” भन्दै गुरुजी बेस्सरी झोकिनु हुन्थ्यो ।

“अब गर्दिन । एक पटकलाई माफ दिनुहोस् – गुरुजी,”

ज्यादै काने सिपाही थिएँ । त्यसैले अति नम्र भएर बोल्ने कोशिस गर्थे । तर बोल्दा खेरि “हरेक शब्दको परिणाम हुन्छ र मौनताको पनि,” भनेर सोच्थें । यधपी सार्जन्ट गुरुजीको अगाडि मेरा शब्दहरु पहिले मसिनो मसिनो हुँदै जान्थ्यो र क्षणभरमा नै बिलुप्त हुन्थ्यो ।

क्रमशः​​​​​​​​​​अक्सफोर्ड – इगँल्यान्ड