मनोरञ्जन

एउटा असम्भव यात्रा !


झन्डै पैंतिस बर्ष अगाडिको कुरो हो । उ बेला म निकोशियामा थिएँ । निकोशिया साइप्रसको राजधानी एबम दुई देशमा बिभाजित एउटा सहर । जहाँ आधा ग्रिक साइप्रियोट र आधा टर्किस साइप्रियोट मानिसहरु बस्ने गरेका छन् । अझै मेसो पुर्याएर भन्ने हो भने यसो भनौं । त्यतिबेला म बेलायती गोर्खा सेनामा थिएँ । तर छ महिने करारमा संयुक्त्त राष्ट्र संघिय शान्ति सेनामा कार्यरत थिएँ ।

साइप्रस भूमध्य सागरमा अवस्थित एउटा टापु हो । गृष्मकालिन समयमा त्यहाँ अचाक्लि गर्मी हुने गर्छ ।गर्मीको समयमा निरन्तर काम गर्न त्यहाँ असम्भव छ । त्यसैले छ महिनाको करारमा हामीलाई दुई हप्ताको छुट्टी मिल्थ्यो । उक्त्त छुट्टीको समय सदुपयोग गर्नको लागि म जेनतेन इजिप्टको राजधानी कायरो जान्छु । र,गिजाको पिरामिड फनफनि चक्कर मारेर फिर्छु भन्ने योजना बुनेको थिएँ ।

आखिर मानिसको मनभित्रको योजना न हो । यो जीवन जस्तै अस्थायी हुन्छ । कतिपय योजनाहरु बन्छन् तर हुर्केर बढ्न नपाउँदै ढल्छन् वा मर्छन् । तर मेरो भित्रि हृदयदेखि बढ्दै बढ्दै आएको योजनालाई त्यतिक्कै मार्न सकेको थिइन ।कायरो जानै पर्छ र पिरामिड हेर्नै पर्छ भनेर एकसुरले कम्वर कसिरहेको थिएँ । तर आफैले सोचेको त्यस्तो कुराले निक्कै लामो समयसम्म मनभित्र केहि छटपट्टी र चिन्ता पैदा गरिरह्यो । चिन्ताको औषधी हुँदैन भन्ने लाग्यो । त्यसैले चिन्ता मेट्नको लागि अर्को दिन हाम्रोटुकटीको सार्जन्ट गुरुजीलाई भेट्न उहाँको कार्य कक्षामा पुगें ।त्यहाँ पुगेर सुरिलो पोजिसनमा खडा भएर बेलिबिस्तार लगाउँदै गर्दा, –

“भर्खर एक छुट्टी गएर फिरेको काने न काने छस् ।उम्रदै तीन पात नबन । तेरो गुरुजी त अहिलेसम्म पिरामिड जान पाएको छैन् । आइगइस् तँ खुबैपिरामिड घुम्नजाने । जान पाउँदैनस् जा ड्युटी गइहाल ।”

गुरुजीको मुखदेखि मेरै मुख अगाडि छिछि र धुरधुरको आवाज पोखियो । एकदम जुनियर थिएँ त्यसैले दोश्रो पटक बिन्ति जाहेर गर्न मलाई हिम्मत चलेर आँउदै आएन । तर उहाँको कुरो सुनेर अनायसै मेरा आँखाहरु तिलमिलाए । अनुहार तातिएर राता पिरा भए । मनभरि हजारौ सपनाहरु थिए । उहाँको एक वाक्यंशले सबै जलेर खरानी भए र हावाभरि तितरबितर हुँदै बिलय भइहाले ।

नभन्दै पल्टन घरमा थिएँ । अनिपल्टन घर भनेको पल्टन घर नै हो । जहाँ ढुङ्गालाई आलुभन्दा – हो हजुर ! आलु नै हो, भन्ने प्रारम्भिक शिक्षा पढाइएको हुन्थ्यो । हुनत त्यहाँ जस्तो सुकै पढाइएको भएता पनि मेरो मनमा बर्षौ अगाडिदेखि पिरामिड जाने रहर पलाएका थिए । त्यो सबै सिसाझै फुटेर चक्नाचुर भए । भित्रिमनदेखि उथलपुथल भैरहेका भावनाहरु सँगालेर पार्क गरेर राखिरहेको आफ्नो थोत्रो ट्रकतिर फिरें । किनभने पल्टनमा म मामुलि ट्रक चालक थिएँ । र, मैले अधिकतम समय संयुक्त्त राष्ट्र संघको बिभिन्न सैनिक क्याम्पहरुमापेट्रोल वा डिजेल बाड्ने कार्य गर्थे ।

हुनत समय समय नै हो । आखिर यो परिवर्तन भैरहन्छ । बिहान हुन्छ, बेलुकि हुन्छ । यो आउँछ र जान्छ । यस्तै समय समयमा जीवनका घनघश्या उकालीहरु कति चढियो र कति ओराली झरियो । तर पिरामिड घुम्ने मेरो रहर मानसपटलदेखि कहिले बिलय हुन सकेको थिएन । सैनिक जीवनदेखि निबृत भैसकेपछि पहिले जस्तै सार्जन्ट गुरुजीत हुन्थेन । त्यसैले नागरिक जीवन यापन गर्ने क्रममा सैनिक नियम लागु हुने कुरो पनि भएन । निबृत भएपछि यसो दुईचार पैसा जोहो गरें र पुनः पिरामिडको यात्राको योजना बनाइ हालें ।

अहिले तिनै बिस्मृतिका पानाहरु सरर एकचोटी पल्टाएर ल्याउँदा त्यस्तै सन् २०११ तिरको कुरो हो । त्यतिबेला मेरी अर्धाङ्गिनी तारासँग थियौं । नर्वेजियन पानीजहाज कम्पनीको एउटा पानीजहाज चढ्यौरआशडोड, इजरायल पुगेका थियौं । मान्छे, म अलिक रहरे पनि रहेछु । त्यसैले मेरो गिजाको पिरामिड बाहेक अन्य स्थानहरुपनि जाने प्रशस्तरहरहरु थिए । पानीजहाज आशडोड बन्दरगाहमा पुगेर दुई दिनको लागि रोकिन्छ । त्यसपछि हामी एउटा ट्याक्सि समात्छौं र तेलअभिवसुइकिन्छौं । तर त्यो सहरमा हाम्रा मन त्यति धेरैबेरसम्म थामिदैन । हतारहतार जेरुसेलम जाने निधो गर्छौं । र, अर्को ट्याक्सि समातेर त्यताहानिन्छौं ।

“मानिसहरु जेरुसेलमलाई एउटा पवित्र स्थल मान्ने गर्छन् । त्यसैले यहाँ आउँने एउटा अभीष्ट रहर थियो । आज सो पनि पुरा भयो,” पश्चिमी पर्खालमा पुगेर ट्याक्सिदेखि झर्दै गर्दा तारासँग बोल्ने बहाना झिकिहालें ।

“तपाइँको रहरहरु पनि के थोरै छन् र ? खै ! एक जुनीमा पो पुरा हुन्छ कि हुँदैन ?म त एकदम दुविधामा नै पो छु,”पहिले एकचोटी मुख बङ्ग्याउँछिन् त्यसपछि त्यति भन्छिन् ।

उनले मुख खोलेपछि मेरो मुख अनायसै बन्द हुन्छ । त्यसपछि हामी नबोलि नबोलि एकछिन हिड्छौं । सुस्तरि कदम चालेर हिड्दै गर्दा यहुदीहरुको पश्चिमी पर्खालमा पुग्छौं । मन्दिरको तीनतिरको पर्खाल भत्केर नष्ट भएतापनि पश्चिमी पर्खालमात्र बाँकी रहेको दृश्य देखिन्छ । तिनै पर्खालको नजिकै पुगेर तारालाई, –

“यहाँ मनमा इच्छा लागेको कुरो कागजको टुक्रामा लेखेर राख्यो भने पुग्छ रे । तिमी पनि केहि लेख्छौ कि ?” इच्छापत्र चढाउने नियम सुनाउँदै उनलाई सानो स्वरमा सोध्छु ।

“ए ! हो र ? के पुग्थ्यो होला र ? मेरो रहर त तपाइँलाई पाउनु थियो । पहिले नै पुगिहाल्यो नि,” कुटनीतिक जबाफ फिर्छ ।

त्यसपछि, म पुरुषहरु र उनी महिलाहरु जान पाउने स्थान तिर जान्छिन् । आ-आफूलाई मनमा लागेको कुराहरु कागजका स-साना टुक्रामा लेखेर पर्खालको भित्तामा रहेका दुलामा घुसारेर फिछौं ।

खास्सै खासमा भन्नुपर्दा म धर्ममा त्यति चासो राख्ने मान्छे त होइन । अब यहाँ आइ हालियो । यहुदी, मुस्लिम र इसाइका पवित्र स्थलहरु सबै नै जाउँला मनमनै भन्छु । त्यसपछि पर्खालको ठीक पारिपट्टि हेर्छु । मध्यान्हको घामले मुसलमानहरुको ‘डोम अफ द रक’ मस्जिद टलल टल्किरहेको मज्जाले नियाल्न मिल्छ ।

मस्जिदलाई हेर्दै हेर्दै हामी त्यतै सुइकुच्चा ठोक्छौं । त्यसको बाहिर पुगेर, “बुढिया ! मक्का र मदिनामा प्रार्थना गरेपछि प्रोफेट महमदले यहिँदेखि बायुपङ्खि घोडा चँढेर स्वर्गमा बिलय भएको थियो रे,” सुनेको कुरा उनलाई भन्छु ।

“यहिँदेखि – खै कुनि है । तपाइँ त भाको पनि नभाको पनि कुरा भन्नु हुन्छ । के के भन्नुहुन्छ हुन्छ ? कोहि कोहिबेला त मलाई पत्याउँन नै चर्को पर्छ,” मप्रति अविश्वासको प्रस्ताव सहित उनको कुरा सकिन्छ ।

“मलाई पनि के थाहा छ र ? अरुले भनेको कुरो सुनेर तैपनि तिमीलाई आफ्नै सम्झेर भनेको मात्र त हो ,” अनुहार रातोपिरो बनाउँदै त्यति जबाफ फर्काउँछु ।

मस्जिदमा पुगेपछि त्यसभित्र पस्ने जोस गर्दिन । किनभने मनभित्र हल्का त्रास उत्पन्न हुन्छ । बाहिरदेखि नै अलिकति मस्जिदको दर्शन गर्छौ । त्यसपछि अर्को एउटा ट्याक्सि समातेर इजरायल पेलेस्टाइन सिमानामा पुग्छौ । सिमाना पारिपट्टि मटर फेरेर बेत्लेहेमतर्फ रमाना गर्छौं । किनभने तिनै पेलेस्टाइनहरुको भूमी बेत्लेहेममा जिसस क्राइष्ट जन्मेकाहुन है भनेर अहिलेसम्म अनुमान गर्ने गरिन्छ ।

