देश

चलचित्रमा रास्वपा कनेक्सन, रामकृष्णको फिल्म चलाउन रवि मैदानमा, लालीबजार चल्ने, निश्चललाई राहत (भिडियोसहित)

योहो संवाददाता

काठमाडौं— राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र बालेन्द्र शाहसँग निकट सम्बन्ध रहेका चलचित्रकर्मी तथा कलाकारहरू अहिले विवादमा मुछिएका छन् । रास्वपा सभापति रवि लामिछाने र बालेन्द्र शाहबीचको सम्झौताका साक्षीमध्येका एक निश्चल बस्नेत र सभापति लामिछानेका अनन्य मित्र गायक रामकृष्ण ढकाल पछिल्लो समय सामाजिक सञ्जालमा व्यापक ट्रोलको निसाना बनिरहेका छन् । आफ्नो चलचित्र रिलिजको तयारीमा रहेका उनीहरूमाथि ‘जेनजी’ आन्दोलनमा संलग्न भएको विषयलाई लिएर ‘खरानी ग्याङ’को उपमासहित आलोचना भइरहेको छ । सामाजिक सञ्जालमा उनीहरूका फिल्म बहिष्कार गर्नेसम्मको चेतावनी दिन थालिएको छ । गत भदौ २४ गतेको विध्वंसका क्रममा रास्वपा सभापति लामिछानेलाई नख्खु कारागारबाट बाहिर निकाल्न मुख्य भूमिका निभाएको भन्दै गायक तथा चलचित्र निर्माता रामकृष्ण ढकाल विवादित बनेका छन् । एक टेलिभिजन अन्तर्वार्तामा ‘जेनजी’ आन्दोलनको समयमा सहकारी ठगीको आरोपमा नख्खु जेलमा रहेका लामिछानेलाई आफ्नै गाडीमा हालेर हुइँक्याएको बताएपछि ढकाल विवादमा फसेका हुन् ।