बेलुकिपखको समय छ । कोइराले गल्लीको उकालै उकालो एक्लै हिँडिरहेको हुन्छु । निक्कैबेर उकाली चढिरहँदा पसिनाले शरिर लुथ्रुकै भिजेको छ । अझै भनौ अनुहारदेखि पसिनाको थोपा तपतप चुहिरहेका छन् । दिखुवा खोलादेखि त्यस गल्लीसम्म आउँदा नाक ठोकिने उकाली पर्छ । तैपनि त्यतिका धेरै उकालो चढेर थोरै समथर जमिनमा पाइताला चाल्न पाउँदा मन हल्का शान्त हुन्छ । यहाँ आएपछि मरेर मरेर आइ पुगियो मनमनै भन्छु । त्यसपछि कदमहरु सुस्तरी अगाडी बढाउँन थाल्छु ।
गल्लीको ठीक दाहिनेतिर एउटा सानो गोठ छ । त्यो बस्तु गोठ हाम्रो कान्छा काकाको गोठ हो । काकालाई चाम्लिङ भाषामा बाबै भन्ने गरिन्छ । प्रायजसो बाबैको गोठमा एक माउ भैसी र एक हल गोरु बाधिरहेको देख्न सकिन्छ । बेलुकि रिमरिम अँध्यारो हुन थालेको छ । गाउँमा बिजुली बत्ति छैन् त्यसैले एकछिनपछि राकाचुप्प अँध्यारो हुन्छ है भन्ने मनमा लाग्छ । वास्तवमा त्यतिबेला अँध्यारो मात्र होइन गाउँ बिलकुल सुनसान छ । एकदम कोलाहलमय छ । तर चकमन्न र उदाश हुँदै गइरहेको छ ।
हुनत हरेक बेलुकि यस्तै बेलातिर गाउँदेखि पारि रहेको दम्कुडाँडा जङ्गलमा स्यालहरु कराउँने गर्दथ्यो । यहाँदेखि स्याल कराएको आवाज मज्जाले सुनिन्थ्यो । तर त्यसबेलासम्म स्यालहरुले मुख खोलिहालेका थिएनन् । त्यति सुनसान वाताबरणमा म बिना आवाज गल्लीमुनिको त्यो गोठ नजिकै पुग्छु । गोठमा पुग्दा बाबै गोठको कुनामा निहुरिएर घास उचाल्न खोजिरहेको दृश्य देख्छु । उहाँको सिरमा पाल्पाली ढाका टोपी देहमा मैला खाडिको दौरा सुरुवाल र नाङ्गो खुट्टा छन् । तर मैले हेर्दाहेर्दै बाबैले एकभारी पटमेरोको डालेघाँस भैसीलाई झ्वाम्मै हाल्दिनु हुन्छ ।
त्यस्तो दृश्य देखिएपछि, “बाबै ! बस्तुलाई घाँस हाल्दै हुनुहुन्छ ?” मसिनो स्वरमा भन्छु ।
अचानक मैले त्यसो भनेको सुनेर बाबै पहिले एकचोटी थैलुङ्गै गरेर झस्कनु हुन्छ । त्यसपछि मतिर फर्केर हेर्दै बोल्न थाल्नु हुन्छ, – “खुबै को हो भनेको त लाहुरे पो रहेछ । अनि पछाडी झोला पनि बोकिरहेको छस् । निक्कै टाढै पुगेर आको कि के हो ?” बाबैले बेलुकिपख अलिक राम्ररि आँखा देख्नु हुन्न त्यसैले चश्मा मिलाउँदै त्यति भन्नुहुन्छ ।
“दिक्तेल गएर आको – बाबै,” संक्षिप्तमा जबाफ फर्काउँछु ।
“लु लु गर्यौ, गर्यौ । (मतिर हेर्दै) हेर ! यति कलकलाउदो उमेर छ । त्यसैले बेलैमा बेस्सरि घुमफिर गर्नुपर्छ । अनि यसै पालि बिहे पनि गर्छस् कि अर्को छुट्टीमा गर्छस् ?” थोरै उत्सुक्त्ताको साथ बाबैको मुखदेखि दोश्रो प्रश्न आउँछ ।
“अब अर्को छुट्टीमा,” झन छोटो जबाफ फर्काउँछु ।
काका भतिजको प्रश्न र उत्तर गर्ने क्रम सकिन्छ । त्यसपछि, – “बाबै ! म गए है,” भनेर अन्तिमचोटी बिदा माग्छु र फेरि लुखुरलुखुर गल्लिको बाटो लाग्छु ।
चौवालिस सालको कुरो हो । बेलायती गोर्खा सेनामा भर्ती भएर गाको तीन बर्ष भएपछि छे महिनाको छुट्टीमा गाउँ फर्केर आएको थिएँ । पहिलो छुट्टी थियो र एकदम रमाईलो गरेर मनाइ रहेको थिएँ । हुनत छुट्टी आएको पाँच महिना पुरा भैसकेको थियो । छुट्टीमा निस्कदा पहिले धरान निस्केको थिएँ । त्यसपछि आफू जन्मेर हुर्केको गाउँ आएको थिएँ । गाउँमा आएपछि त्यतिक्कै हल्लिएर निक्कै लामो समय ब्यतित गरें अनि काठमान्डु र पोखरासम्म घुमेर पुनः दोश्रोचोटी गाउँ फिरेको थिएँ ।
“पल्टन घरमा तीन बर्ष काम गरेर छुट्टीमा आएको छस् । त्यसैले घरमा केहि काम नगर है,” बाबु आमाले मायाको साथ त्यसो भन्नुहुन्थ्यो । भर्ती भएपछि अलिअलि पैसाको जोहो गरेको थिएँ र बर्षभरि पुग्ने धान किनेको थिएँ । तर गाउँमा जहिलेपनि तरकारीको असाध्यै दुःख हुन्थ्यो । “त्यसो त मलायाको लाहुरे पो त । बरु कसैको घरमा सुङ्गुर वा भैसी काट्यो भने मासु लिनु जा,” बाबुले भन्नुहुन्थ्यो । बाबुको कुरो सुनेपछि म केटाकेटी झै फुरुक्कै हुन्थें र छाडा भएर फिटिक्कै सिन्को भाँच्दिन थिएँ ।
झन धरान, काठमान्डु र पोखरा बाट फिरेपछि अति नै अल्सि भएको थिएँ । बिहान अबेलासम्म सुति रहन्थें र दिनभरि हङकङको रमझम याद गरिरहन्थें । काउलुनदेखि स्टारफेरी चढेर समुन्द्रको दृश्य हेर्दै हेर्दे वानचाई घुम्न गाको । त्यहाँ पुगेपछि फिलोपिनो युवतीहरुसँग काठे अङ्ग्रेजी बोलेको । नम्बरी र गुरुजीहरुसँग बियर खाको । सबै यादगर भैरहन्थ्यो । तर तिनताका गाउँमा बियर पाइदैन थियो । बियरको हरहर तिर्सना लाग्थ्यो । तिर्सना मेटन अघाइन्जेल जाड पिउथें – रक्सी घोक्थें ।
जाडरक्सी जति पिउन पाए पनि गाउँमा त्यति लामो समयसम्म बसिरहन मन लाग्दैन थियो । किनभने सबै मानिसहरुका आ-आफ्नै धुन हुन्थे । उनीहरु मेलापातमा जान्थे । बोल्ने साथि कमै हुन्थे । अहिलेजस्तो मोबाइल फोन र टिभी केही थिएन । एउटा ठूलो खाले काँधमा बोक्ने ट्रान्जिष्टर रेडियो लगेको थिए । त्यो पनि काठमान्डु जाँदा बेचिसकेको थिएँ । एकदम पट्यारलाग्दो समय थियो । त्यसैले समय समयमा दिक्त्तेल जान्थें । गाउँको तुलनामा दिक्त्तेल सानो सहरझैं लाग्दथ्यो । त्यतिबेला पनि दुई-तीन दिन जति दिक्त्तेलमा बसेर घर फिर्दै गरेको थिएँ ।