केहिबेरको मटर यात्रा पश्चात् ‘चर्च अफ नाटिभिटी’ को ठीक अगाडि पुग्छौं ।

“जिसस यहिँ जन्मेको हो रे ? हगि,” ट्याक्सिदेखि ओर्लने बितिक्कै सबैभन्दा पहिले ताराको नै मुख खोलिन्छ ।

उनको कुरो सुनेर, “सबैले त्यहिँ भन्छ । सायद होला नी ? हुनत मलाई पनि के थाहा छ र ? लगभग दुई हजार बर्ष पहिलेको कुरो हो । फेरि उनी जन्मेको तीनसय बर्ष पछि मात्र यहाँ जन्मेको होभनेर यो गिर्जाघरको निर्माण भएको होरे,” मूख्य ढोका पुग्न अगाडि हिड्दै ‍हिड्दै त्यति भन्छु ।

ढोकाको अगाडिसम्म कोलाहलमय वातावरण छ । तर ढोकाभित्र छिरेपछि मानिसहरुको अत्याधिक भिड देख्न सकिन्छ । त्यतिका धेरै भिड देखेपछि, – “बुढिया ! लु यहाँसम्म आइ हालियो । संसारभरिदेखि ओइरिएका यतिका धेरै मान्छेहरु यहाँ रहेछन् । यसो दुई-चार तास तस्विर खिच्औं। अनि टाप कसौ है, कि कसो ?”कानेखुसिको लागि उनको दाहिनेकानको नजिकै पुगेर त्यसो भन्छु ।

मेरो कुरो सुनेर, – “आकुइँ ! कहाँ त्यसरि हुन्छ । तपाइँ यस्तै त हुनुहुन्छ । यत्रो टाढा आका छौं । म त उनी जन्मेको स्थान कस्तो रहेछ भनेर हेर्ने हो । नहेरि के फिर्थे र ?”अरुबेला नौनी घ्युँ जस्ति मान्छे त्यतिबेला छुर्पि जस्तो चाम्रो बनिन ।

“ल ! ठीक्छ । उसोभए म चाहिँ यतै कतै रमिता हेर्दै गर्छु है,” प्रति उत्तर फर्काउँछु ।

निक्कै लामो समयसम्म पङ्त्तिमा लामबध्द भएर उनी उँभिरहिन् । म हलभित्रका दृश्यहरु यता र उता गर्दै हेर्छु । समय कटाउन ओल्लोछेउँ पल्लोछेउँ ओहोर र दोहोर गर्छु । कोहिबेला पुजा स्थानमा पुग्छु । अनि सर्लक्कै फर्किन्छु । मलाई त्यसबेला जाबो एक मिनेट समय जान पनि एक घण्टा लागे जस्तो लाग्छ ।

घरिघरि, – “हामीलेशैतानको पक्षको कुरो कहिले सुनेको छैन् । किनभने सबै पुस्तकहरु भगवानले लेख्नु भएको छ,” मनमनै अरुले भनेको कुरो सम्झन्छु । त्यसपछि सुनाउने मान्छे कोहि नपाएपछि पागलझै एक्लै खितिति हाँस्छु ।

तारालाई यसरि पर्खनु पर्दा मन थोरै बेचैनी हुन्छ । तर हुनचाहिँ खासमा खास म के हो ? आस्तिक हो कि नास्तिक ? अनायसै आफूले आफैलाई प्रश्न गर्छु । आ…केहि पनि होइन रहेछु । अरु जे सुकै भएता पनि बरु थोमस हक्स्लीको बिचार नै ठीक रहेछ,भन्छु । म भगवान छ भनेर यथेस्ट प्रमाण जुटाउन त यसै सक्त्तिन नै। फेरि छैन् भनेर सबैलाई चित्त बुझाउँने समय पनि मसँग कहाँ छ र ?त्यसकारण मलाई यस बिषयमा केहि थाहा छैन् ।हो, म पनि एकछिन हक्स्लीको सिदान्त पछ्याउँदै अनविज्ञ (एग्नोष्टिक) भै टोपल्छु । 

तारालाई कुर्दा कुर्दा घन्टौ समय बितेर जान्छ । त्यसपछि मरेर मरेर ताराको बल्ल पालो आउँछ । त्यहाँनेर मानिसहरु छिरेर दुई-चार अखेटा मुनि झर्ने सानो द्वार रहेको छ । तर उनी आएकी ठीक बिपरित दिशामा पनि त्यस्तै मुनि बाट उकालो निस्कने सानो ढोका रहेको छ । म तिनै ढोकाबाट लुसुक्कै भित्र छिरेर मुनि कोठामा झर्छु र तारासँग भेट्छु । त्यसपछि जिसस जन्मेको स्थानमा पुगेको प्रमाणको लागि ताराको केहि तस्विरहरु लिइदिन्छु। उनकी रहर मरेपछि बाहिर निस्कन्छौं र सरासर पानीजहाजमा फिर्छौं ।

त्यस दिन हामी बहुधार्मिक भयौं । एक्कै दिन यहुदी, मुसलमान र इसाइहरुको तीनै धार्मिक स्थलहरु पुगेपछि अर्को दिन जोर्डन र इजरायलको सिमानामा रहेको मृत सागर(डेड सी) पुगेर पौडी खेल्छौं ।मृत सागरमा एउटा कुरो चाहिँ एकदम अचम्मैकोमान्नु पर्छ । त्यहाँ पौडी खेल्दा अन्य नदी वा पौडीपोखरीहरुमा जस्तो हातखुटटा चलाई रहन आवश्यक पर्दै पर्दैन । अत्याधिक नुनको मात्रा भएको हुनाले त्यतिक्कै पानीमा तैरिरहिन्छ ।

तर मैले यसो भन्दै गर्दा संसारको सबैभन्दा नुनिलो सागर चाहिँ यो हुँदै होइन । लगभग ३४ दशमलव २ प्रतिशत नुनिलो यहाँको पानीमा नाङ्गोभुङ्गो भएर बङ्लङ्गै उतानो परेर खबरकागज पढन चाहिँ यहाँ मज्जाले मिल्छ । आफ्नो जीवनकालमा धेरै सागर र महासागरहरुको यात्रा गरिएकोथियो । अनि समय समयमा मानिसहरुलाई यसो गफ चुट्नको लागि अलिक सजिलो होस् भनेर मृत सागर पनि पुगिहालौं भनेर पुगेका थियौं ।

मृत सागरदेखि पानीजहाजमा फिर्छौं । बेलुकिपख पानीजहाजलेइजिप्टको उत्तरपूर्वी बन्दरगाह (पोर्ट सेड) को लागि आफ्नो बाटो तताउँन सुरु गर्छ । रात्रीकालिन भोजन खाएपछि हामी आफ्नो कोठामा पुगेर आराम गर्छौं । पानीजहाजले रातभरि भूमध्य सागरको अन्धकारलाई छिचोल्दै छिचोल्दै एक रफ्तारले अगाडि बढिरहन्छ । अँध्यारो कोठामा निन्द्रा पुगेपछि म बिहानपख सबेरै उठ्छु र खाजाको लागि तयार हुन्छु । त्यसबेलासम्म पनि पानीजहाजले रोकिने छाँट नदेखाए पछि म एकछिन छक्क पर्छु । नत्रभने त्यतिबेलासम्म पानीजहाज बन्दरगाहमा रोकिनु पर्ने पूर्वयोजना थियो ।

बिहानिपखसम्म पानीजहाज नरोकिएपछि आश्चर्य चकित हुँदै सोर्हौ तलामा निस्कन्छु । माथि निस्केपछि एकजना बुढो अङ्ग्रेजसँग भेट हुन्छ । भेटको क्रममा उनले, “अरब स्प्रिङ्गको प्रभावले टाहिरिर स्क्वायर कायरोमा राष्ट्रपति होस्नि मुबारकको विरुध्द ठूलो आन्दोलन चर्किरहेकोछ रे । त्यसैले पानीजहाजत्यहाँ रोकिदैन । आज दिनभरि पानी पानी यात्रा गरेर भोलीबिहान क्रेट टापुको हेराक्लिन बन्दरगाहमा पुगेर जहाजरोकिन्छ,” भन्ने उनले जानकारी गराउँछ ।

उनको कुरोले म पहिले एकचोटी खन्द्रङ्गै तर्सन्छु । त्यसपछि हात उठाएर उनीसगँ बिदाभैहाल्छु । अब मुनितला झरेर प्राचीन मिश्रको फेरोहरुको समाधिस्थलहरु अथवा सातौ प्राचीन आश्चर्यहरुको पनि प्रमुख आश्चर्य गिजाको पिरामिड घुम्ने सपना दोश्रो चोटी तुहिएर गयो भन्ने कुरो भूमध्य सागरमा तारालाई कसरि सुनाउने होला भनेर एकछिन दोधारमा पर्छु । हस्याङ्फस्याङ् गर्दै मुनि कोठामा झर्दा तारा उँठदै उँठेकै थिइनन् । त्यतिन्जेलसम्म बिस्तारामा तन्किरहेकी तारालाई अशुभ समाचार सुनाउँदा उनी सर्लक्कै कुनातिर फर्किन्छिन् तर केहि प्रतिकृया जनाउँदैनन् ।

दुई-दुई चोटी पिरामिड घुम्ने रहर अशफल भैसकेको थियो । तै पनि पिरामिड घुम्ने इच्छा मृत्युशैयामा पुगिसकेको थिएन ।

१९ अप्रिल २०२५ को दिन । दिनको समय ठीक १२ बजेको हुन्छ। पोलिस ट्याक्सि चालकले घरको मूख्य ढोकामा आएर ढकढक ढोका ढकढकाउँछ । ढोकाबाट आवाज आएपछि म ढोकानजिकै पुग्छु र घन्द्रङ्गै ढोका खोल्छु ।मैले ढोका खोल्ने बितिक्कै, “ए ! आउनु भयो ?” सानो स्वरमा उनलाई सोध्छु । बेलायती मौसम न हो । घर बाहिर सिमसिम पानी परिरहेको छ । त्यस्तै पानीमा ऊँ मेरो सामु ठिङ्गै उभिएर एकचोटी “मर्निङ” भन्छ । त्यसपछि हतारहतार ट्याक्सिभित्र पसिहाल्छ ।

हिजै बेलुकि तयार पारेर राखिएका तीनवटा सुटकेसहरु ढोका छेवैमै छन् । पानी अलिक रहेपछि म सुटकेसहरु उनलाई दिन थाल्छु । उनले सुटकेसहरुलाई पहिले जमिनमा घरर तान्छन्। अनि उचालेर थपकथपक ट्याक्सिमा मिलाएर राख्छन् । सुटकेसहरुले ट्याक्सिमा स्थान पाएपछि तारा र छोरी ट्याक्सिमा पस्छन् ।

