मनोरञ्जन

६ दशक जिन्दगी

योहो संवाददाता

काठ्माडौं- (नोकरी काल), भीम राई- भर्खर अठार वर्ष लागेको थिएँ । तर मलाई तुलानात्मक रुपमा एकदम जवान भइसकेको आभाष भइरहेको थियो । जिन्दगीमा एकचोटि पैसा कमाउन सहर त गएँ । तर रित्तै हात घर फर्केर आएको थिएँ । अब के गर्ने ? कसो गर्ने ? अनायसै जीवनमा अलमल परिरहेको थिएँ । अब जीवनभर दुःख नै पाएर मरिने हो कि के हो भनेर हिनताबोध भइरहेको थियो । तर एउटा उपाय फुर्यो । बरु बेलायती सेनामा भर्ती हुन प्रयत्न गर्छु । यदि भर्ती हुन सके भने त गरि खाइहाल्छु नि भनेर अठोट लिएँ ।।

त्यति सोचिसकेपछि हरेक दिनको बिहान बेलुकी भर्ती हुनको लागि अभ्यास गर्न खेतमा, बारीमा र बन जङ्गलमा उफ्रिपाफ्री गर्न थालें ।

हाम्रो गाउँको सिधै पारीपट्टि नुनथला भन्ने एउटा गाउँ छ । हाम्रो र त्यो गाउँको बिँचमा सिमाना भनेको केवल डल्ले खोला मात्र हो । खोलापारीको त्यस गाउँमा एक जना पूर्व गोर्खा सैनिक सार्जन्ट गुरुजीले रेक्रुटहरु भर्ती गर्नको लागि गल्ला लिएर आएका छन् भन्ने हल्ला चैते खडेरिको समयमा जङ्गलमा लागेको डढेलो झै फैलिएर आयो । अव के खोज्छस कानो, आँखो भनेझै म पनि भर्ती जानको लागि अभ्यास सुरु गरेको मान्छे, नाम लेखाउन लागि बुरुक बुरुक हुन थालिहालें ।

नभन्दै अर्को हप्ता नुनथला पुगें र गल्लामा आफ्नो नाम लेखाएर घर फर्के । त्यसको लगभग तीन महिनापछि धरानदेखि भर्ती हुने उमेदवारहरु छान्नको लागि पूर्व गोर्खा सेनाका एउटा समुह नुनथलामा आए । उक्त्त समुहको कमान्डर चाहिँ एरिया रेक्रुटिङ अफिसर (एआरओ) कप्तान भक्त्त बहादुर लिम्बू पूर्व दश गोर्खा राइफल्स थिए । नुनथला गल्लामा भर्ती हुन आएका सयकडौ युवाहरुको जिउँडाल उनै एआरओले शिरदेखि पाउँसम्म मज्जाले हेरे । अझै उनले हामीलाई पालैपालो आँखा झिम्क्याउँन लगाए । छाती र उँचाई नापे । तौल जोखे । र, अन्तिममा सयकडौ लहलह उमेर भएकाहरु मध्ये बीस जना युबाहरुलाई छनोट गरे ।

त्यसपछि, “अब ! धरानको घोपा क्याम्पमा भेटौंला है,” भनेर हामीलाई घोपा क्याम्पभित्र पस्ने गेटपास दिएँ ।

नुनथला गल्लामा छानिएको साढे दुई महिनापछि म तीन दिन हिँडेर फत्तेपुर झरिपुगेका थिएँ । त्यहाँदेखि एउटा बस चढें अनि धरान पुगें । रिक्रुटिङ डेपो धरान क्याम्पमा छिरेपछि लगभग दुई हप्ताजति बिभिन्न खालको शारिरिक व्यायम र दिमागका परिक्षाहरु भएको थियो । मैले सबै परिक्षाहरु सहज ढङ्गले उतिर्ण गरें ।

७ फेब्रुवरी १९८४ को दिन थियो । म जस्तै भर्ती भएका युवाहरु त्यहाँ कति जना थिए भनेर मलाई पटक्कै हेक्का भएन । तर तिनै युवाहरुसँगसँगै बेलायती हजुर महारानीको सेवाको लागि आवश्यक परे जमिनमा, पानीमा र आकासमा लड्नको लागि तयार छु भनेर कसम खाएको क्षणलाई अहिले पनि स्मरण गर्छु ।

बेलायती गोर्खा सेनामा भर्ती भएपछि हामी तीन दिन जति घोपा क्याम्पमा बसेका थियौं । त्यसपछि घोपा क्याम्पले भाडामा लिएको एउटा कोचदेखि त्यस जमानाका चल्तिको नेपाली सिनेमाका गीतहरु बाहेक, “झमझम परेली आँखैमा गाजलु, सम्झन्छु देहरादुन,” भन्ने गीत गाउँदै गाउँदै बिराटनगर विमानस्थलतर्फ लागेका थियौं ।