दिक्तेल बजारमा साईला दाजूको जेठा छोरा बस्दथे । उनको नाम राजन हो र साइनुले मेरो भतिज भएपनि उनी मभन्दा तीन बर्ष जति जेठो हुन् । बिहानीपखको उज्यालो दिक्त्तेल बजारमा खस्दा नखस्दै एउटा कापी च्यापेर उनी दिक्त्तेल क्याम्पस जान्थे । मेरो केहि कामसाम थिएन । त्यसैले म पनि उनी सँगसँगै क्याम्पसमा रमिता हेर्न जान्थे ।
दिक्त्तेल क्याम्पस केहिबर्ष अगाडीमात्र स्थापना भएको थियो । क्याम्पस नयाँ नयाँ भएकोले स्नातक तहमा राजनीति शास्त्रको बिधार्थी भतिज एक्लै थिए । तर सहायक प्राध्यापकचाहिँ चतुरभक्त सर हुनुहुन्थ्यो । क्याम्पसको मूख्य द्वार नजिकै रुखको फेदमा दुईवटा कुर्सीहरु राखिएका देखिन्थे । तिनै कुर्सीहरुमा बसेर पढने र पढाउने काम हुन्थ्यो । मचाहिँ उहाँहरुभन्दा थोरै वरतिर भुइँमा थपक्कै बस्थें र मौन भएर उनीहरुलाई रमिता हेर्थे – लेक्चर सुन्थें ।
बिहानीपखको उनको पढाइ सकिएछि डेरामा फिर्थ्यौ र खाना खाएपछि दिक्त्तेल हाइ स्कूलमा जान्थ्यौं । किनभने उनले त्यहाँ मास्टरी काम गर्थे । त्यसरि शिक्षक पेशा गर्दा गर्दै उनले त्यहाँ बिहे गरेर सानो परिवारको श्रीगणेश गरेका थिए । मैले यहाँनेर उनकी नाम खुलाउन एकदम उचित हुन्छ जस्तो लाग्छ । अति नै मिलनसार एबम स्पष्ट बक्त्ता मेरी बुहारीको नाम कमला हो तर साइनुमा बुहारी पर्ने भएतापनि उनी लगभग मेरै दामले थिइन ।
हुनत म अहिले उमेरले लगभग साठी टेकिसकेको छु । तैपनि अहिलेसम्म मेरो दिमागले राम्रैसँग काम गरेको छ जस्तो लाग्छ । भाग्यले साथ दिएर अल्जाइमर लागिहालेको छैन् । त्यसैले ती कुरोहरु मेरा दिमागमा अझै ताजै छन् र स्नायु कोषमा चाङैचाङ भएर बसेका छन् । त्यसैले जुनबेला चाह्यो त्यसबेला उधारेर निकाल्ने गर्छु । भनौं – ती यादहरु अहिलेसम्म मेरा आँखा सामु झलझली नाँचिरहेका छन् । अँह ! फिटिक्कै बिर्सिहालेको छैन् ।
उनीहरुको स्थायी बसोबास दिक्त्तेलमा भएतापनि त्यतिबेलासम्म घर बनाएका थिएनन् । तर एउटा पुरानो घरको पुरै तला भाडामा लिएर बसेका थिए । भनौ – त्यहिँ नै उनीहरुको डेरा थियो । अझै रमाइलो त के थियो भने तिनताका दिक्त्तेल बजारमा हरेक शनिबारको दिन हटिया लाग्थ्यो । हटियाको दिन कि रत्नपार्क वा राखाल्नी बजुको घर अगाडी बहर जत्राजत्रा तर निख्खुर कालो सुङ्गुर काटिन्थ्यो । सुङ्गुर काटिएपछि काका र भतिज मिलेर तिनै सुङ्गुरको मासु प्लाष्टिकको झोलामा एक झोला ल्याउथ्यौ ।
डेराको पल्लो कुनामा सानो भान्सा कोठा थियो । मासु ल्याएपछि हामी त्यस कोठामा जान्थ्यौं । त्यसपछि भतिजले चुलेसिले फलमासु र हड्डिलाई छुट्याउँथ्यो । फलमासुलाई सरसर गरेर मसिनो टुक्रा पार्थे । बुहारी चाहिँ काठे पिरामा टुक्रुक्क बस्थिन् । अनि अचार पिस्ने ढुङ्गामा लोहोरोले जिरा, लसुन, अदुवा, धनिया, नुन र खुर्सानि सँगसँगै पिस्थिन । घरमा मसलाको ‘म’ पनि पाइदैन थियो । त्यसैले दिक्त्तेलमा मसला पिस्दा बङ्गै आएको बासना मेरो नाख नाखमा पुगेर ठोकिन्थ्यो ।
भतिजको बसाई बजारको थियो र त्यहाँ सबैकुरो महङ्गो हुन्थ्यो । त्यसैले हरेक कुरामा मितव्ययीता अपनाउनु पर्थ्यो । अरु कुरा छाडेर दाउराकै कुरा गर्ने हो भने पनि अतिनै महङ्गो लाग्थ्यो । बजारमा दाउराको भारी कि त मझुवाबेसीदेखि उकालै उकालो चढेर त्यहाँ आइपुग्थ्यो । होइन भने मुढे डाँडादेखि ओरालै ओरालो झरेर आउथ्यो । किनेको दाउरा महङ्गो भएकोले एकदम फारो गरेर चलाउनु पर्थ्यो । आइज्याक न्युटनले ताराहरु गनेझैं बुहारीले दाउराको हिसाब किताब मज्जाले गरेर चुल्हामा सानो आगो बाल्थिन र फरफरी मासु भुट्थिन । काकाभतिज पलेटी कसेर अगेना छेउमा बस्थ्यौं । र, पाक्दै गरेको मासुले रङ्ग परिवर्तन गर्दा हामी गमेर हेर्थ्यौ ।
हिजो पनि बुहारीले त्यसरि नै मासु भुटन थालिन । हामीचाहिँ राष्ट्रिय र अन्तराष्ट्रिय राजनीतिको गफ गर्दै गर्दै मासु पाक्ने समयलाई पर्खन थाल्छौं । खै किन हो किन ? हाम्रो अधिकतम गफसफ ब्यापार व्यावशाय फाइदा र बेफाइदाको बिषयमा हुदैनथ्यो । केवल राजनीति शास्त्रमा मात्र केन्द्रित भैरहन्थ्यो । त्यसबेला पनि होमरको साहसिक यात्रा (ओडेसी) देखि सुरु गरेर आक्रापोलिस, एथेन्समा पुगेका थियौं । त्यहाँ पुगेर सुक्रोटिस, प्लेटो र अरिस्टोटलका एकभारी दर्शनका कुराहरु गर्यौं । अनि प्राचिनकालमा केहिबेर रुमलिइसकेपछि आधुनिक कालमा फर्क्यौ र राजनीति शास्त्रका पिता निकोल म्याकाभेलियालाई हल्काफुल्का सम्झ्यौं ।
प्राचिन युनानदेखि आरम्भ गरेको हाम्रो गफले मिश्रलाई एकचक्कर मारेपछि मेसोपोटामिय पुग्दा नपुग्दै कराहीमा मासु पाकिसकेको थियो । मासु पाकेपछि, – “हजुरे हो ! लौ लिनुहोस् है,” भन्दै बुहारीले कचौरामा एक-एक कचौरा भुटुवा सजाइ दिइन । बुहारीले भुटुवा मात्र होइन । मलाईचाहिँ भुटुवाको साथि स्टिलको गिलासमा एक गिलास रक्सी पनि सारि दिइन । भतिज तिनताका बिधार्थी नै भएकोले रक्सीको गिलासमा हात लगाउँदैन थिए । मचाहिँ पल्टन घरमा मेरो सेक्सन कमान्डर ०८२४ गुरुजीले अगाडी परेको कुरो केहि पनि छाड्नु हुदैन है भन्ने सिकाएको थिए । त्यसैले केहि बाँकी राख्दिन थिएँ ।