उनीहरु ट्याक्सिभित्र जमेर बसेपछि म चाहिँ मूलढोका बन्द गर्छु । निक्कै दिनको लागि घर छाडेर बाहिर जादै थियौं । त्यसैले ढोका लक भयो वा भएन भनेर अन्तिम चोटि निश्चित गर्छु । त्यसपछि ढकलक गरेर चाबी लगाउँछु र म पनि ट्याक्सिमा पस्छु । तर म ट्याक्सिमा पस्ने बितिक्कै यसले बानबरी टाउनलाई सर्लक्कै छाड्छ र बेलायती महासडक एम ४० लाई समाति हाल्छ ।

इङ्गल्यान्डमा गृष्मकालिन मौसम सुरु हुन लागिरहेको छ । बिहानिपख थोरै पानी परेको भएतापनि मध्यान्हपख मौसम सुधिद्रै गइरहेको छ । हामी यसबेला क्रमशः बेलायती महासडकमा यात्रा गरिरहेका छौं । एम ४० महासडक विमानस्थलहरुको धावनमार्ग झै टन्नै अलकत्र वा कङ्क्रिट बिछ्याइएका फराकिला छन् । उता बुईपा खोटाङ जाने कहालिलाग्दो कच्चि सडक जस्तो सडकमा खाल्डाखुल्डीहरु केहि छैनन् । त्यसैले यात्रा एकदम सहज र आरामदायि छ ।

तर यसरि यात्रा गर्ने क्रममा म इङ्गल्यान्डको मध्यभूमि (मिडल्यान्ड) को जमिनहरु बेस्सरि नियाल्न थाल्छु । हरिया डाँडापाखा, नागि र फाँटहरु मानिसका हातैले मिलाइ मिलाइ बनाएका जस्ता एकदम मनोमोहक देखिन्छन् । पोलिस ट्याक्सि चालकले ७० माइल प्रति घन्टाका गतिमा ट्याक्सि हाँकी रहँदा सडकदेखि देखिएका व्यबस्थित कृषि फर्म, हरिया वनजङ्गल, स-साना बुट्यानहरु, घासे वस्तु चरण र यस्तै यस्तै भूदृश्यहरुले जो कोहि मानवको हृदयलाई बेस्सरि मोहित पार्छ ।

अति मनोमोहक दृश्य हेर्दै हेर्दै डेढ घन्टाको रमाइलो यात्रापछि हामी लन्डनको हिथ्रो विमानस्थलमा पुग्छौं ।दशकौ बर्ष अगाडि यो विमानस्थल विश्वको सबैभन्दा व्यस्त विमानस्थल रहेको थियो । तर आजभोलि यसलाई सो उपाधि प्राप्त छैन् । तैपनि यहाँ हरेक दिन चानचुन १३ सय ७० विमानहरुले उडान र अवतरण भर्ने गर्छ । त्यसैले निक्कै व्यस्त हुने भएकोले यहाँ पाँचवटा टर्मिनल भवनहरु रहेका छन् । हामी चाहिँ पाँच नम्वर टर्मिनलमा पुग्छौं । किनभने यो बेलायती हवाइ जहाज कम्पनी “ब्रिटिस एअरवेज” को आफ्नै मूलघर जस्तै मानिन्छ । र, हामीले यिनै ब्रिटिस एयरवेजको एउटा एयरबस ए ३२१ विमानबाट उडान भर्न लागिरहेका थियौं ।

विमानस्थलमा पुगेको लगभग एक घन्टापछि मात्रभ्रमणदलका एकजना सदश्य मेरो छोरो हाम्रो सामु झुल्किन्छ । वयस्क भैसकेकातर बिहे नभएकामेरो परिवारमा एकजना छोरा र एउटी छोरी छिन् ।तर दाजूभन्दा चार बर्ष कान्छी बैनीले अङ्ग्रेजी कानून पढेकी हुनाले समयमा नै बेलायती सोलिसिटर (लयर) बनेर आफ्नो लागि खर्च आफै जुटाउन थालेकी बर्षौ भइसकेको छ । अझै त्यतिले मात्र कहाँ मान्थ्यो र ? समय समयमा आवश्यक पर्दा उनी आमाबाबुलाई ऋण पनि दिने भैसकेकी छिन् ।

तर लिभरपुल युनिभर्सिटीदेखिदशकौ अगाडि चिकित्सक भएको छोराको कथा भने अलिक फरक प्रबृतिको छ । उनले लिभरपुलपछि वारविक युनिभर्सिटीदेखि मास्टर्स गरेका थिए । त्यसपछि बर्षौ बर्ष अक्सफोर्ड डिनारीदेखि शल्य चिकित्सककोतालिम लिए । तर अँह उनको अध्ययन त्यति सजिलो सकिने वाला छँदै छैन । तिनै अध्ययनलाई क्रमशः निरन्तरता दिने क्रममा साढे दुई बर्षदेखियता इम्पेरियल कलेज लन्डनबाट उनले विधावारिधि गरिरहेका छन् । तीन बर्षे विधावारिधि सकेपछि फेरि फेलो गर्छु भन्दैछु ।हेरौ के गर्छ ? तर जे सुकै गरेतापनि आजीवन अध्ययन गरि रहनु पर्ने उनको दुःखी जिन्दगीलाई यदाकदा सम्झन्छु, र मनमनै गम्छु –मिस्टरको अध्ययन कहिले सकिने र कहिले घरजम गर्ने होला ?

समयले नपुगेर जहिले पनि हतार हतारमा हुने छोरा हस्याङफस्याङ गर्दै रेलदेखि विमानस्थल आइपुगेपछि हामी आ-आफ्ना सुटकेसहरु चेकइन गर्छौं र बोर्डिङ पास लिन्छौं । हिड्दै गएर सुरक्षा जाँच सकेर विमानको प्रतिक्षा गर्न थाल्छौं । हाते घडिमा समय बेलुकिको ठीक छ बज्छ । हामी लन्डनलाई बिदा गर्छौ । र, स्थानिय समय अनुसार रातको ठीक बार्ह बजे इजिप्टको राजधानी कायरो अन्तराष्ट्रिय विमानस्थलमा उत्रन्छौ ।

आफ्नो जीवन कालमा पिरामिड पुग्ने दुई-दुई चोटिको प्रयत्न असफल भएपछि कायरो पुग्दा मन यसै यसै प्रफुल्लित हुन्छ । हाम्रो पूर्व योजनानुसार गाइया होटल पिरामिडले विमानस्थलमा एकजना मटर चालक पठाएको थियो । तिनै चालकसँग भेट भएपछि होटलतर्फ रमाना हुन्छौं ।

जगतलाई पुरै अँध्यारोले निल्दै लगेको छ । त्यसैलेकायरोमा मध्यरातको समय छ । तैपनि बाटामा प्रशस्त गाडीहरु देखिन्छन् ।पहिलो पटक यस्तो देखेपछि लाग्छ । यहाँका मानिसहरु एकदम मेहनति हुँदा रहेछन्। त्यसैले राती पनि सडक अति व्यस्त छ । सायद २४सैं घन्टा काम गर्छन होला ?मनमनै त्यस्तो सोच्छु । तर कसैलाई केही भन्दिन । किनभने सबैजना यात्राले थाकेर लखतरण परेका छन् । त्यति व्यस्त कायरोको सडकमा हाम्रो एकघन्टा जस्तो समय खर्च हुन्छ । त्यसपछि हामीगिजा सहरको गाइया होटल पिरामिडमा पुगेर थपक्कै बास बस्छौं ।

गिजा कहाँ पर्छ ?

गिजा इजिप्टको कायरो र अलेक्जान्ड्रिया पछिको तेस्रो ठूलो सहर हो । अथवा अझै यसो भनौ यो सहर किन्शासा, लागोस र कायरोपछि जनसंख्याको आधारमा अफ्रिकाको चौथो ठूलो सहर हो । नाइल नदीको लगभग ९ माइल पश्चिमी किनारमा वा कायरोको ठीक विपरीत दिशामा अवस्थित यो सहर ग्रेटर कायरो महानगरको एक हिस्सा पनि मानिन्छ । यिनै स्थानमा खुफु, खाफ्रे र मेनकाउरेले निर्माण गरेका प्रमुख तीनवटा पिरामिडहरु रहेका छन् । अनि गिजा मेम्फिस चाहिँ यहाँ बाट लगभग ३० किलोमिटर उत्तरमा अवस्थित छ । लगभग ३१५० ईसा पूर्वमा फेरो नरमारले यसलाई एकीकृत इजिप्टको राजधानी बनाएका थिए ।

बिहानको समय ठीक ८ बज्दा म पाँचौ तलामा पुगेको हुन्छु । तिनै तलामा खाजा खाने स्थान छ है भनेर हिजो बेलुकि नैहोटलका स्वागतिकाले हामीलाई जानकारि गराएकी थिइन । म त्यहाँ पुग्दा ब्रेकफास्ट खाने टेबलहरु प्रायजसो खालि देखिन्थे । तैपनि दायाँबायाँ दुई-चार जना मानिसहरुले त्यहाँ खाजा खाँदै गरेको दृश्य देखिएको थियो । ती मानिसहरु मध्ये केहि अङ्ग्रेज र केहि फ्रेन्चहरुहुन है भनेर मैले शंका काटें । किनभने उनीहरु मध्ये कसैले अङ्ग्रेजी र कसैले फ्रेन्च भाषा बोलिरहेका थिए ।

अब म त्यहाँ खाजा खाने मानिसहरुप्रति त्यति ध्यान नखिचेर पिरामिडतिर ध्यान खिच्न थाल्छु । त्यतिबेला मेरो आँखै अगाडि तीनवटा पिरामिडहरु लहरै तर गमक्कै बसिरहेका देखिन्छन् । अझै बिहानीको मौसम छ र सुर्यको प्रकाश पिरामिडका ढुङ्गाहरुमा चमक्कै चम्किदा पिरामिडहरु अति सुन्दर देखिरहेका थिए ।यति सुन्दर दृश्यले म अति प्रफुल्लित मुद्रामा थिए । तर जीवनमा यसरि पहिलो चोटि अनि त्यति नजिकदेखि तिनैवटा पिरामिडहरुलाई एक्कैचोटी नजर मार्दा झन भित्री हृदयदेखि नै आमोदी हुन्छु ।

त्यसपछि म हिड्दै हिड्दै पाँचौ तलाको डिलमा नै पुग्छु । त्यहाँ पुगेर एकछिन उभिन्छु र दुवै हात कम्वरमा राख्छु । निःसन्देह आँखा नचिम्लिइ पिरामिडलाई लाटाले पापा हेरे झै एकोहोरो हेरिरहन्छु ।यस्तो दृश्य देखेपछि – हेर ! यिनै क्षणको लागिमैले जिन्दगीमा कमि दुःख गर्न परेन,मनमनै भन्छु । तर म त्यसरि एकाध उभिरहेको देखेर एकजना वेयरा हिड्दै हिड्दै मेरो नजिक आउँछ र ऊँ दिल खोलेर मसँग बात मार्नथाल्छ ।

“महाशय ! यतै बसौ कि कता ?” मलाई लक्षित गर्दै पहिले उनले सानो प्रश्न तेर्स्याउँछ ।

उनको कुरो सुन्ने बितिक्कै पहिले, “गुड मर्निङ” भन्छु । फेरि, “भै हाल्छ, अँ कायरोको मौसम कति राम्रो छ हगि ?” जबाफ दिने क्रममा प्रतिप्रश्न गर्छु ।

“हजुर हो नि ।यहाँको मौसम जहिले पनि राम्रै हुन्छ । के हजुरको कायरो पहिलो चोटी हो र ?”