जिन्दगीमा पहिलोचोटी देश छाडेर परदेश लागिरहेको थिएँ । त्यसैले मनभित्र केही हर्ष र केही बिस्मत त छँदै थियो । झन कोचमा फरक भूगोल, भाषा, धर्म र संस्कृतीमा रमेका ताप्लेजुङका लिम्बूहरुदेखि ओखलढुङ्गाको सुनुवारहरुसँगसँगै यात्रा गरिरहेका थियौं । हुनत हामी एक आपसमा अपरिचित थियौं । तैपनि यात्रा मनोरन्जनात्मक नै रहेको थियो ।

किनभने हामी सबैले मिलेर कोचभित्र, “सिलगुडीदेखि रेलगाडी आयो, घुम्तिमा भेट भयो । कहाँको तिमी कहाँको हामी मौकाले भेट भयो,” भन्दै समयको कुरा गरिरहेका थियौं । तर ठीक त्यतिबेलाको समय भने दिउँसोको बार्ह बजेको थियो र हामी बिराटनगर विमानस्थलमा पुगिसकेका हुन्छौं । विमानस्थलमा पुगेपछि कोचमा सबैभन्दा अगाडि बसेका गुरुजीले हातको इसाराबाट, “अब गित बन्द,” भन्नुहुन्छ । त्यसपछि गीत बन्द हुनु र कोचदेखि झर्न लगभग सँगसँगै हुन्छ ।

फरवरीको महिना मौसम अति नै राम्रो छ । मैले सोचेकोभन्दा बिराटनगर विमानस्थल कोलाहलमय छ । यो जिन्दगीमा कहिले नपुगेको वा नदेखेको स्थान हो । नयाँ स्थानमा हामीलाई तालिम गराउने गुरुजीहरु हाम्रो हेरचाहको लागि अगाडि पछाडि खटिरहनु भएका छन् । उनीहरुले यता यता, उता उता र एक लाइनमा उभिँरहि भनेका शब्दहरुमात्र हामी घरिघरि सुन्न सक्छौं ।

अझै जीवनमा पहिलोचोटी विमानदेखि यात्रा गर्दै थिएँ । त्यसैले मनभित्र हल्का त्राश उत्पन्न भइरहेको थियो । तर पंक्त्तिबध्द भएर मेरो ठीक पछाडि ठिङ्गै उभिरहेको एकजना अपरिचित रिक्रुट साथीलाई उसको हातमा कोट्याएर यसो एकवचन सोधिहेर्छु ।

“मित्र ! मलाई त हल्का डर लागिरहेको छ । तपाइँलाई चाहिँ के कस्तो छ ?”

उनको उँचाइ लगभग म जत्तिक्कै थियो । तर उनले अचम्म तरिकाले भैँसीखुट्टे टोपी पहिरण गरिरहेका थिए । खाट्टि कुरा गर्ने हो भने त्यतिबेला उनको टोपी उनको टाउकोभन्दा अझै सेक अग्लो अग्लो जस्तो देखिन्थ्यो । हुनत हामी सबैले त्यतिबेला सरकारी बर्दीमा खागीको कमिज, पतलुङ, ह्याबिवुल स्वेटर, टोपी र खुट्टामा बेलायती पिटी जुत्ता पहिरण गरिरहेका थियौं ।

तर मेरो कुरो सुनेर ऊँ पहिले एकचोटी फ्यास्सै मुस्कुराउँछ । अनि सुस्तरि मेरो कान नजिक आएर बोल्छ, – “छया ! केही हुँदैन के । म त पहिले नै हावाजहाज चढिँसकेको मान्छे हुँ । चिल जस्तै माथि माथि आकाशमा उड्छ । मज्जा आउँछ, लुङ्गा ।”

उनले मलाई रमाईलो शैलिमा मात्र होइन तर संक्षिप्तमा जबाफ फर्काइ दियो । उनको कुरा सुनेपछि म एकछिन त्यतिक्कै यताउता टोलाइ रहन्छु । बिराटनगर विमानस्थलमा मेरो एकघन्टा जति समय यसै यसै बितेर जान्छ । एकछिनपछि प्रहरीहरु द्वारा हाम्रो सुरक्षा जाँच हुन्छ । त्यसपछि हातले विमानतिर जानु भनेर प्रहरीहरुले संकेत गरेपछि शाही नेपाल वायु सेवा निगमको एउटा थोत्रो विमानभित्र पस्नका लागि मेरो पाइतालाहरु अगाडि बढ्न थाल्छन् ।

हल्का त्रशित मुद्रामा विमानभित्र पसेर एकछिन बसेको मात्र के थिएँ । अचानक हातका औलाहरुदेखि चिटचिट पसिना छुट्न थालिहाल्छ । लाग्छ, म निश्चय नै भित्रभित्रदेखि डराईरहेको थिएँ । तैपनि निर्धक्क भएर सिटमा आरामदायी साथ बस्न खोजें । पहिले कम्वरमा सिटको पेटी बाँधें । एकछिन लामोलामो सास लिएँ । अनि मन भुलाउनको लागि विमानदे