कान्छा बाबैसँग बिदा भएपछि तिनै बुहारीले दिएकी मासु र रक्सीको स्वाद सम्झदै सम्झदै क्रमशः अगाडी बढिरहेको हुन्छु । तर एक्कैछिनमा सिरेम्मा नानाको घरको सिधै माथि पुग्छु । तर त्यहाँ पुग्ने बितिक्कै, –
“काका ! भर्खर फिर्नु भाको हो ?” नानाको घरको आगनदेखि एउटा आवाज आउँछ ।
आवाज आएको दिशातिर फनक्कै सिर घुमाएर हेर्दा जेठा दाजूको छोरी टीकाले दाहिने हात उठाएर मलाई बोलाइ रहेकी देख्छु । गाउँमा उनलाई माया गरेर बोलाउने अर्की नाम ‘कान्छा मने’ थियो । मैले पनि उनलाई देख्ने बितिक्कै, –
“कान्छा मने ! हो नि, भरखर फिर्दैछु ।”
“ए ! हो र । ठिक्कै पर्यो । एकछिन यता झर्नोस् त,”
“होइन, किन र ? रात पो परि सक्यो त,”
“एउटा कुरा छ – क्या,”
“हुन्छ हुन्छ, त्यसो भा झरे है,” भन्दै नानाको घरतिर झर्न थाल्छु । नानाको घर बाटोभन्दा ठीक मुनितिर पर्छ । तर त्यहाँनेर बाटो हिँड्न थोरै अफ्ठ्यारो छ । त्यसैले म पहिले फुत्त एकचोटि उफ्रेर एक कान्ला मुनि झर्छु । अनि आठ-दश कदम हिँडेपछि “के थ्यो कुन्नि ?” भन्दै आगनमा पुग्छु । तर हामी दुईजना त्यसरि बोल्दा निस्केको खेलाबैला आवाज सुनेर सिरेम्मा नाना घर भित्रदेखि एक्कासि बाहिर निस्कनु हुन्छ । बाहिर निस्कने बितिक्कै, –
“को हो भन्छु त । ए ! लाहुरे कान्छो पो रहेछ । लाहुरे ! जाड खान्थिस् होला ? जा है, हिजै मात्रै त गाग्रो पखालि हाले,” ममतामयी भावले नाना त्यति भन्नुहुन्छ ।
“भो भो नाना खान्न,” सुस्तरि जबाफ फर्काउछु । त्यसपछि छोरीसँग घरको पेटीपेटी बाटो लाग्छौ ।
“होइन ! गइ हालिस को ? कि एकछिन बसेको भा पनि हुने ?” कुरा थप्नुहुन्छ ।
“नाना ! भोली बिहानै झर्छु है,” भन्छु र अन्तिमचोटी बिदा माग्छु ।
“ल ल भर परे । कसैगरि झर है,” नानाले सहि थाम्नु हुन्छ ।
त्यस घरमा चन्द्रेम्मा र सिरेम्मा गरेर दुईजना नानाहरु मिलिजुलि बस्नु हुन्थ्यो । घरको बिच भागमा गार्हो लगाएर दुई भागमा छुट्याइएको थियो । उहाँहरुको साझे श्रीमान चन्द्रेम्पा दाजू पूर्व बेलायती गोर्खा सेना हुन् । दोश्रो बिश्व युध्दमा घायल भएर मेडिकल पेन्सनमा आउनु भएका दाजूको केहिबर्ष अगाडी हृदयघात भएर मृत्यु भएको थियो । चन्द्रेम्मा नानाको माइँला छोरा डिल्लु र सिरेम्मा नानाको जेठा छोरा चमारचाहिँ मेरो खुब जिग्रि दोस्तहरु हुन् । म भर्ती जान अगाडी उनीहरु सँगसँगै चामल बोक्न फत्तेपुर झरेको त्यतिबेला बेस्सरि स्मरण गर्छु ।
घरको ठीक पछाडी मानिसहरु मात्र हिँडन मिल्ने एउटा सानो गोरेटो रहेको छ । हामी दुईजना तिनै गोरेटो बाटोलाई एकछिन खेद्न थाल्छौं । एकछिन हिँडेपछि दाजूको घरको आगनमा पुग्छौं । तर घरमा पुग्दा दाजू घरमा थिएनन् । वस्तुलाई घासपात गर्न र भैसी दुहुनको लागि गैरागोठमा जानु भएको रहेछ । छोरी मभन्दा चार-पाँच बर्ष जेठी भएतापनि भाउज्युको दुःखद देहान्त भएपछि बाबुको हेरचाह गर्नको लागि उनले बिहे गरेकी थिइनन् । तर हामी त्यहाँ पुग्दा अन्य केटाकेटीहरु कोहि पनि देखिएनन् । त्यसैले घर बिलकुल खाली थियो ।
तर छोरीले घरमा पुगेर ढङरङ्गै मूल दैलो खोल्ने बितिक्कै, – “मिठो जाड छ । म छान्छु है,” भनिन् र हतार हतार गाग्रीदेखि एक अम्खोरा पानी सारेर जुठेल्नोमा हात धुन थालिहालिन् ।
दिखुवा खोलादेखि निक्कैबेर उकालो हिँडेर त्यहाँ पुगेको हुनाले बेस्सरि तिर्खा लागिरहेको थियो । उनकी कुरो सुनेर, – “छोरी हो र ? एकदम मिठो छ भने एक डबका बजाइ दिइ हालौं न त । हुनत खोलामा पिएको पानी पसिनै पसिना भएर अघि नै सकिसकेका छन् । निक्कै धापिएर पनि आको छु,” एकचोटि ट्याप ट्याप गरेर मुख मिठ्याउँछु र त्यति भन्छु ।
छोरीले हात धोइ सक्ने बितिक्कै मिलिकको भरमा जाड छानि हाल्छिन् । त्यसपछि काँसे डबकामा एक डबका भरिदिन्छिन् । मचाहिँ त्यसबेला मकैको खोसेलाले बनेको पिरा ओछ्याएर पलेटी मारेर बसिरहेको हुन्छु । मेरो सामुन्ने अगेनामा एउटा ठूलो मुढो आफ्नै सुरमा एक रफ्तारले जलिरहेको बिरमाईलो दृश्य घरिघरि हेर्छु । तर जाड पाउने बितिक्कै डबकामा जुकाझै मुख गाड्छु र एक्कै सासमा आँधा बनाइ दिइँहाल्छु । त्यसपछि मुखमा अड्केको कोदोका छोक्रालाई एकचोटि बेस्सरि चपाएर निल्छु र फेरि कुरा सुरु गर्छु, –
“अँ साच्चि ! अघि के कुरा पो छ भनेको छोरी ?” एक पटक लामो सास तानेर उनलाई सोध्छु ।
“क्या, अङ्कल ! तपाइँ हिजो घरमा हुनुहुन्थेन रहेछ । कोकुकोक्पा र हाम्रो बाबु मिलेर तपाइँको बिहेको लागि सरसल्लाह गर्नु भयो छ । त्यसपछि आफ्नै साख्खे सालाको छोरी त हो म ह्याकुल्लाले दलेर भएपनि कुरो ‘क’ गरिहाल्छु भनेर हाम्रो बाबु र कुमार गोतामे चारसेर रक्सी बोकेर केटी माग्न लेक्पा जानु भयो छ ।”
सयकडौ मनहरुमध्ये एकमनले पनि सोच्तै नसोचेको कुरो एक्कासि उनकी मुखदेखि सुनेपछि म बङ्लङ्गै छाङ्गादेखि खसेको महसुस गर्छु । अनि मनभरि भय र पिरसहित एकछिन ट्वाँ…. परेर अगेना हेरिरहन्छु । त्यसपछि जाडको स्वादले टालिएको मुख मुस्किलले खोल्छु र उनलाई पुनः प्रश्न गर्छु ।
“होइनँ ! फेरि भनौं त । केटी को रे ?”