“किन नहुनु बिलकुल पहिलो चोटी हो ।”

“ए ! उसो भए, यहाँलाई कायरोमा न्यानो स्वागत छ ।”

“तपाइँलाई धेरै धेरै धन्यबाद छ ।”

‍उनको त्यस्तो आतिथ्य भनाइ सुनेपछि सिरदेखि खुट्टासम्म एकचरण हेर्छु । उनको उमेर त्यस्तै पच्चीसदेखि सत्ताइसभित्रको हुनुपर्छ । हसिलो मान्छेको पातलो शरिर छ । अझै मसँग बोल्दा उनलेदुवै हात पछाडि राखेको थियो । तर मान्छेचाहिँ सुरिलो पोजिसनमा खडा थियो । अति नै नम्र भएर मसँग बोलेको उनको बोलिचालि मलाई अति नै मन पर्यो । तर उनको अङ्ग्रेजी भाषा भने ठीकठीक्कैको रहेछ । किनभनेउनी अलिक अक्मक्किदै अक्मक्किदै मसँग बोलिरहेका थिए ।

“ल ठीक्छ, म यहिँ बस्छु है,” निक्कैबेर उँभिएर बोलेपछि म उनको अनुरोधलाई स्वीकार गर्दै बस्नको लागि तयार हुन्छु । मेरो कुरो सुनेपछि उनले एउटा ठूलो घाम छल्ने छाता (सन अम्ब्रेला) घचेट्दै घचेट्दै ल्याउँछर मेरो नजिकै रहेको एउटा खाली टेबलमा जोडि दिन्छ । त्यसपछि उनी केहि नबोलि मदेखि बिलय भै हाल्छ । उनी गएपछि मैले खास्सै उनको वास्ता गर्न छाड्छु । किनभने म त्यहाँदेखि देखिने दायाँबायाँको रमिता हेर्न व्यस्त हुन्छु । तर उनी फेरि फर्केर म कहाँ आउँदा हातमा एउटा ब्रेकफास्टको मेनु लिएर आउँछ । ऊँ आउने बितिक्कै मेनु मलाई दिन्छ र सोध्छ, –

“महाशय ! कुन जूस पिउनु हुन्छ ?”

“भन्नोस त, के के छ ?”

“स्याउँ, आँप, सुन्तला र अम्वाका छन्,” उनले भनेको त्यति बुझ्छु अरु अरेबियन भाषासँग मिसिएर बनेको अङ्ग्रेजी म त्यति बुझ्न सक्त्तिन ।

“ए हो र ? मलाई आँप असाध्यै मन पर्छ। सोहि ल्याइ दिनुहोस है,” अनुरोध टक्र्याउँछु ।

मेरो भनाइ सुनेपछि ऊँ बिजुलीको गतिमा भान्सा कोठातिर सुइँकुच्चा ठोकिहाल्छ । फेरि फर्किदा हातमा एक गिलास आपको झोल (जूस) लिएर फर्कन्छ । तिनै जूसलाई पिउँदै पिउँदै म सामुन्ने रहेका पिरामिडहरुकोदृश्य दोहर्याइ तेहर्याइ हेर्न थाल्छु ।

हुनत मानिसलाई साचो कुरा भनेको मन पर्दैन । त्यसैले अधिकतम मानिसहरु नराम्रोलाई पनि राम्रो भनेको मन पर्छ । त्यसैले विद्वानहरु साचो बोल्नु भनेको पनि क्रान्तिकारी हुनु जस्तै हो है भन्छन् । तर साच्चै साच्चै भन्ने हो भने आजभन्दा लगभग ४६ सय बर्ष अगाडि बनेको ति ढुङ्गाका थुप्राहरु देख्दा जो कोहि मानिसहरुका मन भरङ्गै हुन्छन् ।

मलाई पिरामिडको बिषयमा थोर बहुत ज्ञान भएता पनि धेरै छैन् । त्यसैले यतिबेला यस्तो लाग्छ – यी पिरामिडहरु कसरि बनेका होलान् ? कति जना मानिसहरुले बनाएका होलान् ? यिनीहरु बनाउने क्रममा कति जना मानिसहरु घाइते भए होलान् ?झन कतिले अनाहकमा आफ्नो जीवन गुमाउनु पर्यो होला ? मनभित्र कति हो कति अनुत्तरित प्रश्नहरुका भेलउर्लदै उर्लदै आइरहेको थियो। 

समय समयमा सहारा मरूभूमिदेखि उत्पन्न भएको बतास मन्दमन्द गतिमा मेरो नजिकै आएर अनुहारमा ठोकिन्छ । त्यतिबेला म खुसीले तरङ्गित हुँदै तिनै बताससँग रुमलिएर कायरोको पिरामिड नजर लगाइ रहन्छु । साच्चै ! मानिसहरुले सातौ आश्चर्यको पनि शिर गिजाको पिरामिड हो है भनेर त्यतिक्कै नभनेका रहेछन् । मलाई होटलको पाँचौ तलादेखि यतिबेला त्यस्तो अनुभूति भइरहेको हुन्छ ।

मैले सुने अनुसार यी पिरामिडहरु निर्माण गर्ने क्रममा सारा ढुङ्गाहरु इजिप्टको दक्षिणी सहरहरु लक्सर र आसवानदेखि ल्याइएको थियो । अनि तत्कालिन समयमा ती ढुङ्गाहरु ल्याउनको लागि नाइलनदीको प्रयोग गरिएको थियो । त्यसैले तीढुङ्गाहरु ढुवानी गर्न सजिलो होस भनेर पिरामिडहरु नाइल नदीको किनारमा बनाइएको थियो । तर हजारौ हजार बर्ष अगाडि पिरामिडहरुनाइल नदीको किनारमा निर्माण गरिएको भएतापनि अहिले नदी सधैसधैको लागि पिरामिडदेखि भागेर कोसौ टाढा पुगिसकेको छ ।  

हातमा जूस समातेर अनि दिमागलाई एकत्रित गरेर म पिरामिडको इतिहाससँग डुबुल्कि मारिरहेको हुन्छु । तर अचानक मेरो पछाडिदेखि छोरीको कलिलो आवाज सुनिन्छ, – “खै खै ! पिरामिडको दृश्य हेरौं ?”

त्यति भन्दै भन्दै छोरी मेरो नजिकै आउँछे । म उनलाई केहि भन्दिन । उनी आएकी दिशातिर हेर्छु । उनकी पछिपछि तारा र छोरा पनि आउँदै गरेको देख्छु । तर तारा मेरो नजिक आउँने बितिक्कै, – “वाह ! पिरामिड कति नजिक,” हसिलो मुद्रामा त्यति भन्छिन् । अझै त्यतिले नपुगेर, – “तपाइँले त धित मरिन्जेल हेर्नु भयो होला ? हामी त बल्ल बल्ल पो आउँदै छौं ।”उनको पुनःमुख खोलिन्छ । पिरामिड त्यति नजिक देखेर उनी हल्का बर्बराए पनि छोरा केहि बोल्दै बोल्दैनन् । तर उनले हातमा समाति रहेको मोवाइलले पिरामिडको केहि तस्विरहरु लिन सुरु गरि हाल्छन् ।

हामी चारै जना जम्मा भएपछि बेयराले फेरि नयाँ मेनुहरु ल्याउँछन् । उनले मेनु ल्याउँने बितिक्कै, – “हामीलाई मेनु सेनु केहि पर्दैन । चार जनालाई भक्कु पुग्ने गरि इजिप्सियन ब्रेकफास्ट ल्याइ दिनुहोस्,” सानो स्वरमा अनुरोध गर्छु ।

मेरो कुरो सुनेर “हस, हस” भन्दै उनी भान्सा कोठा तिर जान्छन् ।

बिहानीको खाजा खाइसकेपछि बेयरासँग, – “अब हामी पिरामिड जान्छौं । के एउटा ट्याक्सि खोजिदिनु सक्नु हुन्छ ?” अनुरोध टक्र्याउँछु ।

प्रति उत्तरमा, “सबैभन्दा राम्रो उपाय इनड्राइभप्रयोग गर्नु भए हुन्छ,” उनले सल्लाह दिन्छ ।

म केहि महिना अगाडिसम्म नेपालमा थिएँ । त्यतिबेला इनड्राइभको खुब प्रयोग गरेको कायरोमा झझल्को आउँछ । उनको कुरो सुनेर हतार हतार गोजिदेखि मोबाइल निकाल्छु । इनड्राइभको एप्स खोज्छु र कायरोको स्थानिय ठेगानाहरु सामयिक गर्छु ।

म इनड्राइभको प्रयोग गरेर एउटा ट्याक्सि मगाइ हाल्छु ।पाँच मिनेटपछि ट्याक्सि होटलको अगाडि आउने कुरो निश्चित भएपछिबेयरालाई बिहानीको खाजाको सेवा गरे बापत धेरै धेरै धन्यबाद छ है भन्दै गोजिबाट पाँच डलर (यूएस) निकालेर दिन्छु । ऊँ निक्कै खुसि हुन्छ । त्यहाँदेखि बिदा भएर हामी कोठामा मुनि तला जान्छौ र आ-आफ्नो हाते झोला टिपेर रिसेप्सनमा झर्छौं ।

हामी तल झर्दा प्रायजसो रिसेप्सनको सोफाहरु खाली देखिन्छन् । हामी तिनै खाली रहेकासोफामा थपक थपक बस्छौं । र, ट्याक्सिको प्रतिक्षा गर्न थाल्छौं । रिसेप्सनको वातावरण एकदम शान्त छ ।हुनत घरिघरि एक-दुई जना आगन्तुकहरु आउँछन र जान्छन् । हामी कसैलाई वास्ता गर्दैनौं । ढुकढाक बसि रहन्छौं । दश मिनेट जति समय बित्छ । तर ट्याक्सिको अत्तोपत्तोहुँदैन । बिदेशको ठाउँ हो । कस्तो ट्याक्सि पाइने हो भनेर मनमा हल्का पिर पर्छ ।

यसरि बसिरहँदा मलाई अचानक एउटा पुरानो कुरा स्मृतिमा आउँछ । एकचोटि तारासँग बब मार्लीको देश मोन्टिगो बे जमैका पुगेको थियौं । पानीजहाजदेखि निस्केर त्यहाँ पनि यसरि नै ट्याक्सि पर्ख्यौं । ट्याक्सि आएपछिचालकलाई नजिकै रहेको सामुन्द्रिक तट (बीच) मा जानको लागि अनुरोध गर्यौ । अश्वेत ट्याक्सि चालकले नजिक भो भनेर सात्तो खाइन्जेल हप्काएको सम्झेर एकचोटी पागल झै फिस्सै हास्छु । यहाँदेखि पनि पिरामिड एकदम नजिक देखिन्छ । तर गर्मीले पाइलाहरु चाल्न मान्दै मान्दैन । त्यो दिनलाई स्मंरण गरेर तारालाई एक झलक हेर्छु । छोरा र ऊँआ-आफ्नो मोबाइलमा अनुहार गाडिरहेका देखिन्छन्।

म आरेमेरे परेर बसिरहेको बेला एक्कासि छोरीले, “बाबु ! खै गाडी ?” भन्छिन् । त्यतिबेला झसङ्गै झस्किन्छु । उनको कुरा सुनेर रिसेप्सनको डेस्कमा पुग्छु र सिधै अगाडि देखिएका दुईजना स्वगतिकाहरु मध्ये दाहिनेतिर उँभिरहनेलाई, –

“मलाई माफ गर्नोस् त ?”

