Uncategorized

सिंहदरबारमा राजदूतको दौडधुप, सुधन–स्वर्णिमकै बाक्लो भेटे, चीनका कडा, बालेनको निर्देशनलाई चुनौती (भिडियोसहित)

योहो संवाददाता

काठमाडौं— विगतमा सरकार बन्नासाथ विभिन्न देशका राजदूतहरू बधाई तथा शुभकामना दिन प्रधानमन्त्रीलाई ‘बन्द कोठा’ भित्र भेट्ने गर्थे । तर, प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) ले १७ देशका राजदूतसँग संयुक्त छलफल गरेर त्यो परम्परा तोडिदिए । उनले सिंहदरबारमा ती सबै राजदूतहरूसँग सामूहिक भेटघाट गर्दै स्पष्ट सन्देश दिए कि— अब राजदूतहरू सिधै प्रधानमन्त्रीको कार्यकक्षमा पुग्नुभन्दा परराष्ट्र मन्त्रालयसँग समन्वय गरे पुग्छ । प्रधानमन्त्रीले आफूसँग मात्र नभई अन्य मन्त्रीहरूको कार्यकक्षमा पनि त्यसरी नै पुग्न आवश्यक नभएको सन्देश दिएका थिए । तर, मन्त्रीहरूले भने प्रधानमन्त्रीको त्यो सन्देशलाई लत्याउँदै सिंहदरबारको बन्द कोठामा राजदूतहरूसँग भेटघाट गर्ने क्रम रोकेका छैनन् । परराष्ट्रमन्त्री बाहेक अन्य मन्त्रीहरूले पनि राजदूतहरूलाई निरन्तर भेटिरहेका छन् । यसरी मन्त्रीहरूलाई भेट्नेमा सबैभन्दा बढी जापानका राजदूत मायदा तोरु सक्रिय देखिएका छन् । उनले चार दिनको अन्तरालमा तीन जना मन्त्रीहरूसँग भेटघाट गरिसकेका छन् । उनले शिक्षा, विज्ञान तथा प्रविधि र युवा तथा खेलकुद मन्त्री सस्मित पोखरेल, भौतिक पूर्वाधार तथा यातायात र सहरी विकास मन्त्री सुनिल लम्साल र स्वास्थ्य, जनसंख्या तथा खानेपानी मन्त्री निशा मेहतासँग भेटवार्ता गरेका छन् ।