“तारा के । हाम्रो माईला मामाको छोरी,”
“अनि के भो छ ?”
“अनि मामा माइज्युले रक्सि खान नै मान्नु भएन छ ।”
उनको कुरोले दोश्रोचोटी झन झसङ्गै झस्कन्छु । आन्द्राभूँडीदेखि मुटु कलेजो डढेर आउन थाल्छ । सडेर यहिँ मरौ कि, अन्त कतै भागौं भन्ने विचार आउँछ । ढुलमुले विचार यताउता ढल्किन थाल्छ । नयाँ विचार जन्मछ तर नहुर्कदै मरिहाल्छ । शरिरभित्र कहाँ हो कहाँदेखि एकदम असजिलो लागेर आउँछ । अजिर्णको व्यथा र छटपटी लाग्छ । त्यसपछि ‘जाबो मेरो जिन्दगी’ भन्दै दायाँ हात बायाँ छातीमा राख्छु । अचानक हृदयको गति बेग बेगले चल्न थालेको आभाष पाउँछु । त्यसपछि बिस्तारै बिस्तारै अगेनामा जल्दै गरेको अगुल्ठोभन्दा बढि रिसको अगुल्ठोमा मेरो दिल जल्न थाल्छ । अब दनदनि बल्नमात्र बाँकी रहेको छ है भन्ने महसुस गर्छु ।
अनुहार रातोपिरो हुँदै एकछिन तातो भैरहेको आभाष हुन्छ । अब सुस्तरि जलेर खरानी हुन मात्र बाँकी छ जस्तो अनुभूति हुन्छ । जिन्दगीभरि सोचेको भयङ्कर ठूल्ठूला सपनाहरु फुटेर चक्नाचुर भएको जस्तो लाग्छ । एउटा फराकिलो बाटोको बिचमा हराएको एकजना अर्धपागल यात्रीझै एकछिन घोरिन्छु – एकोहोरिन्छु । त्यसपछि अनेक शङ्का र उपशङ्काहरुको बिचमा भौतारिएर थकित अनि पराजित भावमा, –
“भनेपछि केटी दिएन छ, हगि ?”
“हो – दिएन छ ।”
“अनि केटीको बिहे गर्ने बेला भाको थियो त ? पहिले एकचोटी देख्दा सानी जस्ती पो लाग्थ्यो त ।”
“किन नहुनु मेरो अङ्कल, यसै बर्ष त एसएलसी दिइँ सकेकी थिइँ,”
“तैपनि मलाई एक पटक सोधेर माग्न गाको भा हुन्थ्यो नि ?”
“तपाइँ घरमा हुँदै त हुनुहुन्थेन । लौ कसरि सोध्ने र ?”
“अनि आज आइहाल्थे त,” त्यति भनेर अर्कोचोटि जाड पिएर डबका खाली गर्छु । मेरो जाडको डबका खाली भएको देखेपछि, –
“अलिक थपि दिउँ ?”
“अघि त यति भा हुन्छ भन्ने सोचेको थिए । अब यो खै के कुरा सुनें – सुनें । खै अलिकति थपि देउ न त,” आनाकानी गरिन । अलिक बढि पिएर मदहोस भएपछि सारा कुरो भुल्ने चेष्टा गरें ।
छोरीले अर्को एक डबका थपि दिन्छिन् । डबकाभरिको जाडलाई हेर्छु । र, जाडसँग मनमनै प्रश्न गर्न थाल्छु । अब यस कुरोमा म कसलाई दोष दिउँ ? परिवार कि भाग्यलाई । जाड के बोल्थ्यो ? जाड नबोलेपछि म पनि किन बोल्ने भनेर चुपचाप बस्छु । तैपनि म एक्लो छु । एकदम निर्धो छु । अनि नर्कतुल्य संसारमा छु । र, मसँग अब केबल क्षतबिक्षत भएको खालि शरिर मात्र त छ भन्छु । तर खै के भएर हो कुन्नि । अनायसै गहभरि आँसु भरिन थाल्छ । छोरीको अगाडी हल्का लज्जाबोध हुन्छ । त्यसैले उनकी अनुहारदेखि मेरो रुन्चे मुहार हटाउँछु । र, सर्लक्कै पर्खालको भित्तामा पुर्याउँछु ।
जिन्दगीमा सोच्तै नसोचेको कुरा अचानक हुँदा कोसँग दयाको भिख मागौ जस्तो हुन्छु । हुनत मेरो आर्थिक अवस्था एकदम दयनिय थियो र आमाबाबु बृध्द अवस्थामा हुनुहुन्थ्यो । त्यसैले उहाँहरुसँग वाकयुध्द गर्ने पक्षमा म छँदै थिइन । केवल समयलाई मात्र गालि गर्न सक्थें । तर समयलाई मात्र पनि के दोष दिने र ? यसको मूल कारण भनेको केवल दरिद्रता नै हो भन्ने निर्क्यौल निकाल्छु । र, त्यसको परिणाम भनेको केवल आँसुमात्र त हो । तर “गरिवको आँसुको कुनै मूल्य हुँदैन है,” भन्ने ठान्छु ।
निक्कैबेरसम्म कुनातिर फर्केर घुक्कघुक्क म रोइरहेको देखेर, – “अङ्कल ! जाबो एउटी केटी दिएन भनेर के व्यर्थैमा रुनुहुन्छ हौ ? त्यसो त मलायाको लाहुरे मान्छे पो हो त ।”
“छाप्रोमा जन्मेको थिएँ र ढिँडो र सिस्नु खाएर हुर्केको थिएँ । त्यति गरिवको छोराले प्रधानपन्चको छोरी ताक्न लाजसरम लाग्नु पर्ने हो भनेर सारा गाउँलेहरुले भन्दा मेरो अनुहार अब कहाँ लुकाउने होला ? आफ्नो घाँटी हेरेर पो हाड निल्नु पर्छ भन्ने नजान्दाको परिणाम हो यो भनेर सबैले भन्दा म के गरौं ? छोरी ! म बाँचौं कि, आत्महत्या गरेर मरौ ?”