“भन्नोस म के सेवा गर्नु सक्छु ?”

“मैले इनड्राइभदेखि एउटा ट्याक्सि मगाएको थिए । अहिलेसम्म आउँदै आएन । अब के गर्ने होला ?”

“हुन्छ, म कुरा गरिदिन्छु ।”

उनलाई मेरो मोबाइल दिन्छु । उनी चालकसँग अरेबियन भाषामा बोल्न थाल्छिन् । अनि मलाई, “एकछिन है,” भनेर होटलदेखि बाहिर निस्कन्छिन् । तर उनी फर्केर आउँदा केहिबेर अगाडि हामीले खाजा खाने स्थानमा भेटेका बेयरासँग फर्केर आउँछिन् । तर उनी मेरो नजिक आउने बितिक्कै, “यो अगाडिकोसडकको नाम अल मानसुरिया सडक हो । तर यतातिर एकतर्फि (वान वे) आउने मात्र बाटो छ । त्यसैले ट्याक्सि होटलको पछाडिको बाटोमा तपाइँहरुलाई पर्खेर बसेका रहेछन् । यी यो भाइसँग जानुहोला । उनले ट्याक्सिसँग भेट गराइ दिन्छ,” सारा केस बर्किले ढाकिरहेकी छिन् । तर उनकी अनुहार खुला छे र मसँग मस्किदै मस्किदै त्यति भन्छिन् ।

तर ती युवतीहरु जति मस्के पनि आफू चाहिँ पटक्कै मस्किन हुँदैन हैनत्रभने घाँटि साटि जान्छ भन्ने कुरो पटक पटक सैनिकमा छँदा र अरेबियन मुलुकहरु जाँदा पाठ सिकेको थिएँ । त्यसैले खुट्टा थरर कमाउँदै कमाउँदै उनलाई धेरै धेरै धन्यबाद भन्छु । त्यसपछि उनले भने बमोजिम हामी आफ्नो बाटो तताउँछौ ।

तर यसरी हिड्दै गर्दा छोरी मेरो नजिकै आउँछिन र सुटुक्कै मेरो कान फुक्छिन, -“बाबु ! मेरी साथि जेनिफार डेभिस अस्ति भर्खर इजिप्ट घुमेर फर्केकी थिइन । यहाँका ट्याक्सि चालकहरु त्यति राम्रो हुँदैन रे है । एकदम जोगिनु पर्छ,” उनले त्यस्तो सल्लाह दिएकी थिइन। नभन्दै उनको त्यति कुरा सकिन पाउँदा नपाउँदै हामी होटलको पछाडिको भागमा रहेको खाताबगल्लीमा पुगेर ट्याक्सिलाई भेट्छौं । ट्याक्सिसँग भेट भएपछि बेयरा होटलको रिसेप्सन तिर लाग्छन् । हामी ट्याक्सिभित्र जमेर बस्छौं ।

“लु – अब जाउँ है,” चालकलाई अनुरोध गर्छु ।

“तपाइँहरु कहाँ जाने होला ?” भाँचिएको अङ्ग्रेजीमा चालकले सोध्छन् ।

अघि इनड्राइभमा कहाँ जाने भनेर ठाउँ (लोकेसन) दिइसकेको थिएँ । चालकले फेरि सोध्दा म तीन छक्क पर्छु । तैपनि बिचराले कुरो बुझेन होला भनेर “पिरामिड जाउँ” भन्छु ।

“ए ! हो र ? तर यहाँ नजिकको गेट त बन्द पो छ । त्यसकारण अलिक घुमेर जानु पर्छ ।” 

“ठिक्कै छ नि । कहिले देखि बन्द भाको हो र ?”

“आज ठेक्कै एक हप्ता भयो ।”

“अनि पैसा त फरक पर्दैन होला नि ?”

“होइन परिहाल्छ नि । अलिक घुम्नु पर्छ । अझै अर्को गेट गइयो भने त झन टाढा पर्छ । यसो मिलाएर दिनु न ।”

बल्ल बल्ल ट्याक्सि पाइयो भनेर म अगाडिको सिटमा खस्रे भ्यागुता झै गमक्कै फुलिएर बसिरहेको थिएँ । तर उनको कुरो सुनेर एकछिन अक्क न बक्क हुन्छु । मेरो ठीक पछाडि छोरी बसिरहेकी थिइन । छोरीले, – “बाबु ! मैले अघि नै भनेको थिए नि होइन ? यसले पैसा बढाउनको लागि त्यसो भन्दैछ,”सावधान रहन होला है भन्दै छोरीले सल्लाह दिन्छिन् ।

“यहाँको चालकहरुको बानी ठेक्कै लसभेगाज अमेरिकाको जस्तै रहेछ । अब के बाझि रहनु । भो जाउँ,” तारा पनि बोल्छिन् ।

“भरै पैसा तिर्ने बेलामा बाझ्नु सक्नु हुन्छ के ? कि अर्को खोज्ने त ?” छोराले सोध्छ ।

“होटलदेखि बाहिर निस्कने बितिक्कै पसिनाले लुथुक्रै भएको छु । यस्तो गर्मीमा कहाँ अर्को खोजि हिड्ने ?”सानो स्वरमा त्यति भन्छु ।

आफूलाई कायरोको बाटोको बिषयमा फुटेको कौडि थाह छैन् । त्यसैले बेखुसी मुद्रामा चालकलाई, – “ल हजुरलाई जहाँदेखि सजिलो हुन्छ, त्यहाँदेखि नै जाउँ,” भन्छु ।

मेरो कुरो सुनेपछि ट्याक्सि खाताब गल्लीदेखि थोरै अगाडि निस्कन्छ । र,अल साम्स सडकमा पुगेर बायाँतर्फ मोडिन्छ । अगाडि कस्तो कस्तो बाटो होला भनेर म मोबाइलमा गुगल नक्सा हेरि टोपल्छु । ट्याक्सि लगभग सय मिटर गुड्दा नगुड्दै मूख्य सडक अल रेमिरियामा पुगेर ठोकिन्छ । त्यहाँदेखि ठीक दाहिने मोडिएपछिसडकमा लगभग १५ मिनेट जति एक रफ्तारले गुडिरहन्छ । त्यसपछि मात्र बेनामे गल्लीभित्र छिर्छ । तर सबैभन्दा खुसीको कुरो चाहिँ त्यहाँदेखि सिधै अगाडि पिरामिडको टिकट कार्यलय देखापर्छ ।

मध्यन्हको घामले गिजा सहर धपक्कै बलेको छ । त्यस्तो मौसममा टिकट काट्ने स्थान हेर्दा मधेशको माछा बजारको होहल्लाको पुरै तिर्सना मेट्छ । त्यस्तो चर्को घाम र मान्छेहरुको होहल्ला देख्दा ट्याक्सिदेखि झर्न पटक्कै मन लाग्दैन तर यहाँसम्म आउन थोरै मेहनत परेको छ र भन्ने सोच्छु ।

खोटाङको शान्त गाउँ बुईपामा हुर्केको मान्छे यहाँ त्यस्तो वातावरण देखेपछि, – “बुढिया ! यहाँ त चोर पनि बेस्सरि लाग्छ होला हगि ?” तारालाई सानो स्वरमा सोध्छु ।

मेरो कुरो सुने पनि तारा केहि बोल्दै बोल्दैनन् । मान्छेहरुको रमिताले तीन छक्क पर्छिन् । तर छोरीले, – “यो त बार्सोलोनाभन्दा झन खतरा रहेछ,” जबाफ फर्काउँछिन् ।

चालकले आफ्नो गतिलाई घटाउँदै लान्छ । तर उनले ट्याक्सि रोक्नु अगाडि, – “यो सिधा पर अगाडि देखिएको पिरामिडकोटिकट कार्यलय हो । त्यहाँ गएर टिकट काट्नु पर्छ । टिकटको दाम प्रति व्यक्त्ति ७ सय इजिप्सियन पाउन्ड हो । अथवा यसो भनौं । एकजनाको १४ डलर (युएस) पर्छ । यहाँ भएका मान्छेहरुले जे सुकै भनेता पनि तपाइँहरु आफैले टिकट काट्नु होला । अरुकसैलाई काट्न नलगाउनु होला । टिकट काटेर फिरेपछि यो दायाँतिर देखिएको ढोकादेखि भित्र छिर्नु होला है । तर मैले यसो भन्दै गर्दा एउटा कुरा याद राख्नोस् –यहाँ कसैसँग बोल्दै नबोल्नु होला है,” चालकले खुलेरै हामीलाई सल्लाह दिन्छन् ।

एकप्रकारले उनको कुरो सुनेर मलाई निक्कै खुसी लाग्छ । त्यतिबेला यो चालक इमान्दर नै रहेछ भन्ने कसो कसो मलाई अनुभुति हुन्छ । इनड्राइभको प्रयोग गरेर ट्याक्सि बोलाउँदा जाबो सय इजिप्सियान पाउन्डभन्दा थोरै भाडा उठेको थियो । तर अहिले यस्तो लाग्यो – आखिर यो मान्छे राम्रै रहेछ । त्यसैले, “ल दुई सय लिनुहोस्,” भन्दै खल्तिदेखि निकालेर त्यति पैसा दिन्छु । दुईसय थापेर ऊँ मख्ख पर्छ । “बुढी! कि अलिक थपिदिउँ ?” तारालाई एकवचन सोध्छु । मेरो कुरो सुनेर छोरीले हतार हतार, “बाबु ! हिजो रातीको चालकलाई पनि फाल्टो पन्ध्र डलर दिनु भयो । भो भो पर्दैन । आज धेरै नदिनु है,” त्यति भन्छिन् ।

