काठमाडौँ — जाजरकोट र रुकुम पश्चिमका भूकम्प पीडितले अहिले एकसरो पाल पनि पाएका छैनन् । पाएकाहरुले पनि पालभन्दा अरु देखेकै छैनन् । फलतः चिसो थेग्न नसकेर अब मान्छे मर्ने श्रृंखला सुरु भएको छ । समयमै राहत नपाएका कारण दुई व्यक्तिले ज्यान गुमाएका छन् । जाजरकोट भूकम्पका पीडितलाई न जनार्दन शर्माले हाइज्याक गरेको राहत काम लाग्यो, न गगन–विश्वप्रकाशले बनाएको छाप्रो काम लाग्यो, न रविको रेडियो, न तोसिमाले गरेको उपचार र न पूर्णबहादुरले हालेको अंगालो । नेताहरुको नौंटकी चलिरहेका बेला यता भूकम्प पीडितको ज्यान जान सुरु भएको छ ।
राष्ट्रपति पुगेर दिएको आश्वासन र समयमै राहत भन्ने प्रधानमन्त्रीको वचन पनि खेर जान थालेको छ । सरकारले समयमै आङ छोप्ने न्यानो कपडा नदिएकै कारण दुई व्यक्तिले ज्यान गुमाएका छन् । शुक्रबार नलगाड नगरपालिका–४ लहँस्थित च्युरीदाराका ८४ वर्षीय गोपालबहादुर रावल र बिहीबार राति सोही वडाकी ४८ वर्षीया पम्फा रावलको मृत्यु भएको छ । गोपालबहादुर दमको विरामी थिए । चिसोमा ओड्ने ओह्याउने नपाएपछि कठ्याङरिएर ज्यान गुमाए । पम्फा रातभरको चिसोले निमोनिया भएपछि विहिबार बितिन् ।
भूकम्पबाट बाँचेका उनीहरुलाई राज्यको ढीलासुस्तीले ज्यान लिएको हो । भूकम्पले बचाएकाहरु पनि अब राज्यबाट बच्न गाह्रो छ । फलतः यी दुई व्यक्तिको हत्यारा सरकार नै हो भन्दा फरक पर्दैन । अहिले दुई जनाले ज्यान गुमाएका छन्, अब विस्तारै अरुले पनि ज्यान गुमाउनेछन् । किनकि सरकारले आलो घाउमा राहतभन्दा बढी आहत दिने काम गरेको छ । राहतमाथि पहुँचवालाको गिद्धेनजर पर्दा वास्तविक पीडितको अवस्था कहालीलाग्दो छ ।
शनिबार एकाबिहानै अप्रत्यासित ढंगबाट एक विश्वस्त व्यक्तिले फोन गरे । उनले भन्दै थिए, चीन र भारतले दिएका राम्राराम्रा ज्याकेट र ब्लाङकेटहरु रातारात लुकाइए । कति गोदाममा थन्काएर राखिएको छ, कति स्थानीय पहुँचवाला नेता र जनप्रतिनिधिहरुले लुकाईसके ।
यहाँ राहतमा लुट मच्चाउने जनार्दन शर्मा मात्रै छैनन्, हरेक पालिका र वडाहरुमा सयौं जनार्दन जन्मिएका छन् । जसले पीडितका लागि दिएको राहतमा लुट मच्चाएर मोजमस्ती गरिरहेका छन् । राति ८ बजेपछिमात्रै राहत बाड्न थाल्छन्, आफ्ना नजिक भएकालाई टन्न दिएर पठाउँछन्, अरुलाई सिध्धियो भन्दै फर्काउँछन् । पाएकाहरुले पनि राम्रो राहत पाएका छैनन्, राम्रो राहत त स्थानीय पहुँचवालाका गोदाममा थन्किएको छ ।
कति नेपालगञ्जबाट माथि उकालिएकै छैन । कति सुर्खेतकै गोदाममा थन्किएको छ । सरकारलाई यो विषयमा मतलब नै छैन । शनिबार भूकम्प प्रभावित क्षेत्रबाट फर्किएपछि नेपाली काँग्रेसका महामन्त्रीद्वयले पनि पीडितले राहत नपाएको गुनासो गरेका छन् । भारत र चीनले दिएको पाँच विमान राहतमात्रै जाजरकोट र रुकुमपश्चिमका भूकम्प पीडितलाई पु¥याउने भने, सिरकै ओढेर सुत्न पुग्छ, सिरकै ओछ्याउन, सिरकै सिरानी हाल्न, र सिरकै छानो बनाएपनि पुग्ने सामान छ । चीन र भारतले दिएको राहतमा सिरक छन्, ब्लाङकेट छन्, कम्बल छन्, त्रिपाल छन्, स्लीपिङ ब्याग छन्, टारपोलिन सिट छन्, टेन्ट छन्, औषधी छन् ।
लामखुट्टे मार्ने औषधी पनि छिमेकीले दिएका छन् । चीनले त २३ ट्रक राहत केरुङ–रसुवागढी नाकाबाट पनि पठाएको छ । सरकारले राज्यस्रोतबाटै अर्बको जोहो गरेको छ । बैंक वित्तिय संघ, व्यापारी र सामाजिक संघसंस्थाले पनि राहत दिएकै छन् । हेर्दा कुबेरको भन्दा ठूलो भण्डार राहतको छ । तर अहिलेसम्म पनि पीडितहरु किन एकसरो पालभित्र मात्रै छन् ? किनकि एकद्धार प्रणालीमार्फत राहत वितरण गरिरहेको सरकारले पीडितमाथि नै ज्यादती गरेको छ ।
बरु भूकम्प प्रभावित क्षेत्रको भ्रमण गर्न भीआईपी नेताहरुको लस्कर नै लाग्यो । प्रधानमन्त्री हेलिकोप्टर चढे, गृहमन्त्री, रक्षामन्त्री, उर्जामन्त्री, भौतिक पूर्वाधारमन्त्री, स्वास्थ्यमन्त्री, राष्ट्रपति हुँदै पहुँचवाला सबै नेता हेलीमै उडे । त्यो पैसा राज्यकै स्रोतबाट उड्यो । हेलिकोप्टर चढेर करोडौं सिध्याउने सरकारले त्यो पैसा पीडितकै लागि दिएको भएपनि हुने । तर पीडितहरु भोकभोकै रात बिताउन बाध्य छन् । अहिले पीडितहरुले प्रश्न उठाउन थालेपछि नेताहरु नजिक पर्न छोडेका छन् । वडाध्यक्षहरुलाई जिम्मा लगाएर नेतृत्व भाग्नेसम्मको काम भइरहेका छन् । एकदिन मुख देखाउने, फोटो खिच्ने र आश बोकेर पीडितहरु नजिक पर्दा भाग्ने नेताको संख्या उल्लेख्य छ ।
प्रतिक्रिया