छ्या ! कस्तो मर्ने कुरा गर्नुहुन्छ हौ – मेरो अङ्कल ? यहाँ केटी नपाएर के भो र ? ब्रिटिसको लाहुरे भनेपछि धरानतिर जति पाइहाल्छ नि । भोटेपुलमा गएर दुरा नानालाई भन्नोस त ( समयमा नै अर्थोपार्जन गरेर सफल भएकी दुरा छोरी जुमेम्पा दाजूको माइली छोरी हुन् । जुवाईसँग लामो समय पल्टनघरमा बसेर निबृत भएपछि सपरिवार धरानमा बसेकी थिइन । कालन्तरमा काठमान्डौ सरेपछि उनकी जेठा छोरा बेलायतमा चिकित्सक र कान्छा छोरा भियतनाममा भियतजेटको एअरबस ३२० को बरिष्ठ विमान चालक कप्तान छन् )
नत्रभने नानाले ताप्लेजुङदेखि पाँचथरसम्मको एउटी लिम्बूनी त त्यसै खोजिदिइ हाल्नु हुन्छ नि । के – आखिर राई र लिम्बू एउटै त हो । केहि फरक छैन् । अन्ततः हाम्रो बिहेबारी चलिहाल्छ । झन राईनीहरुभन्दा लिम्बूनीहरु कति राम्री राम्री हुने रहेछ भन्ने कुरो मैले काठमान्डौमा बस्दा धेरैलाई देखेर चाल पाएकी छु । यदि राईनी नै चाहिने हो भने भोजपुरदेखि धनकुटासम्म खोज्दै जादा आफूसँग मिल्दोजुल्दो एउटा न एउटा त यसै पनि पाइहालिन्छ । व्यर्थैमा किन सुर्ता गर्नु हुन्छ हौ ?
अँ, त्यता कतै पाइएन भने दार्जिलिङ तर जानुहोला । त्यता झन फालाफाल केटीहरु पाउँछन् । अझै उनीहरु त यति सुन्दरी हुन्छन् कि मलाई यहाँ शब्दमा बर्णन गर्न पनि मुस्किल पर्छ । तैमाथि उनीहरुले आफ्नो शरिरलाई यति ख्याल गर्छन कि हातको औलाको नङ्गमा मात्र नभएर खुट्टाको नङ्गमा पनि नङ्ग पोलिस लगाएर सुकिलो मुखिलो भएर बस्छन् रहेछ । अनि मान्नोस अङ्कल – लाहुरे भनेपछि उनीहरु हुरुक्कै हुन्छन् ।
निक्कै लामो समयसम्म धारावाहिक भाषण उनले गरेपछि, – “आ…. छोरी, जति नै रुपवन्ती केटी पाए पनि म अहिले बिहे सिहे गर्दै गर्दिन । पहिले अलिकति पैसा जोडजाम गर्छु । त्यसपछि परिवारलाई खान पुग्ने खेतबारी किन्छु । एकमाना पिठोको बन्दोबस्त भैसकेपछि एउटा सानो घर बनाउँछु । त्यसपछि मात्र बिहे गर्छु । म कहाँ गर्छु र अहिले नै ?”
“अहिले नै त्यति सार्है गहिरिएर पनि सोच्न जरुरि छैन् । मानिसले समय र परिस्थिति अनुसार काम गर्दै जानुपर्छ । त्यो नै सबैभन्दा ठूलो महानता हो । कोकुकोक्पा बुढाबुढि हुनु भइसकेका छन् । उहाँहरु जिवित हुँदा नै कान्छा छोराको बिहे गर्ने उहाँहरुलाई रहर छ । उहाँहरुको आशा र भरोसाको केन्द्रबिन्दु भनेको तपाइँ त हो । यो हालतमा तपाइँले अन्य केहि कुरा नसोचेर थपक्कै एउटी बुहारी भित्र्याउनु भयो भने पुण्य हुन्छ । अनि अरुकुरो पानीले खाल्डोमा सतह मिलाएझैं बिस्तारै मिल्दै जान्छ, हुँदै जान्छ ।”
उनको कुरो सकिएपछि, – “छोरी ! अब भो । म लागे है,” भनेर बसिरहेको ठाउँदेखि उठ्छु ।
“ल ल जानुहोस् । रात पनि पर्यो । तर जे सुकै भएतापनि सानो मन नगर्नु होला । पिडाको अर्को नाम जिन्दगी हो । कसैलाई धेरै र कसैलाई थोरै मात्र हो । आखिर सबैलाई हुन्छन् र खेप्नै पर्छ । अनि मानिसको परिस्थिति सधै एउटै अवस्थामा पनि रहदैन । पृथ्वी आफै त स्थायी छैन भने यहाँ भएका अरु कुनै चिज हुने कुरै भएन । त्यसैले समश्य पनि अस्थायी हुन्छ । आखिर कुनै न कुनै दिन त्यो पनि सकिएर नै जान्छ । अँ… अन्तमा एउटा कुरा सुन्नोस त । छोरा मान्छे भएर कहिलै रुनु हुँदैन है । अझै तपाइँ त बेलायती सिपाही । विश्व बिजय गर्ने अभिकाङ्क्षा बोकेर हिडेँको एकजना वीर गोर्खाली सिपाही – मेरो अङ्कल ।”
हृदयभित्रदेखि उकुस मुकुस भएर बसेका उनका कुरोहरु निखारपट्टार गरेर राखिसकेपछि म घरदेखि बाहिर निस्कन्छु र सुस्तरि कदम चालेर उकाली चढ्न थाल्छु । भर्खर भर्खर पूर्व क्षितिजमा जुन झुल्किरहेको देख्न सकिन्छ । तिनै जुनले दिएको उज्यालोमा दुईचार कान्ला उक्लन्छु र मतेम्पा बारीमा पुग्छु । त्यसपछि बारीको बिचैबिच हिड्न थाल्छु । निक्कैमाथि पुगेपछि बारीको कुनामा तिनै बाजेको एउटा भग्नावशेष घर भेटिन्छ । अझै त्यो घर बनाउँदा राखेको ढुङ्गाका जग अहिलेसम्म ज्युँकात्युँ देख्न सकिन्छ । जगको छेउ कुनामा बाँकी रहेको दुई-चार हार गार्होको अहिले पनि रुप परिवर्तन भएका छैनन् ।
लगभग बिसौ बर्ष अगाडी भत्केर भग्नावशेष बनेको उक्त्त घरमा पुग्दा मेरो जिउँ शिथिल शिथिल हुन थाल्छ । सोच्छु – हिजोको कुराले, “मेरो अहिले न सिर ठाडो छ । न मसँग अहिले उभिने माटो नै रह्यो, न हिड्ने बाटो नै रह्यो ।” जीवनका असङ्ख्य अधुरा सपनाहरु तिनै भग्नावशेष घरमा पुगेर दनदनि बल्न थाल्छ । भोलीदेखि मानिसहरुले के भन्ने हुन् भनेर ठूलो पिरको भुँमरीमा रुमलिइ रहेको हुन्छु । मनभरि जलिरहेको तिनै बेदना र छट्पट्टीले त्यहाँदेखि उसो मेरा कदमहरु उकाली चढ्न मान्दै मान्दैनन् । जतिसुकै हिँड्न प्रयत्न गरेतापनि अनायसै थाकेर लखतरण पर्छु ।
बाटो उकाली छ तर मन ओराली जान खोज्छ । अब घरमा पुगेर बाबु आमालाई के भन्ने होला भन्ने पिरले मनभित्रदेखि उकुसमुकुस हुन्छ । अत्याधिक तनाव सहित त्यसरि सोच्ता सोच्तै रिङ्टा लाग्न सुरु गर्छ । सारा आन्द्राभुँडी नै उल्टेर वान्ता आउला जस्तो हुन्छ । एक्कासि शरिरभरि खलक्कै पसिना आउँछ । अनायसै सास रोकिन खोज्छ । त्यसपछि यसै यसै भुन्भुनिन्छु र भ्वाक्कै ढलेझैं गरेर भुइँमा बस्छु ।