प्रति उत्तरमा, “छोरी ! हिजो त अनिदो थिए र पो धेरै दिए । आज बिलकुल होसमा छु,” त्यति भन्दै भन्दै ट्याक्सिदेखि बाहिर निस्कन्छु ।

ट्याक्सिदेखि निस्केपछि मलाई अचानक बेलायतको मौसमको खुब याद आउँछ । हिजो हामी यहाँ आउँदै गर्दाउताको तापक्रम १२ डिग्री सेन्टिग्रेड थियो । तर अहिले कायरोको तापक्रम भने ४० डिग्री सेन्टिग्रेड पुगेको छ । अझै मध्यान्हको चर्के घाम ठीक आफ्नै टाउको माथि मस्तसँग हासिरहेको छ । तर घाम हासेर के गर्नु र ? गर्मीले यो मन रोइरहेको छ ।

ट्याक्सिदेखि निस्कने बितिक्कै पिरामिडकोटिकट पिरामिडकोटिकट भन्दै छ–सात जना मान्छेहरुले सर्लक्कै हामीलाई घेरिहाल्छ । तर हामी कसैको वास्ता गर्दैनौं र उनीहरुसँग एकवचन पनि बोल्दै बोल्दैनौं । त्यहाँदेखि सिधै अगाडि रहेको टिकट कार्यलयतिर क्रमशः अगाडि बढिरहन्छौं ।

एकछिन अगाडि ट्याक्सि चालकले कोहिसँग बोल्दै नबोल्नु है भनेको कुरो म त्यसबेला निरन्तर सम्झिरहन्छु । तैपनि दायाँबायाँ हेर्दै नहेरि एकछिन अगाडि बढेर एकचोटी पछाडि फर्किन्छु । ठीक सोहिबेला, “बुढो ! यतिका धेरै गर्मी र मान्छेको हुलमुलले त पिरामिड घुम्न नसकिएला जस्तो छ,” ताराले आँट हार्दै त्यति भन्छिन् । उनको कुरो सुन्ने बितिक्कै, – “बाबु ! मम्मीको कुरा नसुन्नुक्या । खुरुखुरु टिकट काटनको लागि हिड्नोस्,” छोरीले मलाई सानो खालको हुकुम दिन्छिन् ।

उनकी कुरा सुनेर पुनःम अगाडि बढ्छु । यसरी अगाडि बढ्दै गर्दा दुई-चार जनाटिकट दलालहरुसँग भेट हुन्छन् । उनीहरुलाई पार गर्दै क्रमशः हिड्छु । तरअफसोच उनीहरुलाई छाडेर के गर्नु र अरु थुप्रै भेटि हालिन्छन् । यहाँदेखि जोगिएर निक्कै मुस्किलले टिकट काउन्टरको अगाडि पुग्छु ।

त्यहाँ सिनेमाहलहरुमा टिकट काट्ने झ्यालहरुजस्तै दुइटा झ्यालहरु देखिन्छन् । झ्यालको नजिकै उभिरहेको तर हेर्दा मरिन्च्यासे अनुहार परेको एकजना इजिप्सियन युवाले एकातिर पैसा (क्यास) तिर्ने र अर्कोतिर क्रेडिट कार्डबाट तिर्ने झ्यालहरु हुन है भनेर मलाई भन्छ । उनले भनेको सुनेर म चाहिँ क्रेडिट कार्डबाट पैसा तिर्ने पङ्त्तिमा पङ्त्तिबध्द हुन्छु । त्यसपछियसो पछाडि फर्केर एक नजर हेर्छु ।छोरी मैरै ठीक पछाडि उँभिरहेकी देखिन्छिन् । किनभने मैले जिउँमा एउटा झोला भिरिरहेको थिएँ । कसैले चोर्छ कि भनेर उनी तिनै झोलाको पाले गरिरहेकी हुन्छिन् ।

छोरीसँग टिकट काट्ने स्थलमा पुगेर हामीतारा र छोरालाई पर्खन थाल्छौं । एकछिनपछि तारा ढलक ढलक गर्दै हाम्रो नजिक आउँछिन् । तर छोराको भने अत्तोपत्तो हुँदैन् । छोरा उनीसँग नआएपछि एकचोटी चश्मा पुछेर निक्कै पछाडिसम्म हेर्छु । त्यतिबेला निक्कै टाढा पर एकजनाइजिप्सियन दलालसँग ऊँ बोलिरहेको प्रष्ट देख्न सक्छु ।

म छोरालाई त्यसरि एकछिनसम्म हेरिरहेको बेला, -“हेर्नोस् न ! तपाइँको छोराले तपाइँले भनेको कुरा पटक्क मान्दै मान्दैन् । सायद यतिबेला दलालहरुसँग पथप्रदर्शक (गाइड) को बिषयमा कुरा गरिरहेको होला । अघिदेखि गाइड गाइड भन्दै हुनुहुन्थ्यो ?” छोरीले सानो स्वरमा गुनासो पोखेर मलाई सुनाइन ।

“छोरी ! भो भो उस्को रहर पुर्याओस् है । म केहि भन्दिन । आखिर मान्छेको एक बारको जुनी त हो,” भन्छु ।

हामी त्यति बोल्दै गर्दा हाम्रो टिकट काट्ने पालो आउँछ । त्यसपछि काउन्टरको कर्मचारीलाई चारवटा टिकट दिनुहोस है भनेर माग्छु । उनले टिकट दिएपछि खल्तिदेखि क्रेडिट कार्ड निकालेर पेलिदिन्छु । जम्मै टिकटहरु हातमा परेपछि “लु ! आउनु है,” भन्दै म अगाडि अगाडिहिँड्छु ।अनि सबैजना मेरो पछिपछि आउँन थाल्छन् । एकछिन हिँडेर दाहिने घुम्छौ र मूख्य ढोकादेखि अन्तिमचोटी टिकट जाँच गराएर भित्र छिर्छौं ।

ढोकादेखिभित्र छिर्ने बितिक्कै हामी “ग्रेट स्फिंक्स” को अनुहार ‍अगाडि पुगेर ठोकिन्छौं । गिजामा पूर्वतिर फर्केर बसेको ग्रेट स्फिंक्स चुनढुङ्गा बाट बनेको विश्व प्रशिध्द मूर्ति हो। एउटै ढुङ्गामा बनेको योमूर्ति मानव जीवनको इतिहासमा अहिलेसम्म सबैभन्दा ठूलो हुन गएको छ । यसमा मानवको टाउको, शिहँको शरिर र चिलको पखेटा भएकोहुनाले यसलाई पौराणिक प्राणी भनिन्छ । यसको अगाडिको खुट्टाको पन्जादेखि पुच्छरसम्म २सय ४० फिट लामो रआधार (बेस) देखि टाउकोको माथि टुप्पीसम्म ६६ फिट अग्लो र चौडाइ ६२ फिट छ ।

प्राचीनकालमा निर्माण भएको यो स्फिंक्सको खास खासमा कहिले निर्माण भयो होला भनेर अहिलेसम्म पुरातत्वविदहरुले ठेक्कै भन्न सकिरहेका छैनन् । तर पुरातात्विक प्रमाणहरू अनुसार यसको निर्माण फेरो खुफुको छोरा खाफ्रेले गरेका हुन है भनेर शंका गर्ने गरिन्छ । यदी त्यस कुरोमा सत्यता छ भने यसको निर्माण आजभन्दा लगभग ४५ सय बर्ष अगाडि भएको हुनुपर्छ । तर कतिले लगभग ईसापूर्व २५५८ – २५३२ भित्र निर्माण भएको हुनुपर्छ भनेर तर्क गरेका छन् । हुनत जहिले बनेको भए पनि यो बनाउनुको मूख्य उदेश्य भने ग्रेट पिरामिडको रक्षक वा पाले काम गर्नु नै हो है भन्ने बुझिन्छ ।

इतिहासकारहरुले सन् १७९८ मा ग्रेट स्फिंक्सको ठीक सामुने नेपोलियनले उनको घोडा मरेङ्गोमा चढेर स्फिंक्स मज्जाले हेरेका थिए भनेका छन् । अझै धैरैबिद्वानहरुले के पनि भन्थे भने यिनै समयमा नेपोलियनका सिपाहीहरुले स्फिंक्सको नाकलाईतोप पडकाएर भाँचि दिएका थिएँ ।किनभने यसको नाकअहिलेसम्म भाँचिएको देख्न सकिन्छ । यधपि उक्त्त कुरो पछि गएर असत्य साबित भयो । किनभने अरब इतिहासकार अल-माक्रिजीले उनको पुस्तकमा महम्मद साइम अल-दाहरले यसको नाक भाँचेका हुन है भनेर सन् १३७८ मा लेखेका छन् ।

ग्रेट स्फिंक्सको इतिहास सम्झदै बिर्सदै गर्दा छोराछोरी हामीलाई त्यहिँ छाडेर चुइँकिदै चुइँकिदै पिरामिडतिर लागि हाल्छन् । उनीहरुलाई यो मूर्तीको बिषयमा त्यति धेरै ज्ञान नभएर होला सायद यहाँ बस्न त्यति धेरै मानेनन् भन्ने शंका काट्छु । हजारौ हजार बर्षसम्म सहारा मरुभूमीदेखि उडेर आएको बालुवाले मुर्तीलाईपुरेर पहिले पहिले यसको केवल टाउको मात्र देखिने गर्थ्यो । तर आजभोली मूर्तीको वरिपरिको सबै बालुवा हटाएपछि यसको भिमकाया रुप देख्न सकिन्छ ।

ग्रेट स्फिंक्सको ठीक अगाडि तारासँग वाल्ल परेर निक्कै लामो समयसम्म तिनै मुर्ती झै निस्तेज खडा हुन्छौं । अझै नेपोलियन बोनापार्टको नक्कल गरेर इजिप्टको सबैभन्दा पुरानो मूर्तीको अगाडि थाकिन्जेल तस्विरहरु लिन्छौं । तस्विरहरु लिइसकेपछि सडकको पेटी पेटि हिँड्न थाल्छौं । तर हामी त्यसरि हिड्दै गर्दा पक्कि सडकमा अंसख्य कोचहरुको बिगबिगी देखा पर्छ ।ती कोचहरुले दिने सेवा सित्तैमा रहेछ । वास्तवमा सित्तैमा त के हुन्थ्यो र ? पिरामिडभित्र पस्ने टिकटमा नै उक्त्त कोचको भाडा कटाएको हुने रहेछ । हामीले त्यस्तो कुरो त्यहाँ पुगेर चाल पाए पनि कोचको सेवा भने प्रयोग गरेनौं । बरु आफ्नै हात्तिपाइले खुट्टालाई दुःख दिन्छौंर गिजाको पिरामिड अगाडि पुग्छौं ।