एकछिन दिमाग हराउँछ । केहिबेर बेहोस भएपछि होसमा आउँछु । मझुवाको देविस्थानदेखि आफ्नै गतिमा मास्तिर बढिरहेको जुनलाई निक्कैबेर नियाल्छु । तिनै जुनलाई साक्षी राखेर भोली बिहान भालेको डाकमा गाउँ छाड्छु र उत्तै उत्तै धरान झरेर हाजिरा दिन्छु भन्ने सोच्छु । तर परिस्थितिदेखि भागेर जाँदा डाँडाको जुनघाम भैसकेका आमा बाबुलाई तीन बर्षपछिको अर्को छुट्टीमा भेट्न पाउछु कि पाउदिन होला, फेरि सोचाइमा पर्छु ।
एकछिन वाल्ल पर्छु । त्यसपछि झन आँखा बन्द गरेर सोच्छु । तर जब्बरजस्ति त्यसरि मैले घर छाड्दा उहाँहरुको मन कति टुक्रिन्छ होला । मप्रतिको उहाँहरुको सपना के हुन्छ होला ? एक पटक आमा भएर सोच्छु । अर्को पटक बाबु भएर सोच्छु । तर उत्तर बिहिन हुन्छु र तिनै भग्नावशेष घडेरिको कुनामा बसेर एक्लै धुरुधुरु रुन थाल्छु । यति रुन्छु कि रुदा रुदा थाक्छु ।
जाबो मान्छेको मन न हो । त्यसपछि कि यहिँदेखि सिधै लेक्पा हानिएर तारालाई भेटेर, “म तिमीलाई बिहे गर्छु भनौ,” भनेर कल्पना गर्छु । तर यथास्थितिमा त्यति साहसिलो बन्न म के सक्थें र ? रात क्रमशः ढल्दै जान्छ । आँसु सबै रितिदै जान्छ । तैपनि एकछिन अगाडी छोरीले, – “छोरा मान्छे भएर कहिलै रुनु हुँदैन् है,” भनेको सम्झन्छु । त्यसपछि पागलझै एकपटक मुस्कुराउँछु । र, मन दर्हो बनाएर आफ्नो बाटो सरासर उकालो लाग्छु ।
केहिबेर उकालो हिँडेर साउने कुलो काट्छु र झिँगटी घर नजिकै पुग्छु । बाटो तिनै घरको करेसोदेखि नै पर्छ । म त्यहाँ पुग्दा माइली बुहारीले बर्षे गोठदेखि दाउरा निकाल्दै गरेको दृश्य देख्छु । उनलाई देखेपछि अचानक लाज लागेर आउँछ । जिउँ थरर काम्न थाल्छ । अब देखे पनि नदेखे जस्तो गर्छु । कान्छा मनेले सुनाको कुराले मेरो मन जलिरहेको थियो । त्यसैले कसैसँग बोल्न हृदयले मानिरहेको थिएन । गोठभित्र हल्का अध्याँरो छ । तैपनि एक अङ्गालो दाउरा लिएर पछाडी फर्कदा उनले मलाई देखिहाल्छिन् । एक्कासि बुहारीले मलाई देख्ने बितिक्कै, –
“आक्कुई ! काका अहिले फिर्दै हुनुहुन्छ ?”
“माइली भरखर पो,”
“ए ! ठिक्कै त छ नि । यहाँ छोरी पनि आकी छे । त्यसैले खाना पो पकाउदै छु,”
“हना ! को छोरी,”
“तारा छोरी । लु भित्रै पसौ न ?”
“होइनँ, म घर जान्छु है । मलाई ढिला भैसक्यो ।”
“होइँन, होइँन ।”
माइँली बुहारी नयबर्ण माइँलाको ल्याइते र तेश्री श्रीमती हुन् । नुनथला खाम्लामा जन्मेकी छ बैनी छोरीहरुमध्येकी उनी साइँली छोरी हुन् । सायद त्यसैले उनकी नाम नै सिम्मा रहन गएको होला ? लोभलालच, द्वेष र प्रतिशोध मैले उनकी जीवनमा कहिले पनि देख्न परेन । अझै मलाई आश्चर्य त के लाग्छ भने उनकी कोइलीको जस्तो मिठो स्वर छ । अनि भाखा मिलाइमिलाइ मिठो गरेर बोल्छिन् ।
ढङ्ग पुर्याएर मिठो बोल्ने शैलीमात्र नभएर उनी ज्यादै रुपवन्ती पनि छिन् । उनकी बोलिवचनमा माधुर्यत र ओठमा मुस्कान देख्दा लाग्छ – उनी ठेक्कै माधुरी दिक्षितकी हुबहु प्रतिलिपि हुन् । सम्भवत त्यतिको सुन्दरी बुहारी दालङ्गे परिवार छिप्तीमा मात्र नभएर शँखु र सिरिसेमा पनि अहिलेसम्म भित्रिएको छैनन् होला भनेर ठोकुवा गर्न सकिन्छ । दिक्त्तेलदेखि फिर्दै गर्दा त्यसबेला झलझली सम्झन्छु । तिनै माइँला र माइँली हाँसिरहेको ठूलो तस्विर भतिज र बुहारी कमलाले कहाँ त्यसै उनीहरुको घरमा सजाएका रहेछन् र ?
उनै बुहारीकी दुईजना जेठी र माइँली दिदीहरु लेक्पामा एक्कै परिवारमा बिहे गरेका थिए । जेठी दिदीको जेठी छोरीचाहिँ तारा हुन् । अब उनी घरभित्र आकी छे भनेर बुहारीले भनेपछि एकछिन पस्यौ न त भन्दा म झसङ्गै झस्किन्छु । केहिबेर अगाडीसम्म उनकी बिषयमा नानाभाँती सोचिरहेको थिएँ । अहिले यो अचानक के भइरहेको छ भनेर धर्मशङ्कटमा पर्छु । अब के भन्ने होला, कसो भन्ने होला । मनभित्र एक्कासि बाढी आउन थाल्छ । यसैयसै मन उथलपुथल हुन्छ । तैपनि बेस्सरि आँट गर्छु । कस्ति रहिछे त भनेर हेर्ने कौतुहल जाग्छ । तर निम्छुरो मन लिएर माइँलीको पछिपछि घरभित्र पस्छु ।
भित्र पस्ने बितिक्कै बुहारीले अङ्गालोमा बोकिरहेकी दाउरालाई “ला ! मर,” भन्दै भित्ताको छेउमा ब्याङ्गै फाल्छिन । म त्यतिबेला जस्क्यालो दैलो नजिकै उभिरहेको हुन्छु । “काका ! यी पिरा लिनुहोस्,” भनेर उनकी नजिकै रहेको काठे पिरा उचालेर मलाई थपक्कै दिन्छिन् । म पिरा पक्रेर ढोकाको संघार नजिकै बस्छु । तर म बसिसकेपछि, –
“काका ! गहुँको गुलियो जाड छ । अलिकति खाउँ है ?”
“आबुइ ! के खान्थे, खान्न । कान्छा मनेको घरमा दुई डबका हसुरेर आको छु । जाड एकदम छिप्पिएको रहेछ । त्यसैले म त अलिअलि मात्तेर खुट्टा बाङ्गो बाङ्गो गर्दै पो यहाँ आइँपुगेको हुँ ।”
“होइन ! अलिकति बनाउँछु ना ? मिठो छ के ।”
“खै ! मिठो छ भने अलिकति खाउँला । तर टुप्पी समातेर खानु पर्ने चुङ्रे छ भने त भो है ?”