तर त्यहाँ पुग्ने बितिक्कै, – “आम्मामा ! के यो मान्छेले नै बनाएको हो त ? मलाई त शंका लाग्छ,” दुवै हात कम्वरमा राखेर तारा छक्क पर्दै मलाई त्यस्तो प्रश्न गर्छिन् । गर्मी पनि असाध्यै थियो र पिरामिडको कथा उनलाई बर्षौ अगाडिदेखि सुनाउँदै आएको थिएँ । अब म त्यसबेला उनकी प्रश्नको उत्तर दिने जमर्को गर्दिन । बरु जिन्दगीमा पहिलोचोटी त्यति नजिक्कै पुगेर पिरामिड हेरेपछि आफ्नो मुटुकोधडकनलाई काबुमा राख्दै निक्कै लामो समयसम्म त्यसको सौन्दर्यतालाई धीत मरिन्जेल हेरिरहन्छु । किनभने मलाई यो मेरो निक्कै मेहनतको प्रतिफल हो भनेर भित्रिमनदेखि लागिरहेको थियो ।

तर म चुत्थोमान्छे । मेरो विचारमा म धेरैबेर अडिग हुन सक्दै सक्दिन । त्यसैले ताराको मुहारलाई एकझलक हेर्छु । अनि, “के भन्यौ रे – कान्छी ?”भन्दै उनकी ध्यान मतर्फ खिच्छु ।

उनलेबहुचर्चित अंङ्ग्रेजी मार्क्स एन्ड स्पेन्सर दोकानमा किनेकी एउटा फिलफिले छत्रे टोपी शिरमा उनीरहेकी थिइन । हावाले कतै टोपी उडाइ हाल्छ कि भनेर दुईहातले समात्दै, – “यो पिरामिड कस्ले बनाको अरे – बुढा ?”

“अँ, यो बनाउने मानिसको नाम फेरो खुफु हुन् । उनी १ सय ७० जना प्राचीन मिश्रको फेरोहरुमा सबैभन्दा शक्त्तिशाली फेरो हुन् । भनिन्छ – उनी चौथो राजबंशको दोश्रो फेरो हुन् । उनको बाबुको नाम फेरो स्नेफेरो र आमा हेट्फेरेजहुन् ।यदि कसैलाई नढाटि भन्ने हो भने उनी मभन्दा धेरैभाग्यमानि मानिस रहेछन् । किन मैले त्यसो भनेको हो भने उनको दुई-दुई जना त श्रीमती थिए रे । एउटिकी नाम मेरिटिट्स प्रथम हुन् । जो आफ्नै सौतिनी आमाबाट जन्मेकी बहिनी हुन् । तर अर्किकी नाम हेनत्सेन हो । उनीहरुबाट जम्मा ९ जना छोरा र ५ जना छोरीहरु जन्मेका थिए ।”

“खास खासमाफेरो भन्नाले के बुझिन्छ नि ?”

“फेरो इजिप्सियन पेरा शब्दबाट आयतित शब्द हो । जसलाई प्राचिन मिश्रको पालामा राजपरिवारको महान घर, मूल घर वा राजदरवार भन्ने बुझाउँछ । कालान्तरमा महान घरमा बस्ने मानिसहरुलाई फेरो भन्ने शब्दले बिभुषित गर्न थालियो । यधपि यो कहिलै पनि राजा वा रानीको आधिकारिक उपाधि छँदै थिएन । पुरातत्वविदहरुले फेरोहरुको समयलाई तीन राजबंशमा बिभाजन गरेका थिए । पुरानो राजबंश, मध्य राजबंश र नयाँ राजबंश । पहिलो फेरोको नाम नरमार हो अथवा उनलाई मेनाज पनि भनेर चिनिन्छ । उनले इसापूर्व ३१५० देखि प्राचीन मिश्रमा शासन प्रारम्भ गरेका थिए । र, प्राचीन मिश्रको अन्तिम फेरो चाहिँ क्लियोपत्र हुन् । उनले इसापूर्व ३० सम्म शासन गरेकी थिइन । फेरोहरुले प्राचिन मिश्रमा लगभग ३ हजार बर्ष जति शासन गरे। र, तिनताका राजा वा रानीलाई लिङ्गको परवाह नगरि दिइएको उक्त्त उपाधि फेरो रोमन साम्रज्यले पराजय गरेपछि उनीहरुको इतिहास अन्त भएको थियो ।

“अनि यो पिरामिड कहिले बनेको हो रे ?” 

“भनिन्छ – खुफु इसा पूर्व २५८९ देखि २५६६ सम्म फेरो भएका थिए । तर पुरातत्वविदहरुले ठेक्कै मिति तिथि भने कसैले सहि भन्न सकि हालेका छैनन् । सुनन – यस्को निर्माण गर्नको लागि हरेक दिन १० हजार मानिसहरुले यहाँ काम गर्दथे । ती मानिसहरुलाई खट बनाउनको लागि मात्र लगभग १० बर्ष समय लागेको थियो । त्यसपछि पुरै पिरामिड बनाउन थप १० -१२ बर्ष जति लाग्यो । त्यस हिसावले यसलाई पूर्णरुपमा बनाउन लगभग २० बर्षभन्दा बढि समय लागेको हुनसक्छ । लगभग ४५ तला भएको यो पिरामिडमा साढे २ टन देखि १५ टनसम्मका ढुङ्गा प्रयोग गरिएका छन् । अझै यहाँको राजकिय कक्षा (रोयल च्याम्वर) मा त्यो भन्दा ठूल्ठूला ढुङ्गाहरुका प्रयोग भएका छन् भनेर भनिन्छ । यहाँ अनुमानित २ दशमलव ३ मिलियन चुनढुङ्गाहरुका प्रयोग भएका छन् । त्यसैले यसको तौलको मात्र कुरा गर्ने हो भने पनि ५ दशमलव ७ मिलियन टन छ भनेर भनिन्छ । जेहोस यसको निर्माण आजभन्दा लगभग ४६ सय बर्ष अगाडि भएको हो है भनेर पुरातत्वविदहरुले तर्क गर्ने गर्छन् ।”

ग्रेट पिरामिडको छेवैमा तर घामदेखि जोगिन ओझेलमा बसेर गरेको तारासँगको संबाद अन्त हुन्छ । तत्कालिन समयमा प्राचीन मिश्रकोफेरो देवता र जनताहरु बीच मध्यस्तकर्ताको रुपमा अति प्रख्यात थियो । भगवान र मानिसहरुको बिचमा रहने फेरोहरुले मृत्यु पछिको जिवनलाई झन धरै बिश्वास गर्दथे । त्यसैले धेरैजसो फेरोहरुको लागि मृत्युपछि चाहिने गरगहना र खजनाहरु उनीहरुको शवगृहमा राख्न लगाएको अहिलेसम्म उत्खनन गर्दा भेटिरहेका छन् ।वास्तवमा पिरामिड बनाउनको मूख्य उदेश्य पनि फेरोहरुको शाही दफनको लागि हो । त्यसैले उनीहरुको अन्तिम बिश्रामस्थलको लागि पिरामिड बनाइएका हुन भनेर यकिन गर्न सकिन्छ । फेरोको अन्तिम बिश्रामस्थल सामन्यतय पिरामिडको सबैभन्दा मुनिको चिहान कक्षाभित्र हुन्छ ।

तर अरु पिरामिडहरुलाई छाडेर गिजाको ग्रेट पिरामिडमा खुफुको शवगृह चाहिँ राजकियकक्षा (रोयल च्याम्वर) मा अवस्थित छ । पुरातत्वविदहरुले जब पिरामिडको बिषयमा खोजि तथा अनुसन्धन गर्न सुरु गरे । त्यतिबेला खुफुको चिहान बिलकुल खालि थियो । अझै शवपेटि भुइँमा बङ्लङ्गै लडेका थिए । उनीहरुले के बिश्वास गरे भने उनको शरिर र खजनाहरु लुटेराहरुले शताब्दि अगाडि नै लगिसकेका थिए । तर खुफुले नैपिरामिड बनाएका हुन है भन्ने प्रमाण त्यहाँ भएको शिलालेखहरु र चित्रलिपीहरु बाट प्रष्ट चाल पाउन सकिन्छ ।

खुफुको यिनै समाधिस्थलभित्र नेपोलियन बोनापार्ट एक्लैले निक्कै लामो समय बिताएका थिए भनेर यदाकदा सुन्न सकिन्छ । त्यति महान नेताको त्यहाँदेखि निस्कदा उनको विचारमा परिवर्तन भएको थियो भन्ने इतिहासकारहरुले बताउने गरेका छन् । त्यसैले यहाँभित्र केहि न केहि शक्त्ति छ भनेर आशंका गर्ने गरिन्छ । तर खुफुको इतिहासकै कुरो गर्दा सबैभन्दा खेदको कुरो चाहिँ के छ भने प्राचीन ग्रिक इतिहासकार हेरोडेटसले उनको पुस्तक ‘हिस्टोरिय’ मा उनको बिषयमा सबैभन्दा धेरै नकरात्मक रुपमा चित्रण गरेको पाइन्छ ।

गिजाको मौसमलगभग ४० डिग्रीसेन्टिग्रेड छ । मैले तारालाई घरिघरि पिरामिडको इतिहास भुकिरहँदा उनकी दिमाग तातिदै जान्छ । धेरै दिमाग तातिएपछि उनी मसँग बोल्न छाड्छिन् । आफ्नै श्रीमती हुन् । जाबो हाम्रो बिहे भाको नै पुरा पुरा ३८ बर्ष भैसकेको छ । उनकी हृदय हिउँ जस्तै छ । एक्कैछिनमा पग्लिहाल्छ भन्नेमा बिश्वस्त बन्छु । त्यसपछि म चाहिँ बाफ रे बाफ भन्छु र त्यहाँका ढुङ्गाहरुलाई पटक पटक छुन्छु । कुनै कुनैलाई उफ्रदै कुल्चन्छु ।तिनीहरुको तस्विर लिन्छु । मोबाइलदेखि भिडियो बनाउँछु । अनि भित्रि हृदयदेखि नै खुसी हुन्छु । अनि हेर ! आजभन्दा लगभग ४६ सय बर्ष अगाडिका मानवहरुले बनाएका संरचनामा टेक्न पाउनु यो मेरो अहोभाग्य नै हो भन्छु ।

वास्तवमा तारालाई विश्वको इतिहास सम्बन्धि त्यति धेरै जान्ने रहर छैन् त्यसैले धेरै जान्न पनि खोज्दिनन् । तैपनि यहाँ आउँदा उनी पनि निक्कै खुसी देखिन्छिन् । हुनत प्राचीनकालमा निर्माण भएको सातौ आश्चर्यको पनि पहिलो आश्चर्यमा आइपुग्दा जो केहि मान्छे यसै प्रफुल्लित भैहाल्छन् । त्यसैले उनी पनि थोर बहुत प्रफुल्लित नै छिन् भन्ने मैले आकलन गर्छु ।तरप्राचीन मिश्रको भाषा, धर्म, संस्कृति र फेरोहरुको इतिहास (इजिप्टोलोजी) दशकौ बर्ष अध्ययन गरेको कुरो म तारालाई दुई-चार घन्टामा बताएर के साध्य हुन्थ्यो र ? त्यसैले त्यति धेरै भन्दिन ।

उनले धेरै जान्न नखोजे पनि मौकाको फाइदा उठाउँदै यी तीनवटा पिरामिडहरु क-कस्ले बनाएका हुन् भनेर उनलाई बेलिबिस्तार लगाइ दिन्छु । पहिलो पिरामिड खुफुले बनाएका हुन् । दोश्रो पिरामिड चाहिँ उनको छोरा खाफ्रेले बनाएका हुन् । र,अन्तिमको पिरामिड खाप्रेको छोरा मेनकाउरेले बनाएका थिए। तिनै वटा पिरामिडहरुलाई हातको औलाले घोचेर त्यति भन्छु ।

गिजामा रहेकाखुफुको पिरामिड तीनवटा पिरामिडहरुमध्ये सबैभन्दा पुरानो र सबैभन्दा अग्लो पनि छ । यसको निर्माण हुँदा यो झन ४ सय ८१ फिट अग्लो थियो । तर अहिले पिरामिडको बाहिरको चुनढुङ्गाहरु बाट बनेको आवरण केहि बाँकी छैनन् । तर खाफ्रेको पिरामिडको टुप्पामा भने अहिलेसम्म नै आवरण देख्न सकिन्छ । ग्रेट पिरामिडको आवरण हराएपछि अहिले लगभग ४ सय ५० फिट जति मात्र यसको उँचाइ छ । तर आधार (बेस) चाहिँ अहिलेसम्म चारैतिर बराबरि छ । जुन ७ सय ५६ फिट लामो रहेको छ ।

ग्रेट पिरामिडको निर्माण भएपछि लगभग ३८ सय बर्षसम्म यो संसारको सबैभन्दा अग्लो मानव निर्मित संरचना भएको थियो । तर सन् १३११ मा बेलायतमा लिङ्कन क्याथेड्रलको निर्माण भयो । त्यसपछि यसको रेकर्ड सधै सधैको लागि तोडिएर गएको छ । तर एउटा कुरो चाहिँ के सत्य छ भने अहिले आएर हामीले जुन पिरामिड देखिरहेका छौं । तत्कालिन समयमा योभन्दा ज्यादै ठूलो बनेको थियो ।

हरेक बर्ष कायरो इजिप्ट पुगेर लगभग १४ मिलियन मानिसहरुले पिरामिडको प्रत्यक्ष दर्शन गर्ने गरेका छन् । तर एउटा कुरो चाहिँ के सत्य रहेछ भनेअप्रिल वा मे महिनातिर कायरो जानु भनेको तातो आगोमा हामफाल्नु जतिक्कै चर्को हुने रहेछ । घामले मानिसको अनुहारमासिधै पोल्नेभन्दा पनि मरुभूमीदेखि दिनभरि तातिएर आएको बालुवाले भत्भति पोलेको अनुभव ६० बर्षको उमेरमा मैले पहिलो पटक गरेको छु । पिरामिड बाहिर त यस्तो तातो छ । झन त्यसभित्र गैयो भने दिनभरि तातिएका ढुङ्गाँको राप खेप्न के सकिन्थ्यो होला र भन्दै हामी पिरामिडभित्र पस्ने आँट गर्दै गर्दैनौं ।

त्यहाँदेखि तारासँग निस्केर हामी तीनवटा पिरामिडहरुकोएक्कै साथ उत्तम दृश्यवलोकन गर्ने स्थान ‘भ्यु पोइन्ट’ जानको लागि कोच पार्कतर्फ लाग्छौं । कोच पार्ककेहि उँच्च र निक्कै फराकिलो स्थानमा रहेको छ । तर त्यहाँ पुग्ने बितिक्कैघोडा चालकहरु, ऊँट चालकहरु र पथप्रदर्शकहरुसँग हाम्रोवाकदुध्दसुरु भै हाल्छ । हुनत त्यहाँदेखि भ्यु पोइन्ट जान लगभग ८ सय मिटर जति टाढा होला । तर सहारा मरुभूमीदेखि उत्पन्न भएको तातो हावाले अनुहारमा छुँदा त्यति धेरै हिँड्न सक्दै सकिदैन भन्ने हाम्रो मनशाय हुन्छ । त्यसैले घोडा वा ऊँटमा चढेर यात्रा गर्नु पर्ने हाम्रो बाध्यता छ ।

कोच पार्कमा तारालाई घोडा कि ऊँट बाट जाने भनेर एकचरण सोध्छु । पहिले एकचोटी लान्जारोटी टापु क्यानरी र अर्को चोटी दुवाईको डेजर्ट सफारीमा ऊँट चढेरयात्रा गरेकी हुनालेउनी ऊँट यात्रालाई स्वीकार गर्दिनन् । बरु डब्लिन, आयरल्यान्डमा छँदा रथदेखि यात्रा गरेकी र त्यो यात्रा असाध्यै मन पराएकी उनले एकपटक स्मंरण गर्छिन । त्यसपछि रथदेखि नै जाने भन्छिन् । अब उनकी रहर नै मेरो पनि अन्तिम रहर भै हाल्छ । त्यसैले हामी रथदेखि भ्यु प्वोइन्ट जाने निधो गर्छौं ।

नभन्दै अब म नजिकै उँभिरहेको घोडाको एकजना मालिकसँग कुरो गर्न सुरु गरिहाल्छु । हाम्रो कुरो सुनेर अरु पाँच छ जना मान्छेहरु पनि हाम्रो नजिकैआउँछन् । उनीहरु हाम्रो नजिक आए मात्र त भै हाल्थ्यो । उनीहरु एक अर्कामा गलबाजी गर्न सुरु गरिहाल्छन् । हामी उनीहरुले बोलेको अरेबियन भाषा केहि बुझ्न सक्तैनौं । तर उनीहरु एक अर्कामा घाँटि सुक्ने गरि कराएको मज्जाले रमिता हेर्छौ । उनीहरुले गरेको हो-हल्लालेहामीलाई अनायसै बितृष्णा पैदा हुन्छ र हामी उनीहरुलाई त्यहिँ छाडि राखेरअर्कोतिर जान्छौं ।

त्यहाँदेखि थोरै अगाडि बढेर कुइँनेटोमा पुग्छौं । तर उनीहरुले हस्याङफस्याङ गर्दै हामीलाई पछ्याइ हाल्छन् । अनि हाम्रो नजिक आएर ल्याङल्याङ गर्न सुरु गरिहाल्छन् । उनीहरुलाई त्यहिँ छाडि राखेर हामी हिँडदै डाँडामा निस्कन्छौ तर कुनै कुनै मान्छेहरु हाम्रो नजिकै आइपुगि हाल्छन् । उनीहरु त्यहाँ आएर फेरि हाम्रो दिमाग भुट्न थाल्छन् । त्यसपछि हामीलाई वाकदिक लागेर आउँछ । त्यसपछि अन्तिमपटक भाउ मिलाउने जमर्को गर्छौं ।

यतिका धेरै मान्छेहरुले जबरजस्ति गरेको मेरो जिवन कालमा यो पहिलो अनुभव नै हो । हुनत संसारको कुन कुन ठाउँ पुगियो । कुन कुन ठाउँ पुगिएन त्यो आफ्नो ठाउँमा छँदैछ । ती सबैकुरोलाई सम्झेर पनि सकिन्न । तर निश्चय नै यतिका धेरै जब्बरजस्ति भने पहिलोचोटी पिरामिड पुगेर नै अनुभव गरिरहेको थिएँ ।

एकछिनपछि अरु सबैजना दलालहरुलाई हेर्न छाड्छु । तर केहि बोल्दै नबोलि अघिदेखि खुरुखुरु हामीलाई पछ्याइ रहने एकजना तालु खुइले बुढोमान्छेलाई देखेर मेरो हृदय मज्जासँग छुन्छ । म उनको अनुहारमा मेरो बाबुको अनुहार छ्याङ्गै देख्छु । त्यसपछि उनको नजिकै गएर तपाइँले जे जति भन्नु हुन्छ । हामी हजुरसँग नै जान्छौ, भन्छु । उनले अङ्ग्रेजी त त्यति बुझ्दैन रहेछ । तैपनि १५ डलर (युएस) भन्छ । मैले प्रतिउत्तरमा ठीक्छ,ठीक्छ भन्छु ।

त्यसपछि तारासँग हामी उनको रथमा चढ्छौं । सहारा मरूभूमीदेखि उत्पन्न भएको बालुवामा ढकलक ढकलक गर्दै रथको पाङ्ग्राहरु गुड्न थाल्छन् । यसरि सतह नमिलेको मरुभूमीमा रथको पाङ्ग्राहरु गुड्दै गर्दा अचानक मेरो टाउको रथको छानोको फलामे डन्डीमा ठोकिन पुग्छ । त्यसरि एक पटक टाउको ठोकिएपछि मेरो दिमाग झन बेस्सरि खुल्छ ।

त्यसपछि म अलिक सकरात्मक हुँदै भावुक मुद्रामा सोच्न थाल्छु । भ्रष्टाचारले देश चुर्लुम्व डुवेर देश गरिब भएपछि यी मनुवाहरु एक छाक खानको लागि शरिरमा एक सरो कपडा लगाउनको लागि र आफ्ना लालाबालाको भविष्यको लागि पैसा कमाउन यतिका धेरै जबरजस्ति गरिरहेकाछन् । तर यहाँदेखि उसो देशको अवस्था झन बिग्रदै बिग्रदै जाने हो र देश ज्यादै गरिब भयो भने उनीहरु आफू बाँच्नको लागि जे सुकै गर्न पनि तयार हुन्छन् ।चोर्छन, ढाटछन, मान्छे मार्छन र अनेकौ अपराध गर्छन । अझै उनीहरु त्यसबेला महान क्रान्तिकारी बन्छन् । र, आफूलाई शासन गर्ने शासकको बिरुध्दमा हात हतियार उठाउँन थाल्छन् । हो, उक्त्त कुरो मैले आक्रापोलिस एथेन्स पुगेर चाल पाएको थिएँ ।

जिन्दगीमा पटक पटक अशफल भएको एउटा असम्भव यात्राको अध्याय बन्द गर्नै लागेको थिएँ । तर त्यति धेरै गरिबी देखेपछि प्राचीनकालको राजनीति शास्त्रका पिता एरिस्टोटललेएथेन्सको प्लेटो प्रतिष्ठानमा अध्ययन गरेर भनेको एउटा कुरादोहर्याइ तेहर्याइ सम्झिरहेको छु ।

“गरिबी क्रान्ति र अपराधको जननी हो ।”