“होइँन ! कहाँ त्यसै हुन्छ र ? बल्ल बल्ल मेरो घरमा आउनु भाको छ । (तारालाई देखाउँदै) यी हेर्नुहोस् न । छोरी पनि बिमारी भइँछे । जलपाइ बाजेकोमा फुकि माग्नु आकी रहिछे । माइँला काठमान्डु जानु भाको एक हप्ता भयो । म पनि घरमा एक्लै छु । रात पनि पर्यो । छोरी आज यतै बास बस्यौ है भने र बिचरा बसिरहेकी छिन् ।”
भान्सा कोठाको अगेनामा मार्सी चामलको भात भुलभुलि उम्लिरहेको देख्न सकिन्छ । त्यति भनिसकेपछि उनी हातमा ढिप्री बोकेर जाड लिन तलामाथि जान्छिन् । त्यसपछि कोठामा केवल तारा र म मात्र हुन्छौं । मलाई भन्दै नभनि हिजो आमाबाबुले यीनैलाई बुहारी बनाउनको लागि माग्न पठाएका थिए भनेर एकछिन सोच्छु । त्यसपछि अलमल नगरि म उनको सिरदेखि खुट्टासम्म राम्ररी नियाल्न थाल्छु ।
अगेनाको बायाँ छेउँमा तर काठे पिरामा उनी टुक्रुक बसिरहेकी छिन् । उनको हातमा आगो फुक्ने एउटा बासको ढुङ्रो छ । तिनै ढुङ्ग्रोलाई घरि अगाडी र घरि पछाडी गर्दै उनी खेलिरहेकी छिन् । लाग्छ – उनको मनमा पनि मेरो मनमा जस्तै नानाभाँती कुरोहरुको भुइँचालो गैरहेको होला ?
त्यति सोचि सकेपछि पहिले म उनको कपाललाई राम्ररि हेर्छु । हालसालै हेयर सैलुन भ्रमण गरेर थाइकट काटेर आएकी जस्ती छोटाछोटा केसरासी छन् । तर केसमा दुई-चारवटा परालका त्यन्द्राहरु मिसिएका देख्दा सायद दिनभरि टारीखेतदेखि पराल बोकेर आएकी होली भन्ने मनमनै लाग्छ । पखालाले सताएर हो कि खै के भएर हो कुन्नि ? उनकी अनुहार एकदम थकित र फिक्का फिक्का देखिएको छ । केसभन्दा मुनि हेर्दै जाँदा पातलो आँखाका परेलाहरु फरर फहराइ रहेका देखिन्छन् । अनि नाकमा एउटा फुली छ । सानो ल्वाङको फूल जत्रो । लाहुरेको छोरी भएर पनि दुवै कानहरु खाली खाली देखिन्छन् । कानै खाली भएपछि घाँटीको के कुरा गराइ भो र ?
हेर्दा बर्षौ खान नपाएकी झै अति दुब्ली छे । त्यति आकर्षक जिउँ त मरिगए पनि छैन् भन्ने लाग्छ । तर फलामे मूर्तीझै निस्तेज बसिरहेकी देख्दा हल्का माया लाग्न सुरु हुन्छ । शरिरमा फिलिलीको एउटा जामा छ । जामा निक्कै थोत्रो रहेछ । जामाको बिच भागको सिलाउनी खुस्किएको म बसिरहेको स्थानदेखि प्रष्टै देख्न सक्छु । तर म घरभित्र पसेदेखि उनले दायाँबायाँ पटक्कै हेरेकी छैनन् । अटल पहाडझै भएर सिधै अगाडीको पर्खालमात्र हेरिरहन्छिन् । म उनको नजिक त जाने आँट गर्दिन । तर लाहुरेको छोरी भएर पनि उनको छेवैमा रहेको अधर्ने हात्तिछाप चप्पल देख्दा मलाई थोरै टिथ लागेर आउँछ ।
निक्कै लामो समयसम्म भान्सा कोठामा हामी सँगसँगै बस्यौ । तर हाम्रो बोलचाल हुन सकिरहेको छैन् । एकछिन अगाडीसम्म मनभरि बेचैनीका लहरहरु फैलिरहेका थिए । त्यसैले कोठाको शून्यतालाई भङ्ग गर्दै केहि भनौ कि भनेर जमर्को गर्छु । तर के गर्नु र ? अत्यधिक कमजोरि मनस्थितिका मान्छे छु । त्यसैले फिटिक्कै बोल्ने आँट गर्न सक्त्तिन । उनले त झन मरिगए मसँग बोल्ने चेष्टा गर्दै गरिनन् । बोल्न त अझै परै जावस् । मलाई एकचोटी फर्केर पनि हेरिनन् । एकाग्र मनले आगो तापेर बसिरहिन । त्यसरि नबोली बसिरहेको देखेपछि हिजोको कुरा उनलाई जम्मै थाहा रहेछ भन्ने अड्कल काट्छु ।
“काका ! यि जाड लिनुहोस्,” निक्कैबेर हराएर एक डबका जाड लिएर माइँली बुहारी पुनः मेरो अगाडी हाजिर हुन्छिन् ।
“भाग्यमानी रहेछु । आज जाडैजाड खान जुरेको छ,” उनलाई भन्छु ।
“सधै सधै होइन नि काका । कोहि कोहिबेला त खानु परि हाल्यो नि,” भन्छिन् ।
मलाई जाड दिएपछि लुँङ्गीको फेर समातेर बुहारी फेरि, “एकछिन है,” भन्दै घर बाहिर निस्किहाल्छिन । घरबाहिर जुन टहटह लागिरहेको छ । बुहारी निक्कैबेर बिलय भएपछि पुनः टुप्लुक्कै झुल्किन्छिन् । त्यसबेलासम्म तारा र मेरो परिचय पनि हुन सकेको छैन् । जिन्दगीमा कहिले एक्कै शब्द नबोलेको मानिसलाई, “म तपाइँलाई बिहे गर्न चाहन्छु,” कसरि भन्ने होला भनेर बडो पिरमा थिएँ । यदि त्यसो नभन्ने हो भने के चाहिँ भन्ने होला ? कुरो कसरि सुरु गर्ने होला । अनि कसरि मार्ने होला भनेर ठूलो मानसिक चिन्तामा छु ।
मुख फोर्न नसकेपछि यसो ढोकादेखि बाहिर हेर्छु । तर मेरो अगाडि कान्छा मने झुल्केकी देख्छु । बुहारी निक्कै लामो समयसम्म हराउनुको कारण बल्ल त्यतिबेला चाल पाउँछु । तर उनी आउने बितिक्कै, –
“मेरी बैनी ! कतिबेला आयौं ?” लेग्रो तानेर आफ्नी साख्खै मामाको छोरीलाई प्रश्न गर्छिन् ।
“भर्खर भर्खर आको – नाना,” बल्ल बल्ल ताराको मुख खोलियो । र, उनकी करूणामय स्वर भान्सा कोठाभरि पोखिएर छताछुल्ल भयो ।
“अना, साइतमा नै हिड्यौ छ, हगि । त्यसैले काकासँग जम्काभेट भइहाल्यो । कुरोकानी राम्रो गर्यौ होला ? अब यतै बस्ने है,” फेरि बोलिन ।
उनको कुरा सुनेर ताराले केहि प्रतिकृया दिइनन् । चुपचाप आगो फुक्ने ढुङ्रो खेलाइ रहिन । र, निस्तेज आफू अगाडीको पर्खाललाई हेरिरहिन ।
“छोरी ! अब यतै त बस्छिन् । हेर लाहुरे भनेको लाहुरे हुन्छ । भोलीपर्सी मलाया हङकङ जान पाउँछ । पैसा कमिन्छ । सहर बजारमा घर बनाउन सकिन्छ । नानी केटाकेटीहरुले राम्रो ठाउँमा पढन पाउँछन् । उनीहरुको भविष्य उज्वल हुन्छ । हामी पो चाउरेसँग बिहे गरेर जिन्दगीभरि दुःख पाइएला जस्तो भयो,” बुहारीले कान्छा मनेको कुरामा सहि थप्छिन् ।
“मामाले हिजै माग्दा दिनु भएको भए यो झमेला नै मच्चिने थिएन । ग्वारग्वार्ती जन्ति सहित बिहे हुन्थ्यो । छोरीले आफै बिहे गर्यो भनेर भन्नु पर्थेन । उहाँको इज्जत हुन्थ्यो । प्रतिष्ठा बढ्थ्यो । तर केहि छैन् । आ… मूल उदेश्य भनेको त आखिर काकासँग बिहे गर्नु नै हो । जे भयो – राम्रो भयो । घरिघरि रक्सी बोकेर रितिथिती अनुसार गरेको भन्दा झन चाडै पो हुने भयो । अब यति राम्रो अवसर गुमाएर फेरि लेक्पातिर फर्केर जानु नखोज्नु है । कि जानु मन छ र ?” कान्छा मनेले कुरा थपिन ।
बरु दिखुवा खोलाको ढुङ्गा बोल्थ्यो, तारा एक टुक बोलिनन् ।
“हाम्रो नाना भेनाको बुध्दि । मान्छेले लाहुरे जुवाइँ पाउन कति मरिहत्ते गर्छ । घरमा आएको जुवाइँ झन्डै उम्केको हगि कान्छा मने ।”
“होनी ! झन्डै बुध्दि बिग्रेको ।”
“सिम्मा, सिम्मा ! ढोका खोल,” एक्कासि मूल ढोकादेखि ठूल्ठूलो आवाज आउँछ ।
“ए ! लु । नाना पो आउँनु भो छ । नाना – एकछिन है,” बुहारीले जबाफ फर्काउँछिन् ।
“माइजु पो रहेछ । म गए है,” कान्छा मनेले दायाँ हातले गुप्त जनाउ गर्छिन् र जस्क्याला ढोकादेखि टाप ठोक्छिन् ।
उनी जाने बितिक्कै बुहारीले, – “तपाइँ ! तलामाथि गएर लुक्नु होला,” भनेर मलाई दाहिने हातले इसारा गर्छिन् ।
उनको इसारा सँगसँगै मेरो शरिरमा कम्पन सुरु हुन्छ । अब के हुने होला ? कसो हुने होला ? डरले थरर काम्दै बिचको कोठामा पुग्छु र काठे भर्याङ्को खुड्किलाहरुमा चार पाउ गरेर बिरालो चाल चाल्न थाल्छु । तलामाथि पुग्छु र निसबन्ध अँध्यारोसँग मितेरि लाउँछु । म माथिल्लो तलामा पुगेको निश्चित गरेपछि बुहारीले मूल दैलो खोल्छिन् । तर ढोका खोल्ने बितिक्कै ताराकी आमाले, –
“यहाँ को को छौ हँ ?” भनेर घरै थर्कने गरि प्रश्न गरेकी सुन्छु ।
“होइनँ ! को छ र – नाना । छोरी र म त छौ, किन नि ?” बुहारीले सशङ्क मुद्रामा जबाफ फर्काउँछिन् ।
उहाँहरु त्यहाँदेखि हिँडदै हिँड्दै भान्सा कोठातिर लागेको चाल पाउँछु । म कुइरोमा हराएको एउटा कागझै पुरै मेचक अँध्यारो कोठामा हराउँछु । जीवनमा यो कति धेरै हन्डर खानु परेको हँ । जता गयो उतै ठक्कर – मनमनै भन्छु । तैपनि डर र भय सहित छामछाम छुमछुम गरेर थोरै अगाडि बढ्न थाल्छु । थोरै अगाडी बढेको मात्र के हुन्छु । अचानक काठको थाममा टाउको बज्रन पुग्छ । हल्ला हुन्छ भनेर ऐय्या ! आत्था केहि भन्न पाउँदिन । अब, “यो कस्तो नियतिको खेल हो । कि यसलाई के भनौं ? लेखान्त भनौ कि क्रुर समयको खेल भनौ,” भनेर दोधारमा पर्छु ।
स्मृतिमा रहेका तिनै पुरानो दिन जम्मै सोहोर्याएर ल्याउँदा जाबो मेरो फिस्टे शरिरलाई थामको फेदैमा सम्हालेर राखिरहेको हुन्छु । मेरो उतापट्टी धानको भकारी रहेछ । अँध्यारोमा चित्रालाई छोएर भकारी चाल पाउँछु । खुट्टाले छाम्दै जाँदा भकारीको छेउँमा एउटा जुटको बोरा भेट्छु । अब तैमाथि टुक्रक्कै बस्छु र मुनी तलामा बोलेको केहि सुनिन्छ कि भनेर भुइँमा कान थाप्छु ।
भान्सा कोठादेखि गुनगुन आवाज आउँछ तर पटक्कै बुझ्न सक्त्तिन । बरु भोक लागेर धान खानको लागि आएको मुसाहरुको आवाज सुन्छु । मुनि तलाको आवाज पट्क्कै सुन्दिन – बुझ्दिन । यसै त म डरछेरुवा मान्छे छु । यतिबेला डरले हरिबिजोक भएर सुरुवालमा नै पिसाव फेर्न खोज्छु । तर सम्झन्छु – थैया ! मेरो बुध्दि । बुहारीले पटक पटक तारा फकाउने अवसर दिएकी थिइँ । तर के गर्नु र ? त्यतिबेला मेरो बुध्दिमा बिर्को लागिहाल्यो । अब अहिले आएर, “मरे नि बाबै,” भन्दै पश्चातापको आगोमा जल्नु बाहेक के गर्नु र ?
आमाबाबु प्राणी थिएँ र मेरो मूल सिदान्त भनेको आमाबाबुको रहर पुरा गर्नु थियो । अब गरि हालिस नि भैरे आमाबाबुको रहर पुरा भनेर आफूले आफैलाई धिकार्न थाल्छु । तर मलाई तारासँगको पहिलो भेटमा नै, – “पृय ! म तिमीलाई असाध्यै मन पराउछु, यदि तिमीले पनि मन परायौ भने म बिहे गर्छु,” भन्न कहाँ सजिलो थियो र ? तैपनि त्यति भनेको हो भने कमसेकम उनको के कस्तो प्रतिकृया आउँथ्यो । त्यो त चाल पाउँथें । त्यसै त गाउँघरमा ब्रिटिस लाहुरेको एकपैसाको बुध्दि हुँदैन भन्छन् । त्यसबेला आफूले आफैलाई हेरेर हो रहेछ भनेर प्रमाणित गरेपछि बल्ल चाल पाउँछु । धिक्कार होस् – मेरो जिन्दगी ।
मनमनै लाग्छ – एक हातमा खुकुरी र अर्को हातमा लौरो लिएर छोरी लिनको लागि आमा आएकी छिन् । अब एकछिनमा छोरीलाई टारी खोला कटाइ हाल्छिन् । त्यसपछि म केवल आफ्नो गालामा आफैले लोप्पा दिनु र छाउरी कुकुर्नी झैं कुङलिङगै खुट्टा बाङ्गो परेर राकाचुप्प अँध्यारोमा सुत्नु बाहेक के नै पो गर्न सक्छु र ?
क्रमशः …
अक्सफोर्ड – इँगल्यान्ड , भीम राई l
प्रतिक्